प्रस्थान ३८:१-३१
३८ बजलेलले अग्निभेटी चढाउन बबुल काठको एउटा वेदी बनाए। त्यसको लम्बाइ पाँच हात* र चौडाइ पाँच हात थियो। वेदी चारकुने थियो र त्यसको उचाइ तीन हात थियो।+
२ तिनले त्यसको चारै कुनामा चुच्चो उठाएर एउटा-एउटा सिङ बनाए अनि वेदीलाई तामाले मोहोरे।+
३ त्यसपछि तिनले वेदीका सबै सरसामान बनाए—बाल्टिन, साबेल, बाटा, काँटा र कोइला राख्ने भाँडो। तिनले यी सबै सरसामान तामाको बनाए।
४ तिनले वेदीको लागि तामाको जाली पनि बनाए। तिनले जालीलाई चारैपट्टिको बिटमुनि वेदीको बीचतिर राखे।
५ तिनले डन्डीहरू घुसाउन तामाको जालीको चारै कुनामा चार वटा मुन्द्रा राखे।
६ त्यसपछि तिनले वेदीको लागि बबुल काठका डन्डीहरू बनाए र त्यसलाई तामाले मोहोरे।
७ तिनले वेदीलाई बोक्न यी डन्डीहरूलाई वेदीको दुईतिर भएका मुन्द्राहरूमा घुसाए। तिनले त्यो वेदी खोक्रो बाकसजस्तो बनाए।
८ तिनले तामाको ठूलो बाटा बनाए+ अनि त्यसलाई राख्न चारखुट्टे टेको पनि तामाकै बनाए। तिनले यी सरसामान ऐनाहरूलाई* गालेर बनाए। ती ऐनाहरू भेट हुने पालको* प्रवेशद्वारमा सेवा गर्न खटाइएका स्त्रीहरूका थिए।
९ त्यसपछि तिनले वासस्थानको* वरिपरि चोक बनाए।+ तिनले चोकलाई चारैतिर बार्न बाटिएको उच्च कोटीको मलमलको* पाल बनाए। दक्षिण मोहडाको पालको लम्बाइ १०० हात थियो।+
१० तिनले पाल ठड्याउन २० वटा खामा र ती खामाहरू घुसाउन २० वटा तामाका चूलघर* बनाए। तिनले खामाका अङ्कुसे र जोडनीहरू* चाँदीका बनाए।
११ उत्तर मोहडाको पालको लम्बाइ पनि १०० हात थियो। त्यसको लागि तिनले तामाका २० वटा खामा र २० वटा चूलघर बनाए; खामाका अङ्कुसे र जोडनीहरू चाँदीको बनाए।
१२ चोकको पश्चिम मोहडाको लागि तिनले ५० हात चौडाइ भएको एउटा पाल बनाए; त्यसको लागि १० वटा खामा र १० वटा चूलघर बनाए; खामाका अङ्कुसे र जोडनीहरू चाँदीको बनाए।
१३ चोकको पूर्वी मोहडा अर्थात् घाम उदाउने दिशातिरको पालको चौडाइ ५० हात थियो।
१४ चोकमा छिर्ने प्रवेशद्वारको दायाँतिरको पाल १५ हातको थियो; त्यसको लागि तिनले तीन वटा खामा र तीन वटा चूलघर बनाए।
१५ अनि प्रवेशद्वारको बायाँतिरको पाल पनि १५ हातको थियो; त्यसको लागि तिनले तीन वटा खामा र तीन वटा चूलघर बनाए।
१६ चोकलाई चारैतिर बार्ने पालहरू बाटिएको उच्च कोटीको मलमलका थिए।
१७ खामाका चूलघरहरू तामाका, अङ्कुसे र जोडनीहरू चाँदीका र खामाको माथिल्लो भाग चाँदीले मोहोरिएका थिए। चोकको चारैतिरका खामाका खीपहरू चाँदीका थिए।+
१८ चोकमा छिर्ने प्रवेशद्वारको पर्दा बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागोले बुनिएको थियो। त्यसको लम्बाइ २० हात थियो र उचाइचाहिँ चोकलाई बार्ने पालहरूको जस्तै ५ हात थियो।+
