युहन्‍नाका अनुसार ९:१-४१

  • येसु जन्मजात अन्धोलाई निको पार्नुहुन्छ (१-१२)

  • फरिसीहरू त्यस अन्धोलाई सोधपुछ गर्छन्‌ (१३-३४)

  • फरिसीहरूको अन्धोपन (३५-४१)

 अब बाटोमा जाँदै गर्दा उहाँले एक जना जन्मजात अन्धो मानिसलाई देख्नुभयो। २  अनि चेलाहरूले उहाँलाई सोधे: “रब्बी,+ कसले पाप गरेकोले यो मानिस अन्धो जन्मियो, यसले कि यसका आमाबुबाले?” ३  येसुले जवाफ दिनुभयो: “न यस मानिसले पाप गरेकोले न त यसका आमाबुबाले पाप गरेकोले; तर यस मानिसको मामिलामा परमेश्‍वरका कामहरू प्रकट होऊन्‌ भनेर यसो भएको हो।+ ४  मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ+ किनकि रात आउँदै छ, जब कुनै मानिसले काम गर्न सक्दैन। ५  जबसम्म म संसारमा छु, म संसारको ज्योति हुँ।”+ ६  यी कुराहरू भनेपछि उहाँले भुईँमा थुक्नुभयो अनि थुक र माटो मुछेर लेप बनाउनुभयो र त्यस मानिसको आँखामा लगाइदिनुभयो+ ७  अनि उसलाई भन्‍नुभयो: “जाऊ, सिलोआमको (जसको अनुवाद हो, “पठाइएको”) कुण्डमा गएर पखाल।” तब उसले गएर पखाल्यो अनि देख्ने भएर फर्कियो।+ ८  तब छिमेकीहरूले अनि ज-जसले पहिला ऊ माग्न बसेको देख्ने गर्थे, तिनीहरूले यसो भन्‍न थाले: “के यो त्यही मानिस होइन र, जो पहिला माग्न बस्थ्यो?” ९  कोही-कोहीले भनिरहेका थिए: “त्यही हो।” अरूले यसो भनिरहेका थिए: “अहँ, होइन तर हेर्दाचाहिँ त्योजस्तै देखिन्छ।” त्यस मानिसले चाहिँ यसो भनिरहेको थियो: “म त्यही मानिस हुँ।” १०  तब तिनीहरूले उसलाई सोधे: “त्यसोभए तिम्रो आँखा कसरी खुल्यो त?” ११  उसले जवाफ दियो: “येसु नाम गरेको एक जना मानिसले लेप बनाएर मेरो आँखामा लगाइदिनुभयो र मलाई ‘सिलोआममा गएर पखाल’ भन्‍नुभयो।+ त्यसैले मैले गएर पखालेँ अनि दृष्टि पाएँ।” १२  यो सुनेर तिनीहरूले उसलाई सोधे: “त्यो मानिस कहाँ छ?” उसले भन्यो: “मलाई थाह छैन।” १३  तिनीहरूले त्यो मानिस, जो पहिला अन्धो थियो, उसलाई फरिसीहरूकहाँ लगे। १४  संयोगको कुरा, येसुले लेप बनाएर उसको आँखा खोलिदिनुभएको दिन+ विश्रामदिन* थियो।+ १५  त्यसकारण उसले कसरी दृष्टि पायो भनेर अब फरिसीहरूले पनि उसलाई सोध्न थाले। उसले तिनीहरूलाई भन्यो: “उहाँले मेरो आँखामा लेप लगाइदिनुभयो अनि मैले पखालेँ र देख्ने भएँ।” १६  तब केही फरिसीले भन्‍न लागे: “त्यो मानिस परमेश्‍वरबाट आएको होइन किनभने त्यसले विश्रामदिन मान्दैन।”+ अरूले चाहिँ यसो भने: “पापी मानिसले कसरी त्यस्ता किसिमका चमत्कारहरू गर्न सक्छ र?”+ यसरी तिनीहरूमाझ फूट उत्पन्‍न भयो।+ १७  तिनीहरूले त्यस अन्धो मानिसलाई फेरि सोधे: “तिमी उसको विषयमा के भन्छौ? किनकि उसले तिम्रै आँखा खोलिदिएको हो।” त्यस मानिसले भन्यो: “उहाँ भविष्यवक्‍ता हुनुहुन्छ।” १८  तर त्यस अन्धो मानिसका आमाबुबालाई नबोलाएसम्म यहुदीहरूले ऊ अन्धो थियो र अहिले देख्न सक्ने भएको हो भनेर पत्याएनन्‌। १९  तब तिनीहरूले उसका आमाबुबालाई सोधे: “के यो तिमीहरूको छोरा हो, जो जन्मैदेखि अन्धो थियो भनी तिमीहरू भन्छौ? त्यसोभए अहिले उसले कसरी देख्न सक्यो त?” २०  उसका आमाबुबाले जवाफ दिए: “यो हाम्रो छोरा हो र ऊ जन्मैदेखि अन्धो थियो भनेर हामीलाई थाह छ। २१  तर ऊ अहिले कसरी देख्ने भयो वा कसले उसको आँखा खोलिदियो, त्योचाहिँ हामीलाई थाह छैन। उसैलाई सोध्नुहोस्‌। ऊ बच्चा होइन। आफ्नो विषयमा ऊ आफैले बताउनुपर्छ।” २२  यहुदीहरूसित डराएर+ उसका आमाबुबाले यसो भनेका थिए किनकि जसले येसुलाई ख्रिष्टको रूपमा स्विकार्छ, उसलाई सभाघरबाट निकाल्ने* भनी यहुदीहरूले पहिल्यै सहमति गरिसकेका थिए।