सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भलाइ—तपाईँ कसरी यो गुण विकास गर्न सक्नुहुन्छ?

भलाइ—तपाईँ कसरी यो गुण विकास गर्न सक्नुहुन्छ?

अरूले हामीलाई असल अर्थात्‌ भलो व्यक्‍ति ठानेको हामी सबै चाहन्छौँ र यस्तो चाहना स्वाभाविक पनि हो। तर अहिलेको संसारमा भलाइ गर्नु भनेको त्यति सजिलो कुरा होइन। धेरैजसो मानिस “भलाइलाई प्रेम नगर्ने” स्वभावका छन्‌। (२ तिमो. ३:३) तिनीहरूले सही र गलतको आफ्नै स्तर तोकेका हुन सक्छन्‌। भन्‍नुको मतलब, तिनीहरू “असललाई खराब र खराबलाई असल भन्छन्‌।” (यसै. ५:२०) हाम्रो पृष्ठभूमि र त्रुटिपूर्ण अवस्थाले गर्दा पनि भलाइ गर्न हामी सबै सङ्‌घर्ष गर्छौँ। त्यसैले हामीलाई पनि एउटी बहिनीलाई जस्तै लाग्न सक्छ, जसले यहोवाको सेवा गरेको वर्षौँ भइसक्यो। उनी भन्छिन्‌, “म अरूको भलो गर्ने व्यक्‍ति हुन सक्छु जस्तो मलाई पटक्कै लाग्दैन।”

खुसीको कुरा, हामी सबै भलाइ विकास गर्न सक्छौँ। यो परमेश्‍वरको पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। हामीले प्रतिरोध गर्नुपर्ने सांसारिक दबाब वा हाम्रो आफ्नै त्रुटिपूर्ण झुकावभन्दा यहोवाको पवित्र शक्‍ति कता हो कता प्रबल छ। आउनुहोस्‌, भलाइ भन्‍ने गुणलाई अझ केलाऔँ अनि कसरी यो गुण अझ राम्ररी देखाउन सक्छौँ, विचार गरौँ।

भलाइ के हो?

सरल शब्दमा भन्‍ने हो भने, भलाइ गर्नु भनेको असल काम गर्नु अर्थात्‌ भलो हुनु हो। यो गुण खराबीको विपरीत हो। भलो मानिस नैतिकवान्‌ हुन्छ र सधैँ सही काम गर्छ। भलो मानिसले सधैँ अरूलाई मदत गर्ने मौका खोज्छ र अरूको लागि असल कामहरू गर्छ।

तपाईँले याद गर्नुभएको होला, कोही-कोही आफ्नो परिवार र साथीभाइको भलाइ गर्न स्वतः अग्रसर हुन्छन्‌। तर भलाइ गर्नु भनेको त्यति मात्रै हो र? हुनत भलाइ देखाउने सन्दर्भमा हामीले गर्न सक्ने कुरा सीमित छ किनकि बाइबलले बताएअनुसार “सधैँ असल काम गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस पृथ्वीमा कोही छैन।” (उप. ७:२०) प्रेषित पावलले पनि इमानदार भई यसो भने: “मलाई थाह छ, मेरो शरीरमा कुनै असल कुराले बास गर्दैन।” (रोमी ७:१८) त्यसकारण भलाइ विकास गर्न चाहन्छौँ भने हामीले यहोवाबाटै सिक्नुपर्छ, जो यस गुणको स्रोत हुनुहुन्छ।

‘यहोवा भलो हुनुहुन्छ’

भलाइ के हो, त्यसको स्तर तोक्नुहुने यहोवा परमेश्‍वर हुनुहुन्छ। उहाँबारे बाइबल यसो भन्छ: “तपाईँ असल हुनुहुन्छ र तपाईँका कामहरू असल छन्‌। मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्‌।” (भज. ११९:६८) यस पदमा यहोवा असल अर्थात्‌ भलो हुनुहुन्छ र उहाँका कामहरू पनि असल छन्‌ भनेर बताइएको छ। आउनुहोस्‌ यी दुई वटा पक्षबारे विचार गरौँ।

