लेवी १९:१-३७
१९ यहोवा परमेश्वरले मोसालाई अझ भन्नुभयो:
२ “इस्राएलीहरूको सारा समुदायलाई यसो भन, ‘तिमीहरू पवित्र होओ किनकि म तिमीहरूका परमेश्वर यहोवा पवित्र छु।+
३ “‘तिमीहरूले आफ्नो आमा र बुबाको आदर गर्नू*+ अनि मैले तोकेको विश्रामदिन* मान्नू।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ।
४ तिमीहरू व्यर्थका देवताहरूको पछि नलाग्नू+ अथवा धातु ढालेर आफ्नो लागि मूर्तिहरू नबनाउनू।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ।
५ “‘तिमीहरूले यहोवा परमेश्वरको निम्ति मेलबलि चढाउँदा+ आफू ग्रहणयोग्य हुने तरिकामा चढाउनू।+
६ मेलबलिको मासु बलि चढाइएकै दिन र भोलिपल्ट खानू तर पर्सिपल्टसम्म बाँकी भयो भने त्यसलाई आगोमा जलाइदिनू।+
७ पर्सिपल्ट खाएमा त्यो घिनलाग्दो हुनेछ; परमेश्वरले त्यसलाई स्विकार्नुहुनेछैन।
८ यसरी खानेले आफ्नो गल्तीको सजाय भोग्नेछ किनकि उसले यहोवा परमेश्वरको निम्ति चढाइएको पवित्र कुरालाई अपवित्र तुल्यायो। त्यसैले उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।*
९ “‘जब तिमीहरू कटनी गर्छौ, तब खेतको कुनाकुनासम्म नकाट्नू र सिलाबाला* नबटुल्नू।+
१० अनि अङ्गुर बगानमा बाँकी भएका वा भुईँमा झरेका अङ्गुरहरू पनि नबटुल्नू। त्यो गरिब*+ र तिमीहरूमाझ बसोबास गर्ने विदेशीहरूको लागि छोडिदिनू। म तिमीहरूका परमेश्वर यहोवा हुँ।
११ “‘तिमीहरूले चोरी नगर्नू,+ छल नगर्नू+ र बेइमानी नगर्नू।
१२ तिमीहरूले मेरो नाममा झूटो कसम खाएर+ मेरो नामलाई अपवित्र नपार्नू। म यहोवा हुँ।
१३ तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू+ र उसलाई नलुट्नू।+ ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।+
१४ “‘तिमीहरूले बहिरालाई नसराप्नू वा अन्धाको अगाडि ठेस लाग्ने कुरा नराख्नू;+ तिमीहरूले मेरो डर मान्नू।+ म यहोवा हुँ।
१५ “‘तिमीहरूले न्याय गर्दा त्यसलाई नबङ्ग्याउनू। कोही गरिब छ भन्दैमा तिमीहरूले उसको पक्ष लिई नहाल्नू अनि धनीको पक्ष पनि नलिनू।+ आफ्नो छिमेकीको न्याय ठीक तरिकामा गर्नू।
१६ “‘तिमीहरूले अरूको निन्दा गर्दै नहिँड्नू;+ आफ्नो छिमेकीको ज्यान लिन नखोज्नू।*+ म यहोवा हुँ।
१७ “‘तिमीहरूले मनमनै आफ्नो दाजुभाइलाई घृणा नगर्नू।+ यदि तिम्रो छिमेकीले पाप गऱ्यो भने उसलाई हप्काऊ+ नत्र त तिमी पनि उसको पापमा सामेल भएको ठहरिनेछ।
१८ “‘तिमीहरूले आफ्ना मानिसहरूसित बदला नलिनू+ वा तिनीहरूविरुद्ध मनमा रिस नपाल्नू। तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।+ म यहोवा हुँ।
१९ “‘तिमीहरूले मेरा यी विधिविधान पनि पालन गर्नू: तिमीहरूले दुई किसिमको घरपालुवा जनावरबीच सहवास नगराउनू; आफ्नो खेतमा दुई किसिमको बिउ नलगाउनू+ अनि दुई किसिमको धागो प्रयोग गरेर बुनेको लुगा नलगाउनू।+
२० “‘यदि कुनै मानिसले अरूसित विवाह गर्न पक्का भइसकेकी दासीसित यौनसम्बन्ध राख्छ तर उसलाई दाम तिरेर छुटाइएको छैन वा ऊ अझै पनि स्वतन्त्र भएकी छैन भने तिनीहरू दुवैलाई सजाय दिनू। तिनीहरूलाई मृत्युदण्डचाहिँ नदिनू किनभने त्यो दासी स्वतन्त्र भइसकेकी छैन।
