प्रेषितहरूका कार्य ८:१-४०

  • सावल मण्डलीको खेदो गर्छन्‌ (१-३)

  • फिलिपले सामरियामा प्रचार गरेर राम्रो नतिजा पाउँछन्‌ (४-१३)

  • पत्रुस र युहन्‍नालाई सामरिया पठाइन्छ (१४-१७)

  • सिमोन पवित्र शक्‍तिलाई किन्‍ने कोसिस गर्छन्‌ (१८-२५)

  • इथियोपियाली नपुंसक (२६-४०)

 तिनको हत्यामा सावलको समर्थन थियो।+ त्यस दिनदेखि यरुसलेममा भएको मण्डलीलाई अत्यन्तै खेदो गर्न थालियो। तब प्रेषितहरूबाहेक सबै जना यहुदिया र सामरियाका इलाकाभरि तितरबितर भए।+ २  तर भक्‍तजनहरूले स्तिफनसको लास लगेर गाडे अनि उनीहरूले तिनको लागि असाध्यै शोक गरे। ३  तब सावलले मण्डलीसित निर्मम व्यवहार गर्न थाले। तिनी घरघर पसेर पुरुष र स्त्रीहरूलाई घिस्याउँदै बाहिर ल्याउँथे अनि तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे।+ ४  तर ती तितरबितर भएकाहरू जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँ तिनीहरूले परमेश्‍वरको वचनको सुसमाचार घोषणा गरे।+ ५  तिनीहरूमध्ये एक जना फिलिप थिए, जो सामरिया+ सहरमा* गए र त्यहाँ ख्रिष्टको विषयमा प्रचार गर्न थाले। ६  भीडले एकै मनको भएर फिलिपलाई ध्यान दिँदै तिनले गरिरहेका चमत्कारहरू हेऱ्‍यो अनि तिनको कुरा सुन्यो। ७  किनकि त्यहाँ यस्ता मानिसहरू धेरै थिए, जसमा प्रेतहरू* बास गरेका थिए र ती ठूलो स्वरले कराउँदै बाहिर निस्कन्थे।+ यसबाहेक थुप्रै पक्षाघाती र लङ्‌गडा पनि सद्दे भए। ८  यसले गर्दा त्यस सहरमा ठूलो रमाहट भयो। ९  त्यस सहरमा सिमोन नाम गरेका एक जना मानिस पनि थिए, जो पहिले जादुगरी गरेर सामरियाका मानिसहरूलाई चकित पार्ने गर्थे अनि आफूलाई को-को न हुँ भन्थे। १०  अनि सानादेखि ठूला सबैले तिनको कुरा ध्यान दिएर सुन्थे र यसो भन्थे: “यस मानिससित परमेश्‍वरको शक्‍ति छ; महाशक्‍ति छ!” ११  त्यसैले उनीहरू तिनको कुरा ध्यान दिएर सुन्थे किनकि तिनले आफ्नो जादुगरीद्वारा निकै समयदेखि उनीहरूलाई चकित पारिराखेका थिए। १२  तर जब फिलिपले परमेश्‍वरको राज्य र येसु ख्रिष्टको नाममा सुसमाचार+ सुनाए, तब तिनीहरूले विश्‍वास गरे अनि पुरुष तथा स्त्री दुवैले बप्तिस्मा गर्न थाले।+ १३  सिमोन आफैले पनि विश्‍वास गरे अनि बप्तिस्मा गरेपछि तिनी फिलिपसँगै+ हिँड्‌न थाले। चमत्कार अनि ठूलठूला शक्‍तिशाली कामहरू भइरहेको देखेर तिनी छक्क पर्थे। १४  सामरियाका मानिसहरूले परमेश्‍वरको वचन स्विकारे भनी जब यरुसलेममा भएका प्रेषितहरूले सुने,+ तब उनीहरूले पत्रुस र युहन्‍नालाई ती मानिसहरूकहाँ पठाए; १५  अनि पत्रुस र युहन्‍ना त्यहाँ गए र त्यहाँका मानिसहरूले पनि पवित्र शक्‍ति पाऊन्‌ भनेर प्रार्थना गरे।+ १६  किनकि त्यतिबेलासम्म तिनीहरूमध्ये कसैले पनि पवित्र शक्‍ति पाएको थिएन; तिनीहरूले प्रभु येसुको नाममा मात्र बप्तिस्मा गरेका थिए।+ १७  तब पत्रुस र युहन्‍नाले तिनीहरूमाथि आफ्नो हात राखे+ अनि तिनीहरूले पनि पवित्र शक्‍ति पाउन थाले। १८  अब प्रेषितहरूले हात राख्दा पवित्र शक्‍ति पाउन सकिने रहेछ भन्‍ने देखेपछि सिमोनले तिनीहरूलाई पैसा दिन खोजे १९  र यसो भने: “मलाई यो अख्तियार पनि दिनुहोस्‌ ताकि जसमाथि म आफ्नो हात राख्छु, उसले पवित्र शक्‍ति पाओस्‌।” २०  तर पत्रुसले तिनलाई भने: “तिम्रो चाँदी तिमीसँगै नाश होस्‌ किनकि तिमीले परमेश्‍वरले सित्तैँमा दिनुहुने वरदान+ पैसा तिरेर किन्‍न सकिन्छ भन्ठान्यौ। २१  यसमा तिम्रो न कुनै