प्रस्थान २२:१-३१

  • इस्राएलीहरूलाई सुनाइएका फैसलाहरू (१-३१)

    • चोरी हुँदा (१-४)

    • बालीनाली नष्ट हुँदा (५, ६)

    • क्षतिपूर्ति तिर्नेबारे र मालिकबारे (७-१५)

    • कन्यालाई फकाएर ऊसित सुत्यो भने (१६, १७)

    • उपासनाबारे र समाजमा न्याय गर्नेबारे (१८-३१)

२२  “कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई माऱ्‍यो वा बेच्यो भने त्यसको क्षतिपूर्तिस्वरूप उसले एउटा गोरुको सट्टा पाँच वटा गोरु र एउटा भेडाको सट्टा चार वटा भेडा देओस्‌।+ २  (“कुनै चोर+ घर फोरिरहेको अवस्थामा फेला पऱ्‍यो र त्यसलाई हिर्काउँदा त्यो मऱ्‍यो भने हिर्काउने व्यक्‍तिलाई रगतको दोष लाग्नेछैन। ३  तर यस्तो घटना घाम झुल्केपछि भएको हो भने हिर्काउने व्यक्‍तिलाई रगतको दोष लाग्नेछ।) “चोरले क्षतिपूर्ति तिर्नै पर्छ। उसले क्षतिपूर्ति तिर्न सकेन भने चोरेको कुराको बदलामा उसले आफूलाई दासको रूपमा बेचोस्‌। ४  चोरेको जनावर ऊसँग जिउँदै भेटिएमा चाहे त्यो गोरु, गधा वा भेडा नै किन नहोस्‌, उसले त्यसको दोबर क्षतिपूर्ति तिर्नुपर्छ। ५  “कसैले आफ्नो पशुलाई खेत वा अङ्‌गुर बगानमा चराउँदा त्यसलाई अर्काको खेतमा गएर चर्न दियो भने उसले आफ्नो खेत वा अङ्‌गुर बगानको सबैभन्दा असल उब्जनी क्षतिपूर्तिस्वरूप देओस्‌। ६  “कसैले आगो बाल्दा त्यो आगो छेउछाउको झाडीसम्म फैलियो र त्यसले अन्‍नको बिटा, खेतको अन्‍न वा पूरै खेत सखाप पाऱ्‍यो भने जसले आगो बालेको हो, उसैले त्यसको क्षतिपूर्ति तिरोस्‌। ७  “कुनै मानिसले आफ्नो छिमेकीलाई पैसा अथवा सरसामान राख्न दियो तर उसको घरबाट ती कुराहरू चोरी भयो र त्यो चोर पक्राउ पऱ्‍यो भने त्यस चोरले दोबर क्षतिपूर्ति तिरोस्‌।+ ८  चोर पक्राउ परेन भने त्यो छिमेकीले नै त्यो सरसामान लिन खोजेको हो कि होइन भनेर पक्का गर्न उसलाई साँचो परमेश्‍वरसामु ल्याइयोस्‌।+ ९  चोरिएको जुनसुकै चिज, चाहे त्यो गोरु, गधा, भेडा, लुगा वा जेसुकै होस्‌, दुवै पक्षले ‘यो मेरो हो!’ भनी दाबी गरेमा दुवैले आफ्नो मामिला साँचो परमेश्‍वरसामु ल्याऊन्‌।+ परमेश्‍वरले जसलाई दोषी ठहराउनुहुन्छ, उसले अर्को पक्षलाई दोबर क्षतिपूर्ति तिरोस्‌।+ १०  “कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा अरू कुनै पाल्तु पशु राख्न दियो तर कसैले नदेखेको बेला त्यो पशु मऱ्‍यो, अङ्‌गभङ्‌ग भयो वा कसैले लिएर गयो भने ११  त्यो पशु राखिदिने व्यक्‍तिले छिमेकीको पशु आफूले लिएको होइन वा त्यसलाई आफूले केही गरेको छैन भनेर यहोवा परमेश्‍वरसामु कसम खाओस्‌ अनि पशुको मालिकले त्यो कुरा स्वीकार गरोस्‌। छिमेकीको पशु राखिदिने व्यक्‍तिले त्यसको क्षतिपूर्ति तिर्नुपर्दैन।