युहन्‍नालाई प्रकाश ३:१-२२

  • यी मण्डलीहरूलाई सन्देश: सार्डिस (१-६), फिलाडेल्फिया (७-१३), लाओडिसिया (१४-२२)

 “सार्डिसको मण्डलीको स्वर्गदूतलाई लेख: परमेश्‍वरको सात वटा शक्‍ति+ अनि सात वटा तारा हुनेले+ यसो भन्‍नुहुन्छ: ‘मलाई तिम्रा कामहरू थाह छ, तिमी जिउँदो त देखिन्छौ तर वास्तवमा मरिसकेका छौ।+ २  जागा बस+ अनि मर्न लागेका बाँकी कुराहरूलाई बलियो बनाऊ किनकि मेरा परमेश्‍वरसामु तिम्रो कुनै काम पूरा भएको मैले पाएको छैनँ। ३  त्यसैले तिमीले जे-जे पायौ अनि जे-जे सुन्यौ, ती कुराहरू सम्झिराख र पक्रिराख अनि पश्‍चात्ताप गर।+ तिमी जागेनौ भने म चोरजस्तै गरी आउनेछु+ र म कुन बेला तिमीकहाँ आउनेछु, तिमीले कुनै हालतमा थाह पाउनेछैनौ।+ ४  “‘तर सार्डिसमा तिमीकहाँ केही यस्ता मानिस छन्‌, जसले आफ्नो लुगा बिटुलो पारेका छैनन्‌।+ तिनीहरू सेतो लुगा लगाएर मसित हिँड्‌नेछन्‌+ किनकि तिनीहरू योग्य छन्‌। ५  जसले विजय हासिल गर्छ,+ उसले यसरी सेतो लुगा पहिरिनेछ+ र म उसको नाम जीवनको पुस्तकबाट+ कुनै हालतमा मेटाउनेछैनँ बरु मेरो बुबा अनि उहाँका स्वर्गदूतहरूसामु म उसको नाम स्वीकार गर्नेछु।+ ६  पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌।’ ७  “फिलाडेल्फियाको मण्डलीको स्वर्गदूतलाई लेख: जो पवित्र+ र सत्य+ हुनुहुन्छ अनि जससित दाउदको साँचो छ+ अनि जसले कसैले बन्द नगरोस्‌ भनेर खोल्नुहुन्छ र कसैले नखोलोस्‌ भनेर बन्द गर्नुहुन्छ, उहाँ यसो भन्‍नुहुन्छ: ८  ‘मलाई तिम्रा कामहरू थाह छ—हेर! कसैले बन्द गर्न नसक्ने ढोका मैले तिम्रो निम्ति खोलेको छु।+ तिमीसित थोरै शक्‍ति छ र तिमीले मेरो वचन पालन गरेका छौ अनि आफूलाई मप्रति वफादार साबित गरेका छौ भनेर मलाई थाह छ। ९  हेर! ती मानिसहरू, जो हामी यहुदी हौँ भनेर झूट बोलिरहेका छन्‌ तर वास्तवमा सैतानको दलका* हुन्‌,+ म तिनीहरूलाई तिमीकहाँ आउन बाध्य पार्नेछु र तिनीहरूलाई तिम्रा पाउमा दण्डवत्‌ गर्न लगाउनेछु अनि मैले तिमीलाई प्रेम गरेको छु भनी तिनीहरूलाई थाह दिनेछु। १०  तिमीले मेरो सहनशीलताबारे जे सुन्यौ, त्यसअनुसार चलेको हुनाले*+ पृथ्वीका सबै बासिन्दाको परीक्षा लिन सारा पृथ्वीमाथि आइपर्ने परीक्षाको बेला म तिमीलाई सम्हाल्नेछु।+ ११  म छिट्टै आउँदै छु।+ तिमीसित जे छ, त्यसलाई पक्रिराख ताकि कसैले तिम्रो मुकुट खोस्न नपाओस्‌।+ १२  “‘जसले विजय हासिल गर्छ, म उसलाई मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र कुनै कुराले उसलाई त्यहाँबाट हटाउन सक्नेछैन। अनि म उसमा मेरा परमेश्‍वरको नाम, मेरा परमेश्‍वरको सहरको नाम अर्थात्‌ मेरा परमेश्‍वर बस्नुहुने स्वर्गबाट तल ओर्लने नयाँ यरुसलेमको+ नाम र मेरो नयाँ नाम लेखिदिनेछु।+ १३  पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌।’ १४  “लाओडिसियाको मण्डलीको+ स्वर्गदूतलाई लेख: जो आमिन,+ विश्‍वासयोग्य अनि साँचो+ साक्षी+ हुनुहुन्छ र परमेश्‍वरको सृष्टिको सुरुवात हुनुहुन्छ,+ उहाँ यसो भन्‍नुहुन्छ: १५  ‘मलाई तिम्रा कामहरू थाह छ, तिमी न चिसो न तातो छौ। तिमी कि चिसो कि तातो भइदिए त हुने थियो। १६  तिमी न तातो+ न चिसो+ तर मनतातो भएकोले मैले तिमीलाई मुखबाट ओकलिदिन लागेको छु। १७  “म धनी छु+ र मैले धेरै धनसम्पत्ति थुपारेको छु, मलाई केही कुराको खाँचो छैन” भनेर तिमी भन्छौ तर तिमी कत्ति गएगुज्रेको र दयनीय अवस्थामा छौ अनि कत्ति गरिब, अन्धो र नाङ्‌गो छौ, तिमीलाई थाह छैन। १८  म तिमीलाई के सुझाव दिन्छु भने आगोले खारिएको सुन मसित किन र धनी बन, मसित सेतो लुगा किनेर लगाऊ ताकि मानिसहरूले तिम्रो नग्नता नदेखून्‌ र तिमी लाजमा पर्न नपरोस्‌+ अनि आफ्नो आँखामा लगाउन+ मसित गाजल किन र देख्न सक्ने बन।+ १९  “‘ज-जसलाई म माया गर्छु, तिनीहरू सबैलाई म सुधार्छु अनि अनुशासन दिन्छु।+ त्यसैले जोसिलो होऊ र पश्‍चात्ताप गर।+ २०  हेर! म ढोकामा उभिएर ढकढक्याउँदै छु। यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने म उसको घरभित्र आउनेछु र ऊसित साँझको खाना खानेछु अनि उसले मसित खानेछ। २१  जसले विजय हासिल गर्छ,+ म उसलाई मसित मेरो सिंहासनमा बस्न दिनेछु,+ जस्तो म पनि विजयी भएर मेरो बुबासित उहाँको सिंहासनमा बसेको छु।+ २२  पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌।’”

फुटनोटहरू

शा., “सभाघरका।”
वा सम्भवत: “मेरो सहनशीलताको उदाहरण पछ्याएको हुनाले।”