प्रेषितहरूका कार्य २:१-४७
२ पेन्तिकोसको* चाडको+ दिनमा तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।
२ त्यहाँ अकस्मात् आकाशबाट ठूलो बतास चलेकोजस्तो आवाज आयो र तिनीहरू बसिरहेको घरभरि गुञ्जियो।+
३ अनि तिनीहरूले जिब्रोजस्तो देखिने आगोका ज्वालाहरू देखे र ती छुट्टिएर हरेकमाथि एउटा-एउटा बस्यो।
४ तिनीहरू सबै जना पवित्र शक्तिले भरिपूर्ण भए+ अनि पवित्र शक्तिले तिनीहरूलाई जुन-जुन भाषामा बोल्ने क्षमता दियो, तिनीहरू त्यही-त्यही भाषामा बोल्न थाले।+
५ त्यतिखेर संसारका सबै राष्ट्रबाट आएका भक्त यहुदीहरू यरुसलेममा थिए।+
६ त्यसैले जब यो आवाज सुनियो, तब भीड जम्मा भयो र तिनीहरू चकित भए किनकि तिनीहरूकै भाषामा चेलाहरूले बोलिरहेको तिनीहरूले सुने।
७ तिनीहरू साह्रै आश्चर्यचकित भए र यसो भने: “हेर त, यी बोल्नेहरू सबै गालिली+ होइनन् र?
८ तर तिनीहरूले हामी प्रत्येकको मातृभाषामा बोलेको हामी सुन्दै छौँ, यो कसरी भयो?
९ हामी पार्थी, मादी+ र एलामीहरू+ हौँ अनि मेसोपोटामिया, यहुदिया, क्यापाडोसिया, पोन्टस र एसिया+ प्रान्तका बासिन्दा हौँ।
१० अनि फ्रिजिया, पाम्फिलिया, मिश्र,* साइरेनीतिर पर्ने लिबियाको भूभागका मानिसहरू र रोमबाट आएका यात्रीहरू हौँ अनि हामी सबै या त यहुदी या धर्म परिवर्तन गरेर यहुदी बनेकाहरू+ हौँ।
११ हामीमाझ क्रेटी र अरबीहरू पनि छन्। तर यिनीहरूले हाम्रै भाषामा परमेश्वरको विषयमा अद्भुत कुराहरू गरिरहेको हामी सुन्दै छौँ।”
१२ हो, तिनीहरू सबै छक्क परेका थिए र अचम्म मान्दै एकअर्कालाई यसो भन्दै थिए: “यी सबको अर्थ के हो?”
१३ तर अरूले भने तिनीहरूको गिल्ला गर्दै यसो भने: “तिनीहरू नयाँ* मद्यले मात्तिएका हुन्।”
१४ तर पत्रुस ११ जना+ प्रेषितसँगै उठे अनि ठूलो स्वरमा तिनीहरूलाई यसो भने: “हे यहुदियाका मानिसहरू हो अनि यरुसलेमका सबै बासिन्दा हो, तपाईँहरूलाई यो थाह होस् अनि ध्यान दिएर मेरो कुरा सुन्नुहोस्।
१५ तपाईँहरूले सोचेजस्तो यी मानिसहरू मात्तिएका होइनन् किनकि अहिले त तेस्रो घडी* मात्र भएको छ।
१६ बरु यो त भविष्यवक्ता योएलमार्फत भनिएको कुरा पूरा भएको हो:
१७ ‘परमेश्वर भन्नुहुन्छ, “अन्तको दिनमा म सबै मानिसमाथि आफ्नो पवित्र शक्ति खन्याउनेछु अनि तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन् अनि तिमीहरूका ठिटाहरूले दर्शन* देख्नेछन्+ र तिमीहरूका बूढापाकाहरूले विशेष सपना देख्नेछन्।
१८ अनि ती दिनमा मेरा दासहरू र मेरा दासीहरूमाथि समेत म आफ्नो पवित्र शक्ति खन्याउनेछु र तिनीहरूले भविष्यवाणी गर्नेछन्।+
१९ माथि आकाशमा म आश्चर्यजनक कामहरू देखाउनेछु र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु: रगत, आगो र धुवाँको मुस्लो।
२० यहोवाको* महान् र महिमित दिन आउनुअघि सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिणत हुनेछ।
२१ अनि हरेक जसले यहोवाको* नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”’+
२२ “हे इस्राएलका मानिसहरू हो, यो कुरा सुन्नुहोस्: नासरी येसुलाई परमेश्वरले पठाउनुभएको थियो र यो कुरा प्रकट गर्न परमेश्वरले उहाँमार्फत शक्तिशाली काम र आश्चर्यजनक कार्यहरू गर्नुभयो अनि चिन्हहरू देखाउनुभयो,+ जुन कुरा तपाईँहरूलाई पनि थाहै छ।
२३ यिनै मानिस, जसलाई परमेश्वरको उद्देश्य* र पूर्वज्ञानअनुसार तपाईँहरूको हातमा सुम्पिइयो,+ तिनैलाई तपाईँहरूले कुकर्मीहरूको हातमा सुम्पिदिनुभयो र खम्बामा टाँगेर मार्नुभयो।+
२४ तर परमेश्वरले उहाँलाई मृत्युबाट* मुक्त गरेर फेरि जीवित पार्नुभयो+ किनकि उहाँ त्यसको बन्धनमा रहिरहन सम्भव थिएन।+
२५ किनकि उहाँको विषयमा दाउद यसो भन्छन्: ‘मैले यहोवालाई* सदैव मेरै सामने* राखेको छु किनकि म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ।
२६ यसले गर्दा मेरो मन प्रफुल्लित भयो र असाध्यै हर्षित भएर मैले बोलेँ। अनि म आशामा जिउनेछु