+ १२  तर उसको लापर्बाहीले गर्दा त्यो पशु चोरिएको हो भने उसले पशुको मालिकलाई क्षतिपूर्ति तिरोस्‌। १३  यदि जङ्‌गली जनावरले त्यस पशुलाई मारेको हो भने उसले प्रमाणको रूपमा त्यसको सिनु ल्याओस्‌। जङ्‌गली जनावरले मारेको पशुको क्षतिपूर्ति उसले तिर्नुपर्दैन। १४  “कुनै मानिसले आफ्नो छिमेकीको पशु पैँचो लियो तर त्यसको मालिक नभएको बेला त्यो अङ्‌गभङ्‌ग भयो वा मऱ्‍यो भने पैँचो लिने व्यक्‍तिले त्यसको क्षतिपूर्ति तिरोस्‌। १५  तर पशु अङ्‌गभङ्‌ग हुँदा वा त्यो मर्दा त्यसको मालिक पनि सँगै थियो भने पैँचो लिनेले क्षतिपूर्ति तिर्नुपर्दैन। यदि त्यो पशु पैसा तिरेर भाडामा ल्याइएको हो भने त्यो पैसा नै त्यसको क्षतिपूर्ति होस्‌। १६  “कुनै पुरुषले मगनी नभएकी कन्यालाई फकायो र ऊसित सुत्यो भने उसले दाम तिरेर उसलाई आफ्नी पत्नी बनाओस्‌।+ १७  दुलहीको बुबाले आफ्नी छोरी दिन पटक्कै मानेन भने पनि त्यस मानिसले दाम तिर्नुपर्छ। १८  “तिमीहरूले तन्त्रमन्त्र गर्ने स्त्रीलाई जीवित नराख।+ १९  “जसले पशुसित सम्भोग गर्छ, त्यो मारिनै पर्छ।+ २०  “जसले यहोवा परमेश्‍वरबाहेक अरू देवीदेवतालाई बलि चढाउँछ, ऊ मारियोस्‌।+ २१  “तिमीहरूले विदेशीलाई दुर्व्यवहार वा थिचोमिचो नगर+ किनकि मिश्रमा तिमीहरू पनि विदेशी नै थियौ।+ २२  “तिमीहरूले विधवा वा अनाथलाई* नसताओ।+ २३  तिमीहरूले उसलाई सतायौ र उसले मलाई पुकाऱ्‍यो भने म उसको पुकारा अवश्‍य सुन्‍नेछु+ २४  अनि मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरबारले मार्नेछु। तिमीहरूका पत्नी विधवा हुनेछन्‌ र तिमीहरूका छोराछोरी अनाथ हुनेछन्‌। २५  “तिमीहरूले मेरा गरिब* जनहरूलाई ऋण दियौ भने ऊसित साहुले जस्तो व्यवहार नगर। ऊसित कुनै हालतमा ब्याज नलेओ।+ २६  “तिमीहरूले आफ्नो छिमेकीलाई ऋण दिँदा उसको ओढ्‌ने बन्धकी लियौ भने+ घाम डुब्नुअघि नै फर्काइदेओ। २७  किनकि आफ्नो जीउ ढाक्न ऊसित त्यो ओढ्‌नेबाहेक अरू केही छैन; त्यो पनि भएन भने ऊ कसरी सुत्ला?+ म दयालु* छु, त्यसैले उसको पुकारा पक्कै सुन्‍नेछु।+ २८  “तिमीहरूले परमेश्‍वरलाई+ वा तिमीहरूको कुलनायकलाई* नसराप।*+ २९  “तिमीहरूको खेतबारीमा प्रशस्त उब्जनी भयो अनि तिमीहरूको कोलमा अङ्‌गुरको रस र तेलको छेलोखेलो भयो भने त्यसको केही भाग मलाई चढाउन आनाकानी नगर।+ तिमीहरूको पहिलो सन्तान मलाई अर्पण गर।+ ३०  तिमीहरूले पहिले जन्मेको बाछो र पाठोलाई चाहिँ यसो गर:+ सात दिनसम्म त्यसलाई आफ्नो माउसितै राख अनि आठौँ दिनमा मलाई अर्पण गर।+ ३१  “तिमीहरू मेरो निम्ति पवित्र मानिसहरू हौ भनेर कहिल्यै नबिर्सनू।+ त्यसैले जङ्‌गली जनावरले लुछेर मारेको पशुको मासु नखाओ।+ त्यो कुकुरहरूको निम्ति फ्याँकिदेओ।

फुटनोटहरू

वा “बुबा गुमाएको बच्चालाई।”
वा “पीडित।”
वा “करुणामय।”
वा “शासकलाई।”
वा “घृणा नगर।”