दानिएल ५:१-३१

  • राजा बेलसजरले दिएको भोज (१-४)

  • भित्तामा लेखिएको अक्षर (५-१२)

  • दानिएललाई अर्थ खुलाउन भनिन्छ (१३-२५)

  • अर्थ: बेबिलोनको पतन (२६-३१)

 राजा बेलसजरले+ एउटा ठूलो भोज दिए र आफ्ना एक हजार भारदारलाई भोजमा निम्त्याए। तिनी ती भारदारहरूको अगाडि मद्य पिउँदै थिए।+ २  मद्यको नशा चढेपछि बेलसजरले आफ्ना बुबा नबुकद्‌नेजरले यरुसलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका भाँडाकुँडा ल्याउने आदेश दिए।+ आफू, आफ्ना भारदारहरू, उपपत्नीहरू र रखौटीहरूले ती भाँडाकुँडामा मद्य पिऊन्‌ भनेर तिनले त्यो आदेश दिएका थिए। ३  तब तिनीहरूले यरुसलेममा भएको परमेश्‍वरको भवनको मन्दिरबाट ल्याइएका सुनका भाँडाकुँडा त्यहाँ ल्याए अनि राजा, तिनका भारदारहरू, उपपत्नीहरू र रखौटीहरूले त्यसमा मद्य पिए। ४  मद्य पिएर तिनीहरूले सुन, चाँदी, तामा, फलाम, काठ र ढुङ्‌गाका देवताहरूको जयजयकार गरे। ५  ठीक त्यसै बेला राजाको दरबारमा पानसको पल्लोपट्टिको भित्तामा मानिसको हातका औँलाहरू देखा परे र ती औँलाहरूले भित्तामा लेख्न थाले। भित्तामा लेखिरहेको हातको पछिल्तिरको भाग राजाले देखे। ६  तब राजाको अनुहारको रङ्‌ग उड्‌यो र आफ्नो मनमा आएको कुराले गर्दा तिनी डराए।+ तिनका खुट्टाहरू लल्याकलुलुक भए र घुँडाहरू आपसमा ठोक्किन थाले। ७  राजाले ठूलो स्वरमा तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू* र ज्योतिषीहरूलाई बोलाउने आदेश दिए।+ राजाले बेबिलोनका बुद्धिमान्‌ मानिसहरूलाई यसो भने: “जसले यो पढेर मलाई यसको अर्थ बताउन सक्छ, उसलाई बैजनी* रङ्‌गको वस्त्र पहिऱ्‍याइनेछ, गलामा सुनको हार लगाइदिइनेछ+ र ऊ यो राज्यको तेस्रो ठूलो शासक हुनेछ।”+ ८  तब राजाका सबै बुद्धिमान्‌ मानिस हाजिर भए। तर तिनीहरूमध्ये कसैले पनि राजालाई भित्तामा लेखिएको अक्षर पढेर सुनाउन वा त्यसको अर्थ बुझाउन सकेन।+ ९  त्यसैले राजा बेलसजरलाई डरले छोप्यो र तिनको अनुहारको रङ्‌ग उड्‌यो अनि तिनका भारदारहरू अलमल्लमा परे।+ १०  राजा र भारदारहरूको कुरा सुनेर रानी भोज भएको ठाउँमा आइन्‌। तब रानीले भनिन्‌: “महाराज अमर रहून्‌! हजुरको मनमा आएको विचारले गर्दा नआत्तिनुहोस्‌ अनि हजुरको अनुहारको रङ्‌ग पनि नउडोस्‌। ११  हजुरको राज्यमा एक जना यस्ता मानिस* छन्‌, जसले पवित्र देवताहरूबाट शक्‍ति पाएका छन्‌। हजुरका बुबाको पालामा तिनमा देवताहरूको जस्तै समझशक्‍ति, अन्तर्दृष्टि र बुद्धि थियो।+ हजुरका बुबा राजा नबुकद्‌नेजरले तिनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू र ज्योतिषीहरूका प्रमुख नियुक्‍त गर्नुभएको थियो।+ हे महाराज, हजुरका बुबाले नै तिनलाई नियुक्‍त गर्नुभएको थियो। १२  किनकि दानिएल, जसलाई राजाले बेल्तसजर+ नाम दिनुभएको थियो, तिनीसित सपनाको अर्थ खोल्न सक्ने, उखानको अर्थ बताउन सक्ने र अड्‌कोहरू फुकाउन सक्ने असामान्य शक्‍ति, ज्ञान र अन्तर्दृष्टि* थियो।+ त्यसैले दानिएललाई हाजिर गराउनुहोस्‌ र तिनले यसको अर्थ खोलिदिनेछन्‌।” १३  त्यसैले दानिएललाई राजाकहाँ हाजिर गराइयो। राजाले दानिएललाई सोधे: “के तिमी त्यही दानिएल हौ,+ जसलाई मेरा बुबाले यहुदाबाट कैद गरेर ल्याउनुभएको थियो?+ १४  तिमीले देवताहरूबाट शक्‍ति पाएका छौ+ अनि तिमीसित समझशक्‍ति, अन्तर्दृष्टि र असामान्य बुद्धि छ भनेर मैले सुनेको छु।