सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवासित सधैं नजिक हुनुहोस्

यहोवासित सधैं नजिक हुनुहोस्

“परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकू. ४:८.

१, २. (क) सैतानका “युक्तिहरू” के-के हुन्‌? (ख) परमेश्वरसित नजिक हुन के गर्नुपर्छ?

यहोवा परमेश्वरले मानिसहरूलाई उहाँसित नजिक हुनुपर्ने आवश्यकतासहित सृष्टि गर्नुभयो। तर सैतानले भने यहोवा परमेश्वरको आवश्यकता छैन भन्ने सोचाइ राख्न लगाउँछ। अदनको बगैंचामा हव्वालाई बहकाएदेखि नै सैतानले त्यो झूट फैलाइरहेको छ। (उत्प. ३:४-६) त्यस समयदेखि अधिकांश मानिसले त्यही गलत सोचाइ राखेका छन्‌।

तर हामी सैतानको पासोमा फस्नु पर्दैन। “त्यसका युक्तिहरूबारे हामी अनजान छैनौं।” (२ कोरि. २:११) गलत छनौट गर्न उक्साएर सैतानले हामीलाई यहोवाबाट टाढा लैजान खोज्छ। तर यसअघिको लेखमा बताइएझैं जागिर, मनोरञ्जन र पारिवारिक सम्बन्धबारे हामी सही छनौट गर्न सक्छौं। प्रविधि, स्वास्थ्य, पैसा र घमन्डलाई उचित स्थानमा राखेर कसरी “परमेश्वरसित नजिक” हुन सक्छौं, त्यसबारे यस लेखमा छलफल गर्नेछौं।—याकू. ४:८.

प्रविधि

३. प्रविधिको सही वा गलत प्रयोग कसरी हुन सक्छ, उदाहरणसहित बताउनुहोस्।

अहिले थुप्रै मानिस कम्प्युटर तथा इलेक्ट्रोनिक सरसामान प्रयोग गर्छन्‌। त्यसको सही प्रयोग गर्नु उपयोगी भए तापनि गलत प्रयोगले हामीलाई यहोवाबाट टाढा लैजान सक्छ। जस्तै, कम्प्युटरलाई विचार गर्नुहोस्। अहिले पढिरहनुभएको पत्रिका लेख्न अनि छाप्न कम्प्युटर नै प्रयोग गरियो। अनुसन्धान गर्न र सञ्चार कायम राख्न कम्प्युटर प्रभावकारी साधन हो। अनि यो प्रयोग गर्दा रमाइलो पनि हुन्छ। तर त्यसैमा लग्गू हुने सम्भावना पनि छ। उत्पादकहरूले मानिसहरूलाई बजारमा आएका नयाँ-नयाँ इलेक्ट्रोनिक सामान किन्नै पर्ने भान पार्छन्‌। एउटा खास किसिमको कम्प्युटर किन्न एक जना केटो यतिबिघ्न एकोहोरो भए, तिनले आफ्नो एउटा मिर्गौला सुटुक्क बेचे। कस्तो मूर्खता!

४. एक जना भाइले कम्प्युटरको अत्यधिक प्रयोग गर्ने बानी कसरी हटाए?

इलेक्ट्रोनिक साधनको दुरुपयोग वा अत्यधिक प्रयोग गरेर  यहोवासितको घनिष्ठ सम्बन्ध बिगार्नु झन्‌ दुःखदायी हुन्छ! लगभग ३० वर्ष पुग्न लागेका रितेश * यसो भन्छन्‌: “ईश्वरतान्त्रिक गतिविधिमा भाग लिन ‘समयको पूर्ण सदुपयोग गर्नू’ भन्ने बाइबलको सल्लाह मलाई थाह छ। तर कम्प्युटरको कुरा गर्दा मेरो सबैभन्दा ठूलो शत्रु म आफै हुँ।” रितेश अक्सर राती अबेरसम्म इन्टरनेट चलाउँथे। तिनी भन्छन्‌: “एकदमै थाकेको बेला झन्‌ धेरै च्याट गर्थें वा भिडियोहरू हेर्थें। कुनै-कुनै भिडियो त खतम हुन्थ्यो।” यो नराम्रो बानी छोड्न रितेशले राती सुत्ने बेला भएपछि कम्प्युटर आफै बन्द हुने प्रोग्राम राखे।एफिसी ५:१५, १६ पढ्नुहोस्।

