लुकाका अनुसार १२:१-५९

  • फरिसीहरूको खमिर (१-३)

  • परमेश्‍वरसित डराओ, मानिसहरूसित होइन (४-७)

  • ख्रिष्टलाई स्वीकार गर्ने (८-१२)

  • मूर्ख धनी मानिसको उदाहरण (१३-२१)

  • चिन्ता गर्न छोडिहाल (२२-३४)

    • सानो बगाल (३२)

  • जागा रहनु (३५-४०)

  • विश्‍वासी र अविश्‍वासी भण्डारे (४१-४८)

  • शान्ति होइन, फूट (४९-५३)

  • भइरहेको कुरा हेरेर त्यसको अर्थ बुझ्नुपर्छ (५४-५६)

  • मिलाप गर्ने (५७-५९)

१२  त्यसबीच हजारौँको सङ्‌ख्यामा मानिसहरूको भीड जम्मा भयो, यहाँसम्म कि टेक्ने ठाउँसमेत नपाएर तिनीहरूले एकअर्काको खुट्टा कुल्चिरहेका थिए। तब येसुले सिकाउन थाल्नुभयो र सबैभन्दा पहिला आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “फरिसीहरूको* खमिर* अर्थात्‌ कपटदेखि होसियार रहो।+ २  होसियारीपूर्वक ढाकछोप गरिएको यस्तो कुनै कुरा छैन, जुन उदाङ्‌ग हुँदैन अनि यस्तो कुनै गोप्य कुरा छैन, जुन थाह हुँदैन।+ ३  त्यसैले जे तिमीहरू अन्धकारमा भन्छौ, त्यो उज्यालोमा सुनिनेछ अनि जे तिमीहरू भित्री कोठाहरूमा खुसुक्क भन्छौ, त्यो घरको धुरीबाट फुकिनेछ। ४  साथै हे मेरा मित्रहरू,+ म तिमीहरूलाई भन्छु, त्यस्ताहरूसित नडराओ, जसले तिमीहरूको शरीर मार्न सक्छन्‌ तर त्योभन्दा बढ्‌ता अरू केही गर्न सक्दैनन्‌।+ ५  तर कोसित डराउनुपर्छ, म तिमीहरूलाई बताउँछु: उहाँसित डराओ, जोसँग ज्यान लिएपछि गेहेन्‍नामा* फ्याँक्ने अख्तियार छ।+ हो, म तिमीहरूलाई भन्छु, उहाँसितै डराओ।+ ६  के पाँच वटा भँगेरा दुई पैसामा* बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि परमेश्‍वरले बिर्सनुहुन्‍न।*+ ७  तर तिमीहरूको शिरको केशसमेत सबै गनिएका छन्‌।+ नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।+ ८  “त्यसैले म तिमीहरूलाई भन्छु, जसले मलाई मानिसहरूसामु स्वीकार गर्छ,+ मानिसको छोराले पनि उसलाई परमेश्‍वरका स्वर्गदूतहरूसामु स्वीकार गर्नेछ।+ ९  तर जसले मलाई मानिसहरूसामु इन्कार गर्छ, उसलाई पनि परमेश्‍वरका स्वर्गदूतहरूसामु इन्कार गरिनेछ।+ १०  जसले मानिसको छोराको विरुद्धमा बोल्छ, उसलाई क्षमा दिइनेछ। तर जसले पवित्र शक्‍तिको निन्दा गर्छ, उसलाई क्षमा दिइनेछैन।+ ११  तिनीहरूले जनतासामु,* सरकारी अधिकृतहरूसामु अनि अख्तियारवालाहरूसामु तिमीहरूलाई उभ्याउँदा आफ्नो बचाउको लागि के भन्‍ने अथवा कसरी भन्‍ने भनी चिन्ता नगर+ १२  किनकि तिमीहरूले के भन्‍नुपर्ने हो, पवित्र शक्‍तिले तिमीहरूलाई त्यतिखेरै सिकाउनेछ।”