सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवालाई प्रसन्‍न तुल्याउने प्रशंसाका बलिदानहरू

यहोवालाई प्रसन्‍न तुल्याउने प्रशंसाका बलिदानहरू

यहोवालाई प्रसन्‍न तुल्याउने प्रशंसाका बलिदानहरू

“आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।”–रोमी १२:१.

१. मोशाको व्यवस्थाअन्तर्गत चढाउनु पर्ने बलिदानहरूको सापेक्षिक मोलबारे बाइबल के भन्छ?

 “व्यवस्थामा अब आउने उत्तम कुराहरूको स्वयं स्वरूप नभई, छाया मात्र भएको हुनाले, सालिन्दै तिनीहरूले नित्य चढ़ाइरहने त्यही किसिमको बलिदानहरूले नजीक आउनेहरूलाई कदापि शुद्ध पार्नसक्‍तैन।” (हिब्रू १०:१) प्रेरित पावलले मोशालाई दिइएको व्यवस्थाअन्तर्गत मानिसको छुटकाराको सम्बन्धमा दिइने सम्पूर्ण बलिदानहरूको कुनै स्थायी मूल्य छैन भनेर यसरी एउटै वाक्यमा सफासित बताए।—कलस्सी २:१६, १७.

२. व्यवस्थामा उल्लिखित भेटी तथा बलिदानहरूबारे दिइएको विस्तृत जानकारी बुझ्न खोज्नु किन व्यर्थ छैन?

के यसको अर्थ, पेन्टाटुकमा भेटी तथा बलिदानहरूबारे दिइएको जानकारी आज मसीहीहरूका लागि कुनै महत्त्वको छैन त? वास्तवमा, विश्‍वभरि यहोवाका साक्षीहरूको मण्डलीमा ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिने व्यक्‍तिहरूले एक वर्षभन्दा अघिदेखि पढ्‌न थालेको बाइबलका प्रथम पाँच पुस्तकहरू हालै मात्र सिद्धिएको छ। कसै कसैलाई सम्पूर्ण विवरणहरू पढ्‌न र बुझ्न गाह्रो परेको थियो। के तिनीहरूको प्रयास त्यसै खेर गयो त? त्यसो त पक्कै होइन, किनकि “जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्‌।” (रोमी १५:४) त्यसोभए, अब यस्तो प्रश्‍न खडा हुन्छ: व्यवस्थामा भेटी तथा बलिदानहरूबारे दिइएको प्रशस्त जानकारीहरूबाट हामी कस्तो “निर्देशन” तथा “शान्ति” प्राप्त गर्नसक्छौं?

हाम्रो निर्देशन र शान्तिका लागि

३. हाम्रो आधारभूत आवश्‍यकता के हो?

व्यवस्थाले तोकेअनुसार साँच्चै बलिदानहरू चढाउनु आवश्‍यक नभए तापनि कमसे कम बलिदानहरूद्वारा इस्राएलीहरूले जे उद्देश्‍य हासिल गरे, त्यो हामीसित पनि हुनु जरुरी छ। अनि त्यो हो, हाम्रा पापहरूको क्षमा र परमेश्‍वरसितको राम्रो सम्बन्ध। अहिले हामी साँच्चैका बलिहरू चढाउँदैनौं। त्यसोभए, हामी बलिदानबाट ती फाइदाहरू कसरी उठाउनसक्छौं? पशुबलिको सीमिततालाई औंल्याएपछि पावलले यसो भने: “संसारमा आउनुहुँदा [येशूले] भन्‍नुभयो, ‘बलिदान र भेटी तपाईंले चाहनुभएन, तर मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो। होमबलिहरू र पापबलिहरूमा तपाईं प्रसन्‍न हुनुभएन। तब मैले भनें, “हेर्नुहोस्‌, हे परमेश्‍वर, तपाईंकै इच्छा पूरा गर्नालाई म आएको छु।” (पुस्तकको मुट्ठामा मेरो विषयमा लेखिएको छ)।’ ”—हिब्रू १०:५-७.

४. पावलले भजन ४०:६-८ येशूमाथि कसरी प्रयोग गरे?

