लुकाका अनुसार १९:१-४८

  • येसु जक्कैकहाँ जानुहुन्छ (१-१०)

  • १० मीनाको उदाहरण (११-२७)

  • येसु राजाको रूपमा प्रवेश गर्नुहुन्छ (२८-४०)

  • येसु यरुसलेमको निम्ति रुनुहुन्छ (४१-४४)

  • येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (४५-४८)

१९  उहाँ यरिहो पस्नुभयो र उहाँ त्यही सहर भएर जाँदै हुनुहुन्थ्यो। २  त्यहाँ जक्कै नाम गरेका एक जना मानिस थिए। तिनी कर उठाउने मानिसहरूका हाकिम थिए र धनी थिए। ३  तिनी येसु भन्‍ने मानिस को रहेछ भनेर हेर्न चाहन्थे तर भीडले गर्दा देख्न सकेनन्‌ किनकि तिनी पुड्‌का थिए। ४  त्यसैले तिनी दौडेर अरूभन्दा अगाडि गए र उहाँलाई हेर्न खनिउँको* रूखमा चढे किनकि येसु त्यही बाटो भएर जान लाग्नुभएको थियो। ५  त्यस ठाउँमा पुगेपछि येसुले मास्तिर हेरेर तिनलाई भन्‍नुभयो: “ए जक्कै, झट्टै तल ओर्ल। किनकि आज मलाई तिम्रो घरमा बस्नु छ।” ६  यो सुनेर तिनी तुरुन्तै तल ओर्ले र खुसी हुँदै उहाँलाई आफ्नो घरमा स्वागत गरे। ७  तर यो देखेर तिनीहरू सबै यसो भन्दै गनगन गर्न थाले: “यो त पापी मानिसको घरमा पो गयो।”+ ८  तब जुरुक्क उठेर जक्कैले प्रभुलाई भने: “हेर्नुहोस्‌ प्रभु, म अब आफ्नो आधा सम्पत्ति गरिबहरूलाई बाँड्‌छु अनि मैले ज-जसबाट लुटेँ,* म उसलाई चार गुणा तिर्छु।”+ ९  तिनको कुरा सुनेर येसुले भन्‍नुभयो: “आज यो घरले उद्धार पाएको छ किनकि ऊ पनि अब्राहामको छोरा हो। १०  मानिसको छोरा हराएकोलाई खोज्न र उसको उद्धार गर्न आएको हो।”+ ११  तिनीहरूले यी कुराहरू सुनिरहेको बेला उहाँले एउटा उदाहरण पनि सुनाउनुभयो। किनकि उहाँ यरुसलेमको नजिकै हुनुहुन्थ्यो र परमेश्‍वरको राज्य तुरुन्तै प्रकट हुनेछ भनेर तिनीहरूले सोचिरहेका थिए।+ १२  त्यसैले उहाँले भन्‍नुभयो: “कुलीन घरानाको एक जना मानिस राज्याधिकार हासिल गरेर फर्कन परदेश गए।+ १३  तिनले आफ्ना १० जना दासलाई बोलाएर १० मीना* दिए र भने: ‘म नफर्केसम्म यसबाट व्यापार गर।’+ १४  तर तिनको देशका मानिसहरू तिनलाई घृणा गर्थे। त्यसैले तिनीहरूले राजदूतहरूको एक दललाई तिनको पछिपछि यसो भन्‍न पठाए: ‘यो मानिस हाम्रो राजा बनेको हामी चाहन्‍नौँ।’ १५  “अन्तमा तिनी राज्याधिकार हासिल गरेर फर्के। अनि आफूले पैसा* दिएका दासहरूलाई बोलाए। किनकि तिनीहरूले व्यापार गरेर के-कति कमाए भनेर तिनी जान्‍न चाहन्थे।+ १६  तब पहिलोचाहिँ अघि सरेर भन्यो: ‘मालिक, तपाईँले दिनुभएको मीनाबाट मैले १० मीना कमाएँ।’+ १७  अनि तिनले त्यस दासलाई भने: ‘स्याबास, असल दास! तिमीले आफूलाई असाध्यै सानो कुरामा विश्‍वासयोग्य साबित गऱ्‍यौ। त्यसैले १० सहरमाथि अख्तियार चलाऊ।’+ १८  त्यसैगरि दोस्रो दास आयो र भन्यो: ‘मालिक, तपाईँले दिनुभएको मीनाबाट मैले पाँच मीना कमाएँ।’+ १९  तिनले उसलाई पनि यसो भने: ‘तिमी पनि पाँच सहरमाथि अख्तियार चलाऊ।’ २०  तर अर्को दास यसो भन्दै आयो: ‘मालिक, तपाईँको मीना यहाँ छ। मैले यसलाई कपडामा लुकाएर राखेँ। २१  मलाई तपाईँको डर लाग्यो किनकि तपाईँ कठोर मानिस हुनुहुन्छ। तपाईँ आफूले जम्मा नगरेको पैसा लिनुहुन्छ अनि आफूले नछरेको बाली कटनी गर्नुहुन्छ।’+ २२  तिनले उसलाई भने: ‘ए दुष्ट दास, तेरै मुखले बोलेको कुराको आधारमा म तेरो न्याय गर्नेछु। म आफूले जम्मा नगरेको पैसा लिने र आफूले नछरेको बाली कटनी गर्ने कठोर मानिस हुँ भनेर तँलाई थाहै रहेछ, हैन त?+ २३  त्यसोभए तैँले मेरो पैसा* साहूकहाँ लगेर किन राखिनस्‌? तैँले त्यसो गरेको भए म फर्कँदा ब्याजसहित त्यो फिर्ता पाउने थिएँ।’ २४  “त्यसपछि तिनले नजिकै उभिरहेकाहरूलाई यसो भने: ‘ऊसित भएको मीना खोसेर १० मीना हुनेलाई देओ।’+ २५  तर तिनीहरूले यस्तो जवाफ दिए: ‘मालिक, ऊसित १० मीना छँदै छ नि!’