युहन्‍नाका अनुसार ४:१-५४

  • येसु र सामरियाली स्त्री (१-३८)

    • “पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम” परमेश्‍वरको उपासना गर्नू (२३, २४)

  • थुप्रै सामरियाली येसुमा विश्‍वास गर्छन्‌ (३९-४२)

  • राजाका सेवकको छोरालाई येसु निको पार्नुहुन्छ (४३-५४)

 युहन्‍नाले भन्दा येसुले धेरै जनालाई चेला बनाएर बप्तिस्मा गराउँदै हुनुहुन्छ+ भनेर फरिसीहरूले सुने भनी जब प्रभु येसुले थाह पाउनुभयो,— २  हुनत येसु आफैले नभई उहाँका चेलाहरूले बप्तिस्मा गराउँथे— ३  तब यहुदियाबाट निस्केर उहाँ फेरि गालिल जानुभयो। ४  तर उहाँ सामरिया भएर जानु आवश्‍यक थियो। ५  त्यसैले उहाँ सामरियाको सुखार भनिने सहर पुग्नुभयो, जुन याकुबले आफ्नो छोरा युसुफलाई दिएको खेतनजिकै पर्थ्यो।+ ६  वास्तवमा याकुबको इनार त्यहीँ थियो।+ यात्राले गर्दा थाक्नुभएको येसु इनारको* छेउमा बसिरहनुभएको थियो। त्यतिखेर लगभग छैटौँ घडी* भएको थियो। ७  तब सामरियाकी एउटी स्त्री पानी भर्न त्यहाँ आई। येसुले उसलाई भन्‍नुभयो: “मलाई पानी पिउन देऊ।” ८  (किनकि उहाँका चेलाहरू खानेकुरा किन्‍न सहर गएका थिए।) ९  त्यसैले त्यस सामरियाली स्त्रीले उहाँलाई सोधी: “तपाईँ यहुदी भईकन म सामरियाली आइमाईसित कसरी पानी माग्नुहुन्छ?” (किनकि यहुदीहरू सामरियालीहरूसित कुनै सम्बन्ध राख्दैनन्‌।)+ १०  येसुले उसलाई यस्तो जवाफ दिनुभयो: “परमेश्‍वरले सित्तैँमा दिनुहुने वरदान+ तिमीले थाह पाएकी भए अनि ‘मलाई पानी पिउन देऊ’ भन्‍नेलाई चिनेकी भए तिमीले ऊसित माग्ने थियौ अनि उसले तिमीलाई जीवन दिने पानी दिने थियो।”+ ११  उसले उहाँलाई सोधी: “हजुर, इनार गहिरो छ अनि तपाईँसित पानी उघाउने बाल्टीसमेत छैन। तब तपाईँसित जीवन दिने पानी कहाँबाट आयो? १२  हाम्रा पुर्खा याकुब, जसले हामीलाई यो इनार दिनुभयो अनि जसले यही इनारबाट पानी पिउनुभयो र जसका छोराहरू अनि गाईवस्तुले पनि यही इनारबाट पिए, के तपाईँ उहाँभन्दा महान्‌ हुनुहुन्छ र?” १३  तब येसुले उसलाई जवाफ दिनुभयो: “जसले यो पानी पिउँछ, ऊ फेरि तिर्खाउँछ १४  तर जसले मैले दिने पानी पिउँछ, ऊ कहिल्यै तिर्खाउनेछैन।+ बरु मैले दिने पानी ऊभित्र मुहान बनेर उम्रिनेछ र त्यसले उसलाई अनन्त जीवन दिनेछ।”+ १५  त्यस स्त्रीले उहाँलाई भनी: “हजुर, मलाई त्यो पानी दिनुहोस्‌ ताकि म कहिल्यै तिर्खाउन नपरोस्‌ अनि पानी भर्न यहाँ घरिघरि आइरहन नपरोस्‌।” १६  उहाँले उसलाई भन्‍नुभयो: “जाऊ, तिम्रो पतिलाई बोलाएर यहाँ ल्याऊ।” १७  त्यस स्त्रीले जवाफ दिई: “मेरो पति छैन।” येसुले उसलाई भन्‍नुभयो: “‘मेरो पति छैन’ भनेर तिमीले ठीकै भन्यौ। १८  किनकि तिम्रो पाँच जना पति भइसकेका छन्‌ र अहिले तिमी जोसित बसिरहेकी छ्यौ, ऊ तिम्रो पति होइन। तिमीले साँचो कुरा गऱ्‍यौ।” १९  त्यस स्त्रीले उहाँलाई भनी: “हजुर, तपाईँ पक्कै भविष्यवक्‍ता हुनुहुन्छ।