+ १३  तब भीडबाट एक जनाले उहाँलाई भन्यो: “गुरुज्यू, मेरो दाइलाई हाम्रो पुर्ख्यौली सम्पत्तिको अंशबण्डा गर्न भनिदिनुहोस्‌।” १४  उहाँले तिनलाई भन्‍नुभयो: “ए मित्र, तिमीहरू दुई जनाबीच न्याय गरिदिन वा अंशबण्डा गरिदिन कसले मलाई नियुक्‍त गऱ्‍यो?” १५  तब उहाँले मानिसहरूलाई भन्‍नुभयो: “तिमीहरूका आँखा खुला राख र हरप्रकारको लोभबाट आफूलाई जोगाओ+ किनभने मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिँदैन।”+ १६  त्यसपछि उहाँले तिनीहरूलाई यस्तो उदाहरण सुनाउनुभयो: “एक जना धनी मानिसको जमिनले राम्रो उब्जनी दियो। १७  त्यसैले उसले मनमनै भन्‍न थाल्यो: ‘यत्रो उब्जनी राख्ने ठाउँ मसित छैन, अब के गर्ने होला?’ १८  उसले भन्यो: ‘म यसो गर्छु:+ मेरो भण्डार भत्काउँछु अनि अझ ठूलो भण्डार बनाउँछु र मेरा सबै अनाज र सरसम्पत्ति त्यहीँ राख्छु। १९  अनि आफूलाई भन्‍नेछु: “तँसित वर्षौँलाई पुग्ने सरसम्पत्ति छ। त्यसैले आरामसित बसेर खा, पि अनि मोज गर्‌।”’ २०  तर परमेश्‍वरले उसलाई भन्‍नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+ २१  जुन मानिसले आफ्नो लागि धनसम्पत्ति थुपार्छ तर परमेश्‍वरको नजरमा चाहिँ धनी हुँदैन, त्यसको हालत यस्तै हुनेछ।”+ २२  अनि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “यसकारण म तिमीहरूलाई भन्छु: के खाऔँला भनी आफ्नो जीवनको विषयमा वा के लगाऔँला भनी आफ्नो शरीरको विषयमा चिन्ता गर्न छोडिहाल।+ २३  किनकि भोजनभन्दा जीवन र लुगाफाटाभन्दा शरीर महत्त्वपूर्ण हो। २४  कागहरूलाई हेर, तिनीहरू न बिउ छर्छन्‌ न कटनी गर्छन्‌ न त धनसार वा भण्डारमै जम्मा गर्छन्‌ तैपनि परमेश्‍वरले तिनीहरूलाई खुवाउनुहुन्छ।+ के तिमीहरू चराहरूभन्दा बहुमूल्य छैनौ?+ २५  तिमीहरूमध्ये कसले पो चिन्ता गरेर आफ्नो आयु एक हात* लम्ब्याउन सक्छौ र? २६  यदि तिमीहरूले यति सानो कुरा त गर्न सक्दैनौ भने बाँकी अरू कुराको किन चिन्ता गर्छौ?+ २७  फूलहरू कसरी बढ्‌छन्‌ विचार गर, तिनीहरू न परिश्रम गर्छन्‌ न त धागो कात्छन्‌। तर म तिमीहरूलाई भन्छु, सारा वैभवले सुसज्जित सुलेमानसमेत यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्‌।+ २८  यदि परमेश्‍वरले आज देखिने अनि भोलि चुल्होमा फ्याँकिने मैदानका बोटबिरुवालाई त यसरी पहिराउनुहुन्छ भने हे विश्‍वास कमजोर भएकाहरू हो, उहाँले तिमीहरूलाई झन्‌ कत्ति धेरै पहिराउनुहुन्छ होला! २९  त्यसैले ‘हामी के खाऔँला?’ वा ‘के पिऔँला?’ वा ‘के लगाऔँला?’ भनेर अचाक्ली चिन्ता गर्न छोडिहाल।