यहोवा असल हुनुहुन्छ। भलाइ भन्‍ने गुण यहोवाको व्यक्‍तित्वको अभिन्‍न भाग हो। यहोवाले मोसालाई “म तिम्रै सामने मेरा सारा वैभव देखाउनेछु” भन्‍नुभएपछि के भयो, विचार गर्नुहोस्‌। यहोवाको वैभव मोसासामु प्रकट हुँदा तिनले यी शब्दहरू सुने: “यहोवा, हो म यहोवा कृपालु र दयालु छु, म हतपती रिसाउँदिनँ अनि म अटल प्रेम र सत्यले भरिपूर्ण छु। मेरो अटल प्रेम हजारौँ-हजार पुस्तासम्म रहिरहन्छ। म मानिसहरूको गल्ती, अपराध र पाप क्षमा गर्छु तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्‌दिनँ।” (प्रस्थ. ३३:१९; ३४:६, ७) मोसाले सुनेका यी शब्दहरूबाट यहोवा पूर्णतया असल हुनुहुन्छ, उहाँमा कुनै खराबी छैन भनेर देखिन्छ। मानिस कुन हदसम्म असल बन्‍न सम्भव छ भन्‍ने कुराको उत्कृष्ट उदाहरण येसु हुनुहुन्थ्यो तर उहाँ आफैले पनि यसो भन्‍नुभयो: “असल त परमेश्‍वरबाहेक अरू कोही छैन।”—लुका १८:१९.

सृष्टिलाई नियाल्दा हामी यहोवाको भलाइको प्रमाण देख्छौँ

यहोवाका कामहरू असल छन्‌। परमेश्‍वरका सबै काममा उहाँको भलाइ देखिन्छ। “यहोवा सबैको भलाइ गर्नुहुन्छ अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ।” (भज. १४५:९) यहोवा कसैलाई पक्षपात नगरी भलाइ गर्नुहुन्छ; उहाँले मानिसहरूलाई जीवन र जीवन धान्‍न चाहिने सबै थोक दिनुभएको छ। (प्रेषि. १४:१७) हामीलाई क्षमा गरेर पनि उहाँ आफ्नो भलाइ प्रकट गर्नुहुन्छ। भजनरचयिताले यस्तो लेखे: “हे यहोवा, तपाईँ असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।” (भज. ८६:५) “असल मार्गमा हिँड्‌नेहरूलाई उत्तम कुरा दिनदेखि यहोवा पछि हट्‌नुहुन्‍न” भन्‍ने कुरामा हामी पक्का हुन सक्छौँ।—भज. ८४:११.

“असल काम गर्न सिक”

हामी परमेश्‍वरको स्वरूपमा सृष्टि भएका छौँ। त्यसैले असल बन्‍ने र अरूको निम्ति असल गर्ने क्षमता हामीसित छ। (उत्प. १:२७) तैपनि परमेश्‍वरको वचनले उहाँका सेवकहरूलाई “असल काम गर्न सिक” भनी आग्रह गर्छ। (यसै. १:१७) तर हामी कसरी भलाइ विकास गर्दै जान सक्छौँ? यसो गर्ने तीन वटा तरिका विचार गर्नुहोस्‌।

पहिलो, हामी पवित्र शक्‍तिको लागि प्रार्थना गर्न सक्छौँ। किनकि यसले ख्रिष्टियनहरूलाई साँचो भलाइ विकास गर्न मदत गर्छ। (गला. ५:२२) हो, परमेश्‍वरको शक्‍तिले हामीलाई असल कुरालाई प्रेम गर्न र खराब कुरालाई घृणा गर्न मदत गर्छ। (रोमी १२:९) यहोवाले हामीलाई “हरेक असल काम अनि वचनका लागि स्थिर” बनाउन सक्नुहुन्छ भनी बाइबल बताउँछ।—२ थिस्स. २:१६, १७.