+ २०  हाम्रा पुर्खाहरूले यस डाँडामा उपासना गरे तर तपाईँहरू भने मानिसहरूले उपासना गर्नुपर्ने ठाउँ यरुसलेम हो भन्‍नुहुन्छ।”+ २१  येसुले उसलाई भन्‍नुभयो: “ए नारी, मलाई विश्‍वास गर, यस्तो बेला आउनेछ, जब तिमीहरूले न यस डाँडामा न त यरुसलेममा परमेश्‍वरको उपासना गर्नेछौ। २२  तिमीहरू जे जान्दैनौ, त्यसको उपासना गर्छौ;+ हामी जे जान्दछौँ, त्यसको उपासना गर्छौँ किनकि उद्धारबारे सुरुमा ज्ञान पाउनेहरू त यहुदीहरू नै हुन्‌।+ २३  तर बेला आउँछ र त्यो अहिल्यै हो, जब साँचो उपासकहरूले पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम परमेश्‍वरको उपासना गर्नेछन्‌ किनकि परमेश्‍वर यस्तै उपासकहरूको खोजीमा हुनुहुन्छ।+ २४  परमेश्‍वर अदृश्‍य हुनुहुन्छ र स्वर्गमा बस्नुहुन्छ।*+ उहाँको उपासना गर्नेहरूले पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना गर्नुपर्छ।”+ २५  त्यस स्त्रीले उहाँलाई भनी: “ख्रिष्ट भनिने मसीह आउँदै हुनुहुन्छ भनेर मलाई थाह छ। अनि उहाँ आउनुभएपछि हामीलाई सबै कुरा खुलस्त बताउनुहुनेछ।” २६  येसुले उसलाई भन्‍नुभयो: “त्यो मानिस मै हुँ, जो अहिले तिमीसित कुरा गर्दै छ।”+ २७  त्यति नै खेर उहाँका चेलाहरू आइपुगे र उहाँले एउटी स्त्रीसित कुरा गरिरहनुभएको देखेर छक्क परे। तैपनि तिनीहरूमध्ये कसैले पनि “तपाईँ के खोज्दै हुनुहुन्छ?” अथवा “तपाईँ किन ऊसित कुरा गर्दै हुनुहुन्छ?” भनेर सोधेनन्‌। २८  तब त्यो स्त्री आफ्नो घैँटो छोडेर सहरभित्र पसी र त्यहाँका मानिसहरूलाई यसो भनी: २९  “आउनुहोस्‌, एक जना मानिसलाई हेर्नुहोस्‌, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ ख्रिष्ट त हुनुहुन्‍न?” ३०  त्यसैले तिनीहरू सहरबाट निस्केर उहाँकहाँ आउन थाले। ३१  त्यसबीच चेलाहरूले उहाँलाई यस्तो आग्रह गरिरहेका थिए: “रब्बी,+ खानुहोस्‌ न।” ३२  तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मसँग यस्तो खानेकुरा छ, जसबारे तिमीहरूलाई थाह छैन।” ३३  यो सुनेर चेलाहरूले आपसमा यसो भने: “कतै उहाँलाई कसैले खानेकुरा ल्याइदियो कि?” ३४  तर येसुले तिनीहरूलाई भन्‍नुभयो: “मलाई पठाउनुहुनेको इच्छाअनुसार गर्नु+ अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।+ ३५  बाली काट्‌ने समय आउन अझ चार महिना बाँकी छ भनेर के तिमीहरू भन्दैनौ? तर हेर, म तिमीहरूलाई भन्छु: आफ्नो आँखा उठाएर खेततिर हेर किनकि बाली पाकेर पहेँला भइसकेका छन्‌।+ ३६  बाली काट्‌नेले अहिल्यै आफ्नो ज्याला पाउँदै छ र अनन्त जीवनका लागि फसल बटुल्दै छ ताकि बिउ छर्ने र काट्‌ने सँगसँगै रमाऊन्‌।