लेवी ८:१-३६

  • पुजारीको रूपमा हारुन र उनका छोराहरूको नियुक्‍ति (१-३६)

 यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: २  “हारुन र उनका छोराहरू,+ उनीहरूका पोसाक,+ अभिषेक गर्ने तेल,+ पापभेटीको बहर, दुई वटा थुमा र अखमिरा* रोटीको+ डालो ल्याउनू ३  र सारा समुदायलाई भेट हुने पालको* प्रवेशद्वारमा भेला गराउनू।” ४  यहोवा परमेश्‍वरले जस्तो भन्‍नुभएको थियो, मोसाले त्यस्तै गरे र सारा समुदाय भेट हुने पालको प्रवेशद्वारमा भेला भयो। ५  अनि मोसाले समुदायलाई भने: “यहोवा परमेश्‍वरले हामीलाई यसो-यसो गर्नू भनी आज्ञा दिनुभएको छ।” ६  त्यसैले मोसाले हारुन र उनका छोराहरूलाई प्रवेशद्वारको नजिक ल्याए र नुहाउन लगाए।+ ७  त्यसपछि मोसाले हारुनलाई एउटा लामो लुगा+ लगाइदिए र त्यसलाई पटुकाले+ कसिदिए अनि त्यसमाथि बाहुला नभएको अलखा*+ लगाइदिए। साथै तिनले एपोद*+ पनि लगाइदिए अनि त्यस एपोदलाई बुनेको पेटीले+ टमक्क कसिदिए। ८  त्यसपछि छातीपाता*+ लगाइदिएर त्यसमा ऊरीम र तुम्मीम*+ राखिदिए। ९  तिनले हारुनको शिरमा फेटा+ पनि लगाइदिए र फेटाको अगिल्तिर सुनको एउटा चम्किलो पाता बाँधिदिए, जुन समर्पणको पवित्र चिन्ह हो।*+ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले यी सबै गरे। १०  मोसाले अभिषेक गर्ने तेल लिए अनि वासस्थान* र त्यसमा भएका सबै सरसामानलाई अभिषेक गरे+ र चोख्याए। ११  त्यसपछि तिनले वेदीमा सात पल्ट तेल छर्के अनि वेदी, त्यसमा भएका सबै सरसामान, बाटा र त्यसको टेकोलाई अभिषेक गरेर चोख्याए। १२  अन्तमा तिनले अभिषेक गर्ने तेल अलिकति लिए अनि हारुनको शिरमा खन्याएर उनलाई अभिषेक गरे र पवित्र पारे।+ १३  त्यसपछि मोसाले हारुनका छोराहरूलाई प्रवेशद्वारनजिकै ल्याए र लामो लुगा लगाइदिए। अनि पटुका कसिदिए र शिरपोस लगाइदिए।+ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले गरे। १४  तिनले पापभेटीको बहर ल्याए अनि हारुन र उनका छोराहरूले त्यस बहरको टाउकोमाथि आफ्नो हात राखे।+ १५  मोसाले त्यस बहरलाई काटे र त्यसको रगतमा आफ्नो औँला चोपेर+ वेदीको चारैतिर भएको सिङमा त्यो रगत लगाइदिए। यसरी तिनले वेदीको पाप हटाए र त्यसलाई शुद्ध पारे। अनि बाँकी रगतचाहिँ वेदीको मुनिपट्टि खन्याइदिए। यसरी तिनले त्यस वेदीमा बलिहरू चढाउन सकियोस्‌ भनेर वेदीलाई चोख्याए। १६  त्यसपछि तिनले आन्द्रासँगै टाँसिएको बोसो, कलेजोमाथि भएको बोसो अनि दुवै मिर्गौला र त्यसमा भएको बोसो निकाले। मोसाले ती सबैलाई वेदीमा जलाए।*+ १७  तर बहरको बाँकी सबै भाग अर्थात्‌ त्यसको छाला, मासु र गोबर तिनले छाउनीबाहिर जलाउन लगाए।+ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले गरे। १८  त्यसपछि तिनले अग्निभेटीको थुमालाई नजिकै ल्याए अनि हारुन र उनका छोराहरूले त्यस थुमाको टाउकोमाथि आफ्नो हात राखे।+ १९  अनि मोसाले त्यसलाई काटे र त्यसको रगत वेदीको चारैतिर छर्के। २०  तिनले त्यस थुमालाई टुक्राटुक्रा पारे र त्यसको टाउको, मासुका टुक्राहरू र बोसो* जलाए। २१  तिनले त्यसको आन्द्रा र खुट्टाहरू पानीले पखाले; तिनले पूरै थुमालाई वेदीमाथि जलाए। यस अग्निभेटीबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना थियो। यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै यो उहाँको निम्ति आगोमा जलाएर चढाइने भेटी हो। २२  त्यसपछि तिनले अर्को थुमा अर्थात्‌ पुजारी नियुक्‍त गर्दा चढाइने थुमा ल्याए+ अनि हारुन र उनका छोराहरूले त्यसको टाउकोमाथि आफ्नो हात राखे।