लेवी २२:१-३३

  • पुजारीहरूको शुद्धता; पवित्र कुराहरू खाने (१-१६)

  • निष्खोट भेटीहरू मात्र स्वीकार्य (१७-३३)

२२  यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २  “हारुन र तिनका छोराहरूलाई इस्राएलीहरूले चढाएका पवित्र कुराहरूको सन्दर्भमा होसियार हुन* र मेरो लागि अलग छुट्ट्याइएका कुराहरूमा+ लापर्बाही गरेर मेरो पवित्र नामलाई अपवित्र नपार्न भन्‍नू।+ म यहोवा हुँ। ३  तिनीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूका सन्तानमध्ये कोही अशुद्ध भएकै अवस्थामा म यहोवाको लागि इस्राएलीहरूले छुट्ट्याएका पवित्र कुराहरूको नजिक आएमा उसलाई मेरो सामनेबाट हटाइयोस्‌।*+ तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू। म यहोवा हुँ। ४  हारुनका सन्तानमध्ये कोही कुष्ठरोग लागेकोले,+ धातु बगेकोले,+ लास छोएको व्यक्‍तिलाई छोएकोले+ वा वीर्य बगेकोले+ अशुद्ध भएका छन्‌ भने तिनले आफू शुद्ध नभएसम्म पवित्र कुराहरू नखाऊन्‌।+ ५  साथै झुन्डमा रहने अशुद्ध जीवलाई छोएर+ वा कुनै कारणले गर्दा अशुद्ध भएको व्यक्‍तिलाई छोएर अशुद्ध भएका छन्‌ भने+ पनि तिनले आफू शुद्ध नभएसम्म पवित्र कुराहरू नखाऊन्‌। ६  यदि कसैले यीमध्ये कुनै कुरालाई छुन्छन्‌ भने तिनी साँझसम्म अशुद्ध रहून्‌ र तिनले पवित्र कुराहरू केही पनि नखाऊन्‌ बरु नुहाएर आफूलाई शुद्ध पारून्‌।+ ७  घाम डुबेपछि तिनी शुद्ध हुनेछन्‌। त्यसपछि तिनले पवित्र कुराहरूबाट केही खाऊन्‌ किनभने त्यो तिनको निम्ति छुट्ट्याइएको खानेकुरा हो।+ ८  साथै तिनले कुनै मरेको जनावर वा जङ्‌गली जनावरले मारेको जीव नखाऊन्‌ नत्र त तिनी अशुद्ध हुनेछन्‌।+ म यहोवा हुँ। ९  “‘तिनीहरूले मेरो आज्ञा पालन गरून्‌ नत्र त तिनीहरू दोषी ठहरिनेछन्‌ र मर्नेछन्‌ किनभने तिनीहरूले पवित्र कुराहरूलाई अपवित्र पारेका छन्‌। तिनीहरूलाई पवित्र पार्ने म यहोवा हुँ। १०  “‘पवित्र कुराहरू खाने अधिकार नभएको कसैले* पनि ती कुराहरू नखाओस्‌।+ पुजारीको विदेशी पाहुना वा ज्यालादारी मजदुरले पवित्र कुराहरू नखाओस्‌। ११  तर यदि पुजारीले आफ्नै पैसाले कसैलाई किनेका छन्‌ भने त्यस व्यक्‍तिले ती पवित्र कुराहरूबाट केही खान सक्छ। अनि पुजारीको घरमा जन्मिएका दासहरूले पनि ती पवित्र कुराहरूबाट खान सक्छन्‌।+ १२  यदि पुजारीकी छोरीले पुजारीबाहेक अरू कसैसित* विवाह गरिन्‌ भने उनले भेटीस्वरूप चढाइएको पवित्र कुराहरू खान सक्दिनन्‌। १३  तर पुजारीकी छोरी विधवा भइन्‌ वा उनको सम्बन्धविच्छेद भयो अनि उनको कुनै सन्तान छैन र उनी बाल्यावस्थामा जस्तै आफ्नो बुबाको घरमा बस्न त्यहाँ फर्किन्‌ भने उनले आफ्नो बुबाको भागबाट खान सक्छिन्‌+ तर पवित्र कुराहरू खाने अधिकार नभएको कसैले पनि ती कुराहरू नखाओस्‌। १४  “‘तर कसैले अनजानमा पवित्र कुराहरूबाट केही खायो भने उसले त्यसको पूरा क्षतिपूर्ति तिर्नुका साथै त्यसको पाँच भागको एक भाग पनि पुजारीलाई देओस्‌।+ १५  इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई चढाएका पवित्र कुराहरू पुजारीहरूले अपवित्र नपारून्‌।