+ ३७  यस सन्दर्भमा यो भनाइ सत्य हो: एउटाले छर्छ, अर्कोले काट्‌छ। ३८  तिमीहरूले परिश्रमै नगरेको बाली काट्‌न मैले तिमीहरूलाई पठाएँ। अरूले परिश्रम गरे तर तिनीहरूको परिश्रमको फल तिमीहरूले पाइरहेका छौ।” ३९  त्यस सहरका थुप्रै सामरियालीले उहाँमाथि विश्‍वास गरे किनकि त्यस स्त्रीले यसो भनेर साक्षी दिएकी थिई: “मैले गरेका सबै काम उहाँले मलाई बताइदिनुभयो।”+ ४०  त्यसैले उहाँकहाँ आएर ती सामरियालीहरूले उहाँलाई आफूहरूसितै बस्न आग्रह गरे अनि उहाँ दुई दिन त्यहाँ बस्नुभयो। ४१  फलस्वरूप उहाँको कुरा सुनेर अझ थुप्रैले उहाँमाथि विश्‍वास गरे ४२  अनि तिनीहरूले त्यस स्त्रीलाई यसो भने: “अब तिम्रो कुराको भरमा मात्र हामीले विश्‍वास गरेका होइनौँ किनकि हामी आफैले उहाँको कुरा सुन्यौँ र उहाँ साँच्चै संसारको उद्धारक हुनुहुन्छ+ भनेर हामीलाई थाह भयो।” ४३  दुई दिनपछि उहाँ त्यहाँबाट गालिल जानुभयो। ४४  तथापि भविष्यवक्‍ताले आफ्नै इलाकामा आदर पाउँदैन भनेर येसु आफैले साक्षी दिनुभएको थियो।+ ४५  जब उहाँ गालिल आइपुग्नुभयो, तब उहाँले चाडको बेला यरुसलेममा गर्नुभएका सबै काम देखेका हुनाले गालिलवासीहरूले उहाँको स्वागत गरे+ किनकि तिनीहरू पनि चाड मनाउन त्यहाँ गएका थिए।+ ४६  त्यसपछि उहाँ फेरि गालिलको काना पुग्नुभयो, जहाँ उहाँले पानीलाई दाखमद्यमा* परिणत गर्नुभएको थियो।+ त्यहाँ राजाको एक जना सेवक पनि थियो, जसको छोरा कफर्नहुममा बिरामी परेको थियो। ४७  येसु यहुदियाबाट निस्केर गालिल पुग्नुभयो भनी जब त्यस मानिसले सुन्यो, तब ऊ उहाँकहाँ गयो अनि आएर आफ्नो छोरालाई निको पारिदिन उहाँलाई बिन्ती गऱ्‍यो किनकि उसको छोरा मर्नै आँटेको थियो। ४८  तर येसुले उसलाई भन्‍नुभयो: “चिन्ह अनि अचम्मका कामहरू नदेखेसम्म तिमीहरू कुनै हालतमा विश्‍वास गर्दैनौ।”+ ४९  राजाको त्यस सेवकले उहाँलाई भन्यो: “हे प्रभु, मेरो सानो बाबु मर्नुअघि नै मसित आइदिनुहोस्‌।” ५०  येसुले उसलाई भन्‍नुभयो: “जाऊ, आफ्नो बाटो लाग, तिम्रो छोरा बाँच्छ।”+ त्यस मानिसले येसुको कुरामा विश्‍वास गऱ्‍यो र आफ्नो बाटो लाग्यो। ५१  ऊ बाटोमै छँदा उसका दासहरू आएर उसको छोरा बाँच्यो* भन्‍ने खबर सुनाए। ५२  तब आफ्नो छोरा कुन बेला निको भएको हो भनेर उसले तिनीहरूलाई सोध्यो। तिनीहरूले उसलाई जवाफ दिए: “हिजो सातौँ घडीमा* उसलाई ज्वरोले छोड्‌यो।” ५३  येसुले “तिम्रो छोरा बाँच्छ” भन्‍नुभएकै समयमा छोरा निको भएको रहेछ भनेर उसले थाह पायो।+ अनि ऊ र उसको घरमा भएकाहरू सबैले येसुमाथि विश्‍वास गरे। ५४  यहुदियाबाट निस्केर गालिल पस्नुभएपछि येसुले गर्नुभएको यो दोस्रो चमत्कार थियो।+

फुटनोटहरू

वा “मूलको।”
अर्थात्‌, मध्यान्ह लगभग १२ बजे।
शा., “परमेश्‍वर न्युमा हुनुहुन्छ।” शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।
अङ्‌गुरबाट बनेको रक्सी।
वा “निको हुँदै छ।”
अर्थात्‌, दिउँसो एक बजेतिर।