सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वृद्धहरू—जवानहरूका लागि आशिष्‌

वृद्धहरू—जवानहरूका लागि आशिष्‌

वृद्धहरू—जवानहरूका लागि आशिष्‌

“हे परमेश्‍वर, म बुढो हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्‌। जबसम्म म अर्को पुस्तामा र पछि आउने हरेकलाई तपाईंको सामर्थ्य र शक्‍तिको घोषणा गरिसक्‍तिनँ।” —भजन ७१:१८.

१, २. वृद्ध भइसकेका यहोवाका सेवकहरूले के कुरा बुझ्नुपर्छ र अब हामी कुन कुरामा विचार गर्नेछौं?

 पश्‍चिम अफ्रिकामा एक जना प्राचीन, वृद्ध भइसकेका एक अभिषिक्‍त भाइलाई भेट्‌न गए र “कस्तो हुनुहुन्छ?” भनी सोधे। जवाफमा ती अभिषिक्‍त भाइले हाउभाउबाट पनि देखाउँदै यसो भने: “म उफ्रन सक्छु, दौडन सक्छु तर उड्‌न भने सक्दिनँ।” तिनले भन्‍न खोजेका कुरा प्राचीनले बुझिहाले। ‘म जे गर्न सक्छु, त्यो गर्छु तर जुन कुराहरू गर्न सक्दिनँ त्यो गर्दिनँ।’ ती अभिषिक्‍त भाइलाई भेट्‌न गएका प्राचीन अहिले ८० वर्ष नाघिसकेका छन्‌ र तिनलाई त्यस अभिषिक्‍त भाइको हँसीमजाक र वफादारिताको मीठो सम्झना आइरहन्छ।

वृद्ध व्यक्‍तिहरूले ईश्‍वरीय गुणहरू प्रकट गर्दा अरूमा अमेट छाप पर्न सक्छ। तर उमेर सँगसँगै बुद्धि र ख्रीष्टका जस्ता गुणहरू आफै आउँदैनन्‌। (उपदेशक ४:१३) बाइबल यसो भन्छ: “फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।” (हितोपदेश १६:३१) तपाईं पाको हुनुहुन्छ भने आफ्नो काम र बोलीले अरूलाई कुन हदसम्म फाइदा पुऱ्‍याउँछ भनेर के बुझ्नुभएको छ? जवानहरूका लागि वृद्धहरू कुन हदसम्म प्रोत्साहनको स्रोत भएका छन्‌, केही बाइबल उदाहरणहरू विचार गरौं।

पछिसम्म प्रभाव पार्ने विश्‍वास

३. नूहको विश्‍वासले अहिले जीवित मानिसहरू सबैलाई कसरी लाभ पुऱ्‍याएको छ?

नूहको विश्‍वास र दृढताले थुप्रै लाभ ल्याए र ती अहिलेसम्म पनि अनुभव गर्न सकिन्छ। जहाज बनाउँदा, पशुपक्षीहरू जम्मा गर्दा र छिमेकीहरूलाई प्रचार गर्दा नूह ६०० वर्ष पुग्नै लागेका थिए। (उत्पत्ति ७:६; २ पत्रुस २:५) परमेश्‍वरप्रतिको श्रद्धेय भयको कारण नूह र तिनको परिवार त्यो ठूलो जलप्रलयबाट बचे र अहिले पृथ्वीमा जीवित सबै मानिसहरूको पुर्खा बने। हो, नूहको समयमा साधारणतया मानिसहरूको आयु लामो हुन्थ्यो। तर नूह आफ्नो बुढेसकालमा पनि विश्‍वासी रहे जसले गर्दा तिनले थुप्रै आशिष्‌ पाए। कसरी?

४. नूहको दृढताको कारण आज परमेश्‍वरका सेवकहरूले कसरी लाभ उठाएका छन्‌?

“पृथ्वीमा भरिंदै जाओ” भन्‍ने यहोवाको आज्ञा बेवास्ता गर्दै निम्रोदले बाबेलको धरहरा बनाउन थाल्दा नूह झन्डै ८०० वर्ष पुगिसकेका थिए। (उत्पत्ति ९:१; ११:१-९) तर निम्रोदको विद्रोहमा नूह कुनै किसिमले पनि संलग्न थिएनन्‌। त्यसैले परमेश्‍वरले विद्रोहीहरूको भाषा गोलमाल गरिदिनुहुँदा तिनको भाषामा केही असर नपरेको हुन सक्छ। नूहले आफ्नो बुढेसकालमा मात्र होइन तर जीवनकालभरि नै विश्‍वास र दृढता देखाए। यो कुरा सबै उमेरका परमेश्‍वरका सेवकहरूले अनुकरण गर्न साँच्चै योग्यको छ।—हिब्रू ११:७.