भजन ४०:६-८ बाट उद्धरण गर्दै पावलले येशू “बलिदान र भेटी” अनि “होमबलिहरू र पापबलिहरू”-लाई निरन्तरता दिन आउनुभएको होइन भनेर उल्लेख गरे। पावलले यी कुराहरू लेख्दासम्ममा यी सब बलिदानहरूलाई परमेश्‍वरले अनुमोदन दिन छोडिसक्नुभएको थियो। बरु, येशू स्वर्गमा हुनुहुने आफ्नो पिताले तयार पारिदिनुभएको शरीरसहित आउनुभयो। यो शरीर परमेश्‍वरले सृष्टि गर्नुभएको आदमको शरीरसित हर तवरमा बराबर थियो। (उत्पत्ति २:७; लूका १:३५; १ कोरिन्थी १५:२२, ४५) परमेश्‍वरको सिद्ध छोराको नाताले येशूले उत्पत्ति ३:१५ मा भनिएकी स्त्रीको “सन्तान[को]” भूमिका निर्वाह गर्नुपर्थ्यो। येशूको ‘कुर्कुच्चोमा डसिने’ भए तापनि उहाँले ‘शैतानको शिर कुच्याउनु हुनेथियो।’ यसप्रकार, येशू मानिसजातिको उद्धारको निम्ति यहोवाले मिलाउनुभएको प्रबन्ध हुनुभयो र यही प्रबन्धको प्रतीक्षा विश्‍वासी मानिसहरूले हाबिलको समयदेखि गरिरहेका थिए।

५, ६. मसीहीहरूसित परमेश्‍वर समीप जाने कस्तो उच्चतम मार्ग छ?

येशूले निर्वाह गर्नुभएको यस विशेष भूमिकाबारे उल्लेख गर्दा पावलले यसो भने: “हामी उहाँमा परमेश्‍वरको धार्मिकता हुन पाऔं भनेर पापै थाह नपाउनु हुनेलाई पनि [परमेश्‍वरले] हाम्रा निम्ति पाप तुल्याउनुभयो।” (२ कोरिन्थी ५:२१) यहाँ “पाप तुल्याउनुभयो” भन्‍ने अभिव्यक्‍तिलाई ‘पापबलिसरह तुल्याउनुभयो’ भनेर पनि अनुवाद गर्न सकिन्छ। प्रेरित यूहन्‍नाले यसो भने: “उहाँ हाम्रा पापको निम्ति प्रायश्‍चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन, तर सबै संसारका निम्ति पनि।” (१ यूहन्‍ना २:२) यसप्रकार, इस्राएलीहरू बलिदानहरूमार्फत परमेश्‍वरसित अस्थायी रूपमा मात्र नजिक हुनसक्थे भने, मसीहीहरूसित परमेश्‍वरसित नजिक हुने उच्चतम आधार अर्थात्‌ येशू ख्रीष्टको बलिदान थियो। (यूहन्‍ना १४:६; १ पत्रुस ३:१८) परमेश्‍वरले प्रबन्ध गर्नुभएको छुटकाराको बलिदानमाथि विश्‍वास गऱ्‍यौं र उहाँको आज्ञा पालन गऱ्‍यौं भने हाम्रा पापहरू क्षमा हुनुका साथै हामीले परमेश्‍वरको अनुमोदन तथा आशिष्‌ पनि पाउनेछौं। (यूहन्‍ना ३:१७, १८) के यो सान्त्वनाको स्रोत होइन र? त्यसोभए, छुटकाराको बलिदानमाथि विश्‍वास गर्छौं भनेर हामी कसरी देखाउनसक्छौं?

मसीहीहरूसित परमेश्‍वरसित नजिक हुने उच्चतम आधार छ भनेर व्याख्या गरिसकेपछि प्रेरित पावलले परमेश्‍वरको मायालु प्रबन्धप्रति हाम्रो विश्‍वास र मूल्यांकन जाहेर गर्ने तीन तरिकाहरूबारे हिब्रू १०:२२-२५ मा लेखे। हुन त, पावलले यो सल्लाह मुख्यतया “पवित्रस्थानमा प्रवेश” गर्नेहरू, अर्थात्‌ स्वर्गीय बोलावट भएका अभिषिक्‍त मसीहीहरूलाई दिएका थिए। यद्यपि, येशूले पापको प्रायश्‍चित्तको निम्ति दिनुभएको बलिदानबाट लाभ उठाउने हो भने सारा मानवजातिले पक्कै पनि पावलका प्रेरित वचनहरूमा ध्यान दिनु आवश्‍यक छ।—हिब्रू १०:१९.

