लेवी १:१-१७

 अनि यहोवा परमेश्‍वरले मोसालाई बोलाउनुभयो र भेट हुने पालबाट*+ तिनलाई यसो भन्‍नुभयो: २  “इस्राएलीहरूलाई भन, ‘यदि तिमीहरूमध्ये कसैले आफ्नो घरपालुवा जनावर यहोवाको निम्ति भेटी चढाउन चाहन्छौ भने त्यो जनावर आफ्नो गाईवस्तु वा भेडाबाख्राको बगालबाट ल्याउनू।+ ३  “‘त्यो अग्निभेटी* गाईवस्तुमध्येबाट ल्याइएको हो भने उसले निष्खोट बहर चढाओस्‌।+ उसले त्यसलाई भेट हुने पालको प्रवेशद्वारनजिक ल्याओस्‌ र राजीखुसीले यहोवा परमेश्‍वरसामु चढाओस्‌।+ ४  उसले त्यस अग्निभेटीको टाउकोमाथि आफ्नो हात राखोस्‌। परमेश्‍वरले उसको पापको प्रायश्‍चित होस्‌ भनेर त्यो भेटी स्विकार्नुहुनेछ। ५  “‘त्यसपछि त्यस बहरलाई यहोवा परमेश्‍वरसामु मारियोस्‌ अनि हारुनको सन्तान अर्थात्‌ पुजारीहरूले+ त्यसको रगत ल्याऊन्‌ र भेट हुने पालको प्रवेशद्वारनजिक भएको वेदीको चारैतिर छर्कून्‌।+ ६  अनि अग्निभेटीको लागि तयार पारिएको जनावरको छाला काढेर त्यसलाई टुक्राटुक्रा पार्नू।+ ७  हारुनको सन्तान अर्थात्‌ पुजारीहरूले वेदीमा आगो बालून्‌+ र आगोमा दाउरा मिलाएर राखून्‌। ८  हारुनको सन्तान अर्थात्‌ पुजारीहरूले त्यस जनावरको टाउको, बोसो* र मासुका टुक्राहरूलाई वेदीमा जलिरहेको दाउरामाथि मिलाएर राखून्‌।+ ९  त्यसको आन्द्रा र खुट्टाहरू पानीले पखाल्नू र पुजारीले ती सबैलाई अग्निभेटीको रूपमा वेदीमाथि जलाऊन्‌।* यो आगोमा जलाएर चढाइने भेटी हो, जसको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+ १०  “‘त्यो अग्निभेटी भेडाबाख्राको बगालबाट ल्याइएको हो भने+ उसले भेडाको अथवा बाख्राको निष्खोट पाठो चढाओस्‌।+ ११  त्यसलाई यहोवा परमेश्‍वरसामु वेदीको उत्तरतिर काट्‌नू अनि हारुनको सन्तान अर्थात्‌ पुजारीहरूले वेदीको चारैतिर त्यसको रगत छर्कून्‌।+ १२  त्यस जनावरलाई टुक्राटुक्रा पार्नू अनि पुजारीले टाउको, बोसो र ती टुक्राहरूलाई वेदीमा जलिरहेको दाउरामाथि मिलाएर राखून्‌। १३  त्यसको आन्द्रा र खुट्टाहरू पानीले पखाल्नू र पुजारीले ती सबैलाई वेदीमाथि जलाऊन्‌। यो अग्निभेटी हो, आगोमा जलाएर चढाइने भेटी, जसको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना हुनेछ। १४  “‘तर यहोवा परमेश्‍वरलाई अग्निभेटीको रूपमा चराचुरुङ्‌गी चढाउने हो भने उसले परेवाको बचेरा वा ढुकुर चढाओस्‌।+ १५  पुजारीले त्यसलाई वेदीमा ल्याएर त्यसको घाँटी निचोरून्‌ र त्यसलाई वेदीमाथि जलाऊन्‌ तर रगतचाहिँ वेदीको छेउमा निथारियोस्‌। १६  त्यसको गाँड निकाल्नू र भुत्ला खुइलाउनू अनि वेदीको पूर्वपट्टि खरानी* भएको ठाउँमा फ्याँक्नू।+ १७  त्यसलाई दुई फ्याक नपारी पखेटाहरूबाट चिर्नू। त्यसपछि पुजारीले त्यसलाई वेदीमा बलिरहेको दाउरामाथि जलाऊन्‌। यो अग्निभेटी हो, आगोमा जलाएर चढाइने भेटी, जसको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना हुनेछ।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “मिर्गौलावरिपरिको बोसो।”
शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाऊन्‌।”
शा., “शान्त पार्ने।”
वा “बोसो मिसिएको खरानी।” यसले बलि चढाइएका जनावरहरूको बोसो मिसिएको खरानीलाई जनाउँछ।