भजनसङ्ग्रह ७१:१-२४
७१ हे यहोवा, मैले तपाईँमा नै शरण लिएको छु।म कहिल्यै लज्जित हुन नपरोस्।+
२ मलाई बचाउनुहोस्, मेरो उद्धार गर्नुहोस् किनकि तपाईँ असल हुनुहुन्छ।तपाईँको कान मतिर फर्काउनुहोस्* र मलाई बचाउनुहोस्।+
३ मेरो निम्ति चट्टानको गढ बन्नुहोस्,जहाँ म सधैँ शरण लिन सक्छु।मलाई बचाइयोस् भन्ने आज्ञा दिनुहोस्किनकि तपाईँ मेरो चट्टान र किल्ला हुनुहुन्छ।+
४ हे मेरा परमेश्वर, मलाई दुष्टको हातबाट छुटाउनुहोस्,+अत्याचारीको पन्जाबाट मलाई छुटकारा दिनुहोस्।
५ किनकि हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँ नै मेरो आशा हुनुहुन्छ;ठिटो छँदादेखि नै मैले तपाईँमा भरोसा गरेको छु।+
६ जन्मेदेखि नै म तपाईँमा भर परेको छु;तपाईँले नै मलाई मेरी आमाको गर्भबाट निकाल्नुभयो।+म निरन्तर तपाईँको प्रशंसा गर्छु।
७ म धेरैको निम्ति चमत्कारजस्तै भएको छु।तर मेरो बलियो शरणस्थान तपाईँ नै हुनुहुन्छ।
८ मेरो मुख तपाईँको प्रशंसाका शब्दहरूले भरिएको छ;+सारा दिन म तपाईँको वैभवको बयान गर्दछु।
९ मेरो वृद्धावस्थामा मलाई नत्याग्नुहोस्;+मेरो बल घटे पनि मलाई हेला नगर्नुहोस्।+
१० मेरा शत्रुहरू मेरो विरुद्धमा बोल्छन्अनि मेरो ज्यान लिन खोज्नेहरू आपसमा षड्यन्त्र रच्छन्।+
११ तिनीहरू भन्छन्: “परमेश्वरले त्यसलाई त्याग्नुभएको छ।त्यसलाई खेदेर समातौँ किनकि त्यसलाई बचाउने कोही छैन।”+
१२ हे परमेश्वर, मदेखि टाढा नहुनुहोस्।हे मेरा परमेश्वर, मलाई मदत गर्न झट्टै आउनुहोस्।+
१३ मेरो विरोध गर्नेहरू लज्जित होऊन्,तिनीहरू नाश भएर जाऊन्।+ममाथि विपत्ति ल्याउन चाहनेहरूलाईबेइज्जती र अपमानले ढाकोस्।+
१४ तर म भने तपाईँको प्रतीक्षा गरिरहनेछु;म तपाईँको अझ धेरै प्रशंसा गर्नेछु।
१५ तपाईँका असल कामहरूर तपाईँले गर्नुभएका उद्धारका कामहरू अनगिन्ती भए तापनि+सारा दिन मेरो मुखले तिनको बखान गरिरहनेछ।+
१६ हे ब्रह्माण्डका मालिक यहोवा,म आएर तपाईँका शक्तिशाली कामहरूबारे बताउनेछु;तपाईँकै, हो, केवल तपाईँकै धार्मिकताको म बयान गर्नेछु।
१७ हे परमेश्वर, मेरो युवावस्थादेखि नै तपाईँले मलाई सिकाउनुभयो+अनि अहिलेसम्म पनि तपाईँका आश्चर्यजनक कामहरूबारे म घोषणा गर्दै छु।+
१८ हे परमेश्वर, म वृद्ध भइसक्दा, मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्।+मैले तपाईँको शक्तिबारे* आउने पुस्तालाई सुनाउन पाऊँअनि तपाईँको पराक्रमबारे पछि आउने सबैलाई बताउन पाऊँ।+
१९ हे परमेश्वर, तपाईँका असल कामहरू आकाशसम्मै चुलिएका छन्;+तपाईँका कार्यहरू महान् छन्;हे परमेश्वर, तपाईँजस्तो अरू को छ र?+
२० तपाईँले मलाई थुप्रै विपत्ति र दुःख भोग्न दिनुभए पनि+मलाई फेरि नयाँ जोसले भरिदिनुहोस्;मलाई पृथ्वीको गहिराइबाट* बाहिर निकाल्नुहोस्।+
२१ मेरो मान बढाइदिनुहोस्,मेरो वरिपरि रहनुहोस् र मलाई सान्त्वना दिनुहोस्।
२२ तब हे मेरा परमेश्वर, तपाईँको वफादारीको कारण+म तारे बाजा बजाएर तपाईँको प्रशंसा गर्नेछु।हे इस्राएलका पवित्र परमेश्वर,म वीणा बजाएर तपाईँको स्तुति गाउनेछु।*
२३ मेरा ओठहरूले खुसीसाथ कराउँदै तपाईँको स्तुतिगान गाउनेछन्+किनकि तपाईँले मेरो ज्यान जोगाउनुभएको छ।+
२४ मेरो जिब्रोले सारा दिन तपाईँका असल कामहरूको बयान गर्नेछ*+किनकि मेरो विनाश गर्न खोज्नेहरू लाजमा पर्नेछन् र अपमानित हुनेछन्।+