शुद्ध तथा निष्कलंक बलिदानहरू चढाउनुहोस्‌

७. (क) हिब्रू १०:२२ ले बलिदान चढाउँदा जे गरिन्थ्यो, त्यसको कसरी प्रतिबिम्बित गर्छ? (ख) परमेश्‍वरलाई स्वीकार्य बलिदान चढाउन के गरेकै हुनुपर्थ्यो?

सर्वप्रथम, पावल मसीहीहरूलाई यस्तो आग्रह गर्छन्‌: “हाम्रा हृदय खराब विवेकबाट सफासँग छर्किएको र हाम्रा शरीर चोखो पानीले पखालिएको भई, हामी सच्चा हृदयसँग विश्‍वासको पूर्ण भरोसाले नजीक बढ़ौं।” (हिब्रू १०:२२) यहाँ प्रयोग गरिएका शब्दहरूले व्यवस्थाअन्तर्गत साँच्चै बलिदानहरू चढाइँदा के गरिन्थ्यो, त्यसको दुरुस्त प्रतिबिम्बित गर्छ। यो उपयुक्‍त छ, किनकि बलिदान ग्रहणयोग्य हुन त्यो सही मनोवृत्तिसहित चढाइएको हुनुपर्छ साथै शुद्ध तथा निष्कलंक हुनुपर्छ। बलिदान चढाइएको जनावर बथान अथवा बगालबाट छानिएको हुनुपर्थ्यो। भनाइको मतलब, जनावर शुद्ध तथा “निष्खोट” हुनुपर्थ्यो। चराचुरुंगी बलिदान चढाउन लागिएको हो भने, ढुकुर अथवा परेवाका बच्चाहरू हुनुपर्थ्यो। यी मागहरू पूरा गरिएको खण्डमा “प्रायश्‍चितको लागि ग्रहणयोग्य” हुनेथियो। (लेवी १:२-४, १०, १४; २२:१९-२५) खमिर, मिसावटको प्रतीक भएकोले अन्‍नबलिमा खमिर हुनुहुन्‍नथ्यो र मह, फलको रस भएकोले र त्यसले पनि खाद्य पदार्थलाई खमिरी बनाउने भएकोले मह पनि हाल्नुहुन्‍नथ्यो। वेदीमा अन्‍नबलि चढाउँदा होस्‌ वा पशुबलि, त्यसलाई कुहुन नदिन नुन छर्कनु पर्थ्यो।—लेवी २:११-१३.

८. (क) भेटी चढाउने व्यक्‍तिले कुन आवश्‍यकता पूरा गर्नुपर्थ्यो? (ख) हाम्रो उपासना यहोवाका लागि ग्रहणयोग्य बनाउन हामीले के गर्नुपर्छ?

बलिदान चढाउने व्यक्‍तिबारे चाहिं के भन्‍न सकिन्छ? यहोवाअघि आउने जोसुकै शुद्ध र निष्कलंक हुनुपर्छ भनेर व्यवस्थाले बताएको छ। कारणवश कोही अशुद्ध भयो भने त्यस व्यक्‍तिले पाप वा दोषबलि चढाउनुपर्थ्यो। त्यसपछि मात्र ऊ यहोवासामु सफा भएर खडा हुनसक्थ्यो र उसले चढाएको होमबलि वा मेलबलि यहोवामा ग्रहणयोग्य हुनसक्थ्यो। (लेवी ५:१-६, १५, १७) त्यसोभए, के हामी यहोवाअघि खडा हुन सफा अन्तस्करण हुनुपर्ने महत्त्वको मूल्यांकन गर्छौं? हामी हाम्रो उपासना ग्रहणयोग्य भएको चाहन्छौं भने, परमेश्‍वरको व्यवस्था उल्लंघन हुने बित्तिकै तुरुन्त त्यसलाई सुधार्नैपर्छ। परमेश्‍वरले दिनुभएको मदतको स्रोत अर्थात्‌ “मण्डलीको धर्म-गुरुहरू” र हाम्रो “पापको निम्ति प्रायश्‍चित,” येशू ख्रीष्टबाट तुरुन्तै मदत खोजिहाल्नुपर्छ।—याकूब ५:१४; १ यूहन्‍ना २:१, २.