आमाबाबु हो, बुद्धिमानीपूर्वक प्रविधिको प्रयोग गर्न आफ्ना छोराछोरीलाई मदत दिनुहोस्

५, ६. (क) आमाबाबुको जिम्मा के हो? (ख) आमाबाबुले छोराछोरीलाई असल सङ्गत गर्न कसरी मदत गर्न सक्छन्‌?

आमाबाबु हो, आफ्ना छोराछोरीको एक-एक कुरा चियोचर्चो गर्नु पर्दैन तर तिनीहरूले कम्प्युटरमा के-के गर्दै छन्‌, त्यसको निगरानीचाहिं गर्नुपर्छ। तिनीहरूलाई अनैतिकता वा प्रेतवाद मुछिएको वेबसाइट हेर्न, हिंस्रक गेम खेल्न वा खराब मानिसहरूसित सङ्गत गर्न नदिनुहोस्। तिनीहरूलाई भुलाउनकै लागि मात्र यसरी छोडिदिनुभयो भने तिनीहरू यस्तो निष्कर्षमा पुग्न सक्छन्‌: ‘ड्याडी ममीलाई मतलब छैन भने ठीकै हुनुपर्छ।’ आमाबाबुको नाताले साना छोराछोरीलाई मात्र होइन, किशोरावस्थामा पुगिसकेकाहरूलाई समेत यहोवाबाट टाढा लैजाने हरेक कुराबाट जोगाउनु तपाईंको जिम्मा हो। जनावरले समेत आफ्नो बच्चाको सुरक्षा गर्छ। आफ्ना छाउराहरू खतरामा पर्दा माऊ भालुले के गर्छ, कल्पना गर्नुहोस् त!—होशे १३:८ तुलना गर्नुहोस्।

आफ्ना छोराछोरीलाई जवान, वृद्ध सबै उमेरका उदाहरणीय ख्रीष्टियन भाइबहिनीसित सरसङ्गत गर्न मदत गर्नुहोस्। अनि नबिर्सनुहोस्, तपाईंका छोराछोरीलाई तपाईंको समय चाहिन्छ! त्यसैले तिनीहरूसित हाँस्न, खेल्न, काम गर्न समय निकाल्नुहोस् र परिवारको रूपमा “परमेश्वरसित नजिक” हुनुहोस्। *

स्वास्थ्य

७. हामी किन स्वस्थ रहन चाहन्छौं?

हामी अक्सर अरूलाई यो प्रश्न सोध्छौं: ‘कस्तो हुनुहुन्छ?’ तर सधैं नै ‘सन्चै छु’ भन्ने जवाफ आउँदैन। सैतानको कुरा सुनेर आदम र हव्वा यहोवाबाट टाढा भएदेखि हामी सबै जना बिरामी हुन्छौं। हामी बिरामी हुँदा सैतान खुसी हुन्छ किनभने त्यसबेला यहोवाको सेवा गर्न गाह्रो हुन्छ। अनि मऱ्यौं भने त उहाँको सेवा गर्न सक्ने कुरै भएन। (भज. ११५:१७) त्यसैले स्वस्थ रहन हामी सक्दो प्रयास गर्न चाहन्छौं। * अनि भाइबहिनीको स्वास्थ्यबारे पनि हामीले चासो राख्नुपर्छ।

८, ९. (क) स्वास्थ्यको अचाक्ली चिन्ता नगरेको हामी कसरी देखाउन सक्छौं? (ख) प्रसन्न रहँदा कस्तो फाइदा हुन्छ?