+ ३०  किनकि संसारका मानिसहरू यी नै कुराका लागि मरिहत्ते गर्छन्‌। तर यी कुराहरू तिमीहरूलाई चाहिन्छ भनेर तिमीहरूका बुबालाई थाह छ।+ ३१  बरु उहाँको राज्यलाई पहिलो स्थान दिइरहो अनि यी कुराहरू तिमीहरूलाई दिइनेछ।+ ३२  “हे सानो बगाल,+ नडराओ किनकि तिमीहरूका बुबाले तिमीहरूलाई राज्य दिन मन्जुर गरिसक्नुभएको छ।+ ३३  आफूसित भएका कुराहरू बेच र दानपुण्य* गर।+ आफ्नो लागि कहिल्यै नफाट्‌ने थैली बनाओ अनि कहिल्यै नसिद्धिने धनसम्पत्ति स्वर्गमा थुपार,+ जहाँ कुनै चोर त्यसको छेउछाउमा पुग्दैन अनि जहाँ किराले पनि खाँदैन। ३४  किनकि जहाँ तिमीहरूको धन हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुन्छ। ३५  “तिमीहरू कम्मर कसेर बस+ अनि तिमीहरूको दियो बलिरहोस्‌।+ ३६  तिमीहरू ती मानिसहरूजस्तो होओ, जो आफ्ना मालिक विवाह-भोजबाट फर्केर+ तिनले ढोका ढकढक्याउँदा तुरुन्तै खोल्न सकियोस्‌ भनेर कुरिरहेका+ हुन्छन्‌। ३७  आनन्दित हुन्‌ ती दासहरू, जसलाई मालिकले जागा बसिरहेको पाउँछन्‌! म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिनले आफ्नो कम्मर कस्नेछन्‌ र आफ्ना दासहरूलाई खान बसाउनेछन्‌ अनि छेवैमा गएर तिनीहरूको सेवा गर्नेछन्‌। ३८  तिनी दोस्रो प्रहरमा* वा तेस्रो प्रहरमै* आउँदा पनि तिनीहरूलाई जागै पाउँछन्‌ भने तिनीहरू आनन्दित हुन्‌! ३९  तर यो कुरा जानिराख, यदि घरमालिकलाई चोर कुन बेला आउने हो, त्यो थाह भएको भए उसले त्यसलाई आफ्नो घर फोर्न दिने थिएन।+ ४०  त्यसैगरि तिमीहरू पनि तयार रहो किनकि तिमीहरूले नचिताएको बेला मानिसको छोरा आउनेछ।”+ ४१  तब पत्रुसले भने: “प्रभु, तपाईँले यो उदाहरण हाम्रो लागि मात्र बताउनुभएको हो कि सबैका लागि?” ४२  अनि प्रभुले भन्‍नुभयो: “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌* भण्डारे को हो, जसलाई उसको मालिकले आफ्ना सेवकहरूको दललाई ठीक समयमा र ठीक मात्रामा भोजन दिइरहोस्‌ भनेर तिनीहरूमाथि नियुक्‍त गर्नेछन्‌?+ ४३  आनन्दित हो त्यो दास, जसलाई उसको मालिकले फर्केर आउँदा त्यसै गरिरहेको भेट्टाउँछन्‌! ४४  म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिनले उसलाई आफ्ना सबै सम्पत्तिमाथि नियुक्‍त गर्नेछन्‌। ४५  तर यदि त्यो दासले ‘मेरो मालिक बियाँलो गर्नुहुन्छ’ भनी मनमनै भन्यो र आफ्ना सङ्‌गी दास-दासीलाई पिट्‌न थाल्यो अनि खान, पिउन र मात्तिन थाल्यो भने+ ४६  त्यस दासको मालिक उसले आसै नगरेको दिनमा र उसलाई थाहै नभएको समयमा आउनेछन्‌। अनि उसलाई असाध्यै कठोर दण्ड दिनेछन्‌ र विश्‍वासघातीहरू भएको ठाउँमा फ्याँकिदिनेछन्‌। ४७  अनि जुन दास आफ्नो मालिकको इच्छा बुझेर पनि तयार हुँदैन वा तिनले भनेअनुसार* गर्दैन, उसलाई धेरै चोटि कोर्रा लगाइनेछ।