९. यहोवालाई चढाइने बलिदानहरू र झूटा देवताहरूलाई चढाइने बलिदानहरूबीचको मुख्य भिन्‍नता के हो?

वास्तवमा कुनै पनि अशुद्ध कुराबाट अलग रहन जोड दिनु नै यहोवालाई चढाइने अनि इस्राएल राष्ट्र वरपर बस्ने मानिसहरूले तिनीहरूका झूटा देवताहरूलाई चढाउने बलिदानहरूबीचको ठूलो भिन्‍नता हो। मोशाको व्यवस्थामा उल्लिखित बलिदानहरूको विशिष्ट पक्षबारे एउटा सन्दर्भ सामग्रीले यसप्रकार टिप्पणी गऱ्‍यो: “मोशाको व्यवस्थाअन्तर्गत चढाइने बलिदानहरूको तन्त्रमन्त्र वा साइत कुसाइतसित कुनै सम्बन्ध थिएन; धार्मिक उन्माद, आफ्नो शरीरमा चोट पुऱ्‍याउने वा मन्दिरमा वेश्‍यावृत्ति गर्ने, कामुक रीतिहरू पूर्णतया प्रतिबन्धित थियो; नरबलि वा मृतकहरूका लागि बलिको कुनै ठाउँ थिएन।” यी सबले एउटै तथ्यमाथि ध्यानाकर्षण गर्छ र त्यो हो, यहोवा पवित्र हुनुहुन्छ र उहाँ कुनै पनि किसिमको पाप वा भ्रष्टतालाई हल्कासित लिनु वा मान्यता दिनुहुन्‍न। (हबकूक १:१३) उहाँलाई चढाइएको उपासना तथा बलिदानहरू शारीरिक, नैतिक तथा आध्यात्मिक तवरमा शुद्ध र निष्खोट हुनैपर्छ।—लेवी १९:२; १ पत्रुस १:१४-१६.

१०. रोमी १२:१, २ मा लिपिबद्ध पावलको सल्लाहअनुसार हामीले कस्तो आत्मपरीक्षण गर्नुपर्ने हो?

१० यस कुरालाई ध्यानमा राख्दै, यहोवासमक्ष हाम्रो सेवा ग्रहणयोग्य भएको चाहन्छौं भने हामीले हाम्रो जीवनको सम्पूर्ण पक्षलाई नियालेर हेर्नु आवश्‍यक छ। मसीही सभाहरूमा तथा सेवकाईमा भाग लिउञ्जेल हाम्रो निजी जीवनमा हामी जेसुकै गरौं, त्यो चिन्ता गर्नुपर्ने कुरा होइन भनेर कहिल्यै नसोचौं। मसीही क्रियाकलापमा भाग लियौं भने जीवनका अन्य पक्षहरूमा परमेश्‍वरको व्यवस्थाअनुसार हिंड्‌नुपर्दैन भनेर पनि हामीले कहिल्यै सोच्नु हुँदैन। (रोमी २:२१, २२) परमेश्‍वरको नजरमा हाम्रो सोचाइ अथवा गतिविधिलाई भ्रष्ट तुल्याउने कुनै पनि फोहोरी वा दूषित कुरामा हामी बिथोलित भयौं भने परमेश्‍वरको आशिष्‌ तथा अनुमोदन पाउने आशा हामी गर्नसक्दैनौं। पावलका यी शब्दहरू सम्झनुहोस्‌: “परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूको यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल। औ यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।”—रोमी १२:१, २.

सम्पूर्ण हृदयले स्तुतिका बलिदानहरू चढाउनुहोस्‌

११. हिब्रू १०:२३ मा उल्लिखित “जन घोषणा” भन्‍ने शब्दावलीमा के समावेश छ?