+ २३  यसैकारण उसका आमाबुबाले भने: “ऊ बच्चा होइन। उसैसित सोधपुछ गर्नुहोस्‌।” २४  त्यसैले तिनीहरूले त्यो मानिस, जो पहिला अन्धो थियो, उसलाई दोस्रो चोटि बोलाएर भने: “सत्य बोलेर परमेश्‍वरको महिमा गर; यो मानिस पापी हो भनेर हामीलाई थाह छ।” २५  उसले जवाफ दियो: “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्‍न, मलाई थाह छैन। मलाई यति मात्र थाह छ, म पहिला अन्धो थिएँ तर अहिले देख्ने भएको छु।” २६  तब तिनीहरूले उसलाई सोधे: “उसले तिमीलाई के गऱ्‍यो? उसले तिम्रो आँखा कसरी खोलिदियो?” २७  उसले तिनीहरूलाई जवाफ दियो: “मैले तपाईँहरूलाई पहिल्यै भनेको थिएँ तर तपाईँहरूले सुन्‍नुभएन। तपाईँहरू किन फेरि सुन्‍न चाहनुहुन्छ? कतै तपाईँहरू पनि उहाँको चेला बन्‍न त चाहनुहुन्‍न?” २८  यो सुनेर तिनीहरूले उसलाई होच्याउँदै यसो भने: “त्यस मानिसको चेला तिमी नै हौ; हामी त मोसाका चेला हौँ। २९  परमेश्‍वरले मोसासित कुरा गर्नुभएको थियो भनेर हामीलाई थाह छ तर यस मानिसको विषयमा भने ऊ कहाँबाट आएको हो, हामीलाई थाह छैन।” ३०  त्यस मानिसले तिनीहरूलाई जवाफ दियो: “कस्तो अचम्मको कुरा! उहाँले मेरो आँखा खोलिदिनुभयो तैपनि उहाँ कहाँबाट आउनुभएको हो भनेर तपाईँहरूलाई थाह छैन। ३१  हामीलाई थाह छ, परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न+ तर यदि कसैले परमेश्‍वरको डर मान्छ अनि उहाँको इच्छाअनुसार गर्छ भने उहाँले उसको कुरा सुन्‍नुहुन्छ।+ ३२  जन्मजात अन्धो मानिसको आँखा कसैले खोलिदियो भनेर आजसम्म सुनिएको छैन। ३३  यदि उहाँ परमेश्‍वरबाट आउनुभएको नहुँदो हो त उहाँले केही पनि गर्न सक्नुहुने थिएन।”+ ३४  तब तिनीहरूले उसलाई जवाफ दिए: “पापैमा जन्मेको मानिस भएर पनि के तिमी हामीलाई सिकाउँदै छौ?” अनि तिनीहरूले उसलाई बाहिर निकालिदिए।+ ३५  तिनीहरूले उसलाई बाहिर निकाले भनी येसुले सुन्‍नुभयो र उसलाई भेटेपछि उहाँले सोध्नुभयो: “के तिमी मानिसको छोरामाथि विश्‍वास गर्छौ?” ३६  त्यस मानिसले जवाफ दियो: “उहाँ को हुनुहुन्छ हजुर? मलाई भन्‍नुहोस्‌ ताकि मैले उहाँमाथि विश्‍वास गर्न सकूँ।” ३७  येसुले भन्‍नुभयो: “तिमीले उसलाई देखेका छौ र वास्तवमा तिमी अहिले उसैसित कुरा गरिरहेका छौ।” ३८  तब उसले भन्यो: “प्रभु, म उहाँमाथि विश्‍वास गर्छु।” अनि उसले उहाँलाई दण्डवत्‌ गऱ्‍यो। ३९  येसुले भन्‍नुभयो: “म न्याय गर्न संसारमा आएको हुँ ताकि ज-जसले देख्दैनन्‌, तिनीहरूले देखून्‌+ र ज-जसले देख्छन्‌, तिनीहरू अन्धा होऊन्‌।”+ ४०  उहाँसँगै भएका फरिसीहरूले जब यो कुरा सुने, तब तिनीहरूले उहाँलाई सोधे: “के हामी पनि अन्धा हौँ त?” ४१  येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू अन्धा हुँदा हौ त तिमीहरूमा पाप हुने थिएन। तर अब तिमीहरू भन्छौ: ‘हामी देख्छौँ।’ त्यसैले तिमीहरूको पाप रहिरहन्छ।”+

फुटनोटहरू

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
सभाघरबाट निकालिनुको अर्थ यहुदी समुदायबाट पूर्णतया बहिष्कृत हुनु हो।