पहिलो समुएल १२:१-२५

  • समुएलको अन्तिम भाषण (१-२५)

    • “झूटा देवताहरूको पछि लाग्न छोड” (२१)

    • यहोवाले आफ्ना मानिसहरूलाई त्याग्नुहुनेछैन (२२)

१२  अनि समुएलले सबै इस्राएलीलाई भने: “तिमीहरूले जे-जे मागेका थियौ, त्यो मैले सबै पूरा गरेँ। तिमीहरूमाथि शासन गर्न राजा पनि नियुक्‍त गरिदिएँ।+ २  हेर! तिमीहरूलाई डोऱ्‍याउने राजा यहीँ छन्‌।+ म बूढो भइसकेको छु अनि मेरो कपाल फुलिसकेको छ। मेरा छोराहरू पनि यहाँ तिमीहरूकै माझमा छन्‌।+ म सानो छँदादेखि नै मैले तिमीहरूलाई डोऱ्‍याउँदै आएको छु।+ ३  हेर, म तिमीहरूसामु खडा छु। त्यसैले मसित कुनै गुनासो छ भने यहोवा परमेश्‍वर र उहाँको अभिषिक्‍त जनसामु भन:+ मैले कसको गोरु वा गधा लिएको छु?+ मैले कसलाई ठगेको वा थिचोमिचो गरेको छु? मैले न्याय बङ्‌ग्याउन कसको हातबाट घुस लिएको छु?+ यदि मैले त्यसो गरेको छु भने तिमीहरूलाई त्यो फर्काइदिनेछु।”+ ४  तब मानिसहरूले भने: “तपाईँले हामीलाई ठग्नुभएको छैन, हामीमाथि थिचोमिचो गर्नुभएको छैन अनि कसैको हातबाट केही लिनुभएको पनि छैन।” ५  अनि समुएलले मानिसहरूलाई भने: “तिमीहरूले मलाई दोष लगाउने केही कुरा भेट्टाएनौ। यहोवा परमेश्‍वर र उहाँको अभिषिक्‍त जन आज यस कुराको साक्षी हुनुहुन्छ।” यो सुनेपछि तिनीहरूले भने: “उहाँ* साक्षी हुनुहुन्छ।” ६  अनि समुएलले मानिसहरूलाई भने: “मोसा र हारुनलाई प्रयोग गरेर तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट छुटाउनुहुने यहोवा परमेश्‍वर नै यस कुराको साक्षी हुनुहुन्छ।+ ७  अब तिमीहरू अगाडि आओ। अनि यहोवा परमेश्‍वरले तिमीहरू र तिमीहरूका पुर्खाहरूका लागि गर्नुभएका सबै न्यायोचित कामको आधारमा म यहोवा परमेश्‍वरसामु तिमीहरूको इन्साफ गर्नेछु। ८  “जब याकुब मिश्र गएर बसोबास गरे+ र तिमीहरूका पुर्खाहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई पुकार्न थाले,+ तब तिनीहरूलाई मिश्रबाट छुटाएर ल्याउन अनि यस ठाउँमा बसाल्न+ यहोवा परमेश्‍वरले तुरुन्तै मोसा+ र हारुनलाई पठाउनुभयो। ९  तर तिमीहरूका पुर्खाहरूले आफ्ना परमेश्‍वर यहोवालाई बिर्से। त्यसैले उहाँले तिनीहरूलाई हजोरका सेनापति सिसराको,+ पलिस्तियालीहरूको+ र मोआबका+ राजाको हातमा सुम्पिदिनुभयो।*+ अनि तिनीहरूले यी शत्रुहरूसित लडाइँ गरे। १०  तिनीहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई यसरी पुकारे:+ ‘हामीले पाप गरेका छौँ + किनभने यहोवा परमेश्‍वरलाई त्यागेर हामीले बाआल देवताहरू+ र अस्तारोथका+ मूर्तिहरूलाई पुज्न थाल्यौँ। त्यसैले अब हामीलाई शत्रुहरूको हातबाट बचाउनुहोस्‌ र हामी तपाईँको उपासना गर्नेछौँ।’ ११  तब यहोवा परमेश्‍वरले तिमीहरूलाई वरपरका शत्रुहरूको हातबाट बचाउन यरुब्बाआल,+ बेदान, यिप्तह+ र समुएललाई+ पठाउनुभयो। त्यसपछि तिमीहरू ढुक्कसित बस्न सक्यौ।+ १२  अम्मोनीहरूका राजा नहस+ तिमीहरूलाई आक्रमण गर्न आएको देख्दा तिमीहरूले यसरी जिद्दी गरिरह्‍यौ: ‘हामीलाई जसरी भए पनि राजा चाहिन्छ।’