+ १५  भित्तामा लेखिएको यो अक्षर पढेर मलाई यसको अर्थ खोल्न बुद्धिमान्‌ मानिसहरू र तन्त्रमन्त्र गर्नेहरूलाई मेरो अगाडि हाजिर गराइयो तर तिनीहरूले यसको अर्थ खोल्न सकेनन्‌।+ १६  तर तिमीले भने अड्‌कोहरू फुकाउन सक्छौ र अर्थहरू खोल्न सक्छौ भनेर मैले सुनेको छु।+ यदि तिमीले यो पढेर मलाई यसको अर्थ बतायौ भने तिमीलाई बैजनी रङ्‌गको वस्त्र पहिराइनेछ, गलामा सुनको हार लगाइदिइनेछ र तिमी यो राज्यको तेस्रो ठूलो शासक हुनेछौ।”+ १७  तब दानिएलले राजालाई यस्तो जवाफ दिए: “हजुरको उपहार हजुरसितै रहोस्‌ र हजुरको इनाम अरूलाई नै दिनुहोस्‌। तैपनि म हजुरलाई भित्तामा लेखिएको अक्षर पढेर सुनाउनेछु र त्यसको अर्थ पनि बताउनेछु। १८  हे महाराज, सर्वोच्च परमेश्‍वरले हजुरका बुबा नबुकद्‌नेजरलाई राज्य, मानसम्मान अनि ऐश्‍वर्य दिनुभयो र उहाँलाई महान्‌ तुल्याउनुभयो।+ १९  परमेश्‍वरले उहाँलाई महान्‌ तुल्याउनुभएकोले सबै राष्ट्रका र सबै भाषाका मानिसहरू उहाँको अगाडि डरले थरथर काँप्थे।+ उहाँले जसलाई चाहनुहुन्थ्यो, त्यसलाई मार्न वा छोडिदिन सक्नुहुन्थ्यो अनि जसलाई चाहनुहुन्थ्यो, त्यसलाई महिमित पार्न वा खसाल्न सक्नुहुन्थ्यो।+ २०  तर जब उहाँको मन घमन्डले फुल्यो र कठोर भयो अनि उहाँले अहङ्‌कारी व्यवहार गर्न थाल्नुभयो,+ तब उहाँलाई आफ्नो राज्यको सिंहासनबाट हटाइयो र उहाँको मानसम्मान उहाँबाट खोसियो। २१  अनि सर्वोच्च परमेश्‍वर नै मानिसजातिको शासक हुनुहुन्छ र उहाँले जसलाई चाहनुहुन्छ, उसैलाई शासन सुम्पिनुहुन्छ भनेर हजुरका बुबाले नस्विकारेसम्म उहाँलाई मानिसहरूको बीचबाट धपाइयो। अनि उहाँको मन पशुहरूको जस्तो भयो र उहाँको बास जङ्‌गली गधाहरूसित भयो। उहाँलाई गोरुलाई जस्तै घाँस दिइयो र आकाशको शीतले उहाँको शरीरलाई भिजायो।+ २२  “तर हजुर उहाँको छोरा बेलसजरलाई यी सबै कुरा थाह भए पनि हजुरले आफूलाई नम्र तुल्याउनुभएको छैन। २३  बरु हजुरले स्वर्गका परमेश्‍वरको विरुद्धमा गएर आफैलाई माथि उचाल्नुभयो+ र उहाँको भवनका भाँडाकुँडाहरू ल्याउन लगाउनुभयो।+ अनि हजुर, हजुरका भारदार, उपपत्नीहरू र रखौटीहरूले त्यसमा मद्य पिउनुभयो अनि सुन, चाँदी, तामा, फलाम, काठ र ढुङ्‌गाका देवताहरूको जयजयकार गर्नुभयो, जसले देख्दा पनि देख्दैनन्‌, सुन्दा पनि सुन्दैनन्‌ र केही पनि जान्दैनन्‌।+ तर जुन परमेश्‍वरको हातमा हजुरको सास र हजुरको सम्पूर्ण जीवन छ,+ हजुरले उहाँको महिमा गर्नुभएन। २४  त्यसैले उहाँले नै यो हात पठाउनुभयो र भित्तामा यो लेख्न लगाउनुभयो।+ २५  अनि भित्तामा लेखिएका अक्षरहरू यी नै हुन्‌: मने, मने, तकेल र पर्सिन। २६  “यी शब्दहरूको अर्थ यही हो: मने अर्थात्‌ परमेश्‍वरले हजुरको राज्यको दिन गन्ती गर्नुभएको छ र त्यसको अन्त गरिदिनुभएको छ।+ २७  “तकेल अर्थात्‌ हजुरलाई तराजुमा जोखियो र हजुर हलुका ठहरिनुभयो। २८  “पेरेस अर्थात्‌ हजुरको राज्यलाई विभाजन गरियो अनि मादी र फारसीलाई दिइयो।”+ २९  त्यसपछि बेलसजरले आदेश दिए र दानिएललाई बैजनी रङ्‌गको वस्त्र पहिऱ्‍याइयो, तिनको गलामा सुनको हार पहिऱ्‍याइयो र तिनी राज्यको तेस्रो ठूलो शासक हुन्‌ भनेर घोषणा गरियो।+ ३०  त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+ ३१  त्यसपछि मादी दाराले+ त्यस राज्यमा शासन गर्न थाले। तिनी लगभग ६२ वर्षका थिए।

फुटनोटहरू

अर्थात्‌ जोखना र ज्योतिषविद्यामा निपुण मानिसहरू।
यस रङ्‌गले राजघराना, वैभव र मानसम्मानलाई जनाउँथ्यो।
वा “योग्य मानिस।”
वा “आन्तरिक चेतना।”