— २६  ‘म तिमीहरूलाई भन्छु, जोसित छ, उसलाई अझ धेरै दिइनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।+ २७  साथै मेरा शत्रुहरू, जो म तिनीहरूको राजा बनेको चाहँदैनन्‌, तिनीहरूलाई यहाँ ल्याओ र मेरै अगाडि तिनीहरूलाई मार।’” २८  यी कुरा भनिसकेपछि उहाँ अघिअघि हिँड्‌दै यरुसलेमतिर उक्लनुभयो। २९  तब जैतुन डाँडा भनिने डाँडाको+ बेथफागे अनि बेथानिनजिकै पुगेपछि उहाँले आफ्ना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो:+ ३०  “तिमीहरूले देखिरहेको त्यस गाउँमा जाओ र त्यहाँ पसेपछि तिमीहरूले गधाको एउटा बछेडोलाई बाँधेर राखेको भेट्टाउनेछौ, जसमा अहिलेसम्म कोही चढेको छैन। त्यसलाई फुकाएर ल्याओ। ३१  तर यदि कसैले ‘तिमीहरू किन यसलाई फुकाउँदै छौ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यो चाहिएको छ।’” ३२  तब तिनीहरू गए र उहाँले जस्तो भन्‍नुभएको थियो, त्यस्तै पाए।+ ३३  तर तिनीहरूले बछेडोलाई फुकाउँदै गर्दा त्यसका मालिकहरूले सोधे: “तिमीहरू किन यस बछेडोलाई फुकाउँदै छौ?” ३४  तिनीहरूले जवाफ दिए: “प्रभुलाई यो चाहिएको छ।” ३५  तब तिनीहरूले त्यसलाई येसुकहाँ ल्याए र त्यस बछेडोमाथि आफ्ना लुगाहरू बिछ्याए अनि येसुलाई त्यसमाथि बसाए।+ ३६  अनि उहाँ अगाडि बढ्‌दै गर्नुहुँदा तिनीहरूले आ-आफ्नो लुगा बाटोमा बिछ्याउन थाले।+ ३७  उहाँ जैतुन डाँडाको ओरालो बाटोनजिक पुग्नेबित्तिकै चेलाहरूको भीडले आनन्द मनाउँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न थाल्यो किनकि तिनीहरूले थुप्रै शक्‍तिशाली काम देखेका थिए। ३८  तिनीहरूले यसो भन्‍न थाले: “यहोवाको* नाममा आउने राजा धन्यका हुन्‌! स्वर्गमा शान्ति होस्‌ अनि स्वर्गमा बस्नुहुने परमेश्‍वरको महिमा होस्‌!”+ ३९  यो सुनेर भीडबाट केही फरिसीले उहाँलाई भने: “गुरुज्यू, आफ्ना चेलाहरूलाई हप्काउनुहोस्‌।”+ ४०  तर उहाँले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई भन्छु, यिनीहरू चुप लागे भने ढुङ्‌गाहरू कराउनेछन्‌।” ४१  जब उहाँ सहरको नजिक पुग्नुभयो, तब त्यसलाई हेरेर रुनुभयो+ ४२  र भन्‍नुभयो: “यदि आजको दिन तैँले, हो तैँले, कुन कुराले शान्ति दिन्छ भनेर बुझेको भए—तर ती अब तेरो नजरबाट लुकाइएका छन्‌।+ ४३  किनकि यस्तो बेला आउनेछ, जब तेरा शत्रुहरूले तेरो चारैतिर तीखातीखा काठहरू गाडेर तँलाई घेरा हाल्नेछन्‌ र चारैतिरबाट तँलाई थुन्‍नेछन्‌।*+ ४४  तिनीहरूले तँलाई अनि तँकहाँ बास गर्ने तेरा छोराछोरीलाई भुईँमा पछार्नेछन्‌+ र एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत छोड्‌नेछैनन्‌+ किनकि तेरो जाँच भइरहेको समयलाई तैँले चिन्‍न सकिनस्‌।” ४५  अनि उहाँ मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरूलाई बाहिर लघार्न थाल्नुभयो+ ४६  र यसो भन्‍न थाल्नुभयो: “‘मेरो घर प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी धर्मशास्त्रमा लेखिएको छ।+ तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनाएका छौ।”+ ४७  उहाँले हरेक दिन मन्दिरमा सिकाउन छोड्‌नुभएन। तर मुख्य पुजारीहरू, शास्त्रीहरू अनि जनताका मुख्य-मुख्य मानिसहरूले उहाँलाई मार्न खोजिरहेका थिए।+ ४८  तर तिनीहरूले त्यसो गर्ने मौका पाएनन्‌ किनकि सबका सब मानिस उहाँको कुरा सुन्‍न उहाँको वरिपरि झुम्मिरहन्थे।+

फुटनोटहरू

वा “जङ्‌गली अन्जिरको।”
वा “झूटो आरोप लगाएर जस-जसबाट लुटेँ।”
ग्रीक तौलअनुसार एक मीना भनेको ३४० ग्राम हो। एक मीनाबराबर १०० ड्राक्मा हुन्थ्यो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
शा., “चाँदी।”
शा., “चाँदी।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “दुःख दिनेछन्‌।”