परिवारमा पार्ने प्रभाव

५, ६. (क) अब्राहाम ७५ वर्षको हुँदा यहोवाले तिनलाई के भन्‍नुभयो? (ख) परमेश्‍वरको आज्ञालाई अब्राहामले कसरी लिए?

वृद्धहरूले आफ्नो परिवारका सदस्यहरूको विश्‍वासमा राम्रो प्रभाव पार्न सक्छन्‌ भन्‍ने कुरा नूह पछिका कुलपिताहरूका जीवनबाट स्पष्ट हुन्छ। “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका जहानबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु। म तँलाई आशिष दिनेछु” भनी परमेश्‍वरले अब्राहामलाई भन्‍नुहुँदा तिनी ७५ वर्ष पुग्नै लागेका थिए।—उत्पत्ति १२:१, २.

कल्पना गर्नुहोस्‌, तपाईंलाई आफ्नो घर, इष्टमित्र, आफू जन्मेको देश र नाता-कुटुम्ब माझ पाइने सुरक्षा सबै छोडेर विरानो देशमा जान भनियो। अब्राहामलाई ठीक त्यस्तै भनिएको थियो। “परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गइहाले” र आफ्नो बाँकी जीवन कनानमा परदेशी भई बिताए। (उत्पत्ति १२:४; हिब्रू ११:८, ९) यहोवाले अब्राहामलाई “तँबाट एउटा ठूलो जाति खडा गर्नेछु” भन्‍नुभए तापनि तिनी आफ्नो शाखा-सन्तान फैलिएको देख्न नपाउँदै मरे। तिनकी पत्नी साराले एउटै मात्र छोरा इसहाक जन्माएकी थिइन्‌, त्यो पनि प्रतिज्ञा गरेको देशमा बसेको २५ वर्षपछि। (उत्पत्ति २१:२, ५) तैपनि अब्राहाम विचलित भएर आफ्नो गाउँठाउँमा फर्केनन्‌। विश्‍वास र धैर्यताको कत्ति राम्रो उदाहरण!

७. अब्राहामको धैर्यताले तिनको छोरा इसहाकमा कस्तो प्रभाव पाऱ्‍यो र मानिसजातिको लागि यसले कस्तो परिणाम ल्यायो?

अब्राहामको धैर्यताले तिनको छोरा इसहाकमा गहिरो छाप पाऱ्‍यो। इसहाकले आफ्नो १८० वर्ष लामो जिन्दगी कनान देशमा परदेशी भई बिताए। इसहाकले देखाएको धैर्यता परमेश्‍वरले गर्नुभएको प्रतिज्ञामाथिको विश्‍वासमा आधारित थियो र त्यस्तो विश्‍वास खेती गर्न तिनले आफ्ना वृद्ध आमाबाबुबाट सिकेका थिए र पछि परमेश्‍वरले तिनलाई भन्‍नुभएका कुराहरूले त्यो विश्‍वासलाई झन्‌ बलियो बनायो। (उत्पत्ति २६:२-५) सबै मानिसजातिले आशिष्‌ पाउने “सन्तान” अब्राहामको परिवारबाट नै आउनेछ भन्‍ने परमेश्‍वरको प्रतिज्ञाको पूर्तिमा इसहाकको दृढताले महत्त्वपूर्ण भूमिका खेल्यो। सयौं वर्षपछि त्यस ‘सन्तानको’ प्रमुख भाग येशू ख्रीष्टले उहाँमा विश्‍वास गर्नेहरू सबैले परमेश्‍वरसित मिलाप गर्ने र अनन्त जीवन पाउने ढोका खोलिदिनुभयो।— गलाती ३:१६; यूहन्‍ना ३:१६.

८. याकूबले कसरी बलियो विश्‍वास देखाए र यसले कस्तो प्रभाव पाऱ्‍यो?