१९ त्यसका चार वटा खामा र चार वटा चूलघर तामाका थिए। त्यसका खीपहरू र जोडनीहरू चाँदीका थिए अनि खामाको माथिल्लो भाग चाँदीले मोहोरिएको थियो।
२० वासस्थानको पाल अड्काउने किला र चोकको चारैतिरका किलाहरू तामाका थिए।+
२१ मोसाले वासस्थान अर्थात् साक्षीपाटी* राखिएको वासस्थान+ बनाउन प्रयोग भएका सबै सरसामानको हिसाबकिताब राख्ने आज्ञा दिए। पुजारी हारुनको छोरा इथामारको+ निर्देशनबमोजिम लेवीहरूले यो काम गरे।+
२२ यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम यहुदाको कुलको हुरको नाति, उरिको छोरा बजलेलले+ सबै काम गरे।
२३ बजलेललाई दानको कुलको अहिसामाकको छोरो ओहोलिआबले+ सघाए। तिनी कालिगडीसम्बन्धी काम गर्न, बुट्टा भर्न अनि उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरेर बुन्न सिपालु थिए।
२४ इस्राएलीहरूले डोलाउने भेटीस्वरूप चढाएका सबै सुन प्रयोग गरेर पवित्र ठाउँको सबै सरसामान बनाइयो।+ त्यसको लागि पवित्र ठाउँको शेकेलअनुसार* जम्मा २९ टालेन्ट,* ७३० शेकेल* सुन लाग्यो।
२५ अनि गणना लिँदा दर्ता भएका मानिसहरूले ल्याएको चाँदी पवित्र ठाउँको शेकेलअनुसार १०० टालेन्ट, १,७७५ शेकेल थियो।
२६ बीस वर्ष र सोभन्दा माथिका जो-जो दर्ता भएका छन्, तिनीहरू प्रत्येकले पवित्र ठाउँको शेकेलअनुसार आधा शेकेल चाँदी ल्याए।+ यसरी दर्ता भएका मानिसहरूको सङ्ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+
२७ पवित्र ठाउँ र पर्दा झुन्ड्याउने खामोको चूलघर बनाउन जम्मा १०० टालेन्ट चाँदी प्रयोग गरियो; एउटा चूलघर बनाउन एक टालेन्टको हिसाबले १०० वटा चूलघर बनाउन १०० टालेन्ट चाँदी लाग्यो।+
२८ तिनले १,७७५ शेकेल चाँदीबाट खामाहरूका लागि अङ्कुसेहरू बनाए अनि खामाको माथिल्लो भागलाई मोहोरे र खामालाई जोड्न जोडनीहरू बनाए।
२९ इस्राएलीहरूले भेटी* चढाएको तामा ७० टालेन्ट, २,४०० शेकेल थियो।
३० यसबाट तिनले भेट हुने पालको प्रवेशद्वारको चूलघर, तामाको वेदी र त्यसको जाली अनि वेदीका सम्पूर्ण सरसामान बनाए।
३१ यही तामाबाट तिनले चोकको चारैतिरका चूलघर, चोकको प्रवेशद्वारको चूलघर अनि वासस्थानको पाल अड्काउने किला र चोकका पाल अड्काउने किलाहरू+ पनि बनाए।
फुटनोटहरू
^ एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ अर्थात्, पालिस गरेर टिलिक्क टल्काइएका धातुका ऐनाहरू।
^ यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।
^ अर्थात्, चूल अड्काउने प्वाल भएको वस्तु।
^ वा “रिङ; खीप; पट्टी,” जुन गाँस्नको लागि प्रयोग गरिन्छ।
^ यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।
^ वा “पवित्र शेकेलअनुसार।”
^ एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ वा “डोलाउने भेटी।”

