याकुबको पत्र १:१-२७

  • अभिवादन ()

  • सहनशीलताले आनन्द ल्याउँछ (२-१५)

    • जाँचिएको विश्‍वास ()

    • विश्‍वाससहित मागिरहो (५-८)

    • तृष्णाले पाप र मृत्युतर्फ डोऱ्‍याउँछ (१४, १५)

  • हरेक असल वरदान माथिबाटै आउँछ (१६-१८)

  • वचन सुन्‍ने र पालन गर्ने (१९-२५)

  • शुद्ध र निष्खोट उपासना (२६, २७)

 म याकुब,+ परमेश्‍वरको र प्रभु येसु ख्रिष्टको दास, विभिन्‍न ठाउँमा तितरबितर भएका १२ कुललाई लेख्दै छु: अभिवादन! २  हे मेरा भाइ हो, विभिन्‍न किसिमको परीक्षा आइपर्दा तिमीहरू यसलाई निकै खुसीको कुरा सम्झ+ ३  किनकि तिमीहरूलाई थाहै छ कि यसरी जाँचिएको तिमीहरूको विश्‍वासले सहनशीलता उत्पन्‍न गराउँछ।+ ४  तर सहनशीलतालाई त्यसको काम पूरा गर्न देओ, तब तिमीहरू हरक्षेत्रमा पूर्ण र दोषरहित हुनेछौ अनि तिमीहरूमा कुनै कुराको अभाव हुनेछैन।+ ५  त्यसैले यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌+ र उसलाई त्यो दिइनेछ+ किनकि उहाँले सबैलाई उदारचित्तले अनि नझर्कीकन* दिनुहुन्छ।+ ६  तर उसले रतीभर शङ्‌का नगरी+ विश्‍वाससहित मागिरहोस्‌+ किनकि जसले शङ्‌का गर्छ, ऊ बतासले उचाल्दै-पछार्दै गरेको समुद्रको छालजस्तो हुन्छ। ७  भनौँ भने त्यस्तो मानिसले यहोवा* परमेश्‍वरबाट केही पाउने आशा नगरे पनि हुन्छ। ८  त्यो मानिस दोमनको+ र आफ्नो सबै कामकुरामा अस्थिर हुन्छ। ९  तर जो भाइ गरिब छ, ऊ आफूलाई उच्च पारिएकोमा रमाओस्‌*+ १०  अनि जो धनी छ, ऊ आफूलाई होच्याइएकोमा रमाओस्‌+ किनकि ऊ मैदानको फूलझैँ ओइलाइहाल्नेछ। ११  जसरी घाम उदाएपछि त्यसको चर्को रापले बोटबिरुवा ओइलाउँछ र त्यसको फूल झर्छ अनि त्यसको सौन्दर्य उडेर जान्छ, त्यसरी नै धनी मानिस पनि जीवनमा दौडधूप गर्दागर्दै हराएर जानेछ।+ १२  आनन्दित हो त्यो मानिस, जसले परीक्षा सहिरहन्छ+ किनकि सफलतापूर्वक परीक्षाको सामना गरेपछि उसले जीवनको मुकुट पाउनेछ,+ जुन मुकुट यहोवा* परमेश्‍वरले उहाँलाई प्रेम गरिरहनेहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको छ।+ १३  परीक्षा आइपर्दा कसैले पनि यसो नभनोस्‌: “परमेश्‍वरले मेरो परीक्षा लिइरहनुभएको छ।” किनकि कुनै दुष्ट कुराद्वारा परमेश्‍वरको परीक्षा लिन सकिँदैन र उहाँ आफैले पनि कुनै दुष्ट कुराद्वारा कसैको परीक्षा लिनुहुन्‍न। १४  तर हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ* र परीक्षामा पर्छ।+ १५  जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ अनि पाप गरेपछि त्यसले मृत्यु निम्त्याउँछ।+ १६  हे मेरा प्रिय भाइहरू हो, नबहकिओ। १७  हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाट अर्थात्‌ आकाशका ज्योतिहरूका बुबाबाट+ पाउँछौँ।+ उहाँ सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्‍न।+ १८  हामी उहाँले बनाउनुभएका मानिसहरूमध्ये पहिलो फल+ होऔँ भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउने इच्छा गर्नुभयो।+ १९  हे मेरा प्रिय भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्‌: हरेक मानिस सुन्‍नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन+ अनि हतपती रिसाउनु हुँदैन+ २०  किनकि रिस गर्ने मानिस परमेश्‍वरको धार्मिक स्तरबमोजिम+ चलिरहेको हुँदैन। २१  त्यसकारण सबै अशुद्धता र खराबीको हरेक दागलाई*+ हटाओ अनि परमेश्‍वरले तिमीहरूलाई बचाउन सक्ने वचन तिमीहरूमा रोप्नुहुँदा त्यसलाई नम्रतासाथ स्विकार। २२  तर वचन पालन गर्ने होओ,+ सुन्‍ने मात्र होइन नत्र त तिमीहरूले झूटा तर्कहरूद्वारा आफैलाई धोका दिइरहेका हुनेछौ। २३  यदि कसैले वचन सुन्छ तर पालन गर्दैन भने+ ऊ आफ्नो अनुहार ऐनामा हेर्ने त्यो मानिसजस्तै हुन्छ, २४  जसले आफ्नो अनुहार हेर्न त हेर्छ तर आफू कस्तो छु भनेर त्यहाँबाट हिँड्‌नेबित्तिकै बिर्सिहाल्छ। २५  तर जसले स्वतन्त्रता दिने पूर्ण व्यवस्थामा+ ध्यान दिएर हेर्छ र त्यसमा लागिरहन्छ, ऊ सुनेर बिर्सने होइन तर त्यसैअनुसार काम गर्ने मानिस हुन्छ। अनि उसले जे गर्छ, त्यसमा ऊ आनन्दित हुनेछ।+ २६  यदि कुनै मानिसले आफूलाई परमेश्‍वरको उपासक* सम्झन्छ तर आफ्नो जिब्रोमा कस्सिनेगरि लगाम लगाउँदैन भने+ उसले आफूलाई* धोका दिइरहेको हुन्छ र उसको उपासना व्यर्थ हुन्छ। २७  हाम्रा परमेश्‍वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना* यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्‌कष्टमा हेरविचार गर्नु+ अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।+

फुटनोटहरू

वा “गल्ती नखोजीकन।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
शा., “घमन्ड गरोस्‌।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “चारो हालेर पासोमा पारेझैँ फस्छ।”
वा सम्भवत: “धेरै खराबीलाई।”
वा “धर्मकर्म गर्ने मानिस।”
शा., “आफ्नो हृदयलाई।”
वा “धर्म।”