उपदेशक ३:१-२२

  • सबै कामको लागि उचित समय छ (१-८)

  • जीवनमा रमाउनु परमेश्‍वरको वरदान हो (९-१५)

    • मानिसको मनमा सधैँभरि बाँच्ने इच्छा (११)

  • परमेश्‍वरले सबैको इन्साफ गर्नुहुन्छ (१६, १७)

  • आखिरमा मानिस र जनावर दुवै मर्छन्‌ (१८-२२)

    • सबै जना माटैमा फिर्ता जानेछन्‌ (२०)

 सबै कामको लागि उचित समय छ,संसारमा हरेक कुराको लागि समय छ:  २  जन्मने एउटा समय छ, मर्ने एउटा समय;रोप्ने एउटा समय छ, उखेल्ने एउटा समय;  ३  मार्ने एउटा समय छ, बचाउने* एउटा समय;भत्काउने एउटा समय छ, बनाउने एउटा समय;  ४  रुने एउटा समय छ, हाँस्ने एउटा समय;शोक गर्ने एउटा समय छ, नाच्ने* एउटा समय;  ५  ढुङ्‌गा फ्याँक्ने एउटा समय छ, बटुल्ने एउटा समय;अङ्‌गालो हाल्ने एउटा समय छ, अङ्‌गालो नहाल्ने एउटा समय  ६  खोज्ने एउटा समय छ, खोज्न छोड्‌ने एउटा समय;राख्ने एउटा समय छ, मिल्काउने एउटा समय;  ७  च्यात्ने एउटा समय छ,+ सिउने एउटा समय;चुप लाग्ने एउटा समय छ,+ बोल्ने एउटा समय;+  ८  माया गर्ने एउटा समय छ, घृणा गर्ने एउटा समय;+युद्ध गर्ने एउटा समय छ, मिलाप गर्ने एउटा समय। ९  एउटा कामदारले आफ्नो सारा परिश्रमको फल के पाउँछ?+ १०  मानिसलाई अलमल्याउन परमेश्‍वरले दिनुभएका सबै काम पनि मैले देखेँ। ११  उहाँले जे-जे बनाउनुभयो, ती सबै आ-आफ्नो समयमा सुन्दर* हुन्छन्‌।+ उहाँले मानिसको हृदयमा सधैँभरि बाँच्ने विचार पनि राखिदिनुभयो। तैपनि मानिसले साँचो परमेश्‍वरको काम पूर्ण रूपमा* कहिल्यै बुझ्न सक्दैन। १२  रमाउनु र असल काम गर्नु नै मानिसले जीवनमा गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो भन्‍ने निष्कर्षमा म पुगेँ।+ १३  साथै खानु, पिउनु र आफ्नो सबै परिश्रमबाट सन्तुष्टि लिनु नै परमेश्‍वरको वरदान हो।+ १४  साँचो परमेश्‍वरले बनाउनुभएका सबै कुरा सधैँका लागि रहन्छन्‌ भनेर पनि मैले बुझेको छु। तिनमा केही थपघट गर्न सकिँदैन। मानिसहरूले परमेश्‍वरको डर मानून्‌ भनेर उहाँले त्यसरी नै सबथोक बनाउनुभएको हो।+ १५  जे कुरा भइरहेका छन्‌, ती पहिल्यै भइसकेका थिए। अनि जे कुरा हुन लागेका छन्‌, ती पनि पहिल्यै भइसकेका थिए।+ तर मानिसहरू जुन कुराको पछि लागेका छन्‌,* साँचो परमेश्‍वर ती पूरा गर्नुहुन्छ। १६  संसारमा* न्यायलाई दुष्टताले र असल कामलाई* खराब कामले दबाएको पनि मैले देखेँ।+ १७  त्यसैले मैले मनमनै यसो भनेँ: “साँचो परमेश्‍वरले धर्मी र दुष्ट दुवैको इन्साफ गर्नुहुनेछ।+ किनकि सबै कुराको लागि उचित समय छ।” १८  साँचो परमेश्‍वरले मानिसहरूलाई जाँच्नुहुनेछ भनेर पनि मैले मनमनै भनेँ। त्यसपछि तिनीहरू र जनावरहरूबीच केही भिन्‍नता छैन भनेर तिनीहरूले बुझ्नेछन्‌। १९  किनकि आखिरमा मानिस र जनावर दुवैले एउटै नतिजा भोग्नुपर्छ।+ जनावर मरेझैँ मानिस पनि मर्छ। तिनीहरू सबैमा जीवनको सास हुन्छ।+ त्यसैले मानिस जनावरभन्दा श्रेष्ठ छैन। सबै कुरा व्यर्थ छ। २०  तिनीहरू सबै एउटै ठाउँमा जान्छन्‌।+ तिनीहरू माटैबाट आएका हुन्‌+ र माटैमा फिर्ता जानेछन्‌।+ २१  मानिसको सास मास्तिर अनि जनावरको सास तल्तिर जान्छ भनेर कसले बताउन सक्छ?+ २२  आफ्नो काममा रमाउनुभन्दा उत्तम कुरा मानिसको लागि अरू केही छैन भनी मैले देखेँ।+ किनकि त्यो नै उसको इनाम* हो। ऊ मरिसकेपछि के हुन्छ, कसैले उसलाई देखाउन सक्दैन।+

फुटनोटहरू

शा., “निको पार्ने।”
शा., “उफ्रने।”
वा “व्यवस्थित; सही; उचित।”
शा., “साँचो परमेश्‍वरको सुरुदेखि अन्तसम्मको काम।”
वा सम्भवत: “तर जे कुरा बितिसकेका छन्‌।”
शा., “सूर्यमुनि।”
वा “धार्मिकतालाई।” शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।
वा “भाग।”