२७ किनकि तपाईँले मलाई चिहानमा* छोड्नुहुनेछैन, तपाईँले आफ्नो वफादार जनलाई कुहिन दिनुहुनेछैन।+
२८ तपाईँले मलाई जीवनको मार्ग देखाउनुभएको छ, तपाईँले आफ्नो उपस्थितिद्वारा मलाई आनन्दले भरिदिनुहुनेछ।’+
२९ “भाइहरू हो, कुलपुरुष दाउदको विषयमा तपाईँहरूलाई निर्धक्क भई साहसका साथ बताउन मलाई अनुमति दिनुहोस्। तिनी मरे र गाडिए+ अनि तिनको चिहान आजको दिनसम्म हाम्रै बीचमा छ।
३० तिनी भविष्यवक्ता थिए अनि तिनको सिंहासनमा तिनकै सन्तानमध्ये एक जनालाई बसाउनेछु भनी परमेश्वरले शपथ खाँदै वाचा गर्नुभएको कुरा तिनलाई थाह थियो।+
३१ पछि हुने कुरा पहिल्यै थाह पाएर तिनले ख्रिष्ट फेरि जीवित हुने विषयमा यसो भने, ‘उहाँलाई न चिहानमा* छोडिनेछ न त उहाँको शरीर नै कुहिनेछ।’+
३२ यिनै येसुलाई परमेश्वरले ब्युँताउनुभयो, जसको हामी सबै साक्षी छौँ।+
३३ उहाँलाई परमेश्वरको दाहिने हाततर्फ उच्च पद दिइएकोले+ अनि प्रतिज्ञा गरिएअनुसारै उहाँले बुबाबाट पवित्र शक्ति पाउनुभएकोले त्यही पवित्र शक्ति उहाँले हामीमाथि खन्याउनुभएको छ,+ जसले काम गरेको तपाईँहरू देख्दै र सुन्दै हुनुहुन्छ।
३४ दाउद स्वर्ग उक्लेनन् तर तिनी आफै यसो भन्छन्: ‘यहोवाले* मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हाततिर बस,
३५ जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”’+
३६ त्यसकारण इस्राएलको सबै घरानालाई यो निश्चय थाह होस् कि तिनै येसु, जसलाई तपाईँहरूले खम्बामा टाँग्नुभयो,+ उहाँलाई परमेश्वरले प्रभु+ र ख्रिष्ट दुवै बनाउनुभयो।”
३७ यो सुनेर तिनीहरूको हृदय अत्यन्तै व्याकुल भयो अनि तिनीहरूले पत्रुस र अरू प्रेषितहरूलाई सोधे: “भाइहरू हो, त्यसोभए हामी के गरौँ?”
३८ पत्रुसले तिनीहरूलाई भने: “पश्चात्ताप गर्नुहोस्+ र तपाईँहरू हरेकले आ-आफ्ना पापहरूको क्षमाको लागि+ येसु ख्रिष्टको नाममा बप्तिस्मा गर्नुहोस्+ अनि तपाईँहरूले वरदानस्वरूप पवित्र शक्ति सित्तैँमा पाउनुहुनेछ।
३९ किनकि यो प्रतिज्ञा+ तपाईँहरू र तपाईँहरूका सन्तानका लागि अनि टाढा-टाढाका ती सबै मानिसका लागि हो, जसलाई हाम्रा परमेश्वर यहोवाले* आफूतिर खिच्नुहुन्छ।”+
४० अनि तिनले अरू पनि धेरै वचनद्वारा राम्ररी साक्षी दिए र यसो भन्दै तिनीहरूलाई प्रोत्साहन दिए: “यस टेढो पुस्तासँगसँगै+ नाश नहोओ।”
४१ ज-जसले तिनको वचन खुसीसाथ स्विकारे, तिनीहरूले बप्तिस्मा गरे+ अनि त्यस दिन लगभग ३ हजार जना थपिए।+
४२ तिनीहरू प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्थे, एकसाथ भेला हुन्थे,* एकसाथ भोजन गर्थे+ अनि सँगै प्रार्थना गर्थे।+
४३ अनि सबै मानिसलाई डरले छोप्न थाल्यो र प्रेषितहरूले धेरै आश्चर्यजनक कार्य र चमत्कारहरू गर्न थाले।+
४४ जो-जो येसुको चेला बने, तिनीहरू एकसाथ भेला हुन्थे र तिनीहरूसित भएका सबै कुरा तिनीहरूको साझा हुन्थ्यो।
४५ तिनीहरू आफ्नो सरसामान र जायजेथा बेच्थे+ अनि त्यसबाट आएको रकम सबैलाई बाँड्थे। हरेकलाई उसको खाँचोअनुसार दिइन्थ्यो।+
४६ एउटै उद्देश्य लिएर तिनीहरू दिनहुँ मन्दिरमा भेला हुन्थे र एकअर्काको घरमा गएर भोजन गर्थे अनि बडो आनन्द र सफा हृदयले बाँडचुँड गर्दै सँगै खान्थे
४७ अनि परमेश्वरको प्रशंसा गर्थे। तिनीहरूले सबै मानिसमाझ राम्रो नाम कमाएका थिए। साथै उद्धार पाउनेहरूलाई यहोवा* परमेश्वरले दिनहुँ तिनीहरूको सङ्ख्यामा थप्दै जानुभयो।+
फुटनोटहरू
^ वा “इजिप्ट।”
^ वा “गुलियो।”
^ बिहान ९ बजेतिर।
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ वा “इच्छा।”
^ शा., “मृत्युको पीडाबाट।” वा सम्भवतः “मृत्युको बन्धनबाट।”
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ वा “मेरो नजरसामु।”
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ वा “एकअर्कासित बाँडचुँड गर्थे।”
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।