तर स्वास्थ्यको अचाक्ली चिन्ता गर्नदेखि होसियार हुनुपर्छ। कसै-कसैले कुनै खास आहार, उपचार वा स्वास्थ्य तथा सौन्दर्य सामग्रीबारे निकै  उत्साहित भएर कुरा गर्छन्‌। बरु परमेश्वरको राज्यबारे प्रचार गर्दा तिनीहरूमा त्यत्तिको उत्साह देखिंदैन। आफूले अरूलाई मदत गरिरहेको जस्तो तिनीहरूलाई लाग्न सक्छ। तैपनि राज्यभवन, सम्मेलन वा अधिवेशनमा हुने कार्यक्रमको अघि वा पछि स्वास्थ्य तथा सौन्दर्य सामग्री बेच्नु वा त्यसको विज्ञापन गर्नु उचित होइन। किन?

बाइबलका कुराहरू छलफल गर्न अनि परमेश्वरको पवित्र शक्तिबाट पाइने आनन्द प्राप्त गर्न हामी एकसाथ भेला हुन्छौं। (गला. ५:२२) स्वास्थ्य तथा सौन्दर्य सामग्री वा उपचारको विषयमा कुरा गर्ने ठाउँ सभा, सम्मेलनहरू होइनन्‌; यी विषयमा आफूले कुराकानी थाल्न वा अरूको कुरा सुन्नदेखि होसियार हुनुपर्छ। होसियार भएनौं भने हामीले अरूको आनन्द खोसिरहेका हुन्छौं। (रोमी १४:१७) आफ्नो स्वास्थ्यबारे के गर्ने र के नगर्ने भन्ने निर्णय नितान्त व्यक्तिगत कुरा हो। साथै, सबै स्वास्थ्य समस्यालाई कसैले पनि पूरै निको पार्न सक्दैन। नाम चलेका डाक्टरहरू पनि बूढाबूढी हुन्छन्‌, बिरामी पर्छन्‌ र मर्छन्‌। अनि स्वास्थ्यबारे अचाक्ली चिन्ता गर्दैमा आयु लम्बिंदैन। (लूका १२:२५) बरु “प्रसन्न हृदय असल औषधी हो।”—हितो. १७:२२, NRV.

१०. (क) यहोवाको नजरमा कस्तो मानिस सुन्दर हुन्छ? (ख) हामी कहिले पूर्णतया स्वस्थ हुनेछौं?

१० त्यसरी नै, आफ्नो रूपरङमा चासो राख्नु उचित हो। तर बुढेसकालका सबै चिन्ह हटाउन अचाक्ली चिन्ता गर्नु पर्दैन। ती चिन्ह बुद्धि, शालीनता र भित्री सौन्दर्यको प्रमाण हुन्‌। उदाहरणको लागि, बाइबल यसो भन्छ: “फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।” (हितो. १६:३१) यहोवा हामीलाई यस्तै दृष्टिकोणले हेर्नुहुन्छ अनि हामीले पनि आफूप्रति त्यस्तै दृष्टिकोण राख्ने कोसिस गर्नुपर्छ। (१ पत्रुस ३:३, ४ पढ्नुहोस्) त्यसैले राम्रो देखिनकै लागि चिकित्सा दृष्टिकोणबाट खतरनाक वा अनावश्यक उपचार तथा शल्यक्रिया गरेर स्वास्थ्यको खतरा मोल्नु बुद्धिमानी होइन। उमेर वा स्वास्थ्य जस्तोसुकै होस्, “परमप्रभुको आनन्द” नै साँचो सौन्दर्यको स्रोत हो। (नहे. ८:१०) नयाँ संसारमा मात्र हामी पूर्णतया स्वस्थ र मस्त जवानीमा जस्तै हुनेछौं। (अय्यू. ३३:२५; यशै. ३३:२४) त्यतिन्जेल हामीले बुद्धिमानी छनौट गर्नुपर्छ अनि यहोवाका प्रतिज्ञाहरूमा भरोसा राख्नुपर्छ। यसो गऱ्यौं भने जीवन आनन्दमय हुनेछ अनि स्वास्थ्य मुख्य चिन्ताको विषय हुनेछैन।—१ तिमो. ४:८.

पैसा

११. पैसाले कसरी हामीलाई यहोवाबाट टाढा लैजान सक्छ?

