रोमी १६:१-२७

  • पावल फिबी नाम गरेकी सेविकाबारे बताउँछन्‌ (१, २)

  • रोमी ख्रिष्टियनहरूलाई अभिवादन (३-१६)

  • फूट गराउनेहरूबारे चेतावनी (१७-२०)

  • पावलका सहकर्मीहरूको तर्फबाट अभिवादन (२१-२४)

  • पवित्र रहस्य अहिले प्रकट गरिएको छ (२५-२७)

१६  म तिमीहरूलाई हाम्री बहिनी फिबीबारे बताउन चाहन्छु, जो सिनक्रियामा+ भएको मण्डलीकी सेविका हुन्‌। २  म आग्रह गर्छु कि पवित्र जनहरूलाई जसरी स्वागत गर्नुपर्ने हो, तिमीहरूले उनलाई पनि प्रभुमा त्यसरी नै स्वागत गर अनि उनलाई जे-जस्तो मदतको खाँचो पर्छ, मदत गर+ किनकि उनी आफै पनि धेरैको लागि अनि मेरो लागि पनि मदतगार साबित भएकी छिन्‌। ३  ख्रिष्ट येसुमा मेरा सहकर्मीहरू प्रिस्का र अक्विलालाई+ मेरो अभिवादन छ भनिदेओ, ४  जसले मलाई बचाउन आफ्नो गर्दन खतरामा पारे+ अनि जसलाई मैले मात्र होइन तर अन्यजातिका सबै मण्डलीले पनि धन्यवाद दिन्छन्‌। ५  अनि उनीहरूको घरमा भेला हुने मण्डलीलाई पनि अभिवादन छ।+ मेरो प्रिय इपेनितसलाई अभिवादन छ, जो एसियामा ख्रिष्टका पहिलो फलमध्येका हुन्‌। ६  मरियमलाई अभिवादन छ, जसले तिमीहरूका निम्ति धेरै मेहनत गरेकी छिन्‌। ७  एन्ड्रोनिकस र युनियसलाई अभिवादन छ, जो मेरा नातेदार हुन्‌+ र मसँगै कैदमा परेका पनि थिए। तिनीहरूलाई प्रेषितहरूले राम्ररी चिनेका छन्‌ र तिनीहरू मभन्दा पहिला ख्रिष्टको चेला बनेका हुन्‌। ८  प्रभुमा मेरो प्रिय एमप्लिआतसलाई मेरो अभिवादन छ भनिदेओ। ९  ख्रिष्टमा हाम्रा सहकर्मी उर्बानस र मेरो प्रिय स्ताकिसलाई अभिवादन छ। १०  ख्रिष्टमा असल नाम कमाएका अपेल्लेसलाई अभिवादन छ। अरिस्तोबलसको घरमा भएकाहरूलाई अभिवादन छ। ११  मेरो नातेदार हेरोदियनलाई अभिवादन छ। नर्सिससको घरानाका मानिसहरू, जो प्रभुमा छन्‌, उनीहरूलाई अभिवादन छ। १२  बहिनीहरू त्रिफेना र त्रिफोसालाई अभिवादन छ, जसले प्रभुमा कडा परिश्रम गरिरहेका छन्‌। हाम्री प्रिय परसिसलाई अभिवादन छ किनकि उनले प्रभुमा धेरै मेहनत गरेकी छिन्‌। १३  प्रभुमा चुनिएका रुफसलाई र तिनकी आमालाई मेरो अभिवादन छ, जो मेरी पनि आमा हुन्‌। १४  असिङ्‌क्रितस, फ्लेगन, हर्मेस, पत्रोबास र हर्मसलाई अभिवादन छ अनि ती भाइहरूलाई पनि, जो तिनीहरूसित छन्‌। १५  फिलोलोगस र जुलिया, नेरियस र तिनकी बहिनी* अनि ओलिम्पासलाई अभिवादन छ अनि ती सबै पवित्र जनलाई पनि, जो तिनीहरूसित छन्‌। १६  पवित्र चुम्बनले एकअर्कालाई अभिवादन गर। ख्रिष्टका सबै मण्डलीले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। १७  अब हे भाइ हो, म तिमीहरूलाई आग्रह गर्छु, तिमीहरूले त्यस्ता मानिसहरूमाथि नजर राख, जसले फूट गराउँछन्‌ र तिमीहरूले सिकेको शिक्षाभन्दा विपरीत कुरा गरेर ठेस पुऱ्‍याउँछन्‌। यिनीहरूबाट टाढै बस+ १८  किनकि यस्ता मानिसहरू हाम्रा प्रभु ख्रिष्टका होइनन्‌ तर आफ्नै लालसाका* दासहरू हुन्‌ अनि तिनीहरूले चिप्ला कुरा गरेर अनि फुरुक्क पार्ने बोलीद्वारा सिधासादाहरूको हृदयलाई बहकाउँछन्‌। १९  तिमीहरूको आज्ञाकारिताबारे सबैले थाह पाएका छन्‌। त्यसैले तिमीहरूको कारण म खुसी छु। तर तिमीहरू असल कुराहरूको मामिलामा बुद्धिमान्‌ र खराब कुराहरूको मामिलामा अनजान होओ भन्‍ने म चाहन्छु।+ २०  तिमीहरूलाई शान्ति दिनुहुने परमेश्‍वरले चाँडै तिमीहरूलाई अख्तियार दिनुहुनेछ अनि तिमीहरूले आफ्ना खुट्टाले सैतानलाई कुच्याउनेछौ।+ हाम्रा प्रभु येसुको असीम अनुग्रह तिमीहरूसित रहोस्‌। २१  मेरो सहकर्मी तिमोथि अनि मेरा नातेदारहरू+ लुसियस, जेसन र सोसिपेटरले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। २२  यो पत्र लेख्ने म तर्तियसको तर्फबाट पनि तिमीहरूलाई प्रभुमा अभिवादन छ। २३  गायस,+ जसले मलाई आफ्नो घरमा स्वागत गरे र जसको घरमा मण्डली भेला हुने गर्छ, तिनले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। सहरका खजान्ची* इरास्तसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌ र तिनका भाइ क्वार्टसले पनि। २४  * २५  म जुन सुसमाचार घोषणा गर्छु र येसु ख्रिष्टबारे जे प्रचार गर्छु, त्यसद्वारा परमेश्‍वरले तिमीहरूलाई स्थिर बनाउन सक्नुहुन्छ। यो सुसमाचार पवित्र रहस्यबारे+ प्रकाशमा आएको कुरासित सम्बन्धित छ अनि यो रहस्य युगौँदेखि गुप्तमा राखिएको थियो २६  तर अहिले भने प्रकट गरिएको छ। अनि सदैव रहिरहनुहुने परमेश्‍वरको आज्ञाअनुसार धर्मशास्त्रमा भएका भविष्यवाणीहरूद्वारा सबै जातिलाई थाह दिइएको छ ताकि विश्‍वास देखाएर तिनीहरू आज्ञाकारी बनून्‌। २७  येसु ख्रिष्टमार्फत एक मात्र बुद्धिमान्‌ परमेश्‍वरको+ सदासर्वदा महिमा भइरहोस्‌। आमिन।

फुटनोटहरू

वा “दिदी।”
वा “पेटका।”
वा “भण्डारे।”
अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।