सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरलाई प्रसन्‍न तुल्याएका बलिदानहरू

परमेश्‍वरलाई प्रसन्‍न तुल्याएका बलिदानहरू

परमेश्‍वरलाई प्रसन्‍न तुल्याएका बलिदानहरू

“जुनसुकै प्रधान पूजाहारी पनि भेटी र बलिदान चढ़ाउन नियुक्‍त भएको हुन्छ।”–हिब्रू ८:३.

१. मानिसहरू किन परमेश्‍वरलाई पुकार्नुपर्ने आवश्‍यकता महसुस गर्छन्‌?

 “बलिदान चढाउनु प्रार्थना गर्नुजस्तै नैसर्गिक गुण हो; बलिदान चढाउनेले आफूबारे के सोच्छ, त्यो संकेत गर्छ भने प्रार्थना गर्नेले परमेश्‍वरबारे” भनी बाइबलीय इतिहासकार अल्फ्रेड इडरसिम लेख्छन्‌। पाप संसारमा प्रवेश भएदेखिन्‌ यसले ग्लानी, परमेश्‍वरबाट बिरानो हुनु र असहाय भावलाई निम्त्याएको छ। यी सबबाट उद्धार चाहिएको छ। मानिसहरू आफूलाई यस्तो अवस्थामा पाउँदा मदतको लागि परमेश्‍वरलाई पुकार्नुपर्ने आवश्‍यकता किन महसुस गर्छन्‌, बुझ्नु सजिलो छ।—रोमी ५:१२.

२. हामी बाइबलमा परमेश्‍वरलाई चढाइएका प्रारम्भिक भेटीहरूबारे कस्तो रेकर्ड पाउँछौं?

परमेश्‍वरलाई चढाइएको भेटीबारे बाइबलमा उल्लेख गरिएको पहिलो घटना कयिन र हाबिलसित सम्बन्धित छ। हामी यस्तो लेखिएको पाउँछौं: “केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्जनीबाट केही ल्याए। हाबिलले पनि आफ्ना भेड़ाका बगालबाट पहिले जन्मेका पाठाहरू र तिनका उत्तम भाग ल्याए।” (उत्पत्ति ४:३, ४) त्यसपछि, परमेश्‍वरले दुष्ट पुस्तालाई महा जलप्रलयद्वारा नाश गर्नुहुँदा नूहलाई जोगाउनुभएपछि तिनी, यहोवाको निम्ति “एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षीमध्येबाट लिई होमबलि चढ़ा[उन]” उत्प्रेरित भए। (उत्पत्ति ८:२०) परमेश्‍वरका विश्‍वासी सेवक तथा मित्र अब्राहामले पनि निकै पटक परमेश्‍वरका प्रतिज्ञा तथा आशिष्‌हरूद्वारा उत्प्रेरित भई ‘वेदी बनाएर यहोवाको नाउँ पुकारा गरे।’ (उत्पत्ति १२:८; १३:३, ४, १८) पछि, यहोवाले अब्राहामलाई तिनको छोरा इसहाकलाई होमबलि चढाउनू भनेर अह्राउनुहुँदा तिनले आफ्नो विश्‍वासको सबैभन्दा ठूलो परीक्षा सामना गर्नुपऱ्‍यो। (उत्पत्ति २२:१-१४) छोटकरीमा भए तापनि यी विवरणहरूले बलिदानमाथि निकै प्रकाश पार्छन्‌ र त्यसबारे हामी अब अझ बढी बुझ्नेछौं।

३. उपासनामा बलिदानले कस्तो भूमिका खेल्छ?

बाइबलका यी तथा अन्य रेकर्डहरूबाट परमेश्‍वरले बलिदानसम्बन्धी निर्दिष्ट व्यवस्था दिनुअगावै एक किसिमले बलिदान उपासनाको अभिन्‍न भाग भइसकेको रहेछ भनेर प्रस्ट हुन्छ। यसैलाई ध्यानमा राख्दै एउटा पुस्तकले “बलिदान” शब्दलाई “पवित्र व्यक्‍तिसित सम्बन्ध स्थापित गर्न, कायम गर्न वा अनुग्रह पाउन ईश्‍वरलाई केही वस्तु चढाउने धार्मिक क्रियाकलाप” भनेर वर्णन गरेको छ। तर यसले हामीसामु केही विचारणीय महत्त्वपूर्ण प्रश्‍नहरू खडा गर्छ। जस्तै: उपासना गर्दा बलिदान चढाउनु किन आवश्‍यक छ? परमेश्‍वर कस्ता बलिदानहरू ग्रहण गर्नुहुन्छ? अनि पुरातन समयमा चढाइएका बलिदानहरूले आज हाम्रोनिम्ति के अर्थ राख्छन्‌?