+ यहोवा परमेश्‍वर तिमीहरूका राजा हुँदाहुँदै पनि तिमीहरूले त्यसो भनिरह्‍यौ।+ १३  तिमीहरूले राजा चाहियो भनेका थियौ, तिमीहरूले चाहेको राजा यहाँ छन्‌। हेर! यहोवा परमेश्‍वरले तिमीहरूको लागि एउटा राजा नियुक्‍त गर्नुभएको छ।+ १४  यदि तिमीहरूले यहोवा परमेश्‍वरको डर मान्यौ,+ यहोवाको सेवा गऱ्‍यौ,+ उहाँको आज्ञा पालन गऱ्‍यौ,+ उहाँको आदेशअनुसार चल्यौ र तिमीहरूले अनि तिमीहरूका राजाले यहोवा परमेश्‍वरलाई पछ्याइरह्‍यौ भने तिमीहरूको भलो हुनेछ। १५  तर तिमीहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनौ र यहोवा परमेश्‍वरको आदेशअनुसार चलेनौ भने यहोवा परमेश्‍वरले तिमीहरूलाई र तिमीहरूका बुबाहरूलाई सजाय दिनुहुनेछ।+ १६  अब तिमीहरू अगाडि आओ र यहोवा परमेश्‍वरले तिमीहरूको सामने गर्नुहुने यो अचम्मको काम हेर। १७  अहिले गहुँ काट्‌ने समय हो। तर अब म यहोवा परमेश्‍वरलाई बादल गर्जोस्‌ र पानी परोस्‌ भनेर पुकार्नेछु। तिमीहरूले राजाको माग गरेर यहोवा परमेश्‍वरको नजरमा कत्ति दुष्ट काम गरेका रहेछौ, त्यसपछि थाह पाउनेछौ।”+ १८  तब समुएलले यहोवा परमेश्‍वरलाई पुकारे र यहोवा परमेश्‍वरले त्यो दिन बादल गर्जाउनुभयो अनि पानी पार्नुभयो। त्यो देखेर मानिसहरू यहोवा परमेश्‍वरदेखि र समुएलदेखि असाध्यै डराए। १९  अनि सबै मानिसले समुएललाई भने: “तपाईँका सेवकहरूको तर्फबाट तपाईँका परमेश्‍वर यहोवालाई प्रार्थना गरिदिनुहोस्‌+ र हाम्रो ज्यान जोगियोस्‌। किनभने हामीले राजाको माग गरेर दुष्ट काम गरेका छौँ, आफ्नो पापमाथि अझै पाप थपेका छौँ।” २०  त्यसैले समुएलले मानिसहरूलाई भने: “नडराओ। तिमीहरूले साँच्चै नै दुष्ट काम गरेका हौ, तर यहोवा परमेश्‍वरलाई पछ्याउन नछोड+ र सारा हृदयले यहोवा परमेश्‍वरको सेवा गर।+ २१  तिमीहरू झूटा देवताहरूको पछि लाग्न छोड,+ जसको पछि लागेर तिमीहरूलाई केही फाइदा हुँदैन।+ तिनीहरूले तिमीहरूलाई बचाउन सक्दैनन्‌, तिनीहरूको पछि लाग्नु बेकार हो। २२  आफ्नो महान्‌ नामको खातिर+ यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई त्याग्नुहुनेछैन+ किनभने यहोवा परमेश्‍वर आफैले तिमीहरूलाई उहाँको जन हुन छान्‍नुभएको हो।+ २३  तिमीहरूको तर्फबाट यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न छोड्‌ने कुरा त म सोच्न समेत सक्दिनँ। किनकि मैले त्यसो गर्न छोड्‌नु भनेको उहाँविरुद्ध पाप गर्नु हो। म तिमीहरूलाई असल र सही बाटोमा हिँड्‌न सिकाइरहनेछु। २४  हेर! यहोवा परमेश्‍वरले तिमीहरूको लागि ठूलठूला कामहरू गर्नुभएको छ। त्यसैले सधैँ उहाँको डर मान+ अनि वफादार भएर सारा हृदयले उहाँको सेवा गर।+ २५  तर तिमीहरूले अटेरी भएर खराब काम गरिरह्‍यौ भने तिमीहरू र तिमीहरूका राजा नाश हुनेछौ।”+

फुटनोटहरू

वा सम्भवतः “तिनी।” यसले परमेश्‍वरको अभिषिक्‍त जनलाई जनाएको पनि हुन सक्छ।
शा., “बेचिदिनुभयो।”