२१ त्यस मानिसले आफ्नो दोषभेटी यहोवा परमेश्वरलाई चढाउन एउटा थुमा भेट हुने पालको* प्रवेशद्वारमा ल्याओस्।+
२२ दोषभेटीको त्यो थुमा पुजारीले यहोवा परमेश्वरलाई चढाऊन् र उसको पापको निम्ति प्रायश्चित गरिदेऊन्। त्यसपछि उसको पाप क्षमा हुनेछ।
२३ “‘मैले तिमीहरूलाई दिन लागेको देशमा पुगेपछि जब तिमीहरूले त्यहाँ फलफूलको बोट रोप्छौ, तब त्यसको फललाई अपवित्र ठान्नू र त्यो नखानू; तिमीहरूले तीन वर्षसम्म त्यसको फल नखानू।
२४ तर चौथो वर्षमा त्यसको सबै फल पवित्र हुनेछ र तिमीहरूले खुसीयाली मनाउँदै ती फल यहोवा परमेश्वरलाई चढाउनेछौ।+
२५ पाँचौँ वर्षमा चाहिँ तिमीहरूले त्यसको फल खान सक्छौ र त्यसमा प्रशस्त फल लाग्नेछ। म तिमीहरूका परमेश्वर यहोवा हुँ।
२६ “‘तिमीहरूले रगत भएको केही चिज नखानू।+
“‘तिमीहरूले शकुन-अपशकुन नहेर्नू वा जादुगरी नगर्नू।+
२७ “‘तिमीहरूले कन्चटमुनिको कपाल नकाट्नू अथवा दाह्रीको कुनाकुनासम्म काटेर त्यसको आकार नबिगार्नू।*+
२८ “‘तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि जीउमा कुनै किसिमको आकृति नखोप्नू। म यहोवा हुँ।
२९ “‘तिमीहरूले आफ्नी छोरीलाई वेश्या बनाएर उसको अनादर नगर्नू+ नत्र त तिमीहरूको देश वेश्याहरूले भरिनेछ र त्यहाँ नैतिक पतन हुनेछ।+
३० “‘तिमीहरूले मैले तोकेको विश्रामदिन मान्नू+ र मेरो पवित्र स्थानप्रति* गहिरो श्रद्धा देखाउनू।* म यहोवा हुँ।
३१ “‘तिमीहरू भूतप्रेत खेलाउनेहरूकहाँ+ र भावी बताउने व्यक्तिहरूकहाँ+ नजानू नत्र त तिमीहरू अशुद्ध हुनेछौ। म तिमीहरूका परमेश्वर यहोवा हुँ।
३२ “‘फुलेको कपाल हुनेहरूको सामने उठ+ र बुढापाकाको आदर गर;+ यसरी तिमीहरूले मेरो डर मान्नू।+ म यहोवा हुँ।
३३ “‘तिमीहरूमाझ कुनै विदेशी बसोबास गर्छ भने उसलाई दुर्व्यवहार नगर्नू।+
३४ तिमीहरू स्वदेशीलाई जस्तो व्यवहार गर्छौ, तिमीहरूमाझ बसोबास गर्ने विदेशीलाई पनि त्यस्तै व्यवहार गर्नू।+ उसलाई आफूलाई जस्तै माया गर्नू किनकि तिमीहरू पनि मिश्रमा विदेशी थियौ।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ।
३५ “‘तिमीहरूले नाप्दा, जोख्दा वा भर्दा बेइमानी नगर्नू।+
३६ तिमीहरूले ठीक-ठीक तराजु र ढक अनि ठीक-ठीक नापतौल* प्रयोग गर्नू।+ म तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने तिमीहरूका परमेश्वर यहोवा हुँ।
३७ तिमीहरूले मेरा विधिविधान र फैसला कहिल्यै नबिर्सनू अनि ती सधैँ पालन गर्नू।+ म यहोवा हुँ।’”
फुटनोटहरू
^ शा., “डर मान्नू।”
^ हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
^ वा “मारियोस्।”
^ बाली काट्दा जमिनमा खसेको वा छुटेको बाला।
^ वा “दुःख पाएकाहरू।”
^ वा सम्भवतः “आफ्नो छिमेकीको ज्यान खतरामा परेको देख्दा हेरेर नबस्नू।”
^ यसले मूर्तिपूजकहरूको प्रचलनलाई सङ्केत गरेको हुन सक्छ।
^ शा., “मेरो पवित्र स्थानको डर मान्नू।”
^ शा., “ठीक-ठीक एपा र हिन।” अतिरिक्त लेख ख१४ हेर्नुहोस्।

