पहिलो राजा ६:१-३८

  • सुलेमान मन्दिर बनाउँछन्‌ (१-३८)

    • महापवित्र कोठा (१९-२२)

    • करूबहरू (२३-२८)

    • खोपिएका आकृतिहरू, ढोकाहरू, भित्री आँगन (२९-३६)

    • मन्दिर बनाउन लगभग सात वर्ष लाग्छ (३७, ३८)

 सुलेमान इस्राएलका राजा भएको चौथो वर्षको जीभ*+ महिनामा (अर्थात्‌ दोस्रो महिनामा) तिनले यहोवा परमेश्‍वरको भवन* बनाउन सुरु गरे।+ यो इस्राएलीहरू मिश्रबाट निस्केर आएको ४८० औँ वर्ष थियो।+ २  राजा सुलेमानले यहोवा परमेश्‍वरको निम्ति बनाएको त्यस भवनको लम्बाइ ६० हात,* चौडाइ २० हात र उचाइ ३० हात थियो।+ ३  मन्दिरको* अगाडि भएको दलानको+ लम्बाइ* २० हात थियो, जुन भवनको चौडाइबराबर थियो। त्यो दलान भवनको अगाडिको भित्ताबाट नाप्दा १० हात थियो। ४  सुलेमानले भवनमा बाहिरपट्टि साँघुरो र भित्रपट्टि फराकिलो हुँदै गएका झ्यालहरू पनि बनाए।+ ५  साथै तिनले भवनको भित्तासित जोडिनेगरि भवनको चारैतिर अरू कोठाहरू पनि थपे।+ ती कोठाहरू मन्दिर* अनि भित्री कोठाको+ बाहिरी भित्तासित जोडिएका थिए। ६  ती कोठाहरूको भुईँ तलाको चौडाइ पाँच हात, पहिलो तलाको छ हात र दोस्रो तलाको सात हात थियो। तिनले भवनको भित्तामा दलिन अडाउने ठाउँहरू बनाएको हुनाले दलिनलाई ठोक्न भित्तामा प्वाल पार्नु परेन।+ ७  त्यो भवन बनाउन पहिल्यै काटेर तयार पारिएको ढुङ्‌गा प्रयोग गरिएको थियो।+ त्यसैले भवन बनाउने बेला हतौडा, बन्चरो वा फलामको कुनै औजारको आवाज सुनिएन। ८  भवनको भित्तामा जोडेर बनाइएका कोठाहरूको भुईँ तलाको ढोका भवनको दक्षिणपट्टि* थियो।+ भुईँ तलाबाट पहिलो तलामा र पहिलो तलाबाट दोस्रो तलामा जान घुमौरो भऱ्‍याङ थियो। ९  सुलेमानले भवन बनाउँदै गए र भवन निर्माण गर्ने काम पूरा गरे।+ अनि तिनले देवदारका दलिनहरू र फल्याकहरूले भवनको छत बनाए।+ १०  तिनले भवनको भित्तासितै जोडेर बनाएका कोठाहरूको उचाइ पाँच हात थियो।+ ती कोठाहरू देवदारका काठले भवनसित गाँसिएका थिए। ११  त्यही समयतिर यहोवा परमेश्‍वरले सुलेमानलाई यसो भन्‍नुभयो: १२  “मेरा विधिविधान र आज्ञाहरूअनुसार चल्यौ र मेरो नीतिनियम पालन गऱ्‍यौ भने+ मैले तिम्रो विषयमा तिम्रो बुबा दाउदसित गरेको प्रतिज्ञा पूरा गर्नेछु, विशेषगरि त्यो प्रतिज्ञा जुन मैले यस भवनबारे गरेको थिएँ।+ १३  अनि म इस्राएलीहरूसितै बास गर्नेछु;+ म मेरा मानिसहरूलाई त्याग्नेछैनँ।”+ १४  सुलेमानले भवन बनाउने काम जारी राखे। १५  तिनले भवनको भित्री भित्ता देवदारको फल्याकले छोपे।* तिनले भित्री भित्तालाई भुईँदेखि छतसम्मै फल्याकले छोपे। अनि भुईँमा चाहिँ धुपीको फल्याक बिछ्याए।+ १६  तिनले भवनको पछिल्लो भागको भित्री भित्ताबाट २० हातअगाडि भुईँदेखि छतसम्मै देवदारको काठले बारे र त्यहाँ एउटा कोठा बनाए। यसरी तिनले भवनमा भित्री कोठा+ अर्थात्‌ महापवित्र कोठा बनाए।+ १७  भवनको अगाडिको भागमा भएको मन्दिरको*+ लम्बाइ ४० हात थियो। १८  भवनको भित्तामा भएको देवदारको फल्याकमा खरबुजाजस्तै देखिने साना फलका+ र फक्रेका फूलका+ आकृतिहरू खोपिएका थिए। भवनको भित्र चारैतिर देवदारको काठ थियो, कतै पनि ढुङ्‌गा देखिँदैनथ्यो। १९  यहोवा परमेश्‍वरको करारको सन्दुक* राख्न+ सुलेमानले भवनभित्र भित्री कोठा तयार पारे।+ २०  भित्री कोठाको लम्बाइ २० हात, चौडाइ २० हात र उचाइ २० हात थियो।