प्रस्थान १७:१-१६

  • पिउने पानीको विषयमा होरेबमा कचकच (१-४)

  • चट्टानबाट पानी (५-७)

  • अमालेकीहरूको आक्रमण र हार (८-१६)

१७  इस्राएलीहरूको सारा समुदाय यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ+ सिन निर्जनभूमिबाट निस्केर+ एक ठाउँबाट अर्को ठाउँ हुँदै रेफिदिम पुगे र तिनीहरूले त्यहाँ पाल टाँगे।+ तर त्यहाँ पिउनको लागि पानी थिएन। २  त्यसैले मानिसहरू मोसासित यसो भन्दै झगडा गर्न थाले:+ “हामीलाई पानी दिनुहोस्‌।” तर मोसाले तिनीहरूलाई भने: “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन बारम्बार यहोवा परमेश्‍वरको परीक्षा गर्छौ?”+ ३  इस्राएलीहरू असाध्यै तिर्खाएका थिए। त्यसैले तिनीहरूले मोसासित यसरी गनगन गरिरहे:+ “यहाँ आएर हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तु पानी नपाएर तिर्खाले मर्नु नै थियो भने तपाईँले किन हामीलाई मिश्रबाट निकालेर ल्याउनुभयो?” ४  तब मोसाले यहोवा परमेश्‍वरलाई यसो भन्दै पुकारे: “यी मानिसहरूलाई म के गरूँ? तुरुन्तै केही नगर्ने हो भने यिनीहरूले मलाई ढुङ्‌गाले हान्‍नेछन्‌।” ५  अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “इस्राएलीहरूको समुदायबाट केही नाइकेलाई लिएर तिमी अघिअघि जाऊ। अनि तिमीले जुन लौरोले नाइल नदीलाई हिर्काएका थियौ, त्यो लौरो पनि सँगै लैजाऊ।+ ६  हेर! म होरेबमा भएको चट्टानको छेवैमा तिम्रो सामु उभिरहेको हुनेछु। तिमीले त्यो चट्टानलाई हिर्काउनू अनि त्यसबाट पानीको मूल फुट्‌नेछ। अनि इस्राएलीहरूले त्यो पानी पिउनेछन्‌।”+ मोसाले इस्राएलका नाइकेहरूसामु त्यसै गरे। ७  मोसाले त्यस ठाउँको नाम मास्साह*+ र मरिबा*+ राखे किनभने इस्राएलीहरूले मोसासित झगडा गरेका थिए र यसो भन्दै यहोवा परमेश्‍वरको परीक्षा गरेका थिए:+ “के यहोवा परमेश्‍वर साँच्चै हामीसित हुनुहुन्छ?” ८  इस्राएलीहरू रेफिदिममा+ भएको बेला अमालेकीहरूले+ तिनीहरूलाई आक्रमण गरे। ९  अनि मोसाले यहोसुलाई भने:+ “केही मानिसहरू छान र अमालेकीहरूसित लड्‌न जाऊ। मचाहिँ साँचो परमेश्‍वरले मलाई आफूसँगै लैजाऊ भन्‍नुभएको लौरो लिएर भोलि पहाडको टाकुरामा उभिनेछु।” १०  तब यहोसुले मोसाले भनेझैँ गरे;+ तिनले अमालेकीहरूसित लडाइँ गरे। मोसा, हारुन र हुरचाहिँ+ पहाडको टाकुरामा गएर उभिए। ११  मोसाले दुवै हात उठाइराख्दा इस्राएलीहरू विजयी हुन्थे तर तिनले हात झार्नेबित्तिकै अमालेकीहरू विजयी हुन्थे। १२  मोसाका हातहरू फतक्क गलेपछि हारुन र हुरले एउटा ढुङ्‌गा ल्याइदिए। अनि मोसा त्यसमा बसे। त्यसपछि तिनीहरूमध्ये एक जनाले मोसाको दायाँ हात र अर्कोले बायाँ हात उचालिराखे। यसरी घाम नअस्ताएसम्म मोसाले आफ्ना दुवै हात उठाइराख्न सके। १३  यसप्रकार यहोसुले अमालेकीहरू र उनीहरूका मानिसहरूलाई तरबारले मारे।+ १४  अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म यस धर्तीबाट अमालेकीहरूको नामोनिसान मेटाउनेछु। यो कुरा कहिल्यै नबिर्सन त्यसलाई पुस्तकमा लेखिराख अनि यहोसुलाई पनि सुनाइदेऊ।”+ १५  तब मोसाले एउटा वेदी बनाए र यसो भन्दै त्यसको नाम यहोवा-निस्सी* राखे: १६  “अमालेकीहरूले याहको+ सिंहासनविरुद्ध हात उठाएकोले उनीहरूले पुस्तौँपुस्तासम्म यहोवा परमेश्‍वरसित लड्‌नुपर्नेछ।”+

फुटनोटहरू

यसको अर्थ हो, “जाँच; परीक्षा।”
यसको अर्थ हो, “झगडा।”
यसको अर्थ हो, “यहोवा मेरो झन्डा हुनुहुन्छ।”