प्रस्थान ३२:१-३५

  • सुनको बाछाको पूजा गर्छन्‌ (१-३५)

    • मोसा अनौठो गीत गाएको सुन्छन्‌ (१७, १८)

    • नियमहरू लेखिएका पाटीहरू मोसा टुक्राटुक्रा पार्छन्‌ (१९)

    • लेवीहरू यहोवाप्रति वफादार हुन्छन्‌ (२६-२९)

३२  मोसाले डाँडाबाट ओर्लन ढिलो गरेको देखेपछि+ इस्राएलीहरूले हारुनकहाँ भेला भएर यसो भने: “हाम्रो अघिअघि बाटो देखाउने एउटा देवता बनाइदिनुहोस्‌+ किनकि हामीलाई मिश्रबाट डोऱ्‍याएर ल्याउने मोसा कता हराए, हामीलाई थाह छैन।” २  तब हारुनले तिनीहरूलाई यसो भने: “तिमीहरूका पत्नी अनि छोराछोरीले कानमा लगाइराखेका सुनका कुण्डलहरू फुकालेर मकहाँ ल्याओ।”+ ३  अनि सबैले आफ्नो कानमा लगाएका कुण्डल फुकालेर हारुनकहाँ ल्याए। ४  त्यसपछि हारुनले तिनीहरूले ल्याएका सुनका गहनाहरू गाले अनि औजारले खोपेर बाछोको मूर्ति बनाए।+ अनि तिनीहरू यसो भनेर कराउन थाले: “हे इस्राएलीहरू हो, तिमीहरूलाई मिश्रबाट ल्याउने तिमीहरूका देवता यही हो।”+ ५  यो देखेपछि हारुनले त्यस मूर्तिको अगाडि एउटा वेदी बनाए र भने: “भोलि यहोवा परमेश्‍वरको निम्ति एउटा चाड मनाइनेछ।” ६  त्यसैले तिनीहरू भोलिपल्ट बिहानै उठेर अग्निभेटी र मेलबलि चढाउन थाले। त्यसपछि तिनीहरू खान र पिउनलाई बसे अनि रमाइलो गर्नलाई उठे।+ ७  तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तल जाऊ किनभने तिमीले मिश्रबाट छुटाएर ल्याएका तिम्रा मानिसहरू भ्रष्ट भएका छन्‌।+ ८  मैले देखाएको मार्गबाट तर्कन तिनीहरूलाई एकछिन पनि लागेन।+ तिनीहरूले बाछोको मूर्ति बनाएका छन्‌ अनि त्यसलाई ढोग्दै र त्यसको लागि बलि चढाउँदै यसो भन्दै छन्‌, ‘हे इस्राएलीहरू हो, तिमीहरूलाई मिश्रबाट ल्याउने तिमीहरूका देवता यही हो।’” ९  यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: “यी मानिसहरू साँच्चै हठी मानिसहरू हुन्‌।+ १०  त्यसैले अब मलाई नरोक। म यिनीहरूलाई मेरो रिसको आगोले भस्म पार्नेछु अनि तिमीबाटै एउटा ठूलो जाति बनाउनेछु।”+ ११  तब मोसाले यहोवा परमेश्‍वरलाई यस्तो बिन्ती गरे:+ “हे यहोवा, आफ्नो ठूलो शक्‍ति अनि पराक्रमी हातले मिश्रबाट ल्याएका आफ्ना मानिसहरूसित तपाईँ किन रिसले चूर हुनुहुन्छ?+ १२  मिश्रीहरूलाई यसो भन्‍ने मौका किन दिने: ‘इस्राएलीहरूलाई दुःख दिन पो उहाँले तिनीहरूलाई यहाँबाट निकाल्नुभएको रहेछ! तिनीहरूलाई डाँडामै मार्न अनि पृथ्वीबाट नामेट पार्न उहाँले यसो गर्नुभएको रहेछ!’+ त्यसैले हे परमेश्‍वर, आफ्नो रिस थाम्नुहोस्‌ अनि आफ्नो प्रजामाथि यस्तो विपत्ति ल्याउने आफ्नो निर्णयबारे फेरि विचार गर्नुहोस्‌।* १३  आफ्ना सेवकहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस्‌, जससित तपाईँले यस्तो शपथ खानुभएको थियो: ‘म तिम्रा सन्तानलाई आकाशका ताराजत्तिकै बढाउनेछु।+ अनि मैले तिनीहरूको निम्ति तयार पारेको यो देश म तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यहाँ अनन्तसम्म अधिकार गर्नेछन्‌।’”+ १४  मोसाका यी सब कुरा सुनेपछि यहोवा परमेश्‍वरले आफ्नो प्रजामाथि विपत्ति ल्याउने आफ्नो निर्णयबारे फेरि विचार गर्नुभयो।*+ १५  त्यसपछि मोसा ढुङ्‌गाका दुई वटा साक्षीपाटी*+ हातमा लिएर डाँडाबाट ओर्ले।+ ती साक्षीपाटीहरूको अगाडिपछाडि दुवैतिर अक्षरहरू कुँदिएका थिए। १६  ती साक्षीपाटीहरू परमेश्‍वर आफैले बनाउनुभएको थियो। अनि त्यसमा कुँदिएका अक्षरहरू परमेश्‍वर स्वयम्‌ले लेख्नुभएको थियो।