युहन्नालाई प्रकाश १२:१-१७
१२ त्यसपछि स्वर्गमा एउटा ठूलो चिन्ह देखियो: सूर्य पहिरेकी, पाउमुनि चन्द्रमा भएकी अनि १२ वटा ताराको एउटा मुकुट लगाएकी स्त्री+ देखा परिन्।
२ तिनी गर्भवती थिइन्। पीडाले गर्दा तिनी चिच्याइरहेकी थिइन् र प्रसववेदनाले गर्दा छटपटाइरहेकी थिइन्।
३ त्यसपछि स्वर्गमा एउटा अर्को चिन्ह देखियो। हेर! चहकिलो रातो रङ्गको एउटा ठूलो अजिङ्गर+ देखा पऱ्यो। त्यसको सात वटा टाउका अनि १० वटा सिङ थिए र त्यसका टाउकाहरूमा सात वटा ताज* थिए।
४ त्यसले आफ्नो पुच्छरले स्वर्गको एक तिहाइ तारा+ तानेर तल पृथ्वीमा हुर्ऱ्यायो।+ अनि बच्चा जन्माउनै लागेकी ती स्त्रीले बच्चा जन्माउनेबित्तिकै तिनको बच्चालाई निलिहालूँ भनेर त्यो अजिङ्गर ती स्त्रीको+ अगाडि उभिरह्यो।
५ तब ती स्त्रीले एउटा बालक, हो, एउटा छोरा जन्माइन्,+ जसले गोठालोले झैँ सबै राष्ट्रलाई फलामको डन्डाले डोऱ्याउनेछ।+ त्यसपछि तिनको बालकलाई खोसेर परमेश्वर अनि उहाँको सिंहासन भएको ठाउँमा लगियो।
६ अनि ती स्त्री भागेर निर्जनभूमिमा गइन्, जहाँ १ हजार २ सय ६० दिनसम्म+ तिनको पालनपोषण गरियोस् भनेर परमेश्वरले एउटा ठाउँ तयार पार्नुभएको थियो।
७ तब स्वर्गमा लडाइँ भयो: माइकल*+ र उनका स्वर्गदूतहरूले त्यस अजिङ्गरसित अनि अजिङ्गर र त्यसका स्वर्गदूतहरूले उनीहरूसित युद्ध गरे।
८ तर त्यो अजिङ्गर र त्यसका स्वर्गदूतहरूले जित्न सकेनन्* र तिनीहरूको निम्ति स्वर्गमा कुनै ठाउँ बाँकी रहेन।
९ त्यसैले दियाबल+ अनि सैतान+ भनिने र सारा संसारलाई ठग्ने+ त्यो ठूलो अजिङ्गर+ अर्थात् पुरानो सर्पलाई+ तल पृथ्वीमा हुर्ऱ्याइयो+ अनि त्योसँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए।
१० मैले स्वर्गमा यसो भन्दै गरेको एउटा चर्को आवाज सुनेँ:
“अब हाम्रा परमेश्वरले गर्नुहुने उद्धार,+ उहाँको शक्ति, उहाँको राज्य+ अनि उहाँको ख्रिष्टको अख्तियार प्रकट भएको छ किनकि हाम्रा भाइहरूको आरोपक तल हुर्ऱ्याइएको छ, जसले हाम्रा परमेश्वरसामु दिनरात तिनीहरूलाई दोष लगाउँछ!+
११ तर पाठोको रगतले गर्दा+ र आफूले साक्षी दिएको वचनले गर्दा+ तिनीहरू विजयी भए।+ साथै मृत्युको मुखमा पर्दा समेत तिनीहरूले आफ्नो जीवनलाई प्यारो ठानेनन्।+
१२ त्यसकारण हे स्वर्ग अनि त्यसमा बास गर्नेहरू हो, रमाओ! तर पृथ्वी र समुद्रलाई+ भने धिक्कार छ किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी छ+ भनी थाह भएकोले त्यो असाध्यै रिसाएको छ।”
१३ आफूलाई तल पृथ्वीमा हुर्ऱ्याएको+ पाएपछि अजिङ्गरले छोरा जन्माएकी ती स्त्रीको+ खेदो गऱ्यो।
१४ तर ती स्त्रीलाई ठूलो चीलका दुई वटा पखेटा+ दिइयो ताकि तिनी निर्जनभूमिमा तिनको निम्ति तयार पारिएको ठाउँमा उडेर जान सकून् अनि त्यस सर्पबाट+ टाढा रहन सकून्। त्यहाँ एक काल, दुई काल अनि आधा कालको लागि*+ तिनको पालनपोषण गरिने थियो।
१५ ती स्त्री डुबेर मरून् भनेर त्यस अजिङ्गरले तिनको पछिपछि आफ्नो मुखबाट नदीजस्तो पानीको फोहोरा ओकल्यो।
१६ तर पृथ्वी ती स्त्रीलाई मदत गर्न आयो र त्यस अजिङ्गरले आफ्नो मुखबाट ओकलेको नदीलाई पृथ्वीले आफ्नो मुख खोलेर निल्यो।
१७ त्यसैले त्यो अजिङ्गर ती स्त्रीसित क्रोधित भयो र तिनका बाँकी रहेका ती सन्तानसित+ लडाइँ गर्न गयो, जसले परमेश्वरको आज्ञा पालन गर्छन् अनि येसुको विषयमा साक्षी दिने+ काम पाएका छन्।
फुटनोटहरू
^ वा “शाही फेटा।”
^ यसको अर्थ हो “परमेश्वरजस्तो को छ?”
^ वा सम्भवत: “त्यसले [अर्थात्, अजिङ्गरले] हाऱ्यो।”
^ अर्थात्, साढे तीन कालको लागि।