+ तिनले त्यस कोठालाई निखुर सुनले मोहोरे अनि वेदीलाई* देवदारको काठले मोहोरे।+ २१  सुलेमानले भवनको भित्री भाग निखुर सुनले मोहोरे+ अनि सुनले मोहोरिएको भित्री कोठाको अगाडि सुनको साङ्‌ला टाँगे।+ २२  तिनले पूरै भवनको भित्री भागलाई सुनले मोहोरे। अनि भित्री कोठाको नजिकै राखिएको वेदीलाई पनि सुनले मोहोरे।+ २३  भित्री कोठामा सुलेमानले सल्लाको काठका दुई वटा करूब बनाए।+ दुवै करूब १०-१० हात अग्ला थिए।+ २४  करूबको एउटा पखेटा पाँच हात र अर्को पखेटा पनि पाँच हात लामो थियो। एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्म १० हात थियो। २५  अर्को करूबका पखेटाहरू पनि १० हातको थियो। दुवै करूबको नाप र आकार उस्तै थियो। २६  दुवै करूब १०-१० हात अग्ला थिए। २७  त्यसपछि सुलेमानले दुवै करूब+ महापवित्र कोठामा राखे। ती दुवै करूबका पखेटाहरू फैलिएका थिए। त्यसैले पहिलो करूबको एउटा पखेटाले एकातिरको भित्ता र दोस्रो करूबको अर्को पखेटाले अर्कोतिरको भित्ता छुन्थ्यो। अनि भवनको बीचमा पहिलो करूबको एउटा पखेटाले दोस्रो करूबको अर्को पखेटालाई छुन्थ्यो। २८  अनि तिनले ती करूबहरूलाई सुनले मोहोरे। २९  सुलेमानले भित्री र बाहिरी कोठाको भित्तामा करूब,+ खजुरको बोट+ र फक्रेका फूलका आकृतिहरू खोपे।+ ३०  तिनले भवनको भित्री र बाहिरी कोठाका भुईँ सुनले मोहोरे। ३१  तिनले भित्री कोठाको लागि सल्लाको काठका ढोकाहरू, ढोकाको छेउका खम्बाहरू र चौकोसहरू बनाए, जुन पाँचौँ भाग* थियो। ३२  दुवै ढोका सल्लाको काठबाट बनाइएको थियो। सुलेमानले ती ढोकाहरूमा करूबका, खजुरको बोटका र फक्रेका फूलका आकृतिहरू खोपे अनि ती ढोकाहरूलाई सुनले मोहोरे। तिनले सुन पिटेर करूबका र खजुरको बोटका आकृतिहरूलाई पनि मोहोरे। ३३  मन्दिरको* ढोकाको लागि पनि तिनले त्यसरी नै सल्लाको काठका चौकोस बनाए, जुन चौथो भागको* थियो। ३४  अनि तिनले धुपीको काठका दुई वटा ढोका बनाए। प्रत्येक ढोकामा दुई-दुई वटा खापा थिए र ढोका खोल्दा ती खापाहरू खप्टिन्थे।+ ३५  तिनले ती ढोकाहरूमा करूब, खजुरको बोट र फक्रेका फूलका आकृतिहरू खोपे र ती आकृतिहरूलाई सुनले मोहोरे। ३६  त्यसपछि सुलेमानले पर्खालले घेरेर भित्री चोक बनाए।+ त्यस पर्खालमा काटेर तयार पारिएको ढुङ्‌गाको तीन सल* लगाइएको थियो र चौथो सलचाहिँ देवदारको काठको थियो।+ ३७  सुलेमानको शासनकालको चौथो वर्षको जीभ महिनामा यहोवा परमेश्‍वरको भवनको जग राखिएको थियो।+ ३८  अनि एघारौँ वर्षको बूल* महिनामा (अर्थात्‌ आठौँ महिनामा) त्यस भवनको एक-एक भाग नमुनाअनुसार बनाएर सिद्धियो।+ परमेश्‍वरको भवन बनाउन सात वर्ष लाग्यो।

फुटनोटहरू

अतिरिक्‍त लेख ख८ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।
एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
शा., “भवनको मन्दिरको।”
वा “चौडाइ।”
यहाँ “मन्दिर”-ले पवित्र कोठालाई जनाउँछ।
शा., “दायाँपट्टि।”
शा., “बनाए।”
अर्थात्‌, पवित्र कोठाको। यो महापवित्र कोठाको अगाडिपट्टि थियो।
शब्दावली हेर्नुहोस्‌।
अर्थात्‌, धूप बाल्ने वेदीलाई।
यसले ढोकाको खापा बनाउने कामलाई वा ढोकाको नापलाई जनाएको हुन सक्छ।
यहाँ “मन्दिर”-ले पवित्र कोठालाई जनाउँछ।
यसले ढोकाको खापा बनाउने कामलाई वा ढोकाको नापलाई जनाएको हुन सक्छ।
पर्खाल आदि लगाउँदा राखिने ढुङ्‌गाको तह।
अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।