हितोपदेश १६:१-३३

  • यहोवा मनसाय जाँच्नुहुन्छ ()

  • आफ्नो काम यहोवालाई सुम्पिदेऊ ()

  • ठीक-ठीक नाप यहोवाका हुन्‌ (११)

  • नाशको अघि घमन्ड आउँछ (१८)

  • फुलेको कपाल शोभाको मुकुट हो (३१)

१६  मानिसले आफ्नो मनमा सोच्न त सोच्छ तर यहोवाले नै उसको मुखमा जवाफ* हालिदिनुहुन्छ।+  २  मानिसलाई आफ्नो सबै चाल ठीक* लाग्छ+ तर उसको मनसाय यहोवाले जाँच्नुहुन्छ।+  ३  आफूले गर्ने जुनसुकै काम यहोवालाई सुम्पिदेऊ;+ तब तिम्रा योजनाहरू सफल हुनेछन्‌।  ४  यहोवाले सबै कुरा आफ्नो उद्देश्‍यअनुसार गर्नुहुन्छ; उहाँले दुष्टहरूलाई विनाशको दिनमा नाश गर्ने उद्देश्‍य राख्नुभएको छ।+  ५  घमन्डी मानिसलाई यहोवा घृणा गर्नुहुन्छ।+ यो कुरा पक्का छ, त्यस्तो मानिस सजायबाट उम्कन पाउनेछैन।  ६  अटल प्रेम र वफादारी देखाउने मानिसले* आफ्नो गल्तीको क्षमा पाउँछ+ अनि यहोवाको डर राख्ने मानिस खराब कामबाट अलग्गै बस्छ।+  ७  जब कुनै मानिसको चालदेखि यहोवा खुसी हुनुहुन्छ, तब उहाँले उसका शत्रुहरूलाई पनि ऊसित मिलाप गराइदिनुहुन्छ।+  ८  बेइमानी गरेर कमाएको धेरै सम्पत्तिभन्दा+ इमानदारीसित कमाएको थोरै सम्पत्ति असल हो।+  ९  मानिसले आफ्नो मनमा योजना त बनाउला तर उसको हरेक कदमलाई यहोवाले डोऱ्‍याउनुहुन्छ।+ १०  राजाको ओठमा ईश्‍वरीय फैसला हुनुपर्छ,+ उसले कहिल्यै अन्याय गर्नु हुँदैन।+ ११  ठीक-ठीक नाप र ढक-तराजु यहोवाका हुन्‌, झोलामा भएका ढकहरू पनि उहाँकै हुन्‌।+ १२  दुष्ट कामलाई राजाहरूले घृणा गर्छन्‌+ किनकि धार्मिकताले गर्दा नै सिंहासन स्थिर रहन्छ।+ १३  सही कुरा बोल्ने मानिससित राजाहरू खुसी हुन्छन्‌। इमानदार भई जवाफ दिने मानिसलाई उनीहरू मन पराउँछन्‌।+ १४  राजाको क्रोधले मृत्यु निम्त्याउँछ*+ तर बुद्धिमान्‌ मानिसले राजाको क्रोधलाई शान्त पार्छ।*+ १५  राजाको मुहार उज्यालो हुँदा मानिसको जीवन बच्छ, राजाको निगाह वसन्त ऋतुको वर्षाजस्तै हो।+ १६  सुनभन्दा बुद्धि प्राप्त गर्नु+ अनि चाँदीभन्दा समझ प्राप्त गर्नु उत्तम हो।+ १७  सोझो मानिस गलत बाटोदेखि टाढै बस्छ। अनि जो होसियार भई सही बाटोमा हिँड्‌छ, उसले जीवन बचाउँछ।+ १८  नाशको अघि घमन्ड अनि पतनको अघि अहङ्‌कार आउँछ।+ १९  अहङ्‌कारीहरूसित लुटको माल बाँड्‌नुभन्दा नम्र भई सोझाहरूमाझ रहनु बेस हो।+ २०  समझ* प्रयोग गर्ने मानिस सफल हुन्छ अनि यहोवामा भरोसा राख्ने मानिस सुखी रहन्छ। २१  बुद्धिमान्‌ मानिस समझदार हुन्छ+ अनि मीठो बोलीले अरूको मन जित्न सकिन्छ।+ २२  जोसित समझशक्‍ति* छ, उसको लागि त्यो जीवनको मूल हो तर मूर्खहरूले आफ्नै मूर्खताले गर्दा सजाय भोग्छन्‌। २३  बुद्धिमान्‌ मानिसको बोली समझले* भरिएको हुन्छ+ अनि उसको बोलीले अरूलाई रिझाउन सक्छ। २४  मीठो बोली शुद्ध महजस्तै हो; यो गुलियो हुन्छ र यसले शरीरलाई फुर्तिलो बनाउँछ।*+ २५  कुनै बाटो मानिसलाई सही नै लाग्ला तर त्यसले अन्तमा मृत्युमा पुऱ्‍याउँछ।+ २६  मजदुरको भोको पेटले उसलाई काम गर्न जुरमुऱ्‍याउँछ; उसको भोकले* उसलाई काम नगरी बस्न दिँदैन।+ २७  बेकम्मा मानिसले अरूको नराम्रो कुरा मात्र खोतल्छ;+ उसको बोली आगोको भुङ्‌ग्रोजस्तै हुन्छ।+ २८  झगडालु मानिसले* फूट गराउँछ+ अनि निन्दा गर्ने मानिसले घनिष्ठ मित्रहरूबीच फाटो ल्याउँछ।+ २९  अत्याचारी मानिसले आफ्नो छिमेकीलाई फुस्ल्याउँछ र उसलाई गलत बाटोमा लैजान्छ। ३०  उसले अरूको हानि गर्न आँखा सन्काउँछ अनि आफ्नो ओठ टोक्दै दुष्ट काम गर्छ। ३१  धार्मिकताको मार्गमा हिँड्‌ने मानिसको फुलेको कपाल उसको शोभाको मुकुट* हो।+ ३२  हतपती नरिसाउने मानिस+ वीर योद्धाभन्दा असल हो अनि आफ्नो रिस थाम्न सक्ने मानिस सहरलाई जित्ने मानिसभन्दा असल हो।+ ३३  पोल्टामा राखेर गोला त हालिन्छ+ तर हरेक फैसला यहोवाले नै गर्नुहुन्छ।+

फुटनोटहरू

वा “सही जवाफ।”
शा., “शुद्ध।”
हिब्रू भाषामा यो अभिव्यक्‍तिले परमेश्‍वरको अटल प्रेम र वफादारीलाई पनि जनाएको हुन सक्छ।
शा., “राजाको क्रोध मृत्युको दूतजस्तै हो।”
वा “बुद्धिमान्‌ मानिस राजाको क्रोधबाट जोगिन्छ।”
वा “अन्तर्दृष्टि।”
वा “अन्तर्दृष्टि।”
वा “अन्तर्दृष्टिले।”
शा., “हड्डीहरूलाई निको पार्छ।”
शा., “मुखले।”
वा “षड्‌यन्त्रकारीले।”
वा “ताज।”