इसहाकले पनि आफ्नो छोरा याकूबलाई बलियो विश्‍वास विकास गर्न मदत गरे र त्यही विश्‍वासले तिनलाई बुढ्यौलीमा सँभाल्यो। आशिष्‌को लागि एउटा स्वर्गदूतसित रातभरि कुस्ती खेल्दा तिनी ९७ वर्षका थिए। (उत्पत्ति ३२:२४-२८) एक सय सतचालीस वर्षमा तिनको मृत्यु हुनुअघि तिनले आफ्ना १२ जना छोरालाई एक-एक गरी आशिष्‌ दिन सके। (उत्पत्ति ४७:२८) तिनले बोलेका भविष्यसूचक शब्दहरू उत्पत्ति ४९:१-२८ मा लिपिबद्ध छन्‌ जुन साँचो साबित भए र अझै पनि त्यसका पूर्ति भइरहेका छन्‌।

९. आध्यात्मिक तवरमा परिपक्व वृद्ध जनहरूले आफ्नो परिवारमा पार्न सक्ने प्रभावबारे के भन्‍न सकिन्छ?

स्पष्टतः उमेर ढल्किसकेका परमेश्‍वरका वफादार सेवकहरूले आफ्ना परिवारका सदस्यहरूमा असल प्रभाव पार्न सक्छन्‌। धर्मशास्त्रमा पाइने निर्देशनको सँगसँगै वृद्धहरूको बुद्धिमानी सल्लाह र धैर्यताको उदाहरणले जवान व्यक्‍तिको विश्‍वास बलियो हुनु नहुनुमा धेरै फरक पार्न सक्छ। (हितोपदेश २२:६) परिवारमा आफूले पार्न सक्ने असल प्रभावलाई वृद्धहरूले कहिल्यै हल्कासित लिनुहुँदैन।

सँगी विश्‍वासीहरूमा पार्ने प्रभाव

१०. “आफ्नो अस्थिको विषयमा” यूसुफले कस्तो “आज्ञा” दिए र यसले कस्तो प्रभाव पाऱ्‍यो?

१० वृद्धहरूले सँगी विश्‍वासीहरूमा पनि राम्रो प्रभाव पार्न सक्छन्‌। याकूबका छोरा यूसुफले आफ्नो बुढेसकालमा विश्‍वासको एउटा सानो काम गरे जुन कुराले तिनीपछि बाँचेकाहरूको जीवनमा गहिरो छाप पाऱ्‍यो। “आफ्नो अस्थिको विषयमा आज्ञा” दिंदा तिनी ११० वर्षका थिए। इस्राएलीहरू मिश्र छोडेर जाँदा तिनीहरूले यूसुफको अस्थि पनि सँगै लानुपर्ने थियो। (हिब्रू ११:२२; उत्पत्ति ५०:२५) त्यो आज्ञा इस्राएलीहरूका लागि आशाको थप किरण भयो किनभने यूसुफको मृत्युपछि धेरै वर्षसम्म दासत्वको दलदलमा पर्दा मुक्‍ति पाउने आश्‍वासन तिनीहरूले पाए।

११. वृद्ध मोशाले यहोशूमा कस्तो प्रभाव पारेको हुन सक्छ?

११ यूसुफको त्यस्तो अभिव्यक्‍तिबाट बल पाएका व्यक्‍तिहरूमध्ये एक जना मोशा थिए। मोशा ८० वर्षको हुँदा तिनले मिश्रबाट यूसुफको अस्थि लाने सुअवसर पाए। (प्रस्थान १३:१९) त्यसै समयतिर तिनले आफूभन्दा धेरै कान्छो यहोशूलाई भेटे। त्यसपछि ४० वर्षसम्म यहोशूले मोशाको परिचारकको रूपमा सेवा गरे। (गन्ती ११:२८) तिनी मोशासँगै सीनै पर्वतमा गए र साक्षीका दुई पाटी लिएर मोशा पर्वतबाट ओर्लंदा पनि तिनी त्यहाँ उपस्थित थिए। (प्रस्थान २४:१२-१८; ३२:१५-१७) यहोशूको लागि मोशा पक्कै पनि परिपक्व सल्लाह र बुद्धिको स्रोत साबित भएको हुनुपर्छ!

१२. यहोशू आफ्नो जीवनकालभरि कसरी इस्राएल राष्ट्रको लागि असल प्रभाव पार्ने व्यक्‍ति साबित भए?

