हिब्रू ४:१-१६

  • परमेश्‍वरको विश्राममा प्रवेश नगर्दाको खतरा (१-१०)

  • परमेश्‍वरको विश्राममा प्रवेश गर्न सल्लाह (११-१३)

    • परमेश्‍वरको वचन जीवित छ (१२)

  • येसु—महान्‌ प्रधानपुजारी (१४-१६)

 त्यसकारण उहाँको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा कायमै भएकोले हामी होसियार होऔँ ताकि तिमीहरूमध्ये कोही पनि त्यसमा प्रवेश गर्न अयोग्य नठहरियोस्‌।+ २  किनकि हामीलाई पनि सुसमाचार प्रचार गरियो,+ जसरी तिनीहरूलाई पनि गरिएको थियो तर सुनेको वचनले तिनीहरूलाई लाभ पुऱ्‍याएन किनकि वचन सुन्‍नेहरूसित जस्तो विश्‍वास थियो, तिनीहरूसित थिएन। ३  किनकि हामी जसले विश्‍वास गरेका छौँ, हामी विश्राममा प्रवेश गर्छौँ, जस्तो उहाँले भन्‍नुभएको छ: “त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ, ‘तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌,’”+ जबकि संसारको प्रारम्भ हुँदा नै उहाँको काम सिद्धिसकेको थियो।+ ४  किनकि सातौँ दिनको विषयमा उहाँले धर्मशास्त्रको एक ठाउँमा यसो भन्‍नुभएको छ: “अनि सातौँ दिनमा परमेश्‍वरले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।”+ ५  अनि उहाँले फेरि यसो भन्‍नुभएको छ: “तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌।”+ ६  कोही-कोही यो विश्राममा प्रवेश गर्न बाँकी नै छ अनि ज-जसलाई पहिला सुसमाचार घोषणा गरियो, तिनीहरू आफ्नो अनाज्ञाकारिताले गर्दा प्रवेश गर्न पाएनन्‌।+ ७  अनि धेरै समयपछि दाउदको भजनमा उहाँ फेरि कुनै एक दिनलाई “आज” भनी तोक्नुहुन्छ, जस्तो माथि भनिएको छ: “यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने आफ्नो हृदय कठोर नपार।”+ ८  यदि यहोसुले+ तिनीहरूलाई विश्राम गर्ने ठाउँमा पुऱ्‍याइसकेका भए परमेश्‍वरले अर्को दिनको विषयमा फेरि भन्‍नुहुने थिएन। ९  त्यसैले परमेश्‍वरका जनहरूका लागि विश्रामदिनको* आराम बाँकी नै छ।+ १०  किनकि परमेश्‍वरको विश्राममा प्रवेश गरेको मानिसले आफ्ना कामहरूबाट पनि विश्राम लिएको हुन्छ, जसरी परमेश्‍वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो।+ ११  त्यसैले त्यो विश्राममा प्रवेश गर्न हामी यथासक्दो गरौँ ताकि कसैले पनि अनाज्ञाकारिताको त्यही नमुना नपछ्याओस्‌।+ १२  किनकि परमेश्‍वरको वचन जीवित र प्रबल+ अनि कुनै दुईधारे तरबारभन्दा धारिलो छ।+ यसले भित्रसम्मै छेडेर मानिसको बाहिरी रूप* र भित्री रूपलाई* अलग पार्छ, जोर्नी र त्यसको गुदीलाई* छुट्ट्याउँछ अनि हृदयको विचार र आशय जाँच्न सक्छ। १३  यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्‌+ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्‌ग छन्‌।+ १४  त्यसैले परमेश्‍वरको छोरा येसु,+ जो स्वर्गमा प्रवेश गर्नुभयो, उहाँ हाम्रो महान्‌ प्रधानपुजारी हुनुभएकोले आओ, उहाँको विषयमा जनसमक्ष घोषणा गरिरहौँ।+ १५  किनकि हाम्रा प्रधानपुजारी हाम्रा कमजोरीहरूमा सहानुभूति देखाउन नसक्ने हुनुहुन्‍न+ बरु हामीजस्तै हर तवरमा परीक्षित तर पापरहित हुनुहुन्छ।+ १६  त्यसैले आओ, निर्धक्क भई बोल्ने साहसका साथ हामी असीम अनुग्रहको सिंहासनसामु जाऔँ+ ताकि चाहिएकै बेला मदत पाउन हामीले उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न सकौँ।

फुटनोटहरू

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।
शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।
वा “मासीलाई।”