सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानवअधिकारको युरोपेली अदालतमा विजय हासिल

मानवअधिकारको युरोपेली अदालतमा विजय हासिल

मानवअधिकारको युरोपेली अदालतमा विजय हासिल

फ्रान्सको स्ट्रासबर्ग सहरस्थित मानवअधिकारको युरोपेली अदालतले जनवरी ११, २००७ को दिन यहोवाका साक्षीहरूको पक्षमा सर्वसम्मतिद्वारा पारित फैसला सुनायो। ती साक्षीहरूले संघीय रूस विरुद्ध मुद्दा दायर गरेका थिए। त्यस फैसलाले यहोवाका साक्षीहरूको धार्मिक स्वतन्त्रता र उनीहरूले निष्पक्ष न्याय पाउनुपर्ने हकको समर्थन गऱ्‍यो। आउनुहोस्‌, त्यो मुद्दा कसरी पऱ्‍यो, सो हेरौं।

रूसी सहर चेल्यबन्स्कमा यहोवाका साक्षीहरूको एउटा मण्डलीमा धेरैजसो बहिराहरू छन्‌। तिनीहरूले व्यावसायिक सीपको प्रशिक्षण दिने कलेजको हल भाडामा लिएर सभा सञ्चालन गर्दै आएका थिए। आइतबार, अप्रिल १६, २००० मा क्षेत्रीय मानव अधिकार आयोगका कमिश्‍नरलगायत दुई वरिष्ठ प्रहरी अधिकृत र सादा पोशाकमा आएका अर्को एक व्यक्‍तिले तिनीहरूको सभा बिथोले। त्यस घटनाको मुख्य कारण साक्षीहरूप्रतिको पूर्वाग्रह थियो, र अझ विशेष गरी उक्‍त कमिश्‍नरले राखेको पूर्वाग्रह। साक्षीहरूले कानुनी आधारविना सभा सञ्चालन गरेको भन्‍ने झूटो आरोप लगाएर चलिरहेको सभालाई उनीहरूले रोकिदिए। भवन भाडामा लिन गरिएको सम्झौता पनि मे १, २००० देखि लागू हुने गरी खारेज गरिदिए।

यहोवाका साक्षीहरूले चेल्यबन्स्क सहरको आपराधिक मुद्दा हेर्ने इन्चार्जलाई उजुरी गरे। तर केही भएन। रूसी संविधान र मानव अधिकार तथा मौलिक स्वतन्त्रताको रक्षाको लागि महा-सन्धिले, धार्मिक स्वतन्त्रता र भेला हुन पाउने स्वतन्त्रताको ग्यारेन्टी दिन्छ। त्यसैले, जिल्ला अदालत र त्यसपछि क्षेत्रीय अदालतमा मुद्दा दायर गरियो। साथै त्यसअघि, जुलाई ३०, १९९९ मा रूसी सर्वोच्च अदालतले अर्को एउटा मुद्दामा “अन्तस्करणअनुसार निर्णय गर्न र धार्मिक उद्देश्‍यको लागि भेला हुन पाउनुपर्ने स्वतन्त्रतासम्बन्धी रूसी कानुनअनुसार ‘रोकटोकबिना’ भन्‍ने वाक्यांशले यस्ता भवनहरूमा धार्मिक समारोहको लागि भेला हुनुअघि सरकारी अधिकारीबाट अनुमति लिनु वा उनीहरूलाई अग्रिम सूचना गर्नु आवश्‍यक छैन भन्‍ने कुरालाई बुझाउँछ” भनी फैसला सुनाएको थियो। त्यस्तो निर्णय गरिएको भए तापनि जिल्ला अदालत र क्षेत्रीय अदालतमा दायर गरिएका ती मुद्दा खारेज गरिए।

डिसेम्बर १७, २००१ मा त्यो मुद्दा मानवअधिकारको युरोपेली अदालतमा दायर गरियो। त्यसको सुनुवाइ सेप्टेम्बर ९, २००४ मा भयो। त्यतिबेला अदालतले सुनाएको अन्तिम फैसलाको केही अंश यस्तो छ:

“अप्रिल १६, २००० मा सरकारी अधिकारीहरूले धार्मिक सभालाई बीचैमा रोकेको घटनामा, उजूरी गर्ने पक्षको धार्मिक स्वतन्त्रताको हक हनन भएको यस अदालतले ठहर गरेको छ।”

“कानुनी तवरमा भवन भाडामा लिई सञ्चालन गरिएको धार्मिक समारोहमाथि रोकावट हाल्नुको पछाडि कुनै कानुनी आधार छैन।”

“रूसी सर्वोच्च अदालतले धार्मिक जमघटको लागि सरकारी अधिकारीबाट अग्रिम अनुमति लिनुपर्ने वा उनीहरूलाई अग्रिम सूचना दिनुपर्ने आवश्‍यकता छैन भन्‍ने अर्थ लाग्ने निर्णयहरू गर्दै आएको [ यस अदालतले] याद गरेको छ।”

“तसर्थ, उजुरी गर्ने पक्षले सञ्चालन गरेको धार्मिक सभालाई कमिश्‍नर र उनका सहयोगीहरूले अप्रिल १६, २००० मा बाधा पुऱ्‍याउँदा मानव अधिकार तथा मौलिक स्वतन्त्रताको रक्षाको लागि महा-सन्धिको धारा ९ [ धार्मिक स्वतन्त्रता] उल्लंघन भएको छ।”

“जिल्ला अदालत र क्षेत्रीय अदालत निष्पक्ष र उचित न्याय गर्न असफल भएको यस अदालतको ठहर छ। महा-सन्धिको धारा ६ [ निष्पक्ष न्याय पाउनुपर्ने हक] ठाडै उल्लंघन भएको छ।”

यहोवाले आफ्ना जनहरूलाई मानव अधिकारको युरोपेली अदालतमा विजयी गराउनु भएकोमा यहोवाका साक्षीहरू परमेश्‍वरप्रति कृतज्ञ छन्‌। (भजन ९८:१) त्यो फैसलाको असर कत्तिसम्म हुनेछ? धर्म तथा सार्वजनिक नीतिसम्बन्धी संस्थाका अध्यक्ष जोसेफ के. ग्रिबोस्की यसो भन्छन्‌: “युरोपभरि धार्मिक स्वतन्त्रतालाई असर गर्ने यो अर्को महत्त्वपूर्ण फैसला हो किनभने यसले मानव अधिकारसम्बन्धी युरोपेली अदालतको अधीनमा भएका सबै देशको धार्मिक हकमाथि प्रभाव पार्नेछ।” (w 07 5/15)