बलिदान चढाउनु किन आवश्‍यक छ?

४. आदम र हव्वाले पाप गर्दा तिनीहरूले कस्तो परिणाम भोग्नु पऱ्‍यो?

आदमले जानाजानी पाप गरेका थिए। असल र खराबको ज्ञानको रूखबाट फल टिपेर खाँदा तिनले सोचविचार गरीकनै आज्ञा उल्लंघन गरेका थिए। यो अनाज्ञाकारी कामको सजाय परमेश्‍वरले यसरी सुस्पष्टै तोक्नुभएको थियो: “जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” (उत्पत्ति २:१७) पछि गएर आदम र हव्वाले आफ्नो पापको ज्याला तिर्नुपऱ्‍यो अर्थात्‌ तिनीहरू मरे।—उत्पत्ति ३:१९; ५:३-५.

५. आदमको सन्तानको निम्ति यहोवा आफै किन अघि सर्नुभयो र तिनीहरूका लागि उहाँले के गर्नुभयो?

त्यसोभए, आदमको सन्तानलाई के भयो? आदमबाट वंशाणुगत पाप र असिद्धता पाएकोले तिनीहरू पनि प्रथम मानव दम्पतीजस्तै परमेश्‍वरबाट बिराना भए, आशाविहीन भए अनि मरे। (रोमी ५:१४) तथापि, यहोवा न्याय अनि शक्‍तिको परमेश्‍वर मात्र हुनुहुन्‍न उहाँ मुख्यतः प्रेमको परमेश्‍वर पनि हुनुहुन्थ्यो। (१ यूहन्‍ना ४:८, १६) त्यसकारण, यो खाडल पुर्न उहाँ आफै अघि सर्नुभयो। “पापको ज्याला मृत्यु हो” भनिसकेपछि बाइबल अझै यसो भन्छ, “तर परमेश्‍वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।”—रोमी ६:२३.

६. आदमको पापले गर्दा गुमेको चीजको सम्बन्धमा यहोवाको इच्छा के थियो?

यहोवा परमेश्‍वरले यो वरदानलाई पक्का गर्न यस्तो प्रबन्ध मिलाउनुभयो। यसले आदमको पापले गर्दा गुमेको चीजको क्षतिपूर्ति तिर्ने थियो। प्रारम्भमा हिब्रू शब्द काफर-को अर्थ पक्कै पनि “ढाक्नु” वा “मेटिदिनु” थियो होला। यस हिब्रू शब्दलाई अंग्रेजीमा “अटोनमेन्ट” अर्थात्‌ पश्‍चात्ताप भनेर पनि अनुवाद गरिन्छ। a अर्को शब्दमा भन्‍ने हो भने आदमबाट वंशाणुगत पाएको पाप ढाक्ने र त्यसबाट भएको हानि व्यहोर्ने अनुकूल प्रबन्ध यहोवाले मिलाउनुभयो। फलतः यस वरदानको निम्ति योग्य ठहरिएकाहरू पाप र मृत्युबाट स्वतन्त्र हुनसक्ने थिए।—रोमी ८:२१.

७. (क) परमेश्‍वरले शैतानलाई दिनुभएको सजायले के आशा प्रदान गऱ्‍यो? (ख) पाप र मृत्युबाट मानिसजातिको मुक्‍तिको निम्ति के तिर्नैपर्थ्यो?

प्रथम मानव दम्पतीले पाप गर्ने बित्तिकै पाप र मृत्युको दासत्वबाट स्वतन्त्र हुने आशाको छनक दिइएको थियो। सर्पद्वारा प्रतिनिधित्व गरिएको शैतानको सजाय सुनाउनुहुँदै यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” (उत्पत्ति ३:१५) यो भविष्यसूचक वाक्यांशले उक्‍त प्रतिज्ञामा भरोसा गर्ने सबैको निम्ति आशाको किरण प्रदान गऱ्‍यो। तथापि, मुक्‍तिको लागि मोल तिर्नुपर्ने थियो। प्रतिज्ञा गरिएको सन्तान त्यसै आएर शैतानलाई नाश गर्ने थिएनन्‌; यो सन्तानको कुर्कुचो डसिनैपर्थ्यो। भनाइको मतलब, यो सन्तानले मृत्यु भोग्नैपर्ने थियो तर क्षणभरको लागि मात्र।

८. (क) कयिनले कसरी निराश तुल्यायो? (ख) हाबिलले चढाएको बलिदान परमेश्‍वरको नजरमा किन ग्रहणयोग्य भयो?