+ १६  यदि उनीहरूले मानिसहरूलाई पवित्र कुराहरू खान दिए भने ती मानिसहरू दोषी ठहरिनेछन्‌ र सजाय पाउनेछन्‌। तिनीहरूलाई पवित्र पार्ने म यहोवा हुँ।’” १७  यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: १८  “हारुन र तिनका छोराहरू अनि सबै इस्राएलीलाई यसो भन्‍नू, ‘कोही इस्राएली वा इस्राएलमा बसोबास गर्ने विदेशीले आफ्नो भाकल पूरा गर्न वा स्वैच्छिकभेटी चढाउन यहोवा परमेश्‍वरको निम्ति अग्निभेटी चढाउन चाहन्छ भने+ १९  उसले गाईवस्तु वा भेडाबाख्राको बगालबाट एउटा निष्खोट भाले जनावर ल्याओस्‌।+ यस्तो भेटी मात्र परमेश्‍वरले स्विकार्नुहुन्छ। २०  तिमीहरूले खोट भएको जनावर नचढाउनू+ किनभने यस्तो भेटी चढाउँदा तिमीहरू परमेश्‍वरको नजरमा ग्रहणयोग्य हुँदैनौ। २१  “‘यदि कसैले आफ्नो भाकल पूरा गर्न वा स्वैच्छिकभेटी चढाउन यहोवा परमेश्‍वरलाई मेलबलि चढाउन चाहन्छ भने+ उसले गाईवस्तु वा भेडाबाख्राको बगालबाट निष्खोट जनावर ल्याओस्‌। यस्तो भेटी मात्र परमेश्‍वरले स्विकार्नुहुन्छ। तिमीहरूले खोट भएको जनावर नचढाउनू। २२  तिमीहरूले अन्धो, हातखुट्टा भाँचिएको वा जीउमा घाउ, मुसा, दाग वा दाद भएको जनावर नचढाउनू; यस्ता जनावर तिमीहरूले यहोवा परमेश्‍वरलाई अर्पण नगर्नू अनि यहोवा परमेश्‍वरको वेदीमा नचढाउनू। २३  तिमीहरूले एउटा खुट्टा लामो वा छोटो भएको बहर वा भेडा स्वैच्छिकभेटीको रूपमा चढाउन सक्छौ तर भाकलभेटीको* रूपमा भने परमेश्‍वरले यस्तो जनावर स्विकार्नुहुन्‍न। २४  तिमीहरूले अण्डकोष बिग्रिएको, कुच्याइएको, निकालिएको वा काटिएको जनावर यहोवा परमेश्‍वरलाई नचढाउनू; तिमीहरूले आफ्नो देशमा यस्तो जनावरको बलि नचढाउनू। २५  तिमीहरूले विदेशीहरूको हातबाट यस्तो जनावर लिएर आफ्ना परमेश्‍वरको निम्ति छुट्ट्याइएको खानेकुराको रूपमा नचढाउनू किनभने यस्ता जनावरहरूमा खोट र विकार छ। तिमीहरूले चढाउने यस्तो जनावर परमेश्‍वरले स्विकार्नुहुन्‍न।’” २६  यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २७  “भर्खरै जन्मिएको बाछो वा भेडाबाख्राको पाठोलाई सात दिनसम्म त्यसको माउसँगै रहन दिनू+ तर आठ दिन पुगेपछि भने त्यसलाई आगोमा चढाइने भेटीको रूपमा यहोवा परमेश्‍वरको निम्ति चढाउन सकिन्छ र उहाँले त्यो स्विकार्नुहुन्छ। २८  गाई वा भेडीलाई त्यसको बच्चासित एकै दिन नकाट्‌नू।+ २९  “तिमीहरूले यहोवा परमेश्‍वरलाई धन्यवाद दिन बलि चढाउँदा+ आफू ग्रहणयोग्य हुने तरिकामा चढाउनू। ३०  तिमीहरूले जुन दिन त्यो बलि चढाउँछौ, त्यही दिन खानू। तिमीहरूले त्यसको मासु भोलिपल्ट बिहानसम्म नछोड्‌नू।+ म यहोवा हुँ। ३१  “तिमीहरूले मेरो आज्ञा पालन गरिरहनू।+ म यहोवा हुँ। ३२  तिमीहरूले मेरो पवित्र नामलाई अपवित्र नपार्नू+ बरु इस्राएलीहरूमाझ मलाई पवित्र मान्‍नू।+ तिमीहरूलाई पवित्र पार्ने म यहोवा हुँ।+ ३३  अनि म तिमीहरूका परमेश्‍वर हुँ भनी साबित गर्न तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने मै हुँ।+ म यहोवा हुँ।”

फुटनोटहरू

शा., “पवित्र कुराहरूबाट अलग रहन।”
वा “मारियोस्‌।”
शा., “कुनै पराईले।” अर्थात्‌, जो हारुनको परिवारको सदस्य होइन।
वा “पराईसित।”
शब्दावली हेर्नुहोस्‌।