रोमी २:१-२९
२ त्यसैले ए मानिस, तिमी जोसुकै हौ, यदि अरूलाई दोष लगाउँछौ भने तिमी आफै दोषी छौ।+ अरूलाई दोष लगाएर तिमी आफैलाई दोषी ठहराउँछौ किनकि तिमी अरूलाई जुन कुराको दोष लगाउँछौ, त्यो आफै पनि गरिरहन्छौ।+
२ अब हामीलाई थाह छ, यस्ता काम गरिरहने मानिसहरूको परमेश्वरले न्याय गर्नुहुन्छ र उहाँको न्याय सही छ।
३ ए मानिस, यदि तिमी त्यस्ता काम गरिरहनेहरूलाई दोषी ठहराउँछौ तर आफूचाहिँ ती गर्छौ भने के तिमी परमेश्वरको न्यायबाट उम्कन सक्छु भन्ठान्छौ?
४ अथवा के तिमी परमेश्वरको अपार दया,+ सहनशीलता+ अनि धीरजलाई+ तुच्छ सम्झन्छौ? परमेश्वरले दया गरेर तिमीलाई पश्चात्तापतिर लैजाने कोसिस गर्दै हुनुहुन्छ भन्ने कुरा के तिमीलाई थाह छैन?+
५ तर तिमीहरूको हृदय कठोर अनि अपश्चात्तापी भएकोले तिमीहरूले आफ्नो निम्ति त्यस दिनका लागि परमेश्वरको क्रोध साँच्दै छौ, जुन दिन उहाँको क्रोध र सही न्याय प्रकट हुनेछ।+
६ उहाँले हरेकलाई उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ:+
७ निरन्तर असल काम गरेर गौरव, आदर अनि अविनाशी शरीर खोज्नेहरूलाई उहाँले अनन्त जीवन दिनुहुनेछ।+
८ तर जो झगडालु छन् अनि जो सत्यबमोजिम चल्नुको साटो परमेश्वरको स्तरविपरीत चल्छन्, तिनीहरूमाथि क्रोध र रिस आइपर्नेछ।+
९ हानिकारक काम गर्ने हरेक मानिसमाथि सङ्कष्ट अनि आपत् आइपर्नेछ, पहिले यहुदीमाथि अनि त्यसपछि ग्रीकमाथि।
१० तर असल काम गर्ने हरेकलाई परमेश्वरले गौरव, आदर अनि शान्ति दिनुहुनेछ, पहिले यहुदीलाई+ अनि त्यसपछि ग्रीकलाई।+
११ किनकि परमेश्वर कसैको पक्षपात गर्नुहुन्न।+
१२ व्यवस्था नजानेर पाप गर्नेहरू व्यवस्था नजानेकै अवस्थामा मर्नेछन्+ तर व्यवस्था जानेर पाप गर्नेहरू सबैको चाहिँ व्यवस्थाबमोजिमै न्याय गरिनेछ।+
१३ किनकि व्यवस्था सुन्नेहरू होइन तर व्यवस्था पालन गर्नेहरू परमेश्वरसामु असल ठहरिनेछन्।+
१४ यदि व्यवस्था नहुने गैर-यहुदीहरू+ स्वतः व्यवस्थामा भएका कुराहरू गर्छन् भने व्यवस्था नभए तापनि तिनीहरू आफै आफ्नो निम्ति व्यवस्था हुन्।
१५ तिनीहरूको हृदयमा व्यवस्थाका कुरा लेखिएका छन् भनेर तिनीहरू आफैले प्रदर्शन गर्छन् र तिनीहरूको अन्तस्करणले पनि त्यसको साक्षी दिन्छ। अनि तिनीहरूको सोचाइले नै तिनीहरूलाई दोषी वा निर्दोष ठहराउँछ।
१६ यो त्यसबेला हुनेछ, जब मैले प्रचार गरेको सुसमाचारबमोजिम परमेश्वरले ख्रिष्ट येसुमार्फत मानिसहरूका गोप्य कुराहरूको न्याय गर्नुहुनेछ।+
१७ तिमी आफू यहुदी हुँ भन्छौ,+ व्यवस्थामाथि भर पर्छौ अनि परमेश्वरसितको सम्बन्धमा गर्व गर्छौ,
१८ परमेश्वरको इच्छा के हो, त्यो तिमीलाई थाह छ र मोसाको व्यवस्थाको शिक्षा पाएकोले* सर्वोत्तम कुराहरू के हुन्, त्यो पक्का गर्न सक्छौ+
१९ अनि तिमी यस कुरामा विश्वस्त छौ कि तिमी अन्धालाई बाटो देखाउने, अँध्यारोमा बसिरहेकाहरूलाई ज्योति दिने,
२० बेसमझहरूलाई सच्याउने, साना केटाकेटीलाई* सिकाउने हौ। अनि तिमीलाई मोसाको व्यवस्थामा पाइने ज्ञान र सत्यको ढाँचा पनि थाह छ—
२१ तिमी जो अरूलाई सिकाउँछौ, के आफैलाई चाहिँ सिकाउँदैनौ?+ तिमी जो “नचोर्नू” भनी प्रचार गर्छौ,+ के आफैचाहिँ चोर्छौ?
२२ तिमी जो “व्यभिचार* नगर्नू” भनी भन्छौ,+ के आफैचाहिँ व्यभिचार गर्छौ? तिमी जो मूर्ति देखेर घिन मान्छौ, के आफैचाहिँ मन्दिरहरू लुट्छौ?
२३ तिमी जो व्यवस्थामाथि गर्व गर्छौ, मोसाको व्यवस्थाविरुद्ध पाप गरेर के आफैचाहिँ परमेश्वरको अनादर गर्छौ?
२४ किनकि यस्तो लेखिएको छ, “तिमीहरूले गर्दा अन्यजातिहरूको बीचमा परमेश्वरको नामको निन्दा भइरहेको छ।”+
२५ तिमी व्यवस्थाबमोजिम चल्छौ भने मात्र वास्तवमा खतना*+ फाइदाजनक हुन्छ तर तिमी व्यवस्थाविरुद्ध पाप गर्छौ भने खतना गरे तापनि तिमी खतना नभएसरह हुन्छौ।+
२६ त्यसैले यदि खतना नभएको मानिसले+ मोसाको व्यवस्थामा परमेश्वरले तोक्नुभएको माग पूरा गर्छ भने खतना नगरे तापनि के ऊ खतना भएसरह हुँदैन र?+
२७ शारीरिक रूपमा खतना नगरे तापनि मोसाको व्यवस्था पालन गरेर उसले तिमीलाई दोषी ठहराउनेछ किनकि तिमी लिखित नियम पाएको अनि खतना भएको मानिस भएर पनि व्यवस्थाविरुद्ध पाप गर्छौ।
२८ जो बाहिरबाट यहुदी देखिन्छ, ऊ यहुदी होइन+ न त शरीरमा गरिने खतना नै खतना हो।+
२९ तर जो भित्रबाट यहुदी हो, ऊ नै यहुदी हो+ अनि लिखित नियमबमोजिम होइन+ तर पवित्र शक्तिद्वारा उसको हृदयको खतना भएको छ।+ यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, परमेश्वरबाट हुन्छ।+