निस्सन्देह, आदम र हव्वाले यो प्रतिज्ञा गरिएको सन्तान को होला भनेर निकै सोचविचार गरेको हुनुपर्छ। हव्वाले पहिलो सन्तान कयिनलाई जन्माउँदा तिनले यसो भनेकी थिइन्‌: “परमप्रभुको आशीर्वादले एक पुरुष प्राप्त गरें।” (उत्पत्ति ४:१) तिनको आफ्नै छोरो त्यो सन्तान हुने हो कि भनेर तिनले सोचिरहेकी थिइन्‌? तिनले सोचे पनि, नसोचे पनि, कयिन र तिनको सन्तानले निराश तुल्यायो। तर अर्कोतिर तिनका भाइ हाबिलले परमेश्‍वरको प्रतिज्ञामाथि भरोसा देखाए र आफ्नो बगालको पहिलो फल यहोवाको निम्ति बलिदान चढाउन उत्प्रेरित भए। हामी यस्तो लेखिएको पाउँछौं: “विश्‍वासैबाट हाबिलले कयिनभन्दा उत्तम बलिदान परमेश्‍वरमा चढ़ाए, जसद्वारा तिनी धर्मी हुन्‌ भन्‍ने तिनको गवाही भयो।”—हिब्रू ११:४.

९. (क) हाबिलले कसमाथि विश्‍वास गरे र तिनले यो कसरी प्रकट गरे? (ख) हाबिलको भेटीको के महत्त्व थियो?

हाबिलले परमेश्‍वरमाथि सामान्य विश्‍वास मात्र गरेका थिएनन्‌, यस्तो विश्‍वास त कयिनसित पनि थियो। विश्‍वासी मानवको छुटकाराको निम्ति परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको सन्तानमाथि हाबिलको विश्‍वास थियो। यो कसरी पूरा हुन्छ, त्यो त तिनलाई प्रकट गरिएको थिएन तर कसैको कुर्कुच्चो डसिनु नै पर्छ भन्‍ने कुराप्रति परमेश्‍वरको प्रतिज्ञाले हाबिललाई सजग गराएको थियो। हो, रगत बगाउनैपर्छ भन्‍ने निष्कर्षमा तिनी पुगेको प्रस्टै देखिन्छ। यही नै वास्तवमा बलिदानको सही अर्थ थियो। हाबिलले जीवन र रगत समावेश भएको बलिदान चढाए। जीवनको स्रोतलाई चढाएको यो बलिदान परमेश्‍वरको प्रतिज्ञाप्रति तिनको उत्कट चाह र उक्‍त प्रतिज्ञा पूर्ति हुने समयको प्रतीक्षाको संकेत थियो। विश्‍वासको यही अभिव्यक्‍तिले गर्दा हाबिलले चढाएको बलिदान परमेश्‍वरको निम्ति ग्रहणयोग्य भयो र यसले सीमित मात्रामा भए पनि बलिदानको सही अर्थ व्यक्‍त गऱ्‍यो। किनकि बलिदान पापी मानवहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्नसक्ने माध्यम हो।—उत्पत्ति ४:४; हिब्रू ११:१, ६.

१०. यहोवाले अब्राहामलाई इसहाकको बलि चढाउन अह्राउनु हुँदा बलिदानको अर्थ कसरी प्रस्ट पारियो?

