युहन्‍नालाई प्रकाश ७:१-१७

  • विनाश गर्ने बतासलाई चार जना स्वर्गदूतले थामिराखेका छन्‌ (१-३)

  • १ लाख ४४ हजारलाई छाप लगाइन्छ (४-८)

  • सेतो लुगा लगाएको एउटा ठूलो भीड (९-१७)

 यसपछि मैले पृथ्वीका चार कुनामा चार स्वर्गदूत उभिरहेको देखेँ। पृथ्वीमा वा समुद्रमा वा कुनै रूखमा बतास नचलोस्‌ भनेर तिनीहरूले पृथ्वीका चार बतासलाई बलियोसित थामिराखेका थिए। २  अनि सूर्योदय हुने ठाउँबाट* अर्को स्वर्गदूत उक्लँदै गरेको मैले देखेँ र तिनीसित जीवित परमेश्‍वरको छाप थियो। अनि पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई तिनले चर्को स्वरमा यसो भने: ३  “हाम्रा परमेश्‍वरका दासहरूको निधारमा हामीले छाप नलगाएसम्म+ पृथ्वी वा समुद्र वा रूखहरूलाई हानि नगर।”+ ४  त्यसपछि मैले छाप लगाइएकाहरूको सङ्‌ख्या सुनेँ। त्यो १ लाख ४४ हजार थियो+ अनि छाप लगाइएकाहरू इस्राएलको सन्तानका हरेक कुलबाट लिइएका थिए:+ ५  यहुदाको कुलबाट १२ हजारलाई छाप लगाइयो;रुबेनको कुलबाट १२ हजारलाई;गादको कुलबाट १२ हजारलाई; ६  असेरको कुलबाट १२ हजारलाई;नप्तालिको कुलबाट १२ हजारलाई;मनस्सेको+ कुलबाट १२ हजारलाई; ७  सिमियोनको कुलबाट १२ हजारलाई;लेविको कुलबाट १२ हजारलाई;इस्साकारको कुलबाट १२ हजारलाई; ८  जबुलुनको कुलबाट १२ हजारलाई;युसुफको कुलबाट १२ हजारलाई अनि बिन्यामिनको कुलबाट १२ हजारलाई छाप लगाइयो। ९  यसपछि हेर! कुनै मानिसले गन्‍न नसक्ने एउटा ठूलो भीड मैले देखेँ। तिनीहरू हरेक राष्ट्र, कुल, जाति अनि भाषाका थिए।+ तिनीहरू सेता लुगा लगाएर+ सिंहासन र पाठोको अगाडि उभिरहेका थिए अनि तिनीहरूका हातमा खजुरका हाँगाहरू थिए।+ १०  तिनीहरू चर्को स्वरमा यसो भनिरहन्छन्‌: “सिंहासनमा बस्नुहुने हाम्रा परमेश्‍वर+ अनि पाठोद्वारा हामीले उद्धार पाउँछौँ।”+ ११  सबै स्वर्गदूत, जो सिंहासन, एल्डरहरू+ अनि चार वटा जीवको वरिपरि उभिरहेका थिए, तिनीहरू सिंहासनसामु घोप्टो परे र यसो भन्दै परमेश्‍वरको उपासना गरे: १२  “आमिन! प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्‍ति अनि बल सदासर्वदा हाम्रा परमेश्‍वरकै होस्‌।+ आमिन।” १३  यो सुनेर एल्डरहरूमध्ये एक जनाले मलाई सोधे: “सेता लुगा लगाएका यी मानिसहरू+ को हुन्‌ अनि कहाँबाट आएका हुन्‌?” १४  मैले तुरुन्तै तिनलाई जवाफ दिएँ: “प्रभु, यो कुरा तपाईँलाई नै थाह छ।” अनि तिनले मलाई भने: “यिनीहरू महासङ्‌कष्ट+ पार गरेर आएका मानिसहरू हुन्‌ अनि यिनीहरूले आ-आफ्नो लुगा पाठोको रगतमा धोएर सेता बनाएका छन्‌।+ १५  त्यसैले तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि छन्‌ अनि उहाँको मन्दिरमा दिनरात उहाँलाई पवित्र सेवा चढाइरहेका छन्‌ अनि सिंहासनमा बस्नुहुनेले+ तिनीहरूलाई सुरक्षित राख्नुहुनेछ।*+ १६  तिनीहरू फेरि कहिल्यै भोकाउने वा तिर्खाउनेछैनन्‌ न त घामको राप वा कुनै तापले तिनीहरूलाई पोल्नेछ+ १७  किनभने सिंहासनको बीचमा हुनुहुने पाठोले+ जीवन दिने पानीको मुहानसम्मै+ तिनीहरूलाई गोठालोले झैँ डोऱ्‍याउनुहुनेछ।+ अनि परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”+

फुटनोटहरू

वा “पूर्वबाट।”
वा “तिनीहरूमाथि आफ्नो पाल फिँजाउनुहुनेछ।”