लेवी २०:१-२७

  • मोलेकको उपासना; तन्त्रमन्त्र (१-६)

  • पवित्र होओ र बुबाआमाको आदर गर (७-९)

  • अवैध यौनसम्बन्ध राख्नेलाई मृत्युदण्ड (१०-२१)

  • देशमा बस्न पवित्र होओ (२२-२६)

  • तन्त्रमन्त्र गर्ने मानिस मारिनुपर्छ (२७)

२०  यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २  “तिमीले इस्राएलीहरूलाई यसो भन्‍नू, ‘यदि कुनै इस्राएलीले अथवा इस्राएलमा बसोबास गर्ने विदेशीले आफ्नो सन्तान मोलेकलाई चढाएमा उसलाई मार्नै पर्छ।+ देशका मानिसहरूले उसलाई ढुङ्‌गाले हानेर मारून्‌। ३  म त्यस मानिसलाई त्याग्नेछु; म उसलाई समुदायबाट हटाउनेछु* किनकि उसले आफ्नो सन्तान मोलेकलाई चढाएर मेरो पवित्र ठाउँलाई अशुद्ध बनाएको छ+ र मेरो पवित्र नामलाई अपवित्र पारेको छ। ४  उसले आफ्नो सन्तान मोलेकलाई चढाउँदा त्यहाँका मानिसहरूले उसलाई मार्नुको सट्टा देखेर पनि नदेखेझैँ गरे भने+ ५  म त्यो मानिस र उसको परिवारलाई त्याग्नेछु।+ मलाई विश्‍वासघात गरेर मोलेकको उपासना गर्ने* त्यो मानिस र उसलाई साथ दिने सबैलाई म इस्राएलीहरूको समुदायबाट हटाउनेछु।* ६  “‘यदि कुनै मानिसले भूतप्रेत खेलाउने+ र भावी बताउने व्यक्‍तिहरूको+ पछि लागेर वेश्‍यावृत्ति गऱ्‍यो* भने म उसलाई त्यसै छोड्‌नेछैनँ; म उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनेछु।*+ ७  “‘तिमीहरूले आफूलाई शुद्ध राख र पवित्र पार+ किनकि म तिमीहरूका परमेश्‍वर यहोवा हुँ। ८  अनि तिमीहरूले मेरा नियमहरू पालन गरिरहो।+ तिमीहरूलाई पवित्र पार्ने म यहोवा हुँ।+ ९  “‘यदि कुनै मानिसले आफ्नो बुबा वा आमालाई सराप्यो भने उसलाई मार्नै पर्छ।+ उसले आफ्नो बुबा वा आमालाई सरापेकोले उसको रगतको दोष उसैलाई लाग्नेछ। १०  “‘यदि कुनै विवाहित पुरुषले अरूकी पत्नीसित व्यभिचार* गरेमा उसलाई मार्नू; यस्तो व्यभिचार गर्ने पुरुष र स्त्री दुवैलाई मार्नू।+ ११  आफ्नो बुबाकी पत्नीसित यौनसम्बन्ध राख्ने पुरुषले आफ्नो बुबालाई लाजमा पार्छ।+ यस्तो सम्बन्ध राख्ने दुवैलाई मार्नू। तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ। १२  यदि कुनै पुरुषले आफ्नी बुहारीसित यौनसम्बन्ध राखेमा ती दुवैलाई मार्नू किनकि त्यो अस्वाभाविक सम्बन्ध हो। तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ।+ १३  “‘यदि कुनै पुरुषले स्त्रीसित जस्तै पुरुषसित यौनसम्बन्ध राखेमा ती दुवैलाई मार्नू किनकि तिनीहरूले घृणित काम गरेका छन्‌।+ तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ। १४  “‘यदि कुनै पुरुषले कुनै स्त्रीसित विवाह गरेर त्यस स्त्रीकी आमासित पनि यौनसम्बन्ध राखेमा त्यो अश्‍लील काम* हो।+ तिमीहरूबीच यस्तो अश्‍लील काम फेरि नदोहोरियोस्‌ भनेर तीनै जनालाई मार्नू र आगोमा जलाइदिनू।+ १५  “‘यदि कुनै पुरुषले पशुसित सम्भोग गरेमा उसलाई मार्नै पर्छ र त्यस पशुलाई पनि मार्नू।