प्रस्थान ४०:१-३८
४० यहोवा परमेश्वरले मोसालाई भन्नुभयो:
२ “पहिलो महिनाको पहिलो दिन तिमीले वासस्थान* अर्थात् भेट हुने पाल* स्थापना गर्नू।+
३ त्यहाँ साक्षीपाटी* राखिएको सन्दुक* राख्नू+ र त्यसलाई पर्दाले छेक्नू।+
४ टेबुललाई भित्र ल्याउनू+ र त्यसमा सबै सरसामान मिलाएर राख्नू; पानस पनि भित्र ल्याउनू+ र त्यसका दियोहरू बाल्नू।+
५ अनि धूप बाल्ने सुनको वेदीलाई+ साक्षीपाटी राखिएको सन्दुकअगाडि राख्नू; वासस्थानभित्र पस्ने प्रवेशद्वारमा पर्दा हाल्नू।+
६ “वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारअगाडि अग्निभेटी चढाउने वेदी राख्नू।+
७ अनि भेट हुने पाल र वेदीको बीचमा ठूलो बाटा राख्नू र त्यसमा पानी भर्नू।+
८ भेट हुने पालको चारैतिर पाल टाँगेर चोक बनाउनू+ अनि चोकमा छिर्ने प्रवेशद्वारमा पर्दा हाल्नू।+
९ त्यसपछि अभिषेक गर्ने तेल लिएर+ वासस्थान र त्यहाँ भएका सबै थोक अभिषेक गर्नू+ र चोख्याउनू। यसरी वासस्थान र त्यसमा भएका सबै थोक पवित्र हुनेछन्।
१० त्यसैगरि अग्निभेटी चढाउने वेदी र त्यसका सबै सरसामान पनि अभिषेक गर्नू र चोख्याउनू। यसरी यो वेदी महापवित्र हुनेछ।+
११ अनि ठूलो बाटा र त्यसलाई राख्ने चारखुट्टे टेको अभिषेक गर्नू र चोख्याउनू।
१२ “त्यसपछि हारुन र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारनजिकै ल्याउनू र तिनीहरूलाई त्यहाँ नुहाउन लगाउनू।+
१३ अनि तिमीले हारुनलाई पवित्र पोसाक पहिराइदिनू,+ तिनलाई अभिषेक गर्नू+ र चोख्याउनू अनि तिनले पुजारीको रूपमा मेरो सेवा गर्नेछन्।
१४ त्यसपछि तिनका छोराहरूलाई नजिकै ल्याउनू र कोठे बुट्टा भएको लामो लुगा लगाइदिनू।+
१५ पुजारीको काम गर्न तिनीहरूलाई पनि तिनीहरूको बुबालाई जस्तै अभिषेक गर्नू;+ तिनीहरूलाई अभिषेक गरेपछि तिनीहरूका पुस्तौँपुस्ताले पनि पुजारीको रूपमा मेरो सेवा गर्नेछन्।”+
१६ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिम मोसाले सबै गरे।+ तिनलाई जसो भनिएको थियो, तिनले त्यसै गरे।
१७ परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिन वासस्थान स्थापना गरियो।+
१८ वासस्थान स्थापना गर्न मोसाले चौकोसका चूलघरहरू* राखे,+ त्यसमाथि चौकोस ठड्याए,+ डन्डीहरू घुसाए+ र खामाहरू ठड्याए।
१९ तिनले वासस्थानलाई पालले ढाके+ र त्यसमाथि अर्को पाल राखे।+ यहोवा परमेश्वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।
२० त्यसपछि तिनले साक्षीपाटीलाई+ सन्दुकभित्र राखे।+ अनि सन्दुकमा डन्डीहरू घुसाए+ र ढकनी+ लगाए।+
२१ तिनले साक्षीपाटी राखिएको सन्दुकलाई वासस्थानभित्र ल्याए र बाहिरबाट सन्दुक नदेखियोस् भनेर+ त्यसको अगाडि पर्दा हाले।+ यहोवा परमेश्वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।
२२ त्यसपछि तिनले भेट हुने पाल अर्थात् वासस्थानमा पर्दाको बाहिरपट्टि उत्तरतिर टेबुल राखे।+
२३ अनि तिनले यहोवा परमेश्वरसामु टेबुलमा रोटीहरू चाङ लगाएर राखे।+ यहोवा परमेश्वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।
२४ त्यसपछि तिनले वासस्थानमा टेबुलको अगाडिपट्टि दक्षिणतिर पानस राखे।+
२५ अनि यहोवा परमेश्वरसामु दियो बाले।+ यहोवा परमेश्वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।
२६ त्यसपछि तिनले भेट हुने पालको बीचको पर्दाअगाडि सुनको वेदी राखे।+
२७ सुगन्धित धूप+ बाल्नको लागि त्यो वेदी त्यहाँ राखिएको थियो।+ यहोवा परमेश्वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।
२८ त्यसपछि तिनले वासस्थानको प्रवेशद्वारमा पर्दा हाले।+
२९ अग्निभेटी र अन्नभेटी चढाउन तिनले वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारनजिकै अग्निभेटी+ चढाउने वेदी राखे।+ यहोवा परमेश्वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।
३० त्यसपछि तिनले भेट हुने पाल र वेदीको बीचमा ठूलो बाटा राखे र हातखुट्टा धुन त्यसमा पानी भरे।+
३१ मोसा, हारुन र तिनका छोराहरूले त्यो पानीले हातखुट्टा धोए।
३२ भेट हुने पालमा पस्दा वा वेदीमा जाँदा तिनीहरू हातखुट्टा धुन्थे।+ यहोवा परमेश्वरले मोसालाई जस्तो आज्ञा दिनुभएको थियो, तिनीहरूले त्यसै गरे।
३३ अन्तमा तिनले वासस्थान र वेदीको चारैतिर पाल टाँगेर चोक बनाए+ अनि चोकमा छिर्ने प्रवेशद्वारमा पर्दा राखे।+
यसरी मोसाले सबै काम सिद्ध्याए।
३४ त्यसपछि भेट हुने पाललाई बादलले छोप्न थाल्यो र वासस्थान यहोवा परमेश्वरको महिमाले भरियो।+
३५ भेट हुने पालबाट बादल नहटेकोले मोसा भित्र पस्न सकेनन् अनि वासस्थान यहोवा परमेश्वरको महिमाले भरियो।+
३६ जब-जब त्यो बादल वासस्थानबाट माथि उठ्थ्यो, तब-तब इस्राएलीहरू आफ्नो यात्रा अघि बढाउँथे।+
३७ तर त्यो बादल माथि उठेन भने तिनीहरू यात्रा थाल्दैनथे।+
३८ सबै इस्राएलीले वासस्थानमाथि दिउँसो यहोवा परमेश्वरको बादल अनि रातीचाहिँ आगोको खामो देख्थे। तिनीहरूको यात्रा पूरा नहोउन्जेल यस्तै भइरह्यो।+
फुटनोटहरू
^ वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्।
^ अर्थात, चूल अड्काउने प्वाल भएको वस्तु।