पहिलो राजा ८:१-६६
८ सुलेमानले इस्राएलका नाइकेहरू अर्थात् सबै कुलका नाइकेहरूलाई र बुबापट्टिको घरानाहरूका नाइकेहरूलाई एक ठाउँमा भेला गराए।+ दाउदनगर+ अर्थात् सियोनबाट+ यहोवा परमेश्वरको करारको सन्दुक* ल्याउन तिनीहरू सबै यरुसलेममा राजा सुलेमानकहाँ आए।
२ सातौँ महिना अर्थात् एथानीम* महिनामा चाडको* समयमा इस्राएलका सबै मानिस राजा सुलेमानसामु भेला भए।+
३ अनि इस्राएलका सबै नाइके आएपछि पुजारीहरूले सन्दुक उचाले।+
४ पुजारीहरू र लेवीहरूले यहोवा परमेश्वरको सन्दुक, भेट हुने पाल+ र त्यस पालमा भएका सबै पवित्र सरसामान ल्याए।
५ राजा सुलेमान र इस्राएलको पूरै समुदाय, जसलाई राजाले बोलाएका थिए, तिनीहरू सबै सन्दुकको अगाडि उभिएका थिए। त्यतिबेला यत्ति धेरै भेडा र वस्तुभाउ बलिदान चढाइयो+ कि त्यसको कुनै लेखाजोखा नै हुन सकेन।
६ अनि पुजारीहरूले यहोवा परमेश्वरको करारको सन्दुक त्यसको लागि तोकिएको ठाउँमा ल्याए।+ तिनीहरूले त्यो सन्दुक भवनको भित्री कोठा अर्थात् महापवित्र कोठामा करूबहरूको पखेटामुनि राखे।+
७ करूबहरूका पखेटा सन्दुक राखिएको ठाउँको मास्तिर फैलिएका थिए अनि करूबहरूले सन्दुक र त्यसका डन्डीहरूलाई छाया पारेका थिए।+
८ ती डन्डीहरू+ निकै लामा थिए। त्यसैले ती डन्डीहरूको टुप्पो भित्री कोठाको अगाडि भएको पवित्र कोठाबाट देखिन्थ्यो तर बाहिरबाट भने देखिँदैनथ्यो। ती अहिलेसम्म पनि त्यहीँ छन्।
९ त्यस सन्दुकभित्र मोसाले राखेका+ ढुङ्गाका दुई वटा पाटी+ मात्र थिए, जुन तिनले होरेबमा छँदा राखेका थिए। इस्राएलीहरू मिश्रबाट निस्केर आउँदै गर्दा+ यहोवा परमेश्वरले उनीहरूसित होरेबमा करार बाँध्नुभएको बेला+ तिनले ती पाटीहरू त्यहाँ राखेका थिए।
१० पुजारीहरू पवित्र ठाउँबाट निस्केर आएपछि यहोवा परमेश्वरको भवनलाई बादलले+ छोप्यो।+
११ बादलले गर्दा पुजारीहरूले त्यहाँ उभिएर सेवा गर्न सकेनन् किनकि यहोवा परमेश्वरको भवन यहोवाको महिमाले भरिएको थियो।+
१२ यो देखेर सुलेमानले भने: “यहोवा परमेश्वरले ‘म बाक्लो बादलमा बास गर्नेछु’ भन्नुभएको थियो।+
१३ हे परमेश्वर, तपाईँको निम्ति एउटा भव्य भवन, एउटा निवासस्थान बनाउन म सफल भएको छु, जहाँ तपाईँ सधैँभरि बास गर्नुहुनेछ।”+
१४ त्यसपछि राजा सुलेमान इस्राएली समुदायतर्फ फर्के अनि आफ्नो अगाडि उभिरहेका ती मानिसहरूलाई आशिष् दिन थाले।+
१५ तिनले भने: “इस्राएलका परमेश्वर यहोवाको प्रशंसा होस्, जसले आफ्नै मुखले मेरा बुबा दाउदसित प्रतिज्ञा गर्नुभएको थियो र आफ्नै हातले त्यो प्रतिज्ञा पूरा गर्नुभएको छ। उहाँले मेरो बुबासित यस्तो प्रतिज्ञा गर्नुभएको थियो:
१६ ‘मेरो प्रजा इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि अहिलेसम्म मैले मेरो नामको महिमाको निम्ति भवन बनाउन इस्राएलको कुनै कुलको कुनै सहर रोजेको छैनँ+ तर मेरो प्रजा इस्राएलीहरूमाथि शासन गर्न भने मैले दाउदलाई रोजेको छु।’
१७ मेरा बुबा दाउदको इस्राएलका परमेश्वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने ठूलो धोको थियो।+
