हितोपदेश १७:१-२८

  • गुनको साटो बैगुन नगर (१३)

  • झगडा सुरु हुनुअघि त्यस ठाउँबाट निस्किहाल (१४)

  • साँचो मित्रले सधैँ माया गर्छ (१७)

  • “आनन्दित हृदय रोग निको पार्ने औषधीजस्तै हो” (२२)

  • बुद्धिमान्‌ मानिस थोरै बोल्छ (२७)

१७  झगडाले भरिएको घरमा भोज लगाउनुभन्दा*+ शान्ति छाएको घरमा सुक्खा रोटी खानु बेस हो।+  २  समझदार* नोकरले आफ्नो मालिकको मूर्ख छोरामाथि हैकम चलाउँछ अनि त्यसले मालिकका छोराहरूसरह अंश पाउँछ।  ३  चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ+ तर मानिसको हृदय जाँच्ने त यहोवा नै हुनुहुन्छ।+  ४  दुष्ट मानिसले खराब कुरा सुन्‍न आफ्नो कान थाप्छ अनि छली मानिसलाई चुक्ली सुन्‍न मन पर्छ।+  ५  गरिबको खिल्ली उडाउनेले उसलाई सृष्टि गर्नुहुनेको अपमान गर्छ+ अनि अरूको दुःखमा हाँस्नेले पक्कै दण्ड पाउनेछ।+  ६  बाजेबज्यैका मुकुट* तिनका नातिहरू* हुन्‌ अनि छोराहरूका* गौरव तिनका बुबाहरू* हुन्‌।  ७  मूर्खको मुखमा सोझो* कुरा सुहाउँदैन;+ राजाको* मुखमा झूटो कुरा झनै सुहाउँदैन!+  ८  उपहार एउटा बहुमूल्य रत्नजस्तै हो;+ जोसित त्यो छ, आफूले गर्ने हरेक काममा ऊ सफल हुन्छ।+  ९  अरूको गल्ती क्षमा गर्ने मानिसले प्रेम देखाउँछ+ तर अरूको कुरा काटिरहनेले घनिष्ठ मित्रहरूबीच फूट गराउँछ।+ १०  मूर्खले सय पटक कोर्रा खाए पनि ऊ सुध्रिँदैन+ तर समझदार मानिसलाई एक चोटि हप्काए पुग्छ।+ ११  खराब मानिस विद्रोह गर्न मात्र खोज्छ; सजाय दिन आउने दूतले उसलाई कुनै दयामाया देखाउनेछैन।+ १२  आफ्नो मूर्ख काममा रमाउने मूर्ख मानिससित भेट हुनुभन्दा बच्चाहरू खोसिएको भालुसित भेट हुनु बेस हो।+ १३  गुनको साटो बैगुन गर्ने मानिसको घरमा कहिल्यै सुख हुँदैन।+ १४  झगडा सुरु हुनु पानीको बाँध फुट्‌नुजस्तै हो; झगडा चर्किनुअघि नै त्यस ठाउँबाट निस्किहाल।+ १५  जसले दुष्ट मानिसलाई निर्दोष ठहराउँछ अनि जसले धर्मी मानिसलाई दोषी ठहराउँछ,+ ती दुवैलाई यहोवा घृणा गर्नुहुन्छ। १६  मूर्खलाई बुद्धि हासिल गर्ने मौका दिए पनि केही फाइदा हुँदैन किनकि उसलाई बुद्धि प्राप्त गर्ने इच्छा नै हुँदैन।+ १७  साँचो मित्रले सधैँ माया गर्छ+ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।+ १८  सुझबुझ नभएको मानिसले हात मिलाएर आफ्नो सहमति जनाउँछ* अनि आफ्नो छिमेकीको सामने अरूको जमानी* बस्छ।+ १९  जसलाई झैझगडा मन पर्छ, उसलाई अपराध गर्न पनि मन पर्छ।+ अनि जसले आफ्नो घरको ढोका अग्लो बनाउँछ, उसले विपत्ति निम्त्याउँछ।+ २०  टेढो मन भएको मानिस कहिल्यै सफल हुँदैन+ अनि छली कुरा गर्ने मानिसको पतन हुन्छ। २१  छोरा मूर्ख भयो भने बुबाले दुःख पाउँछ अनि सुझबुझ नभएको छोराले बुबालाई सुख दिँदैन।+ २२  आनन्दित हृदय रोग निको पार्ने औषधीजस्तै हो+ तर दुःखी हृदयले शरीरलाई कमजोर बनाउँछ।*+ २३  दुष्ट मानिसले लुकीछिपी घुस खान्छ र न्यायलाई बिगार्छ।+ २४  बुद्धि समझदार मानिसको आँखैअगाडि हुन्छ तर मूर्खको आँखा भने यताउता डुलिरहन्छ।+ २५  मूर्ख छोराले बुबालाई पिरोल्छ अनि उसलाई जन्माउने आमाको मन दुखाउँछ।+ २६  धर्मी मानिसलाई सजाय दिनु* उचित होइन अनि भलादमी मानिसलाई कोर्रा लगाउनु गलत हो। २७  बुद्धिमान्‌ मानिस थोरै बोल्छ+ अनि समझदार मानिस शान्त रहन्छ।+ २८  चुप लागेर बस्दा मूर्ख पनि बुद्धिमान्‌ देखिन्छ अनि आफ्नो मुख नखोल्ने मानिस समझदार देखिन्छ।

फुटनोटहरू

शा., “बलिहरू चढाउनुभन्दा।”
वा “अन्तर्दृष्टि भएको।”
वा “ताज।”
वा “नातिनातिना।”
वा “छोराछोरीका।”
वा “आमाबुबा।”
वा “उच्च ओहदाका व्यक्‍तिको।”
वा “असल।”
हात मिलाउनुले वाचा बाँध्नुलाई जनाउँछ।
वा “ग्यारेन्टी।”
वा “हड्डी गलाउँछ।”
वा “जरिबाना तिराउनु।”