लेवी १७:१-१६
१७ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो:
२ “हारुन, उनका छोराहरू र सबै इस्राएलीलाई यसो भन्नू, ‘यहोवा परमेश्वरले यस्तो आज्ञा दिनुभएको छ:
३ “‘“यदि कुनै इस्राएलीले बहर, भेडा वा बाख्रालाई छाउनीभित्र वा बाहिर काट्छ
४ तर उसले यहोवा परमेश्वरको वासस्थानसामु* यहोवा परमेश्वरलाई चढाउन त्यस जनावरलाई भेट हुने पालको* प्रवेशद्वारनजिक ल्याएर काट्दैन भने ऊ रगतको दोषी हुन्छ। उसले रगत बगाएको छ; त्यसैले उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।*
५ इस्राएलीहरूले अबदेखि यहोवा परमेश्वरको लागि खुला मैदानमा बलि नचढाऊन् तर भेट हुने पालको प्रवेशद्वारमा ल्याएर त्यो जनावर पुजारीलाई देऊन् भनेर यो नियम दिइएको हो। इस्राएलीहरूले यी जनावरहरूलाई मेलबलिको रूपमा यहोवा परमेश्वरको निम्ति चढाऊन्।+
६ अनि पुजारीले जनावरको रगत भेट हुने पालको प्रवेशद्वारनजिक भएको यहोवा परमेश्वरको वेदीमा छर्कून् अनि बोसोचाहिँ जलाऊन्।* यसबाट निस्केको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+
७ अबदेखि तिनीहरूले बोकाजस्तै देखिने भूतप्रेतको*+ निम्ति बलि नचढाऊन्, जसलाई तिनीहरू पुज्छन्।*+ तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू।”’
८ “तिमीले तिनीहरूलाई यसो भन्नू, ‘कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले अग्निभेटी वा अरू कुनै बलि चढाउँछ
९ तर त्यो बलि यहोवा परमेश्वरको निम्ति चढाउन भेट हुने पालको प्रवेशद्वारनजिक ल्याउँदैन भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।*+
१० “‘कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले रगत खाएमा+ म उसलाई त्याग्नेछु र उसलाई समुदायबाट हटाउनेछु।*
११ किनकि हरेक जीवजीवातको जीवन* त्यसको रगतमा हुन्छ।+ अनि तिमीहरूको पापको प्रायश्चित गर्न मैले रगतचाहिँ वेदीमा खन्याउनू भन्ने आज्ञा दिएको छु।+ रगतमा जीवन हुने भएकोले त्यसले तिमीहरूको निम्ति प्रायश्चित गरिदिन्छ।+
१२ त्यसैले मैले इस्राएलीहरूलाई यस्तो आज्ञा दिएको हुँ: “कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले+ रगत नखाओस्।”+
१३ “‘तिमीहरूले खान हुने जङ्गली जनावर या चराचुरुङ्गी कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले सिकार गरेर ल्याएमा उसले त्यसको रगत निथारेर+ भुईँमा पुरिदेओस्।
१४ हरेक जीवजीवातको जीवन त्यसको रगतमा हुन्छ; त्यसैले त्यसको जीवन भनेको त्यसको रगत हो। यसैकारण मैले इस्राएलीहरूलाई यस्तो आज्ञा दिएँ: “तिमीहरूले रगत नखानू किनकि हरेक जीवजीवातको रगत नै त्यसको जीवन हो। कसैले रगत खाएमा उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।”*+
१५ कुनै स्वदेशी वा विदेशीले मरेको जनावरको मासु वा जङ्गली जनावरले मारेको जनावरको मासु खाएमा+ उसले आफ्नो लुगा धोओस्, नुहाओस् र ऊ साँझसम्म अशुद्ध रहोस्;+ त्यसपछि ऊ शुद्ध हुनेछ।
१६ तर उसले लुगा धोएन र नुहाएन भने उसले आफ्नो गल्तीको सजाय भोग्नेछ।’”+
फुटनोटहरू
^ वा “मार्नै पर्छ।”
^ शा., “माथिसम्म धुवाँ उठ्नेगरि जलाऊन्।”
^ शा., “शान्त पार्ने।”
^ शा., “बोकाहरूको।”
^ शा., “जससित तिनीहरू अवैध यौनसम्बन्ध राख्छन्।”
^ वा “मारियोस्।”
^ वा “मृत्युदण्ड दिनेछु।”
^ शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्।
^ वा “मारियोस्।”