१८ तर यहोवा परमेश्वरले मेरो बुबा दाउदलाई यसो भन्नुभयो: ‘तिमीले मेरो नामको निम्ति एउटा भवन बनाउने इच्छा गऱ्यौ; त्यो राम्रो कुरा हो।
१९ तर तिमीले त्यो भवन बनाउनेछैनौ। बरु तिम्रो छोरा, जो तिमीबाट जन्मनेछ, उसैले मेरो नामको निम्ति एउटा भवन बनाउनेछ।’+
२० यहोवा परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ। यहोवा परमेश्वरले गर्नुभएको प्रतिज्ञाअनुसारै म मेरो बुबा दाउदपछि राजा भएको छु र इस्राएलको सिंहासनमा बसेको छु। इस्राएलका परमेश्वर यहोवाको नामको निम्ति मैले एउटा भवन पनि बनाएको छु।+
२१ अनि त्यहाँ मैले सन्दुक राख्न ठाउँ तयार पारेको छु,+ जुन सन्दुकमा हाम्रा पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउँदा यहोवा परमेश्वरले उनीहरूसित बाँध्नुभएको करारको दुई वटा पाटी राखिएका छन्।”
२२ त्यसपछि सुलेमान इस्राएलको पूरै समुदायसामु यहोवा परमेश्वरको वेदीअगाडि उभिए र तिनले आफ्नो हात आकाशतिर फैलाए।+
२३ अनि यसो भने: “हे इस्राएलका परमेश्वर यहोवा, माथि स्वर्गमा वा तल पृथ्वीमा तपाईँजस्तो परमेश्वर अरू कोही छैन।+ तपाईँ सधैँ आफ्नो करार पूरा गर्नुहुन्छ अनि सारा हृदयले तपाईँको बाटोमा हिँड्ने आफ्ना सेवकहरूलाई+ अटल प्रेम देखाउनुहुन्छ।+
२४ तपाईँले आफ्नो दास, मेरा बुबा दाउदसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुभएको छ। तपाईँले आफ्नै मुखले प्रतिज्ञा गर्नुभएको थियो र आज आफ्नै हातले त्यो पूरा पनि गर्नुभएको छ।+
२५ अब हे इस्राएलका परमेश्वर यहोवा, आफ्ना सेवक, मेरो बुबा दाउदसित गर्नुभएको यो प्रतिज्ञा पनि पूरा गर्नुहोस्: ‘तिमीजस्तै तिम्रा सन्तान पनि मसामु सही बाटोमा हिँडिरहे र तिनीहरूले आफ्नो चालचलनमा ध्यान दिइरहे भने मसामु इस्राएलको सिंहासनमा बस्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+
२६ अब हे इस्राएलका परमेश्वर! बिन्ती छ, आफ्नो सेवक, मेरा बुबा दाउदसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्।
२७ “तर के परमेश्वर पृथ्वीमा बास गर्नुहुन्छ र?+ हेर्नुहोस्! तपाईँको लागि आकाश, हो विशाल आकाशसमेत सानो छ।+ मैले तपाईँको निम्ति बनाएको यो भवन त झन् के हो र?+
२८ हे मेरा परमेश्वर यहोवा, तपाईँको यस सेवकको प्रार्थनामा ध्यान दिनुहोस्, तपाईँको कृपाको लागि उसले गरेको बिन्ती सुन्नुहोस्। तपाईँको यस सेवकको गुहार सुन्नुहोस् र आज उसले तपाईँसामु गरेको यो प्रार्थना स्विकार्नुहोस्।
२९ तपाईँले यस भवनबारे यसो भन्नुभएको थियो: ‘मेरो नाम त्यहाँ रहनेछ।’+ त्यसैले यस भवनमाथि दिनरात तपाईँको नजर रहोस् र तपाईँको सेवकले यस भवनतर्फ फर्केर प्रार्थना गर्दा उसको प्रार्थना सुन्नुहोस्।+
३० तपाईँको यस सेवकले र तपाईँको प्रजा इस्राएलीहरूले यस भवनतर्फ फर्केर तपाईँको कृपाको लागि बिन्ती गर्दा उनीहरूको पुकारा सुन्नुहोस्। तपाईँको निवासस्थान स्वर्गबाट उनीहरूको प्रार्थनामा ध्यान दिनुहोस्।+ उनीहरूको बिन्ती सुन्नुहोस् र उनीहरूलाई क्षमा गरिदिनुहोस्।+