११ पैसा हुनु वा पैसा कमाउनु खराब कुरा होइन। (उप. ७:१२; लूका १९:१२, १३) तर “पैसाको प्रेम”-ले हामीलाई यहोवाबाट पक्कै टाढा लैजानेछ। (१ तिमो. ६:९, १०) “यस संसारको फिक्री” भनेको जीवनका आवश्यकताहरूबारे अचाक्ली चिन्ता गर्नु हो। यसले यहोवासितको सम्बन्धमा बाधा पुऱ्याउन सक्छ। अनि “धनसम्पत्तिको भ्रामक शक्तिले” हामीलाई पैसाले नै चिरकालीन सुख दिन्छ भनेर झुक्याउन सक्छ। (मत्ती १३:२२) “कोही पनि” परमेश्वर र धनसम्पत्ति दुवैको दास बन्न सक्दैन भनेर येशूले स्पष्टसित बताउनुभयो।—मत्ती ६:२४.

१२. रातारात पैसा कमाउन आजकल मानिसहरू कस्ता तरिका अपनाउँछन्‌? त्यस्तो पासोमा फस्नदेखि हामी कसरी जोगिन सक्छौं?

१२ पैसाप्रतिको गलत दृष्टिकोणले हामीलाई गलत कार्यतर्फ धकेल्न सक्छ। (हितो. २८:२०) रातारात पैसा कमाउने लोभले गर्दा कोही-कोही चिट्ठा किन्न वा पिरामिड व्यापारमा लगानी गर्नतिर लागेका छन्‌। तिनीहरू मण्डलीका भाइबहिनीलाई समेत यस्तो व्यापारमा सामेल हुन उक्साउँछन्‌। अरू कतिपय भने लगानी गरेभन्दा एकदम धेरै मुनाफा कमाउने लोभमा फसेका छन्‌। लोभको पासोमा नपर्न होसियार हुनुहोस्। बुद्धि चलाउनुहोस्। कुनै प्रस्ताव शङ्कास्पद देखिन्छ भने त्यो ठगी हुन सक्छ।

१३. पैसाप्रति संसारको दृष्टिकोणभन्दा यहोवाको दृष्टिकोण कसरी भिन्न छ?

 १३ यहोवाको “राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान” दियौं भने हामीले गरेको मेहनतमा उहाँले आशिष्‌ दिनुहुन्छ। (मत्ती ६:३३; एफि. ४:२८) काममा धेरै खटिएकोले सभामा झुलिरहेको वा राज्यभवनमा बस्दा पैसाको चिन्ता गरिरहेको उहाँ चाहनुहुन्न। हामी वरपरका थुप्रै मानिस भने यस्तो सोचाइ राख्छन्‌: पैसा कमायो भने मात्र भविष्य सुरक्षित हुन्छ र पछि जीवन सजिलो हुन्छ। तिनीहरू आफ्ना छोराछोरीलाई पनि अक्सर धेरै पैसा कमाउन सल्लाह दिन्छन्‌। यस्तो सोचाइ राख्नु मूर्खता हो भनेर येशूले बताउनुभयो। (लूका १२:१५-२१ पढ्नुहोस्) यहोवासितको सम्बन्धलाई लोभले बिगार्दैन भन्ठान्ने गेहजीलाई के भयो, सम्झनुहोस् त!—२ राजा ५:२०-२७.

१४, १५. सुरक्षाको लागि पैसामा भरोसा राख्नु किन बुद्धिमानी होइन? एउटा उदाहरण बताउनुहोस्।

१४ असाध्यै गह्रौं माछा समातेर उड्न खोज्दा चीलहरू कहिलेकाहीं पानीमा डुब्छन्‌। के ख्रीष्टियनहरूलाई पनि यस्तो हुन सक्छ? आर्यन नाम गरेका एल्डर यसो भन्छन्‌: “सामान्यतया म पैसाको एकदमै फारो गर्छु। अलिकता बढी स्याम्पु आयो भने पनि बोतलमा खन्याइहाल्छु।” तर पैसा कमाउने अनि त्यसपछि जागिर छोडेर अग्रगामी सेवा गर्ने सोचाइ राखेर तिनले सेयरबजारमा हात हाले। तिनले सेयर किनबेच गर्ने विषयमा धेरै अध्ययन गर्न थाले। आफूले जोगाएको पैसाले अझ अरू सेयर किने। तर तिनले किनेका सेयरको मूल्य स्वात्तै घट्यो। आर्यन भन्छन्‌: “म जसरी भए पनि आफ्नो पैसा डुब्न नदिने सुरमा थिएँ। अलि समय पर्खेमा सेयरबजार उकालो लाग्ला भन्ने आस थियो।”