+ ४८  तर जुन दासले नबुझेर कोर्रा खान लायकको काम गर्छ, उसलाई थोरै चोटि मात्र कोर्रा लगाइनेछ। हो, जसलाई धेरै दिइएको छ, ऊबाट धेरै नै माग गरिनेछ अनि जसलाई धेरै कुरा सुम्पिइएको हुन्छ, ऊबाट साबिकभन्दा बढी नै माग गरिनेछ।+ ४९  “म पृथ्वीमा आगो सल्काउन आएँ। यदि त्यो पहिल्यै सल्किसकेको छ भने मलाई अरू के चाहियो र? ५०  हो, मैले गर्नुपर्ने एउटा बप्तिस्मा छ र त्यो बप्तिस्मा नगरुन्जेल म अत्यन्तै व्याकुल हुनेछु!+ ५१  के तिमीहरू म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भन्ठान्छौ? त्यसो होइन, म तिमीहरूलाई भन्छु, म त फूट गराउन आएको हुँ।+ ५२  अब उप्रान्त एउटै घरका पाँच जनाबीच फूट हुनेछ; तीन जनाको विरुद्धमा दुई जना अनि दुई जनाको विरुद्धमा तीन जना उठ्‌नेछन्‌। ५३  बुबा छोराविरुद्ध, छोरा बुबाविरुद्ध, आमा छोरीविरुद्ध, छोरी आमाविरुद्ध, सासू बुहारीविरुद्ध अनि बुहारी सासूविरुद्ध उठ्‌नेछन्‌ र तिनीहरूबीच फूट हुनेछ।”+ ५४  उहाँले भीडलाई यसो पनि भन्‍नुभयो: “पश्‍चिमतिर बादल मडारिएको देख्नेबित्तिकै तिमीहरू भन्छौ: ‘आँधी आउँदै छ’ अनि ठीक त्यस्तै हुन्छ। ५५  दक्षिणबाट बतास चलेको देखेपछि तिमीहरू भन्छौ: ‘लू चल्नेछ’ अनि त्यस्तै हुन्छ। ५६  ए कपटीहरू हो, तिमीहरू मौसम हेरेर त्यसको अर्थ लगाउन जान्दछौ तर अहिले भइरहेको कुरा हेरेर त्यसको अर्थ लगाउन भने किन जान्दैनौ?+ ५७  कुन कुरा ठीक हो भनेर तिमीहरू आफै किन निर्णय गर्दैनौ? ५८  उदाहरणको लागि, तिम्रो वादीसित अदालतको हाकिमकहाँ जाँदै गर्दा बाटोमा छँदै मिलाप गर्ने कोसिस गरिहाल नत्र त तिनले तिमीलाई न्यायाधीशसामु उभ्याउनेछन्‌ अनि न्यायाधीशले पहरेदारको जिम्मा लगाउनेछन्‌ र पहरेदारले तिमीलाई झ्यालखानामा जाकिदिनेछन्‌।+ ५९  म तिमीलाई भन्छु, तिमीले पाईपाई* चुक्‍ता नगरेसम्म कुनै पनि हालतमा त्यहाँबाट छुट्‌न पाउनेछैनौ।”

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शा., “दुई असारियनमा।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
वा “बेवास्ता गर्नुहुन्‍न।”
वा “सभाघरसामु।”
अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
राती ९ बजेदेखि मध्यरातसम्म।
मध्यरातदेखि बिहानको ३ बजेसम्म।
वा “सुझबुझ भएको।”
वा “तिनको इच्छाअनुसार।”
शा., “लेप्टन।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।