हितोपदेश १८:१-२४
१८ जो अरूदेखि अलग्गै बस्न खोज्छ, उसले आफ्नै स्वार्थ पूरा गर्न खोज्छ;
उसले अरूले दिएको बुद्धिमानी सल्लाह* सुन्दैन।*
२ मूर्ख मानिसले कुनै कुरा बुझ्ने इच्छा गर्दैन
बरु ऊ आफ्नै विचार मात्र प्रकट गर्न चाहन्छ।+
३ जहाँ दुष्ट मानिस जान्छ, त्यहाँ घृणा पनि पछि लाग्छ
अनि जसले आदरयोग्य काम गर्दैन, उसको अपमान हुन्छ।+
४ मानिसको बोली गहिरो पानीजस्तै हो+
अनि बुद्धिको मुहानचाहिँ बगिरहने खोलाजस्तै हो।
५ दुष्टको पक्ष लिनु राम्रो होइन+
अनि धर्मी मानिसलाई न्याय नदिनु उचित होइन।+
६ मूर्खको बोलीले झगडा निम्त्याउँछ+
अनि आफ्नो मुखले गर्दा उसले पिटाइ खान्छ।+
७ आफ्नो मुखले गर्दा मूर्खको पतन हुन्छ;+
उसको बोली* नै उसको लागि पासो बन्छ।
८ निन्दा गर्ने मानिसको बोली मीठो गाँसजस्तै* हो;+
त्यसलाई निलेपछि सलक्क पेटमा जान्छ।+
९ काम गर्न अल्छी गर्ने मानिस
र अरूको बिगार गर्ने मानिस दाजुभाइ हुन्।+
१० यहोवाको नाम बलियो धरहरा हो;+
धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।+
११ धनी मानिसले आफ्नो सम्पत्तिलाई सुरक्षित सहर*
अनि आफ्नो रखवाली गर्ने पर्खाल ठान्छ।+
१२ मानिसको पतन हुनुअघि उसको हृदयमा घमन्ड पलाउँछ+
तर नम्र मानिसले सम्मान पाउँछ।+
१३ जसले राम्ररी कुरा सुन्नुअघि नै जवाफ दिन्छ,
उसले मूर्खता प्रकट गर्छ र आफ्नै बेइज्जती गर्छ।+
१४ मन बलियो भएको मानिस रोगबिमारसित पनि जुझ्न सक्छ+
तर मनै भाँचिएको* छ भने कसले सम्हाल्ने?+
१५ समझदार मानिसको हृदयले ज्ञान हासिल गर्छ;+
बुद्धिमान् मानिसको कानले ज्ञानको खोजी गर्छ।
१६ जसले उपहार दिन्छ, उसको निम्ति बाटो खुल्छ;+
त्यसले उसको पहुँच ठूलाठालुसम्म पुऱ्याउँछ।
१७ मुद्दामामिलामा विपक्षी आएर केरकार नगरुन्जेल
सुरुमा मुद्दा हाल्ने पक्ष नै सही देखिन्छ।+
१८ गोला हाल्दा विवादको टुङ्गो लाग्छ+
र दुई कट्टर विरोधीबीच फैसला हुन्छ।
१९ चित्त दुखाएर बसेको साथीलाई मनाउनुभन्दा पर्खालले घेरिएको सहर जित्नु सजिलो हुन्छ+
अनि कुनै-कुनै किचलो दरबारका ढोकाहरूजस्तै हुन्छ।+
२० आफूले बोलेको कुराले मानिसले आफ्नो पेट भर्छ;+
उसले जे बोल्छ, त्यसकै फल पाउँछ।
२१ जिब्रोमा जीवन र मृत्युको शक्ति हुन्छ;+
मानिसले जे बोल्न मन पराउँछ, त्यस्तै फल पाउँछ।+
२२ असल पत्नी पाउनु अनमोल कुरा पाउनु हो;+
जसले असल पत्नी पाउँछ, उसले यहोवाको निगाह* पनि पाउँछ।+
२३ गरिब मानिसले गिडगिडाउँदै बिन्ती गर्छ
तर धनी मानिसले रुखो जवाफ फर्काउँछ।
२४ कुनै-कुनै साथी अरूलाई बरबाद पार्न समेत पछि पर्दैन+
तर कुनै-कुनै साथी भने साक्खै दाजुभाइभन्दा पनि घनिष्ठ हुन्छ।+
फुटनोटहरू
^ वा “व्यावहारिक ज्ञान।”
^ वा “सल्लाहलाई घृणा गर्छ।”
^ शा., “ओठ।”
^ वा “स्वाद लिई-लिई खाने भोजनजस्तै।”
^ वा “चारैतिर पर्खालले घेरिएको सहर।”
^ वा “निराशामा डुबेको।”
^ वा “अनुमोदन।”