३१ “यदि कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गऱ्यो र त्यस मानिसलाई कसम खान लगाइयो* अनि आफूले खाएको कसमको कारण* ऊ यस भवनमा तपाईँको वेदीसामु आयो भने+
३२ स्वर्गबाट उसको पुकारा सुनेर कदम चाल्नुहोस् र आफ्ना सेवकहरूको न्याय गर्नुहोस्। जो दुष्ट हो, उसलाई दोषी ठहराउनुहोस् र उसको पापको दोष उसकै थाप्लोमा परोस्। अनि जो धर्मी हो, उसलाई निर्दोष ठहराउनुहोस् र उसको धार्मिकताअनुसार उसलाई इनाम दिनुहोस्।+
३३ “यदि तपाईँको प्रजा इस्राएलीहरूले तपाईँको आज्ञा तोडेर पाप गरिरहेको कारण तिनीहरू आफ्ना शत्रुहरूसित लडाइँमा हारे+ तर पछि तिनीहरू तपाईँकहाँ फर्केर आए र तपाईँको नामको महिमा गरे+ अनि तिनीहरूले तपाईँको भवनमा आएर प्रार्थना गरे र दयाको भीख मागे भने+
३४ स्वर्गबाट तिनीहरूको बिन्ती सुन्नुहोस् र आफ्नो प्रजा इस्राएलीहरूको पाप क्षमा गरिदिनुहोस् अनि तिनीहरूको पितापुर्खालाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस्।+
३५ “यदि तिनीहरूले तपाईँको आज्ञा तोडेर पाप गरिरहेकोले+ आकाश बन्द भयो र पानी परेन+ अनि यसरी तपाईँले तिनीहरूलाई नम्र तुल्याउनुभएकोले तिनीहरू आफ्नो पापको मार्गबाट फर्केर आए, यस भवनतर्फ फर्केर प्रार्थना गरे अनि तपाईँको नामको महिमा गरे भने+
३६ स्वर्गबाट तिनीहरूको बिन्ती सुन्नुहोस् र तपाईँका सेवकहरू, तपाईँको प्रजा इस्राएलीहरूको पाप क्षमा गरिदिनुहोस्। किनकि तिनीहरू हिँड्नुपर्ने सही मार्गबारे तपाईँले तिनीहरूलाई सिकाउनुहुनेछ+ र आफ्ना प्रजालाई पैतृक सम्पत्तिको रूपमा दिनुभएको यस देशमा पानी बर्साउनुहुनेछ।+
३७ “यदि देशमा अनिकाल पऱ्यो+ वा भयानक रोग फैलियो अथवा लु, ढुसी+ वा हुल बाँधेर आएका सलहहरूले* अथवा भोका सलहहरूले गर्दा बालीनाली सखाप भयो अथवा देशको कुनै सहरमा शत्रुहरूले घेरा हाले वा देशमा कुनै रोग वा अरू कुनै महामारी फैलियो+
३८ अनि यस्तो बेला कुनै मानिसले वा तपाईँको सम्पूर्ण इस्राएली प्रजाले यस भवनतर्फ आफ्नो हात फैलाएर तपाईँलाई प्रार्थना गऱ्यो वा तपाईँको कृपाको लागि बिन्ती गऱ्यो भने+ (किनकि हरेकलाई आफ्नो मनको पीडा थाह हुन्छ)+
३९ आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुहोस्+ अनि तिनीहरूलाई माफ गरिदिनुहोस्+ र तिनीहरूको खातिर कदम चाल्नुहोस्। हरेकलाई उसले गरेको कामको इनाम दिनुहोस्+ किनकि तपाईँ हरेक मानिसको हृदयको कुरा जान्नुहुन्छ। (हरेक मानिसको हृदयमा के छ भनी तपाईँ मात्र जान्नुहुन्छ।)+
४० तब हाम्रा पितापुर्खालाई दिनुभएको यस देशमा रहुन्जेल तिनीहरूले तपाईँको भय मान्नेछन्।
४१ “यदि तपाईँको प्रजा इस्राएलभन्दा बाहिरको कुनै विदेशी तपाईँको नामबारे* सुनेर टाढा देशबाट यहाँ आयो+
४२ (किनकि तिनीहरूले तपाईँको महान् नामबारे+ अनि तपाईँको शक्तिशाली र पराक्रमी हातले गरेको कामबारे सुन्नेछन्) अनि उसले तपाईँको यस भवनतर्फ फर्केर प्रार्थना गऱ्यो भने