१० यहोवाले अब्राहामलाई आफ्नो छोरा इसहाक होमबलिको रूपमा चढाउनू भनेर आज्ञा दिनुहुँदा बलिदानको गहन अर्थ नाटकीय ढंगमा प्रस्टिएको थियो। हुन त, अब्राहामले इसहाकलाई साँच्चै बलिदान चढाउनु परेन, तर जे होस्‌, यसले अन्ततः यहोवा आफैले गर्नुहुने कुरा अर्थात्‌ मानिसजातिका लागि साँच्नुभएको आफ्नो इच्छा पूरा गर्न आफ्नो एक मात्र पुत्रको बलि दिनुभएर आजसम्म दिइएका बलिदानहरूमध्ये सबैभन्दा ठूलो बलिदान चढाउनु हुनेथियो भनेर चित्रण गऱ्‍यो। (यूहन्‍ना ३:१६) अन्ततः मोशालाई बलिदान तथा भेटीहरूसम्बन्धी व्यवस्था दिनुभएर यहोवाले आफ्ना जनहरूलाई पापको क्षमा पाउन अनि मुक्‍तिको आशालाई दह्रो पार्न तिनीहरूले गर्नुपर्ने कुरा सिकाउन भविष्यसूचक नमुना बसाल्नुभयो। यीबाट हामी के सिक्नसक्छौं?

यहोवाले ग्रहण गर्नुहुने बलिदानहरू

११. इस्राएलका प्रधान पूजाहारीले कुन दुई प्रकारका भेटीहरू चढाउँथे र त्यसको उद्देश्‍य के थियो?

११ प्रेरित पावलले भने, “जुनसुकै प्रधान पूजाहारी पनि भेटी र बलिदान चढ़ाउन नियुक्‍त भएको हुन्छ।” (हिब्रू ८:३) यहाँ पावलले पुरातन इस्राएलका पूजाहारीले चढाउने बलिदानलाई दुई समूहमा विभाजन गरेको कुरा याद गर्नुहोस्‌। ती हुन्‌, “भेटी” र “बलिदान” अथवा “पापका निम्ति . . . बलिदानहरू।” (हिब्रू ५:१) साधारणतया मानिसहरू स्नेह तथा मूल्यांकन व्यक्‍त गर्न र मित्रता बढाउन, अनुमोदन पाउन वा ग्रहणयोग्य हुन भेटी अर्थात्‌ उपहार दिन्छन्‌। (उत्पत्ति ३२:२०; हितोपदेश १८:१६) त्यसै गरी, व्यवस्थामा उल्लेख गरिएका थुप्रै भेटीहरू परमेश्‍वरको अनुमोदन र अनुग्रह प्राप्त गर्न उहाँलाई चढाइने “उपहारहरू” मान्‍न सकिन्छ। b व्यवस्था उल्लंघन हुँदा त्यसको सट्टाभर्ना तिर्नुपर्थ्यो र क्षतिपूर्तिको रूपमा “पापका निम्ति . . . बलिदानहरू” चढाउनुपर्थ्यो। पेन्टाटुक र विशेष गरी प्रस्थान, लेवी र गन्तीको पुस्तकमा बलिदान तथा भेटीहरूको रूपमा चढाइने भिन्‍नाभिन्‍नै खालका वस्तुहरूबारे विस्तृत विवरण दिइएको छ। यी सम्पूर्ण विवरणहरू एक एक गरी सम्झन त गाह्रै हुनसक्छ तर यी विभिन्‍न खालका बलिदानहरूका केही मुख्य कुराहरू याद गर्नु उपयुक्‍त देखिन्छ।

१२. व्यवस्थामा बलिदान तथा भेटीहरूबारे दिइएको छोटो विवरण हामी बाइबलमा कहाँ पाउनसक्छौं?

१२ लेवी अध्याय १ देखि ७ मा पाँच थरिका मुख्य भेटीहरूबारे उल्लेख गरिएको हामी याद गरौं। ती हुन्‌: होमबलि, अन्‍नबलि, मेलबलि, पापबलि र दोषबलि। वास्तवमा, यी बलिदानहरूमध्ये कुनै कुनै एकसाथ चढाइने भए तापनि यिनको भिन्‍नाभिन्‍नै वर्णन गरिएको छ। हामी यी अध्यायहरूमा भिन्‍नाभिन्‍नै उद्देश्‍यलाई लक्षित गरेर यी भेटीहरूको दुई पटक व्याख्या गरेको पाउँछौं। लेवी १:२ देखि ६:७ मा वेदीमा के चढाउनुपर्छ भन्‍ने सम्बन्धमा, लेवी ६:८ देखि ७:३६ मा पूजाहारीहरूका लागि छुट्टाइएको भाग र भेटी चढाउनेको लागि राखिएको भागको सन्दर्भमा। त्यसपछि, गन्ती अध्याय २८ र २९ मा दैनिक, साप्ताहिक, मासिक अनि वार्षिक चाडहरूमा के चढाउनुपर्थ्यो, त्यसबारे हामी विस्तृत समय तालिका दिइएको पाउँछौं।