+ १७  मानिसहरूको हल्लाखल्ला सुनेपछि यहोसुले मोसालाई भने: “छाउनीमा त लडाइँको आवाज पो सुनिँदै छ।” १८  तर मोसाले भने: “यो विजयगान होइन,*हार्नेहरूको बिलौना पनि होइन;म त अर्कै किसिमको गीत सुन्दै छु।” १९  छाउनीनजिकै पुगेपछि मोसाले बाछोको मूर्ति+ र त्यसको अगाडि मानिसहरू नाचिरहेको देखे। यो देखेर तिनी रिसले आगो भए र आफ्ना हातमा भएका ढुङ्‌गाका पाटीहरू भुईँमा बजारे अनि डाँडाको फेदमा ती टुक्राटुक्रा भए।+ २०  इस्राएलीहरूले बनाएको बाछो तिनले आगोमा हालिदिए अनि त्यसलाई धुलोपिठो पारेर+ पानीमा छरिदिए र इस्राएलीहरूलाई त्यो पानी पिउन लगाए।+ २१  अनि मोसाले हारुनलाई सोधे: “तिनीहरूले तपाईँलाई त्यस्तो के गरे, जसले गर्दा तपाईँले तिनीहरूलाई यस्तो घोर पाप गर्न लगाउनुभयो?” २२  हारुनले भने: “हे प्रभु, मसित नरिसाउनुहोस्‌। यी मानिसहरू खराब काम गर्न कत्ति आतुर छन्‌, तपाईँलाई थाहै छ।+ २३  तिनीहरूले मलाई यसो भने, ‘हाम्रो अघिअघि बाटो देखाउने एउटा देवता बनाइदिनुहोस्‌ किनकि हामीलाई मिश्र देशबाट डोऱ्‍याएर ल्याउने मोसा कता हराए, हामीलाई थाह छैन।’+ २४  अनि मैले तिनीहरूलाई भनेँ, ‘जो-जोसित सुनका गहना छन्‌, ती फुकालेर मकहाँ ल्याओ।’ अनि मैले ती गहना आगोमा फालेँ र यो बाछो निस्क्यो।” २५  हारुनले मानिसहरूलाई छाडा छोडेकोले तिनीहरूले मनपरी गरिरहेको मोसाले देखे। यसले गर्दा तिनीहरू शत्रुहरूको अगाडि हाँसोको पात्र भइरहेका थिए। २६  त्यसपछि मोसाले छाउनीको प्रवेशद्वारमा उभिएर यसो भने: “यहोवा परमेश्‍वरको पक्षमा को-को छौ? यता मकहाँ आओ!”+ अनि लेविको कुलका सबै जना तिनी उभिएको ठाउँमा गए। २७  त्यसपछि मोसाले तिनीहरूलाई भने: “इस्राएलका परमेश्‍वर यहोवाले यसो भन्‍नुभएको छ, ‘तिमीहरू सबैले आ-आफ्नो तरबार भिर अनि छाउनीको चारैतिर गएर हरेक ढोकाभित्र छिर अनि आफ्नो दाजुभाइ, छिमेकी, मिल्ने साथी कसैलाई बाँकी नराख।’”+ २८  लेवीहरूले मोसाले भनेअनुसारै गरे। त्यो दिन ३ हजारजति पुरुष मारिए। २९  अनि मोसाले तिनीहरूलाई भने: “आजदेखि तिमीहरूले आफूलाई यहोवा परमेश्‍वरको निम्ति अलग पार किनभने तिमीहरू आफ्नै छोरा अनि दाजुभाइलाई नाश गर्न समेत पछि हटेनौ।+ आज तिमीहरूले जे गऱ्‍यौ, त्यसको लागि उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।”+ ३०  भोलिपल्टै मोसाले मानिसहरूलाई यसो भने: “तिमीहरूले घोर पाप गऱ्‍यौ। तिमीहरूको पाप क्षमा हुन सक्छ कि भनेर बुझ्न अब म यहोवा परमेश्‍वरकहाँ बिन्ती चढाउन जाँदै छु।”+ ३१  अनि यहोवा परमेश्‍वरकहाँ गएर मोसाले यसो भने: “यी मानिसहरूले घोर पाप गरे! तिनीहरूले आफ्नो निम्ति सुनको देवता बनाएर त्यसको पूजा गरे!+ ३२  यदि तपाईँ चाहनुहुन्छ भने यिनीहरूको पाप क्षमा गरिदिनुहोस्‌;+ होइन भने बिन्ती छ, तपाईँले लेख्नुभएको पुस्तकबाट मेरो नाम मेटाइदिनुहोस्‌।”+ ३३  तर यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “जसले मेरो विरुद्धमा पाप गरेको छ, म उसकै नाम मेरो पुस्तकबाट मेटाउनेछु। ३४  अब यी मानिसहरूलाई मैले भनेको देशमा लिएर जाऊ। हेर, मेरो स्वर्गदूतले तिमीलाई अघिअघि डोऱ्‍याउनेछन्‌!+ जुन दिन म इन्साफ गर्छु, त्यसै दिन म यिनीहरूलाई पापको सजाय दिनेछु।” ३५  तिनीहरूले हारुनलाई बाछोको मूर्ति बनाउन लगाएकोले यहोवा परमेश्‍वरले तिनीहरूमाथि विपत्ति ल्याएर सजाय दिनुभयो।

फुटनोटहरू

वा “निर्णय गरेकोमा पछुतो मान्‍नुहोस्‌।”
वा “निर्णय गरेकोमा पछुतो मान्‍नुभयो।”
शब्दावली हेर्नुहोस्‌।
वा “पराक्रमी कार्य गरेको खुसीयालीमा गाइने गीत होइन।”