होसे १३:१-१६

  • मूर्तिपूजक एप्रैमले यहोवालाई बिर्सियो (१-१६)

    • “ए मृत्यु, तेरो खील खोइ?” (१४)

१३  “एप्रैम बोल्दा मानिसहरू डरले काँप्थे; ऊ इस्राएलमा सबैभन्दा ठूलो थियो।+ तर बाआललाई पुजेकोले ऊ दोषी ठहरियो+ र उसको मृत्यु भयो।  २  तिनीहरूले पापमाथि पाप गरिरहेका छन्‌। तिनीहरू आफ्नो चाँदीबाट मूर्तिहरू* बनाउँछन्‌;+ तिनीहरूका कारिगरहरू सिपालु तरिकाले मूर्तिहरू बनाउँछन्‌। तिनीहरू भन्छन्‌, ‘बलि चढाउनेहरूले बाछाका मूर्तिहरूलाई चुम्बन गरून्‌।’+  ३  त्यसैले तिनीहरू बिहानको बादलजस्तै हुनेछन्‌, बिलाइहाल्ने शीतजस्तै हुनेछन्‌, खलाबाट हावाले उडाएको भुसजस्तै हुनेछन्‌ अनि चिम्नीबाट निस्किएको धुवाँजस्तै हुनेछन्‌।  ४  तर म मिश्रदेखि नै यहोवा तिमीहरूका परमेश्‍वर हुँ।+ तिमीहरू मबाहेक अरू कुनै साँचो परमेश्‍वरलाई चिन्दैन थियौ अनि मबाहेक उद्धार गर्ने अरू कोही पनि छैन।+  ५  खडेरी परेको भूमिमा, निर्जनभूमिमा मैले तिमीहरूको हेरचाह गरेँ।+  ६  तिनीहरू आफ्नो खर्कबाट सन्तुष्ट भए,+ तिनीहरू सन्तुष्ट भए र तिनीहरूको मन घमन्डले फुल्यो। अनि तिनीहरूले मलाई बिर्सिए।+  ७  तिनीहरूको लागि म जवान सिंहजस्तै हुनेछु,+ बाटोमा ढुकेर बसेको चितुवाजस्तै हुनेछु।  ८  बच्चा हराएको भालुजस्तै म तिनीहरूमाथि जाइलाग्नेछु, म तिनीहरूको छाती चिर्नेछु। सिंहले जस्तै म तिनीहरूलाई निल्नेछु। जङ्‌गली जनावरले तिनीहरूलाई फहराउनेछ।  ९  ए इस्राएल, त्यसले तिमीलाई नाश गर्नेछ किनकि तिमी मेरो विरुद्धमा, तिम्रा मदतगारको विरुद्धमा उठ्‌यौ। १०  तिमीहरूका सबै सहरमा तिमीहरूलाई बचाउने तिमीहरूका राजा खोइ?+ तिमीहरूका शासकहरू* खोइ, जसबारे तिमीहरू भन्थ्यौ, ‘हामीलाई राजा र भारदारहरू दिनुहोस्‌’?+ ११  रिसले चूर हुँदै मैले तिमीहरूलाई एउटा राजा दिएँ;+ अब म क्रोधित हुँदै तिनलाई तिमीहरूबाट खोस्नेछु।+ १२  एप्रैमको गल्तीलाई पोको पारेर* राखिएको छ। उसका पापहरूलाई जम्मा गरिएको छ। १३  उसलाई बच्चा जन्माउने बेलामा जस्तै पीडा हुनेछ। तर ऊ मूर्ख बालक हो; आफू जन्मने बेला भइसक्दा पनि ऊ गर्भबाट बाहिर निस्कन मान्दैन। १४  म तिनीहरूलाई चिहानको* हातबाट छुटाउनेछु; म तिनीहरूलाई मृत्युबाट फिर्ता ल्याउनेछु।+ ए मृत्यु, तेरो खील खोइ?+ ए चिहान, नाश गर्ने तेरो शक्‍ति खोइ?+ म पटक्कै दया देखाउनेछैनँ। १५  नर्कटहरूमाझ ऊ फस्टायो भने पनि पूर्वीय बतास ऊमाथि चल्नेछ, यहोवाले पठाउनुभएको बतास। त्यो मरुभूमिबाट उठ्‌नेछ र उसको इनार अनि पानीको मूल सुकाइदिनेछ। उसले जम्मा गरेका सबै बहुमूल्य कुरा लुट्‌नलाई कोही आउनेछ।+ १६  सामरियालाई दोषी ठहराइनेछ+ किनकि उसले आफ्ना परमेश्‍वरको विरोध गरेकी छे।+ तिनीहरू तरबारले काटिनेछन्‌।+ तिनीहरूका छोराछोरीलाई पछारी-पछारी मारिनेछ। अनि तिनीहरूमाझ भएका गर्भवती स्त्रीहरूको पेट चिरिनेछ।”

फुटनोटहरू

वा “धातु पगालेर बनाइएका मूर्तिहरू।”
शा., “न्यायकर्ताहरू।”
वा “साँचेर।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।