४३ तपाईँले आफ्नो निवासस्थान स्वर्गबाट त्यस विदेशीको पुकारा सुन्नुहोस्+ र उसको सबै बिन्ती पूरा गरिदिनुहोस्। तब पृथ्वीका सबै मानिसले तपाईँको प्रजा इस्राएलीहरूले जस्तै तपाईँको नामबारे थाह पाउनेछन्+ र तपाईँको भय मान्नेछन् अनि मैले बनाएको यस भवनसित तपाईँको नाम जोडिएको छ भनी जान्नेछन्।
४४ “यदि तपाईँले आफ्नो प्रजालाई आफ्ना शत्रुहरूसित लडाइँ गर्न कतै पठाउनुभयो+ र तिनीहरूले तपाईँले रोज्नुभएको यस सहरतर्फ+ र मैले तपाईँको नामको निम्ति बनाएको यस भवनतर्फ+ फर्केर प्रार्थना गरे भने+ हे यहोवा,
४५ स्वर्गबाट तिनीहरूको प्रार्थना र तपाईँको कृपाको लागि तिनीहरूले गरेको बिन्ती सुन्नुहोस् अनि तिनीहरूको न्याय गरिदिनुहोस्।
४६ “यदि तिनीहरूले तपाईँको आज्ञा तोडेर पाप गरे (किनकि पाप नगर्ने मानिस कोही पनि छैन)+ र तिनीहरूसित क्रोधित भएर तपाईँले तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पनुभयो र ती शत्रुहरूले तिनीहरूलाई बन्दी बनाएर आफ्नो देशमा लगे, चाहे त्यो टाढाको देश होस् वा नजिकको।+
४७ अनि त्यहाँ लगिएपछि तिनीहरूलाई आफ्नो गल्तीको पछुतो भयो+ र आफूलाई बन्दी बनाउनेहरूको देशमा तिनीहरू तपाईँकहाँ फर्के+ अनि तपाईँको कृपाको लागि यसरी बिन्ती गरे:+ ‘हामीले पाप गऱ्यौँ, हामीले साह्रै दुष्ट काम गऱ्यौँ’+
४८ अनि आफूलाई बन्दी बनाएर लगिएको देशमा छँदा तिनीहरू आफ्नो सारा हृदयले र सारा ज्यानले तपाईँकहाँ फर्के+ अनि तपाईँले तिनीहरूका पितापुर्खालाई दिनुभएको यस देशतर्फ, तपाईँले रोज्नुभएको यस सहरतर्फ र मैले तपाईँको नामको निम्ति बनाएको यस भवनतर्फ फर्केर प्रार्थना गरे भने+
४९ आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको प्रार्थना र तपाईँको कृपाको लागि तिनीहरूले गरेको बिन्ती सुन्नुहोस्+ अनि तिनीहरूको न्याय गरिदिनुहोस्।
५० तपाईँको आज्ञा तोडेर पाप गर्ने तपाईँका मानिसहरूलाई क्षमा गरिदिनुहोस्, तिनीहरूले तपाईँविरुद्ध गरेको सबै अपराध माफ गरिदिनुहोस्। तपाईँले तिनीहरूका शत्रुहरूलाई तिनीहरूमाथि दया गर्न लगाउनुहोस् र ती शत्रुहरूले तिनीहरूमाथि दया गरून्।+
५१ (किनकि तिनीहरू तपाईँको प्रजा र तपाईँकै सम्पत्ति हुन्,+ जसलाई तपाईँले मिश्रबाट, फलाम गाल्ने भट्टीबाट+ निकालेर ल्याउनुभयो।)+
५२ तपाईँको यस सेवकले र तपाईँको प्रजा इस्राएलीहरूले तपाईँको कृपाको लागि बिन्ती गर्दा तिनीहरूको बिन्तीमा ध्यान दिनुहोस्।*+ जब-जब तिनीहरूले तपाईँलाई पुकार्छन्, तब-तब तिनीहरूको बिन्ती सुन्नुहोस्।*+
५३ किनकि हे ब्रह्माण्डका मालिक यहोवा, पृथ्वीका सबै मानिसमध्ये तपाईँले तिनीहरूलाई आफ्नो सम्पत्ति हुन रोज्नुभयो।+ हाम्रा पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउँदा तपाईँले मोसामार्फत यसबारे घोषणा गर्नुभएको थियो।”
५४ यहोवा परमेश्वरलाई यो प्रार्थना र कृपाको लागि बिन्ती चढाइसकेपछि सुलेमान उठे। तिनी यहोवा परमेश्वरको वेदीसामु घुँडा टेकेर अनि आकाशतिर हात फैलाएर उहाँलाई प्रार्थना गरिरहेका थिए।+