१३. परमेश्‍वरलाई राजीखुसीले चढाइने भेटीहरूबारे वर्णन गर्नुहोस्‌।

१३ उपहारको रूपमा राजीखुसीले चढाइने अथवा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न चढाइने भेटीहरू, होमबलि, अन्‍नबलि तथा मेलबलि थिए। केही विद्वान्‌को विचारमा “होमबलि” भनेर अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “माथि पठाइने भेटी” अथवा “माथि माथि जाने भेटी” हो। यो उपयुक्‍त छ किनकि, होमबलि चढाउँदा बलि दिइएको जनावरलाई वेदीमा पोलिन्छ र मीठो मगमगाउँदो सुवास माथि माथि स्वर्गतिर परमेश्‍वरकहाँ जान्छ। होमबलिको विशिष्ट पक्ष के हो भने, वेदी वरपर बलिको रगत छर्किसकेपछि सम्पूर्ण सिंगो जनावर नै परमेश्‍वरलाई चढाइन्छ। पूजाहारीले “ती जम्मैलाई . . . परमप्रभुको निम्ति मीठो बास्ना, आगोद्वारा तयार गरेको बलि, अर्थात्‌ होमबलि गरी वेदीमा” जलाउँछन्‌।—लेवी १:३, ४, ९; उत्पत्ति ८:२१.

१४. अन्‍नबलि कसरी चढाइन्थ्यो?

१४ लेवी अध्याय २ मा अन्‍नबलिबारे उल्लेख गरिएको छ। यस राजीखुसीले अर्पण गरिएको अन्‍नबलिमा अक्सर तेल खनाएर नरम पारिएको र लोबान हालिएको मसिनो पीठो हुन्छ। पूजाहारीले “त्यसबाट आफ्नो मुठीभरिको मसिनो पीठो र तेल जम्मै धूपसमेत . . . झिकोस्‌। अनि पूजाहारीले त्यो परमप्रभुको निम्ति बास्ना, आगोद्वारा तयार गरेको बलि, एक सम्झना स्वरूप वेदीमा जलाओस्‌।” (लेवी २:२) भेट हुने पाल तथा मन्दिरको धूप बाल्ने वेदीमा जलाइने पवित्र धूप बनाउन प्रयोग गरिने विभिन्‍न सामग्रीहरूमध्ये लोबान एक थियो। (प्रस्थान ३०:३४-३६) यी शब्दहरू लेख्दा राजा दाऊदले यही कुरा सम्झेको हुनुपर्छ: “मेरो प्रार्थना तपाईंको सामने धूपजस्तै र मैले हात उठाउँदा बेलुकीको बलिजस्तै ठहरिओस्‌।”—भजन १४१:२.

१५. मेलबलिको उद्देश्‍य के थियो?

१५ लेवी अध्याय ३ मा उल्लिखित राजीखुसीले चढाइने अर्को भेटी मेलबलि थियो। यसलाई “बलिदानको शान्ति भेटी” भनेर पनि अनुवाद गर्न सकिन्छ। हिब्रू भाषामा “शान्ति” शब्दले युद्ध र गोलमालबाट अलग अवस्थालाई मात्र बुझाउँदैन। “बाइबलमा यसले परमेश्‍वरसितको सुमधुर सम्बन्ध, समृद्धि, आनन्द र सुखलाई पनि जनाउँछ” भनी स्टडिज इन द मोजाइक इन्सटिच्युसन्स पुस्तक बताउँछ। यसप्रकार, मेलबलि परमेश्‍वरलाई प्रसन्‍न तुल्याएर उहाँसित शान्ति कायम गर्नका लागि मात्र नभई परमेश्‍वरको अनुमोदन पाउनेहरूले उहाँसित शान्ति कायम गर्न पाएकोमा कृतज्ञता जाहेर गर्न वा खुसियाली मनाउन पनि चढाइन्थ्यो। बलिको रगत र बोसो यहोवालाई चढाइसकेपछि पूजाहारीहरू र भेटी चढाउनेहरूले उक्‍त बलिदानको मासु खान्थे। (लेवी ३:१७; ७:१६-२१; १९:५-८) यसप्रकार, सुन्दर अनि लाक्षणिक तरिकामा, भेटी चढाउने व्यक्‍ति, पूजाहारी तथा यहोवा परमेश्‍वरसँगै मिलेर भोजन गर्थे र त्यसले तिनीहरूबीचको सौहार्दपूर्ण सम्बन्धको चित्रण गर्थ्यो।

१६. (क) पापबलि र दोषबलिको उद्देश्‍य के थियो? (ख) यी होमबलिभन्दा कसरी फरक छन्‌?