१५ महिनौंसम्म आर्यनको दिमागमा यही कुरा मात्र खेलिरह्यो। तिनले यहोवाको सेवामा ध्यान दिन सकेनन्‌ र राती निदाउन पनि सकेनन्‌। तर सेयरबजार कहिल्यै उकालो लागेन। आर्यनले आफ्नो सबै बचत गुमाए अनि घरसमेत बेच्नुपऱ्यो। तिनी भन्छन्‌: “मेरो कारण परिवारले ठूलो चोट सहनुपऱ्यो।” तर तिनले महत्त्वपूर्ण पाठ सिके। “सैतानको संसारमा भरोसा राख्नेले निराशाबाहेक केही पाउँदैन भनेर थाह पाएँ।” (हितो. ११:२८) आफ्नो बचत, लगानी वा पैसा कमाउने क्षमतामा भरोसा राख्नेहरूले “यस युगको ईश्वर” सैतानमाथि भरोसा राखिरहेका हुन्छन्‌। (२ कोरि. ४:४; १ तिमो. ६:१७) त्यो तीतो अनुभव गरेदेखि यता आर्यनले “सुसमाचारको खातिर” आफ्नो जीवन सरल बनाएका छन्‌। यसो गर्दा तिनी र तिनको परिवार आनन्दित हुनुका साथै यहोवासित घनिष्ठ हुन सकेका छन्‌।मर्कूस १०:२९, ३० पढ्नुहोस्।

घमन्ड

१६. कस्तो कुरामा घमन्ड गर्नु राम्रो हो? आफूलाई बढ्तै महत्त्व दियौं भने के हुन सक्छ?

१६ राम्रो कुरामा घमन्ड गर्नु उचित हो। जस्तै: आफू यहोवाको साक्षी भएकोमा हामीले घमन्ड गर्नुपर्छ। (यर्मि. ९:२४) यस्तो आत्म-सम्मान हुँदा सही निर्णय गर्न सक्छौं अनि आफ्नो नैतिक स्तरलाई जोगाउन सक्छौं। तर आफ्नो धारणा वा ओहदालाई बढ्तै महत्त्व दियौं भने यहोवाबाट टाढा हुनेछौं।—भज. १३८:६; रोमी १२:३.

मण्डलीमा जिम्मेवारी पाउनेबारे मात्र सोचिरहनुको सट्टा प्रचारकार्यमा रमाउनुहोस्!

१७, १८. (क) नम्र र घमन्डी व्यक्तिबारे बाइबलमा दिइएको उदाहरण बताउनुहोस्। (ख) घमन्डको कारण आफूलाई यहोवाबाट टाढा लैजान नदिन एक जना भाइले के गरे?

१७ बाइबलमा घमन्डी र नम्र व्यक्तिहरूको उदाहरण पाइन्छ। राजा दाऊदले नम्र भई यहोवाको डोऱ्याइ खोजे र उहाँले तिनलाई आशिष्‌ दिनुभयो। (भज. १३१:१-३) तर घमन्डी राजाहरू नबूकदनेसर र बेलसजरलाई यहोवाले सजाय दिनुभयो। (दानि. ४:३०-३७; ५:२२-३०) हाम्रो नम्रताको पनि परीक्षा हुन सक्छ। रोहन नाम गरेका सहायक सेवक नयाँ मण्डलीमा सरे। तिनी भन्छन्‌: “एल्डरको रूपमा छिट्टै नियुक्त हुन्छु जस्तो लागेको थियो तर एक वर्ष बित्दा पनि केही भएन।” एल्डरहरूले  सिफारिस नगरेकोमा के तिनी रिसाए वा तिनीहरूसित दुस्मनी राखे? के तिनी सभा जान छोडे अनि आफूलाई यहोवा र उहाँका जनबाट टाढा राखे? तपाईं त्यो परिस्थितिमा भएको भए के गर्नुहुनेथियो?