१२ यहोशूले पनि इस्राएल राष्ट्रलाई आफू बाँचुञ्जेल प्रोत्साहन दिइरहे। न्यायकर्त्ता २:७ यसो भन्छ: “यहोशू जीवित रहुञ्जेल र तिनका पछिका बूढा-प्रधानहरू बाँचुञ्जेल, अर्थात्‌ जसले परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका जम्मै ठूला ठूला कामहरू देखेका थिए, इस्राएली जातिले परमप्रभुको सेवा गर्दैरहे।” यहोशू र अन्य बूढा-प्रधानहरूको मृत्युपछि अगमवक्‍ता शमूएलको समय नआएसम्म अर्थात्‌ ३०० वर्षसम्म इस्राएलीहरूले कहिले साँचो उपासनाको पक्ष त कहिले झूटा उपासनाको पक्ष लिइरहे।

शमूएलले “धर्मका काम गरे”

१३. शमूएलले कसरी “धर्मका काम गरे”?

१३ शमूएलको कति वर्षमा मृत्यु भयो भनेर त बाइबलमा बताइएको छैन तर पहिलो शमूएलमा लिपिबद्ध घटनाहरूले झन्डै १०२ वर्षको समय ढाक्छ र ती प्रायजसो घटनाहरू शमूएल आफैले देखेका थिए। हिब्रू ११:३२, ३३ मा धर्मी न्यायकर्ता र अगमवक्‍ताहरूले “धर्मका काम गरे” भनी लेखिएको छ। हो, शमूएलले आफ्नो समयका केही मानिसहरूलाई गलत कार्यबाट जोगिन वा त्यसलाई त्याग्न मदत गर्न सके। (१ शमूएल ७:२-४) कसरी? तिनी जिन्दगीभर यहोवाप्रति वफादार रहिरहे। (१ शमूएल १२:२-५) तिनी राजालाई समेत कडा सल्लाह दिन पछि हटेनन्‌। (१ शमूएल १५:१६-२९) यसबाहेक, ‘वृद्ध र कपाल फुलिसकेको’ शमूएल अरूको निम्ति प्रार्थना गर्ने सन्दर्भमा एउटा राम्रो उदाहरण साबित भए। सँगी इस्राएलीहरूका निम्ति “प्रार्थना गर्नु छोडेर परमप्रभुको अगि पाप गर्ने दिन चाहिं कहिले नआओस्‌” भनेर तिनले घोषणा गरे।—१ शमूएल १२:२, २३.

१४, १५. प्रार्थनाको सन्दर्भमा वृद्धहरूले आज कसरी शमूएलको अनुकरण गर्न सक्छन्‌?

१४ उमेर ढल्किसकेकाहरूले यहोवाका सँगी सेवकहरूमा असल प्रभाव पार्न सक्ने एउटा महत्त्वपूर्ण तरिका यसले प्रकाश पार्छ। स्वास्थ्य समस्या वा अन्य अवस्थाको कारण धेरै गर्न नसके तापनि वृद्धहरूले अरूको निम्ति प्रार्थना गर्न सक्छन्‌। तपाईं पाका भाइहरूको प्रार्थनाबाट मण्डलीले कति लाभ उठाउँछ भनेर के याद गर्नुभएको छ? ख्रीष्टले बगाउनुभएको रगतमा विश्‍वास गरेको कारण तपाईंले यहोवाको अनुमोदन पाउनुभएको छ र तपाईंको धैर्यताको रेकर्डले “विश्‍वासको प्रमाण” दिएको स्पष्ट हुन्छ। (१ पत्रुस १:७; याकूब १:३) “धार्मिक मानिसको निवेदनले धेरै ठूलो काम हुनसक्‍तछ” भनेर कहिल्यै नबिर्सनुहोस्‌।—याकूब ५:१६.

