रोमी १५:१-३३
१५ तर हामी बलियाहरूले तिनीहरूका कमजोरीहरू सहनुपर्छ, जो बलिया छैनन्+ अनि हामीले आफूलाई मात्र खुसी पार्न खोज्नु हुँदैन।+
२ हामी प्रत्येकले आफ्नो छिमेकीको उत्थान हुने राम्रो काम गरेर उसलाई खुसी पारौँ।+
३ किनकि ख्रिष्टले पनि आफैलाई खुसी पार्न खोज्नुभएन,+ जस्तो लेखिएको छ: “जसले तपाईँको आलोचना गर्थे, तिनीहरूको आलोचना ममाथि आइपरेको छ।”+
४ पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्+ ताकि हाम्रो सहनशीलता+ र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।+
५ अब सहनशीलता र सान्त्वना दिनुहुने परमेश्वरले तिमीहरू सबैलाई ख्रिष्ट येसुको जस्तै मनोभाव देऊन्
६ ताकि एकताबद्ध भएर+ तिमीहरूले एउटै स्वरमा हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्वर र बुबाको प्रशंसा गर।
७ त्यसैले जसरी ख्रिष्टले हामीलाई स्वीकार गर्नुभयो,*+ त्यसरी नै एकअर्कालाई स्वीकार गर+ र यसरी परमेश्वरको महिमा होस्।
८ किनकि म भन्छु, ख्रिष्ट खतना भएकाहरूको सेवक बन्नुभयो+ ताकि परमेश्वर सत्य हुनुहुन्छ र उहाँले तिनीहरूका पुर्खाहरूसित गर्नुभएका प्रतिज्ञाहरू भरोसायोग्य छन् भनेर प्रमाणित गर्न सकियोस्+
९ र परमेश्वरले देखाउनुभएको कृपाको लागि अन्यजातिहरूले उहाँको महिमा गरून्।+ जस्तो लेखिएको छ: “त्यसैले जातिजातिका मानिसहरूमाझ म तपाईँलाई खुलेआम स्विकार्नेछु र तपाईँको नामको स्तुतिगान गाउनेछु।”+
१० फेरि यस्तो भनिएको छ: “हे जातिजातिका मानिसहरू हो, उहाँका जनहरूसँगै रमाओ।”+
११ अनि फेरि यस्तो भनिएको छ: “हे जातिजातिका मानिसहरू हो, यहोवाको* प्रशंसा गर र सबै मानिसले उहाँको प्रशंसा गरून्।”+
१२ फेरि यसैया भन्छन्: “यिसैको जरा देखा पर्नेछ,+ जो जातिजातिमाथि शासन गर्न खडा हुनेछ।+ ऊमाथि नै जातिजातिका मानिसहरूले आफ्नो आशा राख्नेछन्।”+
१३ आशा दिनुहुने परमेश्वरले तिमीहरूलाई सारा खुसी र शान्तिले भरिदिऊन् किनकि तिमीहरूले उहाँमा भरोसा गऱ्यौ र यसरी पवित्र शक्तिको तागतद्वारा तिमीहरूको आशा बढ्दै जाओस्।+
१४ अब हे भाइ हो, म तिमीहरूबारे विश्वस्त छु, तिमीहरू पनि भलाइ र सारा ज्ञानले भरिपूर्ण छौ र तिमीहरू एकअर्कालाई सल्लाह* दिन सक्छौ।
१५ तथापि तिमीहरूलाई फेरि सम्झाउन केही बुँदामा म अझ खुलेर लेख्दै छु किनकि परमेश्वरले मलाई असीम अनुग्रह देखाउनुभएको छ।
१६ अन्यजातिका मानिसहरूको लागि ख्रिष्ट येसुको जनसेवक हुन सकूँ+ भनेर मलाई यो असीम अनुग्रह देखाइयो। म परमेश्वरको सुसमाचार घोषणा गर्ने पवित्र काममा लागेको छु+ ताकि पवित्र शक्तिद्वारा पवित्र पारिएको ग्रहणयोग्य भेटीको रूपमा अन्यजातिका मानिसहरूलाई परमेश्वरसामु चढाउन सकियोस्।