१८ त्यतिबेलाको घटना सम्झँदै रोहन भन्छन्‌: “आशा साकार नहुँदा कस्तो हुन्छ भन्ने विषयमा हाम्रा प्रकाशनहरूमा भेटेजति सबै लेख पढें।” (हितो. १३:१२) “धैर्य गर्न र नम्र हुन सिकें। मलाई यहोवाको प्रशिक्षण चाहिएको थियो।” त्यसपछि रोहनले अरूको सेवा गर्ने कुरामा ध्यान दिन थाले। मण्डलीका भाइबहिनीलाई र प्रचारकार्यमा भेटिने मानिसहरूलाई मदत गर्नेबारे सोच्न थाले। धेरै समय नबित्दै तिनले थुप्रै प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्न थाले। तिनी भन्छन्‌: “प्रचारकार्यमा रमाइरहेकोले एल्डर हुनेबारे चिन्ता गर्न छोडेको थिएँ। त्यसैले डेढ वर्षपछि एल्डर नियुक्त हुँदा त छक्क परें।”भजन ३७:३, ४ पढ्नुहोस्।

यहोवासित नजिक हुनुहोस्!

१९, २०. (क) यो र यसअघिको लेखमा छलफल गरिएका कुराहरूले यहोवाबाट टाढा लैजान नदिन हामीले के गर्नुपर्छ? (ख) यहोवासित नजिक भएका कस्ता व्यक्तिहरूको उदाहरण हामी अनुकरण गर्न सक्छौं?

१९ यो र यसअघिको लेखमा छलफल गरिएका सातवटा क्षेत्रको हाम्रो जीवनमा उचित स्थान छ। यहोवाका सेवक हुन पाएकोमा हामी घमन्ड गर्छौं। सुखी परिवार र स्वस्थ जीवन यहोवाले दिनुभएको उत्तम वरदानमध्ये हुन्‌। आफू र आफ्नो परिवारको हेरचाह गर्न जागिर र पैसा चाहिन्छ। मनोरञ्जनले हामीलाई स्फूर्ति दिन्छ अनि प्रविधि पनि हाम्रो लागि उपयोगी छ। तर गलत समयमा, गलत मात्रामा अनि परमेश्वरको सेवामा बाधा पुऱ्याउने गरी यीमध्ये कुनै कुराको पछि लाग्यौं भने त्यसले हामीलाई यहोवाबाट टाढा लैजान सक्छ।

कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्!

२० सैतान त्यस्तै चाहन्छ। तर तपाईं आफू र आफ्नो परिवारलाई जोगाउन सक्नुहुन्छ! (हितो. २२:३) यहोवासित नजिक हुनुहोस् र उहाँबाट टाढा नजानुहोस्। यस सन्दर्भमा बाइबलका थुप्रै उदाहरणबाट हामी पाठ सिक्न सक्छौं। हनोक र नूह “परमेश्वरको साथसाथ हिंड्दै रहे।” (उत्प. ५:२२; ६:९) मोशा “अदृश्य परमेश्वरलाई देखेझैं गरी . . . अटल रहिरहे।” (हिब्रू ११:२७) येशू सधैं स्वर्गमा बस्नुहुने बुबालाई मन पर्ने कुराहरू गर्नुहुन्थ्यो। त्यसैले उहाँले निरन्तर परमेश्वरको साथ पाउनुभयो। (यूह. ८:२९) त्यस्ता उदाहरणहरू अनुकरण गर्नुहोस्। ‘सधैं रमाउनुहोस्। निरन्तर प्रार्थना गर्नुहोस्। सबै कुराको निम्ति धन्यवाद चढाउनुहोस्।’ (१ थिस्स. ५:१६-१८) अनि कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्!

^ अनु. 4 नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 7 सेप्टेम्बर ८, १९९९ को ब्यूँझनुहोस्!, पृष्ठ ५-११ हेर्नुहोस्।