प्रस्थान ३४:१-३५

  • ढुङ्‌गाका दुई वटा नयाँ पाटी बनाइन्छ (१-४)

  • मोसा यहोवाको गौरव देख्छन्‌ (५-९)

  • करारसम्बन्धी विवरण (१०-२८)

  • मोसाको अनुहारबाट उज्यालो आउँछ (२९-३५)

३४  त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “पहिलाको जस्तै ढुङ्‌गाका दुई वटा पाटी बनाऊ+ अनि तिमीले फुटाएका+ ती पाटीहरूमा जे-जे लेखिएका थिए, त्यो म फेरि लेखिदिनेछु।+ २  अनि बिहानै तयार भएर सिनै डाँडामा उक्लेर आऊ अनि डाँडाको टाकुरामा मेरो सामने हाजिर होऊ।+ ३  तर तिमीसित अरू कोही पनि नआओस्‌ अनि डाँडामा कतै पनि अरू कोही देखा नपरोस्‌। भेडाबाख्रा वा गाईवस्तुसमेत त्यस डाँडाको अगाडि नचरून्‌।”+ ४  तब मोसाले यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ पहिलाको जस्तै ढुङ्‌गाका दुई वटा पाटी बनाए अनि बिहान सबेरै उठेर सिनै डाँडा उक्ले; तिनले ती दुई वटा पाटी पनि सँगै लगे। ५  अनि यहोवा परमेश्‍वर बादलमा ओर्लेर मोसाकहाँ देखा पर्नुभयो+ र आफ्नो नाम यहोवाबारे घोषणा गर्नुभयो।+ ६  यहोवा परमेश्‍वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु। ७  मेरो अटल प्रेम हजारौँ-हजार पुस्तासम्म रहिरहन्छ।+ म मानिसहरूको गल्ती, अपराध र पाप क्षमा गर्छु+ तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्‌दिनँ।+ बुबाले गरेको गल्तीको सजाय तिनका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिन्छु।”+ ८  तब मोसाले हत्त न पत्त घुँडा टेकेर परमेश्‍वरलाई ढोगे। ९  अनि तिनले भने: “हे यहोवा, हामी हठी मानिसहरू हौँ+ तैपनि मैले तपाईँको निगाह पाएको छु भने हे यहोवा, कृपया हामीसितै आउनुहोस्‌।+ हाम्रा गल्ती अनि हाम्रा पाप क्षमा गर्नुहोस्‌+ अनि हामीलाई तपाईँको आफ्नै सम्पत्तिको रूपमा ग्रहण गर्नुहोस्‌।” १०  यो सुनेपछि उहाँले भन्‍नुभयो: “हेर, म तिमीहरूसित एउटा करार गर्दै छु: पृथ्वीमा पहिला कहिल्यै नभएको वा जातिजातिका मानिसहरूले पहिला कहिल्यै नदेखेका अचम्म-अचम्मका काम म तिमीहरूसामु गर्नेछु।+ अनि तिमीहरू जसको माझमा बसिरहेका छौ, तिनीहरूले यहोवाको काम देख्नेछन्‌ किनकि म तिमीहरूको निम्ति आश्‍चर्यलाग्दो काम गर्दै छु।+ ११  “आज म तिमीहरूलाई जुन आज्ञा दिँदै छु, त्यो ध्यान दिएर सुन।+ म तिमीहरूको माझबाट एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूलाई धपाउँदै छु।+ १२  तिमीहरू जुन देशमा जाँदै छौ, त्यहाँका मानिसहरूसित कुनै करार नगर्नू+ नत्र त्यो नै तिमीहरूको लागि पासो बन्ला।+ १३  उनीहरूका वेदीहरू भत्काइदेओ, पवित्र थामहरू* ढालिदेओ र पवित्र खामाहरू* टुक्राटुक्रा पारिदेओ।+ १४  तिमीहरूले अरू कुनै देवीदेवतालाई नढोग्नू+ किनकि यहोवा अरू कसैको भक्‍ति गरिएको नसहने परमेश्‍वर हुनुहुन्छ। हो, उहाँ यस्तो परमेश्‍वर हुनुहुन्छ, जो आफ्नो बाहेक अरू कसैको भक्‍ति गरिएको सहनुहुन्‍न।+ १५  ती देशका मानिसहरूसित कुनै किसिमको करार नगर्नू किनकि उनीहरूले आफ्ना देवीदेवतालाई पुजेर* आफूलाई भ्रष्ट पार्नेछन्‌+ र देवीदेवतालाई बलि चढाएको कुरा तिमीहरूलाई पनि खान लगाउनेछन्‌ र तिमीहरूले ती खानेछौ।+ १६  अनि तिमीहरूले आफ्ना छोराहरूको विवाह उनीहरूका छोरीहरूसित गरिदिनेछौ।+ उनीहरूका छोरीहरूले आफ्ना देवीदेवतालाई पुज्नेछन्‌ र तिमीहरूका छोराहरूलाई पनि ती देवीदेवतालाई पुज्न लगाउनेछन्‌।+ १७  “तिमीहरूले कुनै देवीदेवताको मूर्ति नबनाउनू।+ १८  “तिमीहरूले अखमिरा रोटीको चाड* मनाउनू।+ मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू। अबिब* महिनाको तोकिएको समयमा तिमीहरूले त्यो खानू+ किनभने तिमीहरू अबिब महिनामै मिश्रबाट निस्केर आएका थियौ। १९  “गर्भको पहिलो सन्तान मेरै हो,+ तिम्रा सबै गाईवस्तु र भेडाबाख्राबाट पहिले जन्मेका बाछो वा पाठो मेरै हो।+ २०  पहिले जन्मेको गधालाई छुटाउन त्यसको सट्टा एउटा भेडा चढाउनू; तर त्यस गधालाई छुटाएनौ भने त्यसको घाँटी छिनालेर मार्नू। तिमीहरूको हरेक पहिलो सन्तानलाई मोल तिरेर छुटाउनू।+ मकहाँ कोही पनि खाली हात नआओस्‌। २१  “तिमीहरूले छ दिनसम्म काम गर्नू तर सातौँ दिनमा चाहिँ विश्राम लिनू।+ खनजोत गर्ने र बाली काट्‌ने समयमा समेत तिमीहरूले विश्राम लिनू। २२  “तिमीहरूले गहुँको पहिलो उब्जनी चढाएर हप्ताहरूको चाड* मनाउनू अनि वर्षको अन्तमा बाली भित्र्याउने चाड* मनाउनू।+ २३  “वर्षको तीनपल्ट सबै पुरुष इस्राएलका साँचो परमेश्‍वर यहोवासामु हाजिर हुनू।+ २४  तिमीहरूको सामनेबाट म जातिजातिका मानिसहरूलाई धपाउनेछु+ र तिमीहरूको देशको सिमाना बढाइदिनेछु। तिमीहरू वर्षको तीनपल्ट यहोवा परमेश्‍वरसामु हाजिर हुन जाँदा कसैले पनि तिमीहरूको जग्गाजमिन हडप्नेछैन। २५  “मलाई चढाउने पशुबलिको रगतसँग खमिर हालेको कुनै पनि चिज नचढाउनू।+ निस्तार चाडको* बलिलाई भोलिपल्ट बिहानसम्म रहन नदिनू।+ २६  “तिमीहरूले आफ्नो भूमिको पहिलो उब्जनीको सर्वोत्तम भाग यहोवा तिमीहरूका परमेश्‍वरको भवनमा लगेर चढाउनू।+ “तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माऊको दूधमा नउमाल्नू।”+ २७  यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: “यी सबै कुरा लेख+ किनकि यी वचनहरूअनुसारै म तिमी र इस्राएलसित करार गर्नेछु।”+ २८  मोसाले ४० दिन, ४० रात सिनै डाँडामा यहोवा परमेश्‍वरसँग बिताए। त्यतिन्जेल तिनले न खानेकुरा खाए न त पानी नै पिए।+ अनि उहाँले ढुङ्‌गाका पाटीहरूमा करारको वचन अर्थात्‌ दस आज्ञा* लेख्नुभयो।+ २९  त्यसपछि मोसा सिनै डाँडाबाट तल ओर्ले अनि तिनले ती दुई वटा साक्षीपाटी पनि हातमा लिएर आए।+ परमेश्‍वरसित कुरा गरेर आएकोले आफ्नो अनुहारबाट उज्यालो आइरहेको छ भनेर मोसालाई थाहै थिएन। ३०  हारुन र सबै इस्राएलीले मोसाको अनुहारबाट उज्यालो आइरहेको देखेपछि तिनको नजिक जान डराए।+ ३१  तर मोसाले तिनीहरूलाई बोलाए। त्यसैले हारुन र इस्राएलीहरूका सबै कुलनायक नजिक गए अनि मोसाले तिनीहरूसित कुरा गरे। ३२  त्यसपछि अरू सबै इस्राएली पनि मोसाको नजिक गए अनि यहोवा परमेश्‍वरले सिनै डाँडामा जे-जे आज्ञा दिनुभएको थियो, तिनले ती सबै तिनीहरूलाई सुनाए।+ ३३  इस्राएलीहरूसित कुरा गरिसकेपछि मोसाले घुम्टोले अनुहार छोप्थे।+ ३४  तर यहोवा परमेश्‍वरसित कुरा गर्न उहाँसामु जाँदा तिनी घुम्टो हटाएर जान्थे।+ अनि आफूले परमेश्‍वरबाट पाएको सबै आज्ञा बाहिर आएर इस्राएलीहरूलाई सुनाउँथे।+ ३५  त्यतिबेला इस्राएलीहरू मोसाको अनुहारबाट उज्यालो आइरहेको देख्थे। त्यसपछि मोसाले फेरि घुम्टोले अनुहार छोप्थे र परमेश्‍वरसित कुरा गर्न नजाउन्जेल घुम्टो हटाउँदैनथे।+

फुटनोटहरू

वा “वफादारीले।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शा., “आफ्ना देवीदेवतासित अवैध यौनसम्बन्ध राखेर।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।
शब्दावलीमा “कटनीको चाड; हप्ताहरूको चाड” हेर्नुहोस्‌।
यसलाई झुप्रोबासको चाड पनि भनिन्छ।
शब्दावली हेर्नुहोस्‌।
शा., “दस शब्द।” यसलाई डेकालोग पनि भनिन्छ।