भाग छ न हिस्सा, किनकि परमेश्‍वरको नजरमा तिम्रो हृदय सोझो छैन। २२  त्यसैले तिम्रो यस पापको लागि पश्‍चात्ताप गर अनि आफ्नो यस्तो कुविचारको लागि सम्भव भए क्षमा पाऊँ भनी यहोवा* परमेश्‍वरलाई व्यग्र प्रार्थना गर; २३  किनकि म देख्दै छु, तिमी तीतो विष* हौ र कुकर्मको दास हौ।” २४  यो सुनेपछि सिमोनले भने: “तपाईँहरूले भन्‍नुभएको कुनै कुरा ममाथि आइनपरोस्‌ भनेर मेरो लागि यहोवा* परमेश्‍वरसित उत्कट बिन्ती गरिदिनुहोस्‌।” २५  पूरै इलाकामा राम्ररी साक्षी दिएपछि अनि यहोवा* परमेश्‍वरको वचन सुनाएपछि तिनीहरू यरुसलेम फर्के अनि बाटोमा सामरियालीहरूका थुप्रै गाउँमा सुसमाचार सुनाउँदै हिँडे।+ २६  तथापि यहोवा* परमेश्‍वरको स्वर्गदूतले+ फिलिपलाई भने: “उठ र दक्षिणतिर त्यस बाटोमा जाऊ, जुन यरुसलेमबाट गाजातर्फ जान्छ।” (यो मरुभूमिको बाटो हो।) २७  तब फिलिप उठेर गए अनि हेर, तिनले एक जना इथियोपियाली नपुंसकलाई* भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका उच्च अख्तियारवाला थिए र महारानीको सारा सम्पत्तिको हेरविचार गर्ने जिम्मा उनलाई सुम्पिइएको थियो। उनी यरुसलेममा उपासना गर्न गएका थिए+ २८  र त्यहाँबाट फर्किरहेका थिए। उनी आफ्नो रथमा बसेर भविष्यवक्‍ता यसैयाको पुस्तक आवाज निकालेर पढिरहेका थिए। २९  तब पवित्र शक्‍तिले फिलिपलाई भन्यो: “त्यस रथको नजिकै जाऊ।” ३०  फिलिप रथसँगसँगै दौडे अनि त्यस नपुंसकले भविष्यवक्‍ता यसैयाको पुस्तक पढिरहेको सुने। तब तिनले सोधे: “के तपाईँले आफूले पढिरहेको कुरा साँच्चै बुझिरहनुभएको छ?” ३१  उनले जवाफ दिए: “कसैले नबुझाईकन म कसरी बुझ्न सक्छु र?” तब उनले फिलिपलाई रथमा चढेर आफूसँगै बस्न आग्रह गरे। ३२  उनले आवाज निकालेर पढिरहेको धर्मशास्त्रको अंश यो थियो: “काट्‌न लगिएको भेडाझैँ उसलाई लगियो। ऊन कत्रने मानिसको अगाडि पाठो चुपचाप बसेझैँ उसले आफ्नो मुख खोलेन।+ ३३  उसको अपमान हुँदा उसको न्याय खोसियो।+ ऊ को हो, कहाँबाट आयो, कसले सुनाउने? किनकि उसको जीवन पृथ्वीबाट खोसेर लगिएको छ।”+ ३४  तब नपुंसकले फिलिपलाई सोधे: “भविष्यवक्‍ताले यो कसको विषयमा भनेका हुन्‌, कृपया मलाई बताइदिनुहोस्‌। आफ्नै कि अरू कसैको विषयमा?” ३५  तब फिलिप बोल्न थाले र धर्मशास्त्रको यो अंशबाट सुरु गरेर येसुको सुसमाचार उनलाई सुनाए। ३६  अब बाटोमा जाँदै गर्दा तिनीहरू पानी भएको ठाउँनेर आइपुगे। अनि ती नपुंसकले भने: “हेर्नुहोस्‌, यहाँ पानी रहेछ; बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ र?” ३७  * ३८  तब उनले रथ रोक्ने आदेश दिए अनि फिलिप र नपुंसक दुवै ओर्लेर पानीमा गए; अनि फिलिपले उनलाई बप्तिस्मा गराए। ३९  जब तिनीहरू पानीबाट निस्के, तब यहोवा* परमेश्‍वरको पवित्र शक्‍तिले फिलिपलाई डोऱ्‍याएर तुरुन्तै त्यहाँबाट लगिहाल्यो। त्यसपछि ती नपुंसकले तिनलाई देखेनन्‌। अनि उनी रमाउँदै आफ्नो बाटो लागे। ४०  तर फिलिपले चाहिँ आफूलाई अस्दोदमा पाए र सिजरिया+ नपुगुन्जेल तिनी त्यस इलाकामा अनि सबै सहरमा सुसमाचार सुनाउँदै हिँडे।

फुटनोटहरू

वा सम्भवत: “सामरियाको एउटा सहरमा।”
वा “दुष्ट स्वर्गदूतहरू।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
शा., “विषालु पित्त।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “दरबारका अफिसरलाई।” शब्दावलीमा “नपुंसक” हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।