५५ तिनी उठे र ठूलो स्वरमा इस्राएलको पूरै समुदायलाई यसरी आशिष् दिए:
५६ “यहोवा परमेश्वरको प्रशंसा होस्, जसले आफ्नो प्रतिज्ञाअनुसारै आज आफ्नो प्रजा इस्राएलीहरूलाई विश्राम गर्ने ठाउँ दिनुभएको छ।+ उहाँले आफ्ना सेवक मोसामार्फत गर्नुभएका सबै असल प्रतिज्ञा पूरा भएको छ; एउटा पनि विफल भएको छैन।+
५७ हाम्रा पितापुर्खासँग रहनुभएझैँ हाम्रा परमेश्वर यहोवा हामीसित पनि रहून्।+ उहाँले हामीलाई कहिल्यै नछोडून्, हामीलाई कहिल्यै नत्यागून्।+
५८ उहाँले हाम्रो हृदयलाई आफूतर्फ खिचून्+ र हामी उहाँको मार्गमा चल्न सकौँ अनि उहाँले हाम्रा पितापुर्खालाई दिनुभएको विधि-विधान, आज्ञाहरू र नीतिनियम पालन गर्न सकौँ।
५९ आज मैले यहोवाको कृपाको लागि गरेको यो बिन्ती यहोवा हाम्रा परमेश्वरले दिनरात सम्झून् अनि हरेक दिन आवश्यकताअनुसार उहाँले आफ्नो यस सेवकको र आफ्नो प्रजा इस्राएलीहरूको न्याय गरिदेऊन्।
६० तब पृथ्वीका सबै मानिसले यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर थाह पाउनेछन्।+ उहाँबाहेक अरू कोही परमेश्वर छैन!+
६१ त्यसैले आजजस्तै सधैँभरि यहोवा हाम्रा परमेश्वरको विधि-विधान र आज्ञाहरू पालन गरेर आफ्नो सारा हृदयले उहाँप्रति वफादार होओ!”+
६२ त्यसपछि राजा र सबै इस्राएलीले यहोवा परमेश्वरसामु थुप्रै बलि चढाए।+
६३ सुलेमानले यहोवा परमेश्वरको लागि २२ हजार वस्तुभाउ र १ लाख २० हजार भेडा मेलबलि चढाए।+ यसरी राजा र सारा इस्राएलीले यहोवा परमेश्वरको भवनको उद्घाटन गरे।+
६४ त्यस दिन राजाले अग्निभेटी, अन्नभेटी र मेलबलिको बोसो चढाउन यहोवा परमेश्वरको भवनअगाडि भएको चोकको बीचको भागलाई पवित्र पार्नुपऱ्यो। किनकि यहोवा परमेश्वरसामु भएको तामाको वेदीमा+ यति धेरै अग्निभेटी, अन्नभेटी र मेलबलिको बोसो+ चढाउन सम्भव थिएन।
६५ त्यतिबेला सुलेमानले सारा इस्राएलीसित मिलेर हाम्रा परमेश्वर यहोवासामु चाड मनाए।+ त्यस चाडमा लेबो-हमाथदेखि* मिश्रको वादीसम्मका*+ मानिसहरू थिए। तिनीहरूले सात दिनसम्म चाड मनाए। तिनीहरूले अर्को सात दिनसम्म पनि चाड मनाए। यसरी यो चाड जम्मा १४ दिनसम्म मनाइयो।
६६ त्यसको भोलिपल्ट राजाले मानिसहरूलाई त्यहाँबाट पठाए। तिनीहरूले राजालाई आशिष् दिए। अनि यहोवा परमेश्वरले आफ्नो सेवक दाउद र आफ्नो प्रजा इस्राएलीहरूको लागि गर्नुभएका सबै भलाइको कामबारे सोचेर आनन्दित हुँदै र रमाउँदै तिनीहरू आ-आफ्नो घर फर्के।+
फुटनोटहरू
^ अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
^ अर्थात्, झुप्रोबासको चाडको।
^ वा “सन्तानको।”
^ वा “त्यस छिमेकीले उसलाई सराप दियो।” यो यस्तो किसिमको कसम थियो, जसमा कसम खाने मानिसले झूटो कसम खाएमा वा आफ्नो कसम पूरा नगरेमा सजायस्वरूप सराप पाउँथ्यो।
^ शा., “आफूले पाएको सरापको कारण।”
^ वा “फट्याङ्ग्राहरूले।”
^ वा “ख्यातिबारे।”
^ शा., “बिन्तीमा नजर लगाउनुहोस्।”
^ वा “तिनीहरूले जे बिन्ती गरे तापनि तिनीहरूको बिन्ती सुन्नुहोस्।”
^ वा “हमाथ छिर्ने ठाउँदेखि।”