हितोपदेश २२:१-२९

  • प्रशस्त धनसम्पत्तिभन्दा राम्रो नाम कमाउनु बेस हो ()

  • बालकलाई सही बाटोमा लगाउँदा बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन ()

  • अल्छी बाहिर सिंह छ भनेर डराउँछ (१३)

  • अनुशासनले मूर्खतालाई उखेलिदिन्छ (१५)

  • सिपालु मानिसले राजाको सेवा गर्छ (२९)

२२  प्रशस्त धनसम्पत्तिभन्दा राम्रो नाम कमाउनु बेस हो;+ सुनचाँदीभन्दा इज्जत* कमाउनु उत्तम हो।  २  धनी र गरिबबीच एउटा कुरा मिल्दोजुल्दो छ: दुवैलाई सृष्टि गर्नुहुने यहोवा हुनुहुन्छ।+  ३  चतुर मानिस खतरा आएको देखेर लुक्छ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख* पाउँछ।  ४  नम्र र यहोवाको डर मान्‍ने मानिसले धनसम्पत्ति, सम्मान र जीवन पाउँछ।+  ५  टेढो मानिसको बाटोमा काँडा र पासोहरू हुन्छन्‌ तर आफ्नो जीवनलाई माया गर्ने मानिस यी कुराहरूदेखि टाढै रहन्छ।+  ६  बालकलाई सही बाटोमा लगाऊ;+ बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन।+  ७  धनीले गरिबमाथि हैकम चलाउँछ अनि सापटी लिने मानिसचाहिँ सापटी दिनेको दास बन्छ।+  ८  जसले कुकर्म छर्छ, उसले विनाशको कटनी गर्नेछ+ अनि उसको अत्याचारको लाठो भाँचिनेछ।+  ९  उदार मानिसले आशिष्‌ पाउँछ किनभने उसले आफ्नो भोजन गरिबसँग बाँडचुँड गर्छ।+ १०  खिसी गर्ने मानिसलाई हटाऊ, तब झगडा सुल्झिन्छ अनि किचलो* र गाली बन्द हुन्छ। ११  जसको हृदय चोखो छ र जसले दयालु वचन बोल्छ, ऊसित राजाले समेत मित्रता गाँस्छ।+ १२  यहोवाले बुद्धिको* रक्षा गर्नुहुन्छ तर छली मानिसको कुरालाई उहाँ विफल तुल्याइदिनुहुन्छ।+ १३  अल्छीले भन्छ: “बाहिर सिंह छ! त्यसले मलाई चोकमै मारिहाल्छ!”+ १४  छाडा* स्त्रीको बोली गहिरो खाडल हो।+ यहोवाले दोषी ठहऱ्‍याउनुभएकाहरू त्यसमा पर्नेछन्‌। १५  बालकको हृदयमा मूर्खताले जरा गाडेको हुन्छ;+ अनुशासनको छडीले त्यसलाई उखेलिदिन्छ।+ १६  जो गरिबलाई ठगेर धनी बन्छ+ अनि जसले धनीलाई उपहार दिन्छ, ती दुवै कङ्‌गाल हुनेछन्‌। १७  बुद्धिमान्‌ मानिसले के भन्छ, कान थापेर सुन;+ तब मैले सिकाएको कुरामा तिमीले मन लगाउन सक्नेछौ+ १८  किनभने ती मनमा राख्यौ भने तिमी आनन्दित हुनेछौ+ अनि ती सधैँ तिम्रो ओठमा रहनेछन्‌।+ १९  तिमीले यहोवालाई भरोसा गर्न सक भनेर मैले यी कुराहरू आज तिमीलाई बताएँ। २०  मैले तिमीलाई धेरै कुरा लेखिसकेँ, सरसल्लाह र निर्देशन दिइसकेँ २१  किनभने म तिमीलाई सत्य र भरोसायोग्य कुरा सिकाउन चाहन्छु ताकि जसले तिमीलाई पठायो, उसलाई तिमीले सही कुरा बताउन सक्नेछौ। २२  गरिब मानिसलाई ऊ गरिब छ भन्दैमा नलुट;+ सहरको मूलढोकामा गरिबलाई थिचोमिचो नगर।+ २३  किनभने यहोवाले नै तिनीहरूको मुद्दा लड्‌नुहुनेछ;+ तिनीहरूलाई लुट्‌नेहरूको ज्यान उहाँले लिनुहुनेछ। २४  गरम मिजासको मानिससित सङ्‌गत नगर अनि सानो कुरामा पनि जङ्‌गिने मानिससित नबस। २५  नत्र त तिमीले उनीहरूको सिको गर्नेछौ अनि आफै पासोमा पर्नेछौ।+ २६  तिमी ती मानिसहरूजस्ता नहोऊ, जो अरूले ऋण लिँदा हात मिलाएर जमानी बस्छन्‌।+ २७  नत्र त तिमीसित तिर्ने कुरा केही भएन भने मानिसहरूले तिमी सुतिराखेको ओछ्यानसमेत खोसेर लैजानेछन्‌! २८  तिम्रा पुर्खाले राखेको पुरानो साँध-सिमाना नसार।+ २९  के तिमीले आफ्नो काममा सिपालु मानिस देखेका छौ? उसले साधारण मानिसको होइन, राजाको सेवा गर्नेछ।+

फुटनोटहरू

शा., “निगाह।”
वा “सजाय।”
वा “मुद्दामामिला।”
शा., “ज्ञानको।”
शा., “पराई।” हितो २:१६ हेर्नुहोस्‌।