१५ परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिको समर्थनमा तपाईंको प्रार्थना जरुरी छ। हाम्रा कोही-कोही भाइहरू मसीही तटस्थताको कारण झ्यालखानामा परेका छन्‌। अरू कतिपय चाहिं प्राकृतिक प्रकोप, युद्ध र गृह-कलहको चपेटामा परेका छन्‌। अझ अरूले चाहिं, हुन सक्छ तपाईंकै मण्डलीका भाइबहिनीहरूले पनि प्रलोभन वा सतावटको सामना गरिरहनुपरेको छ। (मत्ती १०:३५, ३६) प्रचारकार्य र मण्डलीमा निरीक्षण गर्ने कार्यमा अगुवा लिइरहेकाहरूका लागि पनि तपाईंले नियमित प्रार्थना गर्नुपर्छ। (एफिसी ६:१८, १९; कलस्सी ४:२, ३) इप्राफासले जस्तै आफ्नो प्रार्थनामा सँगी विश्‍वासीहरूलाई समावेश गर्नु कत्ति असल हो!—कलस्सी ४:१२.

पछि आउने पुस्तालाई सिकाउने

१६, १७. भजन ७१:१८ मा कस्तो भविष्यवाणी गरिएको थियो र यो कसरी साँचो साबित भइरहेको छ?

१६ स्वर्गीय बोलावट भएका “सानो बगाल[का]” विश्‍वासी जनहरूसित संगत गर्दा पृथ्वीमै सधैंभरि बाँच्ने आशा भएका “अरू भेडा[ले]” अत्यावश्‍यक प्रशिक्षणहरू पाउन सकेका छन्‌। (लूका १२:३२; यूहन्‍ना १०:१६) यसबारे भजन ७१:१८ मा यस्तो भविष्यवाणी गरिएको थियो: “हे परमेश्‍वर, म बुढो हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्‌। जबसम्म म अर्को पुस्तामा र पछि आउने हरेकलाई तपाईंको सामर्थ्य र शक्‍तिको घोषणा गरिसक्‍तिनँ।” येशू ख्रीष्टसँगै महिमित हुन जानुअघि आत्मा-अभिषिक्‍त जनहरू अरू भेडाका सँगी विश्‍वासीहरूलाई बढ्‌दो जिम्मेवारीका लागि प्रशिक्षण दिन उत्सुक छन्‌।

१७ भजन ७१:१८ मा “पछि आउने हरेकलाई” सिकाउने भन्‍ने सिद्धान्त परमेश्‍वरका अभिषिक्‍त जनहरूबाट निर्देशन पाएका अरू भेडालाई पनि लागू गर्न सकिन्छ। अहिले साँचो उपासना अँगालिरहेकाहरूलाई उहाँबारे गवाही दिने सुअवसर यहोवाले वृद्धहरूलाई सुम्पनुभएको छ। (योएल १:२, ३) अरू भेडाले अभिषिक्‍त जनहरूबाट जे-जति बाइबलका कुराहरू सिकेका छन्‌, त्यसलाई विशेष सुअवसर ठान्छन्‌ र यहोवाको इच्छाअनुसार गर्न इच्छुक अरू मानिसहरूलाई पनि आफूले सिकेको कुरा बताउन उत्प्रेरित हुन्छन्‌।—प्रकाश ७:९, १०.

१८, १९. (क) कस्ता बहुमूल्य जानकारीहरू वृद्ध भइसकेका परमेश्‍वरका थुप्रै सेवकहरूले अरूलाई बताउन सक्छन्‌? (ख) वृद्ध भइसकेका परमेश्‍वरका साँचो उपासकहरू के कुरामा विश्‍वस्त हुनुपर्छ?

१८ यहोवाका वृद्ध सेवकहरू, चाहे अभिषिक्‍त होउन्‌ वा अरू भेडा, तिनीहरूले महत्त्वपूर्ण ऐतिहासिक घटनाहरू देखेका छन्‌। अहिले बाँचिरहेका कोही-कोहीले पहिले-पहिले देखाइने गरिएको “फोटो-ड्रामा अफ क्रिएसन” हेरेका थिए। सन्‌ १९१८ मा झ्यालखानामा परेका जिम्मेवार भाइहरूलाई कोही-कोहीले व्यक्‍तिगत रूपमा चिन्थे। अरू कोहीले चाहिं वाचटावर रेडियो स्टेसन, डब्ल्यु बि बि आर-मा काम गरेका थिए। अरू थुप्रैले धार्मिक स्वतन्त्रताको लागि यहोवाका साक्षीहरूले विभिन्‍न उच्च अदालतहरूमा लडेका मुद्दाहरूबारे बताउन सक्छन्‌। अरू कतिपय चाहिं तानाशाही शासनको बेला पनि साँचो उपासनाको लागि अडिग रहे। हो, सत्यका कुराहरू कसरी क्रमिक रूपमा प्रकाश हुँदै आएका छन्‌ भनी वृद्ध जनहरूले बताउन सक्छन्‌। बाइबल हामीलाई यस्ता अनुभवका भण्डार अर्थात्‌ वृद्ध जनबाट फाइदा उठाउन प्रोत्साहन दिन्छ।—व्यवस्था ३२:७.