१६ पापको क्षमा पाउन वा व्यवस्था उल्लंघन गरेको क्षतिपूर्ति तिर्न चढाइने बलिदानहरूमा पापबलि र दोषबलि पर्थे। यी बलिदानहरूलाई पनि वेदीमै जलाउनुपर्ने भए तापनि होमबलिमा जस्तो सम्पूर्ण जनावर नै यहोवालाई चढाउनुपर्ने चाहिं थिएन, बोसो र अन्य केही भागहरू मात्र चढाए पुग्थ्यो। बाँकी रहेको मासु छाउनी बाहिर लगेर जलाउनुपर्थ्यो वा कहिलेकाहीं पूजाहारीहरूले लिने गर्थे। यो भिन्‍नता अर्थपूर्ण छ। होमबलि, परमेश्‍वर समीप जान उहाँलाई उपहारस्वरूप चढाइने भएकोले त्यो पूर्णतया परमेश्‍वरलाई मात्र चढाइनुपर्थ्यो। चाखलाग्दो कुरा, होमबलि अक्सर पापबलि वा दोषबलि चढाएपछि चढाइन्थ्यो। यसले त्यस पापीको उपहार परमेश्‍वरले ग्रहण गर्नुअघि पापको क्षमा आवश्‍यक छ भनेर चित्रित गर्थ्यो।—लेवी ८:१४, १८; ९:२, ३; १६:३, ५.

१७, १८. केको निम्ति पापबलि चढाइन्थ्यो र दोषबलिको उद्देश्‍य के थियो?

१७ अन्जानमा व्यवस्था उल्लंघन गरेर पाप गर्दा अर्थात्‌ मानव कमजोरीका कारण पाप गर्दा मात्र पापबलि स्वीकार्य हुन्थ्यो। “परमप्रभुले मनाई गर्नुभएको कुनै कुरामा कसैले अजानमा पाप गऱ्‍यो भने” पापीले आफ्नो औकातअनुसार वा समाजमा पाएका स्थानअनुसार पापबलि चढाउनुपर्थ्यो। (लेवी ४:२, ३, २२, २७) अर्कोतिर, अपश्‍चात्तापी पापीहरूलाई हटाउनुपर्थ्यो; तिनीहरूको लागि कुनै बलिदानको प्रबन्ध थिएन।—प्रस्थान २१:१२-१५; लेवी १७:१०; २०:२, ६, १०; गन्ती १५:३०; हिब्रू २:२.

१८ दोषबलिको अर्थ र उद्देश्‍य लेवी अध्याय ५ र मा स्पष्ट पारिएको छ। कुनै व्यक्‍तिले थाहै नपाई पाप गरेको हुनसक्छ। तैपनि, उसको गल्तीले सँगी मानव वा यहोवा परमेश्‍वरको अधिकार हनन गरेको र त्यो गल्ती सुधार्नु परेको हुनसक्छ। थुप्रै प्रकारका पापहरूबारे उल्लेख गरिएको छन्‌। तीमध्ये केही गोप्य पापहरू थिए (५:२-६), कुनै “परमप्रभुका पवित्र कुराहरूको विषयमा” गरिएका पापहरू थिए भने (५:१४-१६) अन्य कतिपय अन्जानमा भएको हुनै नसक्ने तर गलत इच्छा वा शारीरिक कमजोरीका कारण भएका पापहरू थिए (६:१-३)। यी पापहरू स्वीकार्नुको अलावा दोषीले हर्जाना तिर्नुपर्ने भए हर्जाना तिर्नुपर्थ्यो र त्यसपछि यहोवालाई दोषबलि चढाउनुपर्थ्यो।—लेवी ६:४-७.

केही उत्तम कुरा हुनेथियो

१९. व्यवस्था र तिनमा उल्लेख गरिएका बलिदानहरूको बावजूद इस्राएल राष्ट्र परमेश्‍वरको अनुमोदन पाउन किन असफल भयो?