१७ त्यसैले ख्रिष्ट येसुको चेला भएकोले र परमेश्वरको सेवा गरिरहेकोले मसित गर्व गर्ने कारण छ।
१८ अन्यजातिका मानिसहरूलाई आज्ञाकारी बनाउन ख्रिष्टले मद्वारा जे-जति गर्नुभयो, त्यसबाहेक अरू कुनै कुरा म बोल्दिनँ। उहाँले मेरो वचन र कामद्वारा
१९ अनि चमत्कार र आश्चर्यजनक कार्यहरूका+ तागतका साथै परमेश्वरको शक्तिको तागतद्वारा यो काम सम्पन्न गर्नुभयो। मैले यरुसलेमदेखि इल्लिरिकुमसम्म चारैतिर ख्रिष्टको सुसमाचार राम्ररी प्रचार गरेको छु।+
२० वास्तवमा ख्रिष्टको नाम पहिल्यै प्रचार भइसकेका ठाउँहरूमा सुसमाचार घोषणा नगर्ने लक्ष्य मैले राखेँ ताकि अर्को मानिसले बसालेको जगमाथि मैले निर्माण नगरूँ।
२१ तर जस्तो लेखिएको छ: “जसलाई उहाँबारे बताइएको छैन, तिनीहरूले उहाँलाई देख्नेछन् र जसले उहाँबारे सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।”+
२२ यही कारणले गर्दा पनि म तिमीहरूकहाँ आउनदेखि धेरै पटक रोकिएँ।
२३ तर अब यी इलाकाहरूमा प्रचार गर्न बाँकी कुनै ठाउँ मसित छैन र धेरै* वर्षदेखि मैले तिमीहरूकहाँ आउने तीव्र इच्छा गरेको छु।
२४ त्यसकारण स्पेनको यात्रामा जाँदा बीचमा तिमीहरूलाई भेट्ने आशा राखेको छु अनि तिमीहरूसित केही समय सङ्गत गरेपछि तिमीहरू पनि मसँगै अलि परसम्म आइदिएको म चाहन्छु।
२५ तर अहिले भने म पवित्र जनहरूको सेवा गर्न यरुसलेमतिर जाने तरखर गर्दै छु।+
२६ किनकि यरुसलेमका पवित्र जनहरूमध्ये जो-जो गरिब छन्, उनीहरूका लागि भनेर म्यासिडोनिया र अखैयाकाहरूले खुसीसाथ अनुदान दिएका छन्।+
२७ हो, तिनीहरूले खुसीसाथ त्यसो गरे। हुन पनि तिनीहरू उनीहरूप्रति ऋणी थिए किनकि अन्यजातिका मानिसहरूले जे-जे आध्यात्मिक कुराहरू पाए,* ती सब पवित्र जनहरूको भागबाटै पाएका हुन्। त्यसैले भौतिक कुराहरू दिएर उनीहरूको सेवा गर्नु तिनीहरूको कर्तव्य हो।+
२८ त्यसैले यो काम सकेर यो अनुदान उनीहरूलाई सुम्पिसकेपछि म तिमीहरूलाई भेटेर स्पेन जानेछु।
२९ साथै मलाई थाह छ, म तिमीहरूकहाँ आउँदा ख्रिष्टको तर्फबाट प्रशस्त आशिष् लिएर आउनेछु।
३० अब हे भाइ हो, हाम्रा प्रभु येसु ख्रिष्टद्वारा अनि पवित्र शक्तिले तिमीहरूमा जगाएको प्रेमद्वारा म तिमीहरूलाई आग्रह गर्छु कि तिमीहरू पनि मेरो निम्ति मसँगसँगै तनमनले परमेश्वरलाई प्रार्थना गर+
३१ ताकि येसुमा विश्वास नगर्ने यहुदियावासीहरूको हातबाट म बच्न सकूँ+ र यरुसलेमका पवित्र जनहरूका लागि मैले गर्ने सेवा ती जनहरूलाई स्वीकार्य होस्।+
३२ अनि परमेश्वरको इच्छाबमोजिम म खुसीसाथ तिमीहरूकहाँ आउन सकूँ र तिमीहरूसँगै स्फूर्ति पाउन सकूँ।
३३ शान्ति दिनुहुने परमेश्वर+ तिमीहरू सबैसित रहून्। आमिन।