१९ वृद्ध भइसकेका परमेश्‍वरका साँचो उपासकहरूलाई जवानहरूका लागि असल उदाहरण बन्‍न आग्रह गरिएको छ। (तीतस २:२-४) सायद आफ्नो धैर्यता, प्रार्थना र सल्लाहले अरूमा कस्तो प्रभाव पाऱ्‍यो भनेर तपाईंले अहिल्यै देख्नुहुन्‍न होला। नूह, अब्राहाम, यहोशू, मोशा र अरूले तिनीहरूको विश्‍वासले पछि आउने पुस्तालाई कस्तो प्रभाव पाऱ्‍यो भनेर देख्न सकेनन्‌। तैपनि तिनीहरूको विश्‍वास र निष्ठाले ठूलो प्रभाव पाऱ्‍यो, तपाईंको उदाहरणले पनि त्यस्तै प्रभाव पार्नेछ।

२०. अन्तसम्म आफ्नो आशालाई बलियोसित पक्रिराख्नेहरूले कस्तो आशिष्‌को आशा गर्न सक्छन्‌?

२० तपाईंले “महा संकष्ट” जिउँदै पार गर्नुभए पनि वा पुनरुत्थानद्वारा पछि जीवित हुनु भए पनि ‘साँच्चैको जीवन’ अनुभव गर्न पाउनु कत्ति रोमाञ्चकारी हुनेछ! (मत्ती २४:२१; १ तिमोथी ६:१९) ख्रीष्टको हजार वर्षीय शासनको दौडान यहोवाले बुढ्यौलीका सबै असरहरू हटाइ दिनुहुने समयको कल्पना गर्नुहोस्‌। आफ्नो शरीर झन्‌-झनै कमजोर हुँदै गइरहेको महसुस गर्नुको सट्टा हरेक दिन हामी अझ धेरै जोस-उमंग र उज्यालो अनुहार सहित उठ्‌नेछौं र राम्ररी सुन्‍न र देख्न सक्नेछौं! (अय्यूब ३३:२५; यशैया ३५:५, ६) परमेश्‍वरको नयाँ संसारमा सधैंभरि बाँच्न सक्ने हुँदा आफ्नो उमेर जतिसुकै भए तापनि वास्तवमा सधैं जवान रहिरहने छौं। (यशैया ६५:२२) त्यसैले हामी सबैले अन्तसम्मै आफ्नो आशालाई बलियोसित पक्रिराखौं र तनमनले यहोवाको सेवा गर्न नछोडौं। आफूले प्रतिज्ञा गरेका सबै कुराहरू यहोवाले पूरा गर्नु हुनेछ र हामीले आशा गरेभन्दा धेरै दिनुहुनेछ भनेर हामी विश्‍वस्त हुन सक्छौं।—भजन ३७:४; १४५:१६. (w 07 6/1)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• वृद्ध नूहको दृढता सबै मानिसजातिको निम्ति कसरी आशिष्‌ साबित भयो?

• कुलपिताहरूका विश्‍वासले तिनीहरूका शाखा-सन्तानमा कस्तो प्रभाव पाऱ्‍यो?

• वृद्ध भइसकेका यूसुफ, मोशा, यहोशू र शमूएलले आफ्ना सँगी विश्‍वासीहरूलाई कसरी बलियो बनाए?

• वृद्धहरूले पछि आउने पुस्तालाई कस्तो सम्पदा छोड्‌न सक्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २७-मा भएको चित्र]

अब्राहामको धैर्यताले इसाहाकमा गहिरो छाप पाऱ्‍यो

[पृष्ठ २९-मा भएको चित्र]

अरूको निम्ति तपाईंले गर्नुहुने प्रार्थनाले धेरै असल गर्न सक्छ

[पृष्ठ ३०-मा भएको चित्र]

विश्‍वासी वृद्ध जनहरूको कुरा सुनेर जवानहरूले लाभ उठाउँछन्‌