११ हिब्रूहरूलाई पत्र लेख्दा पावलले साँचो उपासनाको अर्को महत्त्वपूर्ण पक्षतर्फ ध्यान खिंचे: “यो नडग्मगाओस्‌ भनेर हाम्रो आशाको स्वीकारलाई [“जन घोषणालाई,” NW] हामी दृढ़सँग थामिराखौं। किनभने प्रतिज्ञा गर्नुहुने जो हुनुहुन्छ, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ।” (हिब्रू १०:२३) “जन घोषणा” अभिव्यक्‍तिको शाब्दिक अर्थ “स्वीकार्नु” हो र पावल “स्तुतिको बलिदान”-बारे पनि उल्लेख गर्छन्‌। (हिब्रू १३:१५) यसले हामीलाई हाबिल, नूह तथा अब्राहामजस्ता पुरुषहरूले चढाएको बलिदानको स्मरण गराउँछ।

१२, १३. होमबलि चढाउँदा इस्राएलीहरूले कुन कुरा स्वीकारिरहेका हुन्थे र त्यस्तै मनोभाव प्रकट गर्न हामी के गर्नसक्छौं?

१२ एक इस्राएलीले होमबलि चढाउँदा उसले त्यो बलि “राजीखुसीले यहोवाको सामने” चढाउनुपर्थ्यो। (लेवी १:३, NW) यस्तो बलिदानमार्फत, उसले स्वेच्छाले जन घोषणा गरिरहेको हुन्थ्यो वा यहोवाले आफ्ना जनहरूलाई दिनुभएको प्रचुर आशिष्‌ वा दया स्वीकारिरहेको हुन्थ्यो। होमबलिको उल्लेखनीय पक्ष बलि चढाइएको सम्पूर्ण पशुलाई नै वेदीमा जलाउनु थियो भनेर नबिर्सनुहोस्‌। यो अवश्‍य सम्पूर्ण भक्‍ति तथा समर्पणको सुहाउँदो प्रतीक थियो। त्यसै गरी, राजीखुसीले र सारा हृदयले यहोवालाई “स्तुतिको बलिदान, . . . जो हाम्रो ओठको फल हो,” चढाएर छुटकाराको बलिदानमाथि हाम्रो विश्‍वास प्रदर्शन गर्नुका साथै कृतज्ञता जाहेर गर्छौं।

१३ हुन त मसीहीहरू जनावर वा अन्‍नपात चढाउँदैनन्‌, तर तिनीहरू परमेश्‍वरको राज्यको सुसमाचारको साक्षी दिने र येशू ख्रीष्टको चेला बनाउने जिम्मेवारी वहन गर्छन्‌। (मत्ती २४:१४; २८:१९, २०) परमेश्‍वरले आज्ञाकारी मानिसजातिका लागि सञ्चय गरेर राख्नुभएका अद्‌भुत थोकहरूबारे थुप्रै मानिसहरूले थाह पाऊन्‌ भन्‍ने हेतुले के तपाईं जनसमक्ष सुसमाचार घोषणा गर्ने मौकाहरूको पूरापूर फाइदा उठाउनुहुन्छ? के तपाईं जिज्ञासुहरूलाई सिकाउन र उनीहरूलाई येशू ख्रीष्टको चेला बन्‍न मदत गर्न राजीखुसीले आफ्नो समय तथा श्रम खर्च गर्नुहुन्छ? हामीले जोसिलो भई सेवकाईमा भाग लियौं भने, होमबलिको मीठो सुवासले परमेश्‍वरलाई प्रसन्‍न तुल्याएझैं यसले पनि उहाँलाई प्रसन्‍न तुल्याउनेछ।—१ कोरिन्थी १५:५८.

परमेश्‍वर र मानिसहरूसितको संगतीमा रमाउनुहोस्‌

१४. पावलले हिब्रू १०:२४, २५ मा भनेका कुराहरू मेलबलिसित कसरी मेल खान्छ?