१९ मोशालाई दिइएको व्यवस्थामा थुप्रै बलिदान तथा भेटीहरू उल्लेख गरिएका छन्‌ र यो व्यवस्था प्रतिज्ञा गरिएको सन्तान नआइपुगुञ्जेल इस्राएलीहरूलाई परमेश्‍वरको अनुमोदन प्राप्त गर्न, उहाँको अनुमोदन कायम गर्न र आशिष्‌ पाउनसकून्‌ भनेर दिइएको थियो। यहूदी कुलमा जन्मिएका प्रेरित पावलले यसो भने: “विश्‍वासैबाट हामी धर्मी ठहरिऔं भनेर हामीलाई ख्रीष्टमा ल्याउनालाई व्यवस्था ता हाम्रा जिम्मावाल भएको हो।” (गलाती ३:२४) दुःखको कुरा, इस्राएल राष्ट्रले यस जिम्मेवालको बेवास्ता मात्र गरेको मात्र होइन, यस विशेषाधिकारको दुरुपयोग पनि गऱ्‍यो। फलतः तिनीहरूले चढाएको प्रशस्त बलिदानहरू देखेर यहोवालाई वाक्क लाग्यो र उहाँले यसो भन्‍नुभयो: “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्ति के काम लाग्छ? म ता भेड़ाहरूका होमबलि र पालेका पशुहरूका बोसोदेखि अघाएको छु। म गोरू, थुमा र बाख्राहरूका रगतदेखि प्रसन्‍न हुन्‍नँ।”—यशैया १:११.

२०. सा.यु. ७० मा व्यवस्था र बलिदानहरूको के हाल भयो?

२० सा.यु. ७० मा यहूदी रीतिरिवाज त्यसको मन्दिर र पूजाहारीसहित तहसनहस भयो। त्यसपछि, व्यवस्थामा उल्लेख गरिएका तरिकामा बलिदानहरू चढाउनु सम्भव भएन। के यसको अर्थ व्यवस्थाको अभिन्‍न अंग भइसकेका बलिदानहरूले आज परमेश्‍वरका उपासकहरूका लागि कुनै अर्थ राख्दैन त? यसपछिको लेखमा हामी यो कुरा जाँच्नेछौं।

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स यसरी उल्लेख गर्छ: “बाइबलमा प्रयोग गरिएको ‘अटोनमेन्ट’ (‘क्षतिपूर्ति गर्ने’) शब्दको मूल अर्थ ‘ढाक्नु’ वा ‘हर्जाना भर्नु’ हुन्छ र हर्जाना भर्दा दिइने वस्तु वा ‘ढाक्न’ प्रयोग गरिने वस्तु उक्‍त वस्तुसित दुरुस्त मिल्ने खालको हुनैपर्छ। . . . आदमले जे गुमायो, त्यसको क्षतिपूर्ति तिर्न पापबलिको रूपमा सिद्ध मानव जीवन बराबरकै मूल्य तिर्नुपर्ने थियो।”

b अक्सर “भेटी” भनेर अनुवाद गरिएको हिब्रू शब्द कोर्बान हो। सदुकी तथा फरिसीहरूको सिद्धान्तविहीन चलनबारे येशूले गर्नुभएको भर्त्सनाको रेकर्ड गर्दा मर्कूसले “कोर्बान”-को अर्थ “परमेश्‍वरलाई चढाइएको” हो भने।—मर्कूस ७:११.

के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?

• यहोवाका निम्ति बलिदानहरू चढाउन पुरातन समयका विश्‍वासी पुरुषहरूलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो?

• बलिदानहरूको आवश्‍यकता किन पऱ्‍यो?

• व्यवस्थाअन्तर्गत कस्ता मुख्य बलिदानहरू चढाइन्थे र तिनको उद्देश्‍य के थियो?

• पावलका अनुसार व्यवस्था र त्यसका बलिदानहरूले कुन प्रमुख उद्देश्‍य पूरा गऱ्‍यो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

हाबिलले चढाएको बलिदानले यहोवाको प्रतिज्ञामाथि भरोसा जाहेर गरेकोले यहोवालाई प्रसन्‍न तुल्यायो

[पृष्ठ १५-मा भएको चित्र]

के तपाईं यस दृष्यको अर्थको मूल्यांकन गर्नुहुन्छ?