हिब्रू २:१-१८

  • सदाभन्दा बढी ध्यान देओ (१-४)

  • सबै कुरा येसुको अधीनमा राखियो (५-९)

  • येसु र उहाँका भाइहरू (१०-१८)

    • तिनीहरूको उद्धार गर्ने मुख्य माध्यम (१०)

    • कृपालु प्रधानपुजारी (१७)

 यसैकारण आफूले सुनेका कुराहरूमा हामीले सदाभन्दा बढी ध्यान दिनु आवश्‍यक छ+ ताकि हामी कहिल्यै तर्केर नजाऔँ।+ २  यदि स्वर्गदूतहरूद्वारा बताइएको वचन+ त पक्का साबित भयो र ज-जसले त्यसको विरुद्धमा अपराध गरे अनि अनाज्ञाकारी भए, तिनीहरूले न्यायबमोजिम दण्ड पाए भने+ ३  यस्तो महान्‌ उद्धारलाई बेवास्ता गरेर हामी कसरी बचौँला?+ यो उद्धार यसैकारणले महान्‌ छ किनभने यसबारे हाम्रा प्रभुले पहिला बताउनुभयो+ अनि उहाँको कुरा सुनेकाहरूले यो कुरा सत्य हो भनेर हाम्रो लागि पुष्टि गरिदिए। ४  साथै परमेश्‍वरले पनि चमत्कार, आश्‍चर्यजनक कार्य र विभिन्‍न शक्‍तिशाली कामहरूद्वारा+ अनि उहाँको इच्छाबमोजिम बाँडिएको पवित्र शक्‍तिद्वारा+ यसको साक्षी दिनुभयो। ५  किनकि आउनेवाला पृथ्वी, जसबारे हामीले बताइरहेका छौँ, उहाँले त्यसलाई स्वर्गदूतहरूको अधीनमा राख्नुभएको छैन।+ ६  तर एक जना साक्षीले एक ठाउँमा यसो भनेका छन्‌: “मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ वा मानिसका सन्तान के हुन्‌ र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?+ ७  तपाईँले उसलाई स्वर्गदूतहरूभन्दा केही मात्र कम गरेर बनाउनुभयो; तपाईँले उसलाई गौरव र आदरको मुकुट पहिऱ्‍याउनुभयो अनि आफ्नो हातको रचनामाथि अधिकार दिनुभयो। ८  तपाईँले सबै कुरा उसको पाउमुनि राखिदिनुभयो।”+ परमेश्‍वरले सबै कुरा उहाँको अधीनमा राख्नुभयो,+ परमेश्‍वरले उहाँको अधीनमा नराख्नुभएको कुनै कुरा छैन।+ यद्यपि अहिले सबै कुरा उहाँको अधीनमा भइसकेको हामीले अझै देखेका छैनौँ।+ ९  तर हामीले येसुलाई भने देखेका छौँ, जो स्वर्गदूतहरूभन्दा अलि निम्न कोटिको बनाइनुभएको थियो+ र मृत्यु भोग्नुभएकोले अहिले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ।+ परमेश्‍वरको असीम अनुग्रहद्वारा उहाँले सबैको निम्ति मृत्यु चाख्नुभयो।+ १०  सबै कुरा परमेश्‍वरको लागि अस्तित्वमा आए अनि उहाँद्वारै ती अस्तित्वमा छन्‌। यसैले धेरै छोरालाई महिमित पार्नको लागि+ उहाँले तिनीहरूको उद्धार गर्ने मुख्य माध्यमलाई+ दुःखकष्ट सहन दिएर पूर्ण बनाउनु उचित थियो।+ ११  जसले पवित्र पार्दै हुनुहुन्छ अनि जसलाई पवित्र पारिँदै छ,+ दुवै एकै जनाबाट आएका हुन्‌+ र यसैकारण उहाँ तिनीहरूलाई आफ्ना भाइहरू भन्‍न सर्माउनुहुन्‍न,+ १२  जस्तो उहाँ भन्‍नुहुन्छ: “म तपाईँको नाम मेरा दाजुभाइलाई बताउनेछु; समुदायमा म तपाईँको स्तुतिगान गाउनेछु।”+ १३  अनि फेरि: “म उहाँमा मेरो भरोसा राख्नेछु।”+ अनि फेरि: “हेर! म अनि मेरा साना छोराहरू, जो यहोवाले* मलाई दिनुभएको हो।”+ १४  तसर्थ “छोराहरू” रगत र मासुले बनेका हुनाले उहाँ पनि तिनीहरूजस्तै हुनुभयो+ ताकि जससित मृत्युमा पुऱ्‍याउने क्षमता छ, त्यसलाई+ अर्थात्‌ दियाबललाई आफ्नो मृत्युद्वारा नामेट पार्न सकियोस्‌+ १५  अनि मृत्युको डरले गर्दा जो-जो जीवनभरि दासत्वमा परेका थिए, तिनीहरू सबैलाई मुक्‍त गर्न सकियोस्‌।+ १६  किनकि उहाँले वास्तवमा स्वर्गदूतहरूलाई होइन तर अब्राहामको सन्तानलाई मदत गरिरहनुभएको छ।+ १७  यसैकारण परमेश्‍वरसित सम्बन्धित कुराहरूमा कृपालु र विश्‍वासयोग्य प्रधानपुजारी बन्‍न सकियोस्‌ र यसरी मानिसहरूको पापको लागि प्रायश्‍चितको बलिदान+ चढाउन* सकियोस्‌ भनेर+ उहाँ हरतवरमा आफ्ना “भाइहरू” जस्तै बन्‍नु आवश्‍यक थियो।+ १८  परीक्षामा परेको बेला उहाँ आफैले दुःख भोगिसक्नुभएकोले+ परीक्षामा परिरहेकाहरूलाई मदत गर्न उहाँ सक्षम हुनुहुन्छ।+

फुटनोटहरू

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “पापको प्रायश्‍चित गर्न।”