१४ अन्तमा, पावल परमेश्‍वरको उपासना गर्दा सँगी मसीहीहरूसितको हाम्रो सम्बन्ध कस्तो हुनुपर्छ, त्यसतर्फ हाम्रो ध्यान खिंच्छन्‌। “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन्‌ बढ़ता गरेर अर्ती दिंदै गरौं।” (हिब्रू १०:२४, २५) “प्रेम र सुकर्ममा उत्तेजित गराएर,” “हामी एक ठाउँमा भेला हुन” र “एउटाले अर्कोलाई झन्‌ बढ्‌दा गरेर अर्ती दिंदै गरौं” जस्ता अभिव्यक्‍तिहरूले हामीलाई इस्राएलमा मेलबलिले परमेश्‍वरका जनहरूलाई के फाइदा पुऱ्‍यायो, त्यो स्मरण गराउँछ।

१५. मेलबलि र मसीही सभाबीच हामी के समानता देख्छौं?

१५ “मेलबलि[लाई]” कहिलेकाहीं “शान्ति[को] भेटी” भनेर पनि अनुवाद गरिन्छ। “शान्ति” अर्थ लाग्ने हिब्रू शब्दको रूप बहुवचन हुन्छ र यसले मेलबलिद्वारा परमेश्‍वरसित तथा सँगी उपासकहरूसित शान्ति कायम हुन्छ भनेर संकेत गर्न खोजेको हुनसक्छ। मेलबलिको सम्बन्धमा एक शास्त्रज्ञको अवलोकन यस्तो छ: “वास्तवमा, यो करार परमेश्‍वरसितको आनन्ददायी संगतीको क्षण हो। उहाँ सधैंझैं निम्तालु हुनुभए तापनि यस मौकामा उहाँ इस्राएलले बलिदान चढाएको भोजनमा पाहुना हुन झर्नुहुन्छ।” यसले हामीलाई येशूको यो प्रतिज्ञा स्मरण गराउँछ: “जहाँ दुइ कि तीन जना मेरो नाउँमा भेला हुन्छन्‌, त्यहाँ म तिनीहरूका बीचमा हुन्छु।” (मत्ती १८:२०) हरेक पटक मसीही सभामा उपस्थित हुँदा हामी त्यहाँको प्रोत्साहनदायी संगती, हौसला दिने निर्देशन र हाम्रा प्रभु येशू ख्रीष्ट हामीसितै उपस्थित हुनुहुन्छ भन्‍ने विचारबाट फाइदा उठाउँछौं। यसले मसीही सभालाई साँच्चै आनन्ददायी तथा विश्‍वास बलियो पार्ने अवसर बनाउँछ।

१६. मसीही सभाहरूलाई विशेष गरी के कुराले अझ रमाइलो बनाउँछ, मेलबलिलाई मनमा राख्दै जवाफ दिनुहोस्‌।

१६ मेलबलिमा भएभरको सम्पूर्ण बोसो अर्थात्‌ आन्द्रा वरिपरिका, मृगौलाका, कलेजोमाथि भएको गर्भजालको अनि कम्मरनेरको बोसोका साथै बोसोले भरिएको भेडाको पुच्छर आदि वेदीमा जलाएर यहोवालाई चढाइन्थ्यो। (लेवी ३:३-१६) बोसो जनावरको मासुको सबैभन्दा पोसिलो अनि राम्रो भाग मानिन्थ्यो। त्यसलाई भेटीमा चढाउनुले यहोवालाई सर्वोत्तम थोक दिनुलाई चित्रण गर्थ्यो। मसीही सभाहरू रमाइला हुनुको कारण हामीले त्यहाँबाट निर्देशनहरू पाएकोले मात्र होइन, तर त्यहाँ यहोवालाई प्रशंसा चढाउन पाउने भएकोले पनि हो। विनम्र तर सक्दो प्रयास गरेर हृदयदेखि नै गीत गाएर, ध्यान दिएर, सुनेर तथा सम्भव हुँदा टिप्पणी गरेर हामी यहोवालाई प्रशंसाको बलि चढाउँछौं। भजनरचयिताले यस्तो उद्‌गार गरे: “परमप्रभुको प्रशंसा गर! परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, र भक्‍त जनहरूको सभामा उहाँको प्रशंसा गर।”—भजन १४९:१.

