रोमी १४:१-२३

  • एकअर्कालाई दोषी नठहराओ (१-१२)

  • अरूलाई ठेस नपुऱ्‍याओ (१३-१८)

  • शान्ति र एकता कायम हुने काम गर (१९-२३)

१४  विश्‍वास कमजोर भएको मानिसलाई स्विकार+ तर उसको विचार तिम्रो भन्दा फरक छ भन्दैमा* उसलाई गलत नठहऱ्‍याऊ। २  कुनै मानिसले सबै कुरा खानु हुन्छ भनी विश्‍वास गर्छ तर विश्‍वास कमजोर हुनेले भने सागसब्जी खान्छ। ३  खानेले नखानेलाई तुच्छ नठानोस्‌ न त नखानेले खानेलाई दोष लगाओस्‌+ किनकि परमेश्‍वरले उसलाई स्विकार्नुभएको छ। ४  अर्काको नोकरको न्याय गर्ने तिमी को हौ?+ ऊ खडा हुने हो वा लड्‌ने, त्यो उसकै मालिकको हातमा छ।+ ऊ पक्कै खडा हुनेछ किनकि यहोवा* परमेश्‍वरले उसलाई खडा गराउन सक्नुहुन्छ। ५  एक जना मानिसले कुनै दिनलाई अर्को दिनभन्दा महत्त्वपूर्ण ठान्छ+ तर अर्को मानिसले भने सबै दिनलाई बराबर ठान्छ।+ हरेक मानिस आफैले सोचविचार गरेर पूर्णतया विश्‍वस्त होस्‌। ६  जसले कुनै एक दिनलाई महत्त्वपूर्ण ठान्छ, उसले यहोवा* परमेश्‍वरको निम्ति नै त्यसो गर्छ। त्यसैगरि जसले खान्छ, उसले यहोवा* परमेश्‍वरको निम्ति खान्छ किनकि उसले परमेश्‍वरलाई धन्यवाद चढाउँछ।+ अनि जसले खाँदैन, उसले यहोवा* परमेश्‍वरको निम्ति खाँदैन तैपनि परमेश्‍वरलाई धन्यवाद चढाउँछ।+ ७  वास्तवमा हामीमध्ये कोही पनि आफ्नै लागि मात्र बाँच्दैनौँ + न त कोही आफ्नै लागि मात्र मर्छ। ८  यदि हामी बाँच्छौँ भने यहोवा* परमेश्‍वरको निम्ति बाँच्छौँ + अनि मर्छौँ भने यहोवा* परमेश्‍वरकै निम्ति मर्छौँ। त्यसकारण चाहे हामी बाँचौँ या मरौँ, हामी यहोवा* परमेश्‍वरकै हौँ।+ ९  ख्रिष्ट यही कारणले मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि मरेका अनि जिउँदा दुवैको उहाँ प्रभु हुन सकून्‌।+ १०  तर तिमी किन आफ्नो भाइलाई दोष लगाउँछौ?+ अनि तिमीचाहिँ किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? हामी सबै जना परमेश्‍वरको न्यायआसनसामु खडा हुनेछौँ।+ ११  जस्तो लेखिएको छ: “यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु,+ हरेक मानिसले मसामु घुँडा टेक्नेछ र म नै परमेश्‍वर हुँ भनी हरेकले खुलेआम स्विकार्नेछ।’”+ १२  तसर्थ हामी सबैले परमेश्‍वरलाई आ-आफ्नो लेखा दिनुपर्नेछ।+ १३  त्यसकारण अब उप्रान्त हामी एकअर्कालाई दोष नलगाऔँ।+ बरु तिमीहरू आफ्नो भाइसामु ठेस खाने ढुङ्‌गा वा ठक्कर दिने कुरा नराख्ने अठोट गर।+ १४  कुनै कुरा आफैमा अशुद्ध हुँदैन भनेर प्रभु येसुको चेला भएको नाताले मलाई थाह छ अनि म त्यसमा विश्‍वस्त छु।+ मानिसले कुनै कुरालाई अशुद्ध ठान्छ भने मात्र त्यो उसको निम्ति अशुद्ध हुन्छ। १५  यदि तिमीले खाएको कुराले गर्दा तिम्रो भाइलाई ठेस पुगेको छ भने तिमी प्रेममा चलिरहेका हुँदैनौ।+ जुन भाइको निम्ति ख्रिष्ट मर्नुभयो, आफ्नो खानेकुराद्वारा तिमीले उसलाई नाश नगर।+ १६  त्यसैले तिमीहरूले गर्ने राम्रा कुराहरूको अरूले बदनाम गर्न नपाऊन्‌। १७  किनकि परमेश्‍वरको राज्यको सरोकार खानु र पिउनुसित होइन+ तर पवित्र शक्‍तिमार्फत पाइने धार्मिकता,* शान्ति अनि खुसीसित छ। १८  जसले यसरी ख्रिष्टको दास बनेर उहाँको सेवा गर्छ, उसलाई परमेश्‍वरले स्विकार्नुहुन्छ र उसले मानिसहरूबाट प्रशंसा पाउँछ। १९  त्यसैले अब हामी आपसमा शान्ति कायम हुने+ अनि एकअर्काको उत्थान हुने+ कुराहरूको पछि लागौँ। २०  खानेकुराको खातिर हामी परमेश्‍वरको कामलाई नबिगारौँ।+ हो, सबै कुरा शुद्ध छन्‌ तर यदि कुनै खानेकुराले गर्दा अरूलाई ठक्कर पुग्छ भने त्यो खानु गलत हो।+ २१  तिमीले मासु खाँदा, मद्य पिउँदा वा अरू केही गर्दा तिम्रो भाइलाई ठक्कर पुग्छ भने त्यसो नगर्नु नै बेस हो।+ २२  यस्ता कुराहरूको सन्दर्भमा तिमी जे विश्‍वास गर्छौ, त्यो तिमी र परमेश्‍वरबीचको मामिला होस्‌। आनन्दित हो त्यो मानिस, जसले कुनै निर्णय गर्छ र पछि आफूलाई दोषी ठहराउँदैन। २३  तर यदि शङ्‌का हुँदाहुँदै पनि उसले खान्छ भने ऊ दोषी ठहरिसकेको हुन्छ किनकि आफूले जे विश्‍वास गरेको छ, त्यसबमोजिम उसले खाएन। साँच्चै, विनाविश्‍वास गरिने हरेक कुरा पाप हो।

फुटनोटहरू

वा सम्भवत: “उसको मनमा उठेका प्रश्‍नहरूको आधारमा।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।