+ २३  मोसाले त्यसलाई काटे र त्यसको अलिकति रगत लिएर हारुनको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा लगाइदिए। २४  त्यसपछि मोसाले हारुनका छोराहरूलाई अगाडि ल्याए र अलिकति रगत लिएर तिनीहरूको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा लगाइदिए; बाँकी रगतचाहिँ तिनले वेदीको चारैतिर छर्के।+ २५  अनि तिनले बोसो, बोसेपुच्छर,* आन्द्रालाई ढाक्ने बोसो, कलेजोमाथिको बोसो, दुवै मिर्गौला र त्यसमाथि भएको बोसो र दाहिने खुट्टा लिए।+ २६  तिनले यहोवा परमेश्‍वरसामु भएको अखमिरा रोटीको डालोबाट सेल आकारको एउटा अखमिरा रोटी,+ तेलमा मुछेर पकाइएको एउटा अखमिरा रोटी+ र एउटा अखमिरा पापडी लिए। अनि तिनले ती सबैलाई थुमाको बोसो र दाहिने खुट्टामाथि राखे। २७  त्यसपछि मोसाले ती सबैलाई हारुन र उनका छोराहरूको हत्केलामा राखिदिए र डोलाउने भेटीको रूपमा यहोवा परमेश्‍वरसामु डोलाए।* २८  अनि मोसाले तिनीहरूको हातबाट ती लिए र अग्निभेटीमाथि राखेर वेदीमा जलाए। पुजारी नियुक्‍त गर्दा चढाइएको भेटीबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना थियो। २९  त्यसपछि मोसाले ह्‍याकुला लिए र डोलाउने भेटीको रूपमा यहोवा परमेश्‍वरसामु डोलाए।+ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै पुजारी नियुक्‍त गर्दा चढाइएको थुमाको यो भाग मोसाको भयो।+ ३०  अनि मोसाले अभिषेक गर्ने अलिकति तेल+ र वेदीमा भएको अलिकति रगत लिएर हारुन र उनको पोसाक अनि हारुनका छोराहरू र उनीहरूको पोसाकमा छर्किदिए। यसरी तिनले हारुन र उनको पोसाक अनि हारुनका छोराहरू+ र उनीहरूको पोसाक+ पवित्र पारे। ३१  अनि मोसाले हारुन र उनका छोराहरूलाई भने: “मासुलाई भेट हुने पालको प्रवेशद्वारनजिकै उसिन्‍नू+ र पुजारी नियुक्‍त गर्दा प्रयोग गरिएको टोकरीमा भएको रोटीसँगै त्यहीँ खानू किनकि परमेश्‍वरले मलाई यस्तो आज्ञा दिनुभएको छ, ‘हारुन र उनका छोराहरूले यो खाऊन्‌।’+ ३२  उब्रेको मासु र रोटीचाहिँ आगोमा जलाइदिनू।+ ३३  तिमीहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्न सात दिन लाग्नेछ। त्यसैले तिमीहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्न नसिद्धिएसम्म अर्थात्‌ सात दिनसम्म भेट हुने पालको प्रवेशद्वारबाट धेरै टाढा नजानू।+ ३४  तिमीहरूको प्रायश्‍चितको निम्ति आज हामीले जे गऱ्‍यौँ, यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै गरेका हौँ।+ ३५  तिमीहरू सात दिनसम्म दिनरात भेट हुने पालको प्रवेशद्वारनजिकै बस्नू+ र यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ गर्नू+ नत्र त तिमीहरू मर्नेछौ; परमेश्‍वरले मलाई दिनुभएको आज्ञा यही हो।” ३६  यहोवा परमेश्‍वरले मोसामार्फत जे आज्ञा गर्नुभएको थियो, हारुन र उनका छोराहरूले ती सबै पालन गरे।

फुटनोटहरू

शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “जुन पवित्र मुकुट हो।”
शब्दावली हेर्नुहोस्‌।
शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाए।”
वा “मिर्गौलावरिपरिको बोसो।”
शा., “शान्त पार्ने।”
बाइबलमा उल्लिखित ठाउँका भेडाहरूको पुच्छर कम्तीमा पाँच किलो हुने भएकोले मोटो हुन्छ।
वा “घुमाए।”