यहोवाले दिनुहुने प्रशस्त आशिष्‌ले हामीलाई पर्खिरहेछ

१७, १८. (क) यरूशलेमको मन्दिर उद्‌घाटन गर्दा सुलेमानले कस्ता भव्य बलिदानहरू चढाए? (ख) मन्दिर उद्‌घाटन गरिएको त्यस उत्सवबाट मानिसहरूले कस्तो आशिष्‌ पाए?

१७ सा.यु.पू. १०२६ को सातौं महिनामा यरूशलेमको मन्दिरको उद्‌घाटनको बेला राजा सुलेमान “परमप्रभुको सामने बलिदान चढ़ाउनलाई आए,” र त्यो “होमबलि, अन्‍नबलि र मेलबलिको बोसोको भाग यी सबै” भएको ठूलो बलिदान थियो। उक्‍त अवसरमा अन्‍नबलिको अलावा कुल २२,००० साँढे र १,२०,००० भेडाहरू बलिदान चढाइएका थिए।—१ राजा ८:६२-६५.

१८ यस्तो बृहत्‌ अवसरका लागि कत्ति खर्च भयो र कत्ति काम गर्नुपऱ्‍यो होला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? यद्यपि, इस्राएलीहरूले पाएको आशिष्‌ यो खर्चको तुलनामा एकदमै अमूल्य थियो। यस रमाइलो अवसरको अन्तमा सुलेमानले “मानिसहरूलाई बिदा गरे। औ तिनीहरूले राजालाई आशिष दिए, औ परमप्रभुको दास दाऊद र आफ्नो प्रजा इस्राएललाई दिनुभएका सबै उन्‍नतिको निम्ति खुसी र मनमा हर्षित हुँदै आफ्नो आफ्नो घर गए।” (१ राजा ८:६६) साँच्चै सुलेमानले भनेझैं “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।”—हितोपदेश १०:२२.

१९. अहिल्यै र भविष्यमा यहोवाका महान्‌ आशिष्‌हरू पाउन हामी के गर्नसक्छौं?

१९ हामी अहिले “छाया मात्र” होइन तर “उत्तम कुराहरूको स्वयं स्वरूप” भएको समयमा बाँचिरहेका छौं। (हिब्रू १०:१) महान्‌ प्रतिकात्मक प्रधान पूजाहारीको रूपमा येशू ख्रीष्ट स्वर्गमा प्रवेश गरिसक्नुभइएको छ र आफ्नो बलिदानमाथि विश्‍वास गर्नेहरूको पापको क्षमा दिन आफ्नो रगतको मोल चढाइसक्नुभएको छ। (हिब्रू ९:१०, ११, २४-२६) यस महान्‌ बलिदानको आधारमा सारा हृदयले परमेश्‍वरलाई स्तुतिको शुद्ध अनि निष्खोट बलिदान चढाउँदै हामी पनि “खुशी र मनमा हर्षित हुँदै” अघि बढिरहन र यहोवाले दिनुहुने प्रचुर आशिष्‌लाई पर्खनसक्छौं।—मलाकी ३:१०.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• व्यवस्थामा बलिदानहरू तथा भेटीहरूसम्बन्धी दिइएका जानकारीबाट हामी कस्तो निर्देशन अनि सान्त्वना पाउनसक्छौं?

• ग्रहणयोग्य बलिदान चढाउन पूरा गर्नुपर्ने पहिलो आवश्‍यकता के हो र यसले हाम्रोनिम्ति के अर्थ राख्छ?

• राजीखुसीले चढाएको होमबलिसित मिल्दोजुल्दो कस्तो बलिदान हामी चढाउनसक्छौं?

• कुन कुन तरिकामा मेलबलिसित मसीही सभाहरूको तुलना गर्न सकिन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

मानिसजातिलाई छुटकारा दिन यहोवाले येशूको छुडौतिको बलिदान प्रबन्ध गर्नुभयो

[पृष्ठ २०-मा भएको चित्र]

परमेश्‍वरलाई ग्रहणयोग्य सेवा चढाउन हामी हर प्रकारको अशुद्धपनाबाट अलग हुनैपर्छ

[पृष्ठ २१-मा भएको चित्र]

सेवकाईमा व्यस्त हुँदा जनसमक्ष यहोवाको भलाइ स्वीकारिहेका हुन्छौं