रोमी ७:१-२५

  • मोसाको व्यवस्थाबाट मुक्‍त हुने विषयमा उदाहरण (१-६)

  • मोसाको व्यवस्थाले पाप के हो भनी प्रकट गऱ्‍यो (७-१२)

  • पापविरुद्धको सङ्‌घर्ष (१३-२५)

 हे भाइ हो, (म व्यवस्था थाह भएकाहरूसित बोल्दै छु) मानिस जीवित रहुन्जेल ऊमाथि मोसाको व्यवस्थाको प्रभुत्व रहन्छ भनेर के तिमीहरूलाई थाह छैन? २  उदाहरणका लागि, विवाहित स्त्री आफ्नो पति बाँचुन्जेल व्यवस्थाबमोजिम उसैसित बाँधिएकी हुन्छे तर यदि उसको पति मऱ्‍यो भने ऊ आफ्नो पतिको व्यवस्थाबाट मुक्‍त हुन्छे।+ ३  त्यसैले आफ्नो पति जिउँदो छँदै उसले अर्को पुरुषसित विवाह गरी भने उसले व्यभिचार* गरेकी हुन्छे।+ तर यदि उसको पति मऱ्‍यो भने ऊ आफ्नो पतिको व्यवस्थाबाट मुक्‍त हुन्छे, त्यसैले उसले अर्को पुरुषसित विवाह गरी भने पनि उसले व्यभिचार गरेकी हुँदिन।+ ४  त्यसकारण हे मेरा भाइ हो, तिमीहरू पनि ख्रिष्टको शरीरद्वारा मोसाको व्यवस्थाको नजरमा मरिसक्यौ ताकि तिमीहरू उहाँको हुन सक,+ जो मृत्युबाट ब्युँताइनुभएको थियो।+ यसरी हामी परमेश्‍वरको आदर हुने फल फलाउन सक्छौँ।+ ५  किनकि जब हामी शारीरिक इच्छाअनुसार जिउँथ्यौँ, तब मृत्युको फल फलाउन हाम्रा शरीरमा* पापी इच्छाहरूले काम गर्थे,+ जुन मोसाको व्यवस्थाले गर्दा प्रकट भए। ६  तर अहिले हामी मोसाको व्यवस्थाबाट मुक्‍त भइसकेका छौँ + किनकि हामीलाई जसले बाँधेर राखेको थियो, त्यसको नजरमा हामी मरिसकेका छौँ। हामी लिखित नियमको आधारमा पुरानो अर्थमा होइन+ तर पवित्र शक्‍तिको आधारमा नयाँ अर्थमा दास बनौँ + भनेर यसो भएको हो। ७  त्यसोभए हामी के भनौँ? के मोसाको व्यवस्था पाप हो? त्यस्तो त हुनै सक्दैन! साँच्चै भन्‍ने हो भने मोसाको व्यवस्था नहुँदो हो त पाप के हो, मलाई थाह हुने थिएन।+ उदाहरणका लागि, “तिमीले लोभ नगर्नू” भनी मोसाको व्यवस्थाले नभनेको भए लोभ के हो, मलाई थाहै हुने थिएन।+ ८  यस आज्ञाले गर्दा पापले मौकाको फाइदा उठाएर मभित्र हरप्रकारको लोभ उत्पन्‍न गऱ्‍यो किनकि व्यवस्था नहुँदा पाप पनि मरेकै थियो।+ ९  वास्तवमा कुनै समय व्यवस्था नहुँदा म जिउँदो थिएँ तर जब व्यवस्था आयो, पाप फेरि जीवित भयो तर मचाहिँ मरेँ।+ १०  जुन व्यवस्था जीवनतर्फ पुऱ्‍याउन दिइएको थियो,+ त्यसले नै मृत्युतर्फ पुऱ्‍याउँदो रहेछ भनेर मलाई थाह भयो। ११  किनकि व्यवस्थाले गर्दा पापले मौकाको फाइदा उठाएर मलाई फुस्ल्यायो र त्यसैद्वारा मलाई माऱ्‍यो। १२  मोसाको व्यवस्था आफैमा पवित्र छ अनि त्यसको आज्ञा पवित्र, न्यायोचित र असल छ।+ १३  त्यसोभए जे असल छ, त्यही नै मेरो लागि मृत्युको कारण बन्यो त? त्यस्तो त हुनै सक्दैन! बरु पापचाहिँ मेरो लागि मृत्युको कारण बन्यो ताकि मभित्र काम गरेर मलाई मृत्युतर्फ लैजाने पाप नै हो भनेर जे असल छ, त्यसद्वारा प्रकट होस्‌+ र व्यवस्थाद्वारा पाप अझ बढी प्रकट होस्‌।+ १४  किनकि मोसाको व्यवस्था परमेश्‍वरबाट आएको हो भनेर हामीलाई थाह छ तर म भने पापी हुँ र पापमा बेचिएको छु।+ १५  म के गर्दै छु, म आफै बुझ्दिनँ। किनकि म जे गर्न चाहन्छु, त्यो गर्दिनँ तर जुन कुरालाई घृणा गर्छु, त्यही गर्छु। १६  तर यदि म जे गर्न चाहन्‍नँ, त्यही गर्छु भने मोसाको व्यवस्था ठीक छ भन्‍ने कुरामा म सहमत छु। १७  तर अब त्यो काम गर्ने म होइनँ तर मभित्र बास गर्ने पाप हो।+ १८  मलाई थाह छ, मेरो शरीरमा कुनै असल कुराले बास गर्दैन किनकि ममा असल गर्ने चाहना त छ तर क्षमता भने छैन।+ १९  म जुन असल काम गर्न चाहन्छु, त्यो गर्दिनँ तर जुन खराब काम गर्न चाहन्‍नँ, त्यही नै गर्ने गर्छु। २०  त्यसैले अब यदि म जे गर्न चाहन्‍नँ, त्यही गर्छु भने त्यो काम गर्ने म होइनँ तर मभित्र बास गर्ने पाप हो। २१  त्यसैले ममा एउटा यस्तो नियम भएको म पाउँछु: जब म जे ठीक छ, त्यो गर्न चाहन्छु, तब ममा खराबी हाजिर हुँदो रहेछ।+ २२  परमेश्‍वरको व्यवस्थामा म साँच्चै मनैदेखि आनन्दित हुन्छु।+ २३  तर म आफ्नो शरीरमा* बेग्लै खालको व्यवस्था पाउँछु, जसले मेरो दिमागको व्यवस्थासँग लडाइँ गर्छ।+ अनि मेरो शरीरमा* बास गर्ने पापको व्यवस्थाले मलाई बन्दी बनाउने गर्छ।+ २४  हाय, म कस्तो लाचार मानिस! मृत्युतर्फ धकेलिँदै गरेको यो शरीरबाट मलाई कसले छुटाउला? २५  हाम्रा प्रभु येसु ख्रिष्टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्‌! म आफ्नो दिमागमा त परमेश्‍वरको व्यवस्थाको दास हुँ तर शरीरमा भने पापको व्यवस्थाको दास हुँ।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शा., “अङ्‌गहरूमा।”
शा., “अङ्‌गहरूमा।”
शा., “अङ्‌गहरूमा।”