दोस्रो, हामीले परमेश्‍वरको प्रेरित वचन पढ्‌नुपर्छ। यसो गर्दा यहोवाले हामीलाई ‘असल मार्ग के हो, त्यो बुझ्न’ र “हरेक असल कामका लागि” तयार बन्‍न मदत गर्नुहुन्छ। (हितो. २:९; २ तिमो. ३:१७) उहाँको वचन पढेर मनन गऱ्‍यौँ भने हाम्रो मनमा परमेश्‍वर र उहाँबारे असल कुराहरू भरिन्छ। यसो गर्दा हाम्रो मनको असल भण्डारबाट असल कुरा निकाल्न सक्छौँ।—लुका ६:४५; एफि. ५:९.

तेस्रो, हामी “जे असल छ, त्यसको अनुकरण” गर्न सक्दो प्रयास गर्छौँ। (३ युह. ११) हामीले अनुकरण गर्न सक्ने उदाहरणहरू बाइबलमा छन्‌। तीमध्ये प्रमुख उदाहरण यहोवा र येसु हुनुहुन्छ। तर हामी बाइबलमा उल्लिखित अरू असल व्यक्‍तिको पनि अनुकरण गर्न सक्छौँ। त्यस्ता व्यक्‍तिहरूमध्ये दुई जनाको नाम लिनुपर्दा तबिता र बर्णाबासबारे सम्झन्छौँ होला। (प्रेषि. ९:३६; ११:२२-२४) तिनीहरूको उदाहरण केलाउँदा तपाईँले निकै लाभ उठाउन सक्नुहुन्छ अनि तिनीहरूले कस्ता व्यावहारिक तरिकामा अरूलाई मदत गरे भनेर याद गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो परिवारमा वा मण्डलीमा अरूलाई मदत गर्न कसरी अग्रसर हुन सक्नुहुन्छ भनेर एकछिन सोच्नुहोस्‌। अनि तबिता र बर्णाबासले असल व्यक्‍ति भन्‍ने नाम कमाउँदा कस्तो लाभ उठाए, त्यसमा पनि ध्यान दिनुहोस्‌। तपाईँ पनि त्यस्तै लाभ उठाउन सक्नुहुन्छ।

अहिले हाम्रो समयमा असल काम गर्ने व्यक्‍तिहरूको उदाहरण पनि विचार गर्न सक्छौँ। जस्तै, मण्डलीका मेहनती एल्डरहरू, जो ‘भलाइका प्रेमी’ हुन्‌। हाम्रा वफादार बहिनीहरूलाई पनि बिर्सन चाहँदैनौँ, जो आफ्नो बोली र व्यवहारद्वारा “असल कुरा” सिकाउँछन्‌। (ति. १:८; २:३) रोज्लिन नाम गरेकी बहिनी यसो भन्छिन्‌: “मेरो एक जना साथी मण्डलीमा अरूलाई मदत र प्रोत्साहन दिन विशेष प्रयास गर्छिन्‌। उनी अरूको अवस्थाबारे सोच्छिन्‌ अनि केही सानो उपहार वा कुनै व्यावहारिक मदत दिन्छिन्‌। मलाई उनी साँच्चै असल व्यक्‍ति लाग्छ।”

यहोवा आफ्ना जनहरूलाई “जे असल छ, त्यसको खोजी गर” भन्‍नुहुन्छ। (आमो. ५:१४) यसो गऱ्‍यौँ भने उहाँका स्तरहरूलाई प्रेम गर्न सिक्नेछौँ। त्यति मात्र होइन, अरूको निम्ति असल गर्ने हाम्रो उत्प्रेरणा पनि अझ प्रबल हुनेछ।

हामी असल मानिस बन्‍न र असल काम गर्न प्रयास गर्छौँ

भलाइ गर्न हामीले महँगा-महँगा उपहार दिनुपर्छ वा ठूलठूला त्यागहरू गर्नुपर्छ भन्‍ने होइन। यो उदाहरण विचार गर्नुहोस्‌: चित्रकारले एउटा सुन्दर चित्र कोर्न एक दुई चोटि मात्र बुरुस चलाए पुग्छ र? अहँ पुग्दैन, तिनले धेरै चोटि त्यसो गर्नुपर्छ। त्यसरी नै, हामीले अरूको निम्ति धेरै चोटि सानातिना कुराहरू गर्दा हामी असल मानिस हौँ भन्‍ने प्रकट हुन्छ।