+ १६  यदि कुनै स्त्री पशुसित सम्भोग गर्न त्यसकहाँ गई भने+ त्यो स्त्री र पशु दुवैलाई मार्नू। पशुसित सम्भोग गर्ने पुरुष र पशुकहाँ जाने स्त्रीलाई मार्नै पर्छ। तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ। १७  “‘यदि कुनै पुरुषले आफ्नो साक्खै दिदी वा बहिनीसित अथवा झड्‌केली दिदी वा बहिनीसित यौनसम्बन्ध राख्यो र तिनीहरूले एकअर्काको नग्नता देखे भने त्यो लाजमर्दो कुरा हो।+ तिनीहरूलाई मानिसहरूको समुदायबाट हटाउनू।* त्यस पुरुषले आफ्नी दिदी वा बहिनीलाई लाजमा पारेकोले उसले आफ्नो गल्तीको सजाय भोगोस्‌। १८  “‘यदि कुनै पुरुषले महिनावारी भएकी स्त्रीसित यौनसम्बन्ध राखेमा त्यस पुरुष र स्त्री दुवैले रगतको पवित्रतालाई अनादर गरेका हुन्छन्‌।+ तिनीहरू दुवैलाई मानिसहरूको समुदायबाट हटाउनू।* १९  “‘तिमीले आफ्नी आमाकी दिदी वा बहिनीसित अथवा आफ्नो बुबाकी दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू किनकि यसो गर्नु भनेको रगतको नाताको अपमान गर्नु हो।+ तिनीहरूले आफ्नो गल्तीको सजाय भोगून्‌। २०  आफ्नो ठूलोबुबा वा काकाकी पत्नीसित यौनसम्बन्ध राख्ने पुरुषले आफ्नो ठूलोबुबा वा काकालाई लाजमा पार्छ।+ तिनीहरूले आफ्नो गल्तीको सजाय भोगून्‌। तिनीहरू मारिऊन्‌ ताकि तिनीहरूको कुनै सन्तान नहोस्‌। २१  कुनै पुरुषले आफ्नो दाइ वा भाइकी पत्नीसित विवाह गरेमा* त्यो घिनलाग्दो कुरा हो।+ उसले आफ्नो दाइ वा भाइलाई लाजमा पार्छ। तिनीहरू निस्सन्तान होऊन्‌। २२  “‘तिमीहरूले मेरा सबै विधिविधान र फैसला पालन गरिरहनू।+ यसो गऱ्‍यौ भने तिमीहरूलाई म जुन देशमा लैजाँदै छु, त्यहाँबाट तिमीहरू धपाइनेछैनौ।+ २३  म जुन जातिहरूलाई तिमीहरूसामुबाट धपाउँदै छु, तिनीहरूको रीतिअनुसार नचल।+ तिनीहरूले यस्तै काम गरेकोले म तिनीहरूलाई घृणा गर्छु।+ २४  त्यसैले मैले तिमीहरूलाई यसो भनेको छु: “तिमीहरूले तिनीहरूको देशमाथि अधिकार गर्नेछौ। दूध र मह बग्ने त्यो देश म तिमीहरूलाई अधिकार गर्न दिनेछु।+ तिमीहरूलाई ती जातिहरूबाट अलग्गै पार्ने म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।”+ २५  तिमीहरूले शुद्ध र अशुद्ध जनावर अनि शुद्ध र अशुद्ध चराचुरुङ्‌गीबीच भिन्‍नता छुट्ट्याउनू।+ मैले अशुद्ध ठहराएको जनावर, चराचुरुङ्‌गी वा घस्रने जीवजन्तु खाएर आफूलाई अशुद्ध नपार।+ २६  तिमीहरू मेरो पवित्र जाति होओ किनकि म तिमीहरूका परमेश्‍वर यहोवा पवित्र छु+ अनि मैले तिमीहरूलाई आफ्नो जन बनाउन अरू जातिहरूबाट अलग्गै छुट्ट्याएको छु।+ २७  “‘भूतप्रेत खेलाउने वा भावी बताउने पुरुष वा स्त्रीलाई मार्नै पर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्‌गाले हानेर मारून्‌।+ तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ।’”

फुटनोटहरू

वा “मृत्युदण्ड दिनेछु।”
शा., “मोलेकसित अवैध यौनसम्बन्ध राख्ने।”
वा “मृत्युदण्ड दिनेछु।”
साँचो परमेश्‍वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्‍यावृत्तिसित तुलना गरिएको छ।
वा “मृत्युदण्ड दिनेछु।”
शब्दावली हेर्नुहोस्‌।
वा “लाजमर्दो आचरण; छाडापन।”
वा “मार्नू।”
वा “मार्नू।”
अर्थात्‌, आफ्नो दाइ वा भाइ जीवित छँदै।