लेवी ५:१-१९

  • कुनै-कुनै किसिमका पाप र त्यसको लागि चढाउनुपर्ने भेटी (१-६)

    • अरूको पापबारे बताउने ()

  • गरिबहरूले चढाउन सक्ने भेटी (७-१३)

  • अनजानमा गरिएको पापको लागि दोषभेटी (१४-१९)

 “‘यदि कोही व्यक्‍ति कुनै घटनाको प्रत्यक्षदर्शी हो वा उसले त्यस घटनासम्बन्धी कुनै कुरा देख्यो वा सुन्यो भने ऊ त्यस घटनाको साक्षी हुन्छ। त्यसबारे जनसमक्ष बताउन बोलाइँदा* उसले केही बोलेन भने त्यो पाप हो;+ उसले आफ्नो पापको सजाय भोग्नेछ। २  “‘अथवा कसैले अशुद्ध जङ्‌गली जनावर वा अशुद्ध घरपालुवा जनावरको सिनु अथवा झुन्डमा रहने अशुद्ध जीवको* सिनु छोयो भने+ ऊ अशुद्ध हुनेछ; उसले त्यो अनजानमै छोएको भए तापनि ऊ दोषी ठहरिनेछ। ३  अथवा कसैले अनजानमा कुनै अशुद्ध थोक वा अशुद्ध मानिसलाई छोयो भने+ र त्यसबारे उसलाई पछि थाह भयो भने ऊ दोषी ठहरिनेछ। ४  “‘अथवा कसैले असल गर्नको लागि होस्‌ वा खराब गर्नको लागि, राम्ररी सोच्दै नसोची कसम खायो र आफूले सोचविचारै नगरी कसम खाएछु भनेर पछि मात्र महसुस गऱ्‍यो भने पनि ऊ दोषी ठहरिनेछ।*+ ५  “‘यीमध्ये कुनै कुरामा ऊ दोषी ठहरियो भने आफूले कुनचाहिँ पाप गरेको हो, त्यो उसले स्विकारोस्‌।+ ६  अनि आफूले गरेको पापको लागि उसले दोषभेटीको* जनावर यहोवा परमेश्‍वरसामु ल्याओस्‌।+ बगालबाट ल्याएको त्यो भेडाको पाठी वा बाख्राको पाठीलाई उसले पापभेटीको रूपमा चढाओस्‌। अनि पुजारीले उसको पापको प्रायश्‍चित गरिदेऊन्‌। ७  “‘यदि ऊसित भेडाबाख्राको बगालबाट भेटी चढाउने औकात छैन भने उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा आफ्नो पापको दोषभेटीस्वरूप यहोवा परमेश्‍वरसामु ल्याओस्‌+—एउटा पापभेटीको निम्ति र अर्को अग्निभेटीको निम्ति।+ ८  उसले पुजारीकहाँ ती ल्याओस्‌। पुजारीले दुई वटा चरामध्ये एउटालाई पापभेटीको निम्ति चढाऊन्‌; तिनले त्यसको घाँटी निचोरून्‌ तर टाउको भने नचुँडाऊन्‌। ९  तिनले पापभेटीको अलिकति रगत वेदीको छेउमा छर्कून्‌ र बाँकी रगतचाहिँ वेदीको मुनिपट्टि खन्याइदेऊन्‌।+ यो पापभेटी हो। १०  पुजारीले अर्को चरालाई अग्निभेटी चढाउने नियमित प्रक्रियाअनुरूपै चढाऊन्‌।+ अनि पुजारीले त्यस मानिसले गरेको पापको लागि उसको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ र उसले क्षमा पाउनेछ।+ ११  “‘यदि ऊसित दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा चढाउने औकात छैन भने उसले पापभेटीस्वरूप एपाको दस भागको एक भाग* मसिनो पीठो ल्याओस्‌।+ उसले त्यसमा तेल नमिसाओस्‌ र सेतो धूप* पनि नहालोस्‌ किनकि यो पापभेटी हो। १२  उसले त्यसलाई पुजारीकहाँ ल्याओस्‌। अनि पुजारीले एक मुठी मसिनो पीठो सम्पूर्ण भेटीको प्रतीकस्वरूप* लेऊन्‌ र त्यसलाई यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइएको भेटीमाथि राखेर जलाऊन्‌।* यो पापभेटी हो। १३  उसले यीमध्ये जुनसुकै पाप गरेको भए पनि उसको पापको निम्ति पुजारीले प्रायश्‍चित गरिदेऊन्‌ र उसले क्षमा पाउनेछ।+ पापभेटीको बाँकी भाग अन्‍नभेटीको बाँकी भागजस्तै+ पुजारीकै हुनेछ।’”+ १४  यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: १५  “यदि कसैले अनजानमै यहोवा परमेश्‍वरलाई चढाइएका पवित्र थोकहरूविरुद्ध पाप गरेर उहाँको आज्ञा उल्लङ्‌घन गर्छ भने+ उसले बगालबाट दोषभेटीस्वरूप एउटा निष्खोट थुमा यहोवा परमेश्‍वरसामु ल्याओस्‌;+ त्यो थुमाको मोल चाँदीको शेकेलअनुसार* कति हुनुपर्छ भनेर पुजारीले बताऊन्‌। त्यो मोल पवित्र ठाउँको चाँदीको शेकेलअनुसार* हुनुपर्छ।+ १६  उसले पवित्र ठाउँविरुद्ध गरेको पापको लागि क्षतिपूर्ति दिनुका साथै त्यसको पाँच भागको एक भाग पनि थपेर देओस्‌।+ उसले त्यो पुजारीलाई देओस्‌ र पुजारीले उसको निम्ति प्रायश्‍चित गर्न+ दोषभेटीको थुमा चढाउनेछन्‌ अनि उसले क्षमा पाउनेछ।+ १७  “यहोवा परमेश्‍वरले नगर्नू भन्‍नुभएको काम गरेर कसैले पाप गऱ्‍यो भने, चाहे त्यो उसले अनजानमै गरेको किन नहोस्‌, ऊ दोषी ठहरिनेछ; उसले आफ्नो पापको सजाय भोग्नेछ।+ १८  उसले तोकिएको मोलबराबरको एउटा निष्खोट थुमा आफ्नो बगालबाट छानोस्‌ र दोषभेटी चढाउन पुजारीसामु ल्याओस्‌।+ अनि उसले अनजानमा गरेको गल्तीको लागि पुजारीले उसको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ र उसले क्षमा पाउनेछ। १९  यो दोषभेटी हो। उसले यहोवा परमेश्‍वरविरुद्ध पाप गरेकोले ऊ साँच्चै दोषी हुन्छ।”

फुटनोटहरू

शा., “सरापको (शपथको) आवाज सुन्दा।” गल्ती गर्ने व्यक्‍तिलाई वा त्यस गल्तीको साक्षी भएर पनि केही नबताउने व्यक्‍तिलाई सराप सुनाउन गरिएको घोषणा हुन सक्छ।
यहाँ चलाइएको हिब्रू शब्दले हावा, पानी अनि जमिनमा पाइने र झुन्डमा रहने ससाना जीवजन्तुलाई जनाउँछ।
यसको अर्थ उसले आफ्नो भाकल पूरा गरेको छैन भन्‍ने हुन सक्छ।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
एपाको दस भागको एक भाग भनेको २.२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
वा “सम्झनास्वरूप।”
शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाऊन्‌।”
एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
वा “पवित्र शेकेलअनुसार।”