हबकुक १:१-१७

  • भविष्यवक्‍ताको गुहार (१-४)

    • ‘हे यहोवा, कतिन्जेल?’ ()

    • “तपाईँ किन अत्याचार सहनुहुन्छ?” ()

  • सजाय दिन परमेश्‍वरले कल्दियालीहरूलाई चलाउनुहुन्छ (५-११)

  • भविष्यवक्‍ताले यहोवालाई बिन्ती गर्छन्‌ (१२-१७)

    • ‘हे मेरा परमेश्‍वर, तपाईँको अन्त कहिल्यै हुँदैन’ (१२)

    • ‘तपाईँ दुष्ट कुरा हेर्न सक्नुहुन्‍न, तपाईँ अत्यन्तै पवित्र हुनुहुन्छ’ (१३)

 भविष्यवक्‍ता हबकुकले* दर्शनमा* पाएको सन्देश:  २  हे यहोवा, म कतिन्जेल तपाईँलाई गुहारूँ र कतिन्जेल तपाईँ सुन्‍नुहुन्‍न?+ हिंसाबाट जोगाउनुहोस्‌ भनेर म कतिन्जेल तपाईँलाई पुकारूँ र कतिन्जेल तपाईँ बचाउनुहुन्‍न?+  ३  तपाईँ किन मलाई गलत काम हेर्न लगाउनुहुन्छ? तपाईँ किन अत्याचार सहनुहुन्छ? मेरै अगाडि किन विनाश र हिंसा भइरहेको छ? किन जताततै झैझगडा र कलह मच्चिरहेको छ?  ४  कानुन-व्यवस्था कमजोर भएको छ, न्याय कतै पनि छैन। दुष्टहरूले असल मानिसलाई घेरेका छन्‌, त्यसैले त न्यायलाई टेढो पारिएको छ।+  ५  “राष्ट्रहरूलाई हेर र ध्यान देओ! चकित हुँदै हेर र छक्क पर। किनकि तिमीहरूको पालामा यस्तो घटना घट्‌नेछ कि कसैले तिमीहरूलाई त्यो सुनायो भने पनि तिमीहरूले पत्याउनेछैनौ।+  ६  किनकि हेर, म कल्दियालीहरूलाई खडा गर्नेछु,+ जुन अत्यन्तै उग्र र क्रूर जाति हो। तिनीहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म जान्छन्‌ र अरूको घर कब्जा गर्छन्‌।+  ७  तिनीहरू भयानक र डरलाग्दा छन्‌। तिनीहरू आफ्नो लागि आफै कानुन बनाउँछन्‌ र अख्तियार चलाउँछन्‌।+  ८  तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्‌, तिनीहरू राती निस्कने ब्वाँसाहरूभन्दा हिंस्रक छन्‌।+ तिनीहरूका युद्धका घोडाहरू सर्पट मार्दै आउँछन्‌। तिनीहरूका घोडाहरू टाढा-टाढादेखि आउँछन्‌। सिकार पक्रन चीलले जमिनतिर वेग हानेझैँ तिनीहरू वेग हान्छन्‌।+  ९  तिनीहरू सबै हिंसा मच्चाउन तम्सिन्छन्‌।+ तिनीहरू एकसाथ भेला भएर पूर्वीय बतासझैँ आउँछन्‌।+ तिनीहरूले कैदीहरूलाई बालुवा बटुलेझैँ बटुल्छन्‌। १०  तिनीहरू राजाहरूलाई हाँसोमा उडाउँछन्‌ अनि उच्च अधिकारीहरूको खिसी गर्छन्‌।+ पर्खालले घेरिएका ठाउँहरू देख्दा तिनीहरूलाई हाँस उठ्‌छ।+ तिनीहरू माटोको ढिस्को बनाएर त्यसलाई कब्जा गर्छन्‌। ११  तिनीहरू बतासजस्तै हुइँकिन्छन्‌ र देश पार गरेर जान्छन्‌ तर तिनीहरू दोषी ठहरिनेछन्‌+ किनकि तिनीहरू आफ्नो शक्‍तिको श्रेय आफ्नो देवतालाई दिन्छन्‌।”*+ १२  हे यहोवा, के तपाईँ अनन्त कालदेखि हुनुहुन्‍न र?+ हे मेरा परमेश्‍वर, मेरा पवित्र परमेश्‍वर, तपाईँको अन्त कहिल्यै हुँदैन।*+ हे यहोवा, इन्साफ गर्न तपाईँले तिनीहरूलाई नियुक्‍त गर्नुभयो। हे मेरा चट्टान,+ हामीलाई सजाय दिन* तपाईँले तिनीहरूलाई खडा गर्नुभयो।+ १३  तपाईँका आँखाले दुष्ट कुरा हेर्न सक्दैनन्‌ किनकि ती अत्यन्तै पवित्र छन्‌। तपाईँ दुष्टता सहन सक्नुहुन्‍न।+ त्यसोभए छली मानिसहरूलाई तपाईँ किन सहनुहुन्छ?+ अनि दुष्ट मानिसले आफूभन्दा धर्मी मानिसलाई बरबाद पार्दा तपाईँ किन चुप लागिरहनुहुन्छ?+ १४  तपाईँ किन मानिसलाई समुद्रको माछाजस्तै तुल्याउनुहुन्छ, कुनै शासक नभएको घस्रने जन्तुजस्तै तुल्याउनुहुन्छ? १५  उसले* यी सबैलाई बल्छीले तान्छ। उसले तिनीहरूलाई ठूलो जालमा पक्रन्छ। माछा मार्ने आफ्नो जालमा उसले तिनीहरूलाई जम्मा गर्छ। अनि ऊ निकै रमाउँछ।+ १६  त्यसैकारण उसले माछा मार्ने आफ्नो जालको लागि भेटी चढाउँछ अनि जालको नाममा बलि चढाउँछ।* किनकि ती जालहरूले गर्दा नै उसले पोसिलो* आहार पाउँछ अनि उत्तम भोजन खान पाउँछ। १७  के उसले आफ्नो जाल भर्ने र रित्याउने गरिरहन्छ?* के उसले दयामाया नदेखाई जातिजातिका मानिसहरूलाई मारिरहन्छ?+

फुटनोटहरू

यसको अर्थ “मायाले अङ्‌कमाल गर्नु” हुन सक्छ।
शब्दावली हेर्नुहोस्‌।
वा सम्भवत: “तिनीहरूको शक्‍ति तिनीहरूको देवता हो।”
वा सम्भवत: “हाम्रो अन्त हुनेछैन।”
वा “सुधार्न।”
अर्थात्‌, कल्दियाली शत्रुले।
वा “माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाउँछ।”
वा “चिल्लो।”
वा सम्भवत: “तरबार थुतिरहन्छ?”