बाइबल हामीलाई असल काम गर्न “तयार” “तत्पर” हुन आग्रह गर्छ। (२ तिमो. २:२१; ति. ३:१) अरूको अवस्थाप्रति सजग भयौँ भने उनीहरूको ‘उत्थान हुने राम्रो काम गरेर उनीहरूलाई खुसी’ पार्ने मौकाहरू पाउनेछौँ। (रोमी १५:२) त्यसो गर्न आफूसित भएको केही कुरा अरूलाई दिन सक्छौँ। (हितो. ३:२७) उत्थानदायी कुराकानी गर्न वा साधारण खाना खान कसैलाई बोलाउन सक्छौँ। कोही बिरामी छ भनेर थाह पायौँ भने तिनलाई कार्ड पठाउन, भेट्‌न जान वा फोन गर्न सक्छौँ। हामी विभिन्‍न मौकामा ‘आफ्नो मुखबाट आवश्‍यकताअनुसार अरूको उत्थान गर्ने असल वचन निकाल्न अनि अरूको फाइदा’ हुने बोली बोल्न सक्छौँ।—एफि. ४:२९.

यहोवाजस्तै हामी पनि सबै मानिसको भलाइ गर्न चाहन्छौँ। त्यसैले हामी सबैसित निष्पक्ष व्यवहार गर्छौँ। यसो गर्ने एउटा उत्तम तरिका परमेश्‍वरको राज्यको सुसमाचार सबैलाई प्रचार गरेर हो। येसुले आज्ञा गर्नुभएझैँ हामी आफूलाई घृणा गर्नेहरूको समेत भलाइ गर्न कोसिस गर्छौँ। (लुका ६:२७) अरूप्रति दयालु हुनु र अरूको भलाइ गर्नु सधैँ राम्रो कुरा हो किनकि “यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।” (गला. ५:२२, २३) विरोध वा परीक्षाको बाबजुद असल आचरण देखाइरह्‍यौँ भने अरूलाई सत्यतर्फ खिच्न र परमेश्‍वरको महिमा गर्न सक्छौँ।—१ पत्रु. ३:१६, १७.

भलाइ गर्दा आशिष्‌ पाउँछौँ

“असल मानिसले आफ्नो कामको इनाम पाउँछ।” (हितो. १४:१४) कस्ता इनाम? अरूको लागि असल काम गर्दा तिनीहरूले पनि हामीसित असल व्यवहार गर्ने सम्भावना धेरै हुन्छ। (हितो. १४:२२) तिनीहरूले हामीसित असल व्यवहार नगरे पनि हामीले असल व्यवहार गर्न छोडेनौँ भने तिनीहरूको मन पग्लन सक्छ र हामीप्रति सकारात्मक बन्‍न सक्छन्‌।—रोमी १२:२०, फुटनोट।

खराब काम गर्न छोडेर असल काम गर्दा आफैलाई फाइदा पुग्छ भनेर थुप्रैले अनुभव गरेका छन्‌। न्यान्सीको अनुभव विचार गर्नुहोस्‌। उनी भन्छिन्‌, “म लापरवाही, अनैतिक र अरूको आदर नगर्ने किसिमको मान्छे थिएँ। तर परमेश्‍वरले तोक्नुभएका असल स्तरहरूबारे सिकेर ती लागू गर्न थाल्दा म अझ आनन्दित हुन सकेँ। अहिले मेरो आत्म-सम्मान बढेको छ र आफ्नो कदर गर्न सिकेकी छु।”

हामीले भलाइ विकास गर्नुपर्ने मुख्य कारण हो, यसो गर्दा यहोवा खुसी हुनुहुन्छ। हामीले गरेको कुरा धेरैले नदेखे तापनि यहोवा देख्नुहुन्छ। उहाँलाई हाम्रो हरेक असल काम र सोचाइ थाह छ। (एफि. ६:७, ८) अनि “असल मानिससित यहोवा खुसी हुनुहुन्छ।” (हितो. १२:२) त्यसैले हामी भलाइ विकास गरिरहौँ। “असल काम गर्ने हरेकलाई परमेश्‍वरले गौरव, आदर अनि शान्ति” दिने प्रतिज्ञा गर्नुभएको छ।—रोमी २:१०.