हितोपदेश १४:१-३५

  • मनको पीडा आफैलाई मात्र थाह हुन्छ (१०)

  • मानिसलाई सही लाग्ने बाटोले मृत्युमा पुऱ्‍याउन सक्छ (१२)

  • सुधो मानिसले सबै कुरा पत्याउँछ (१५)

  • धनी मानिसका थुप्रै साथी हुन्छन्‌ (२०)

  • शान्त मनले शरीर स्वस्थ बनाउँछ (३०)

१४  बुद्धिमती स्त्रीले आफ्नो घर सम्हाल्छिन्‌+ तर मूर्ख स्त्रीले आफ्नै हातले त्यो बिगार्छे।  २  सोझो बाटोमा हिँड्‌ने मानिसले यहोवाको डर मान्छ तर टेढो बाटोमा हिँड्‌ने मानिसले उहाँलाई घृणा गर्छ।  ३  मूर्खको अहङ्‌कारी बोली सजाय दिने छडीजस्तै हुन्छ तर बुद्धिमान्‌को बोलीले मानिसहरूलाई जोगाउँछ।  ४  गाईवस्तु छैनन्‌ भने डुँड सफा हुन्छ तर गोरुहरूको बलले प्रशस्त उब्जनी हुन्छ।  ५  साँचो साक्षीले झूट बोल्दैन तर झूटो साक्षीले कुरैपिच्छे* झूट बोल्छ।+  ६  अहङ्‌कारी* मानिसले बुद्धि खोज्छ तैपनि भेट्टाउँदैन तर समझदार मानिसले सजिलै ज्ञान प्राप्त गर्छ।+  ७  मूर्ख मानिसबाट टाढै बस किनकि उसको बोलीमा ज्ञानको कुरा पाइँदैन।+  ८  चतुर मानिससित ठीक बाटोमा हिँड्‌ने बुद्धि हुन्छ तर मूर्ख मानिसलाई उसकै मूर्खताले झुक्क्याउँछ।*+  ९  मूर्ख मानिसले आफ्नो गल्ती स्विकार्नुको* सट्टा त्यसलाई हाँसोमा उडाउँछ+ तर सोझो मानिस मिलाप गर्न अग्रसर हुन्छ। १०  आफ्नो मनको पीडा आफैलाई मात्र थाह हुन्छ अनि मनको आनन्द पनि अरू कसैले बुझ्दैन। ११  दुष्ट मानिसको घर नष्ट हुन्छ+ तर सोझो मानिसको घरको फलिफाप हुन्छ। १२  कुनै बाटो मानिसलाई सही नै लाग्ला+ तर त्यसले अन्तमा मृत्युमा पुऱ्‍याउँछ।+ १३  मुखमा हाँसो भए पनि हृदयमा पीडा हुन सक्छ अनि खुसीयाली पनि दुःखमा परिणत हुन सक्छ। १४  परमेश्‍वरबाट टाढिएको मानिसले आफ्नो कामको नतिजा भोग्छ+ तर असल मानिसले आफ्नो कामको इनाम पाउँछ।+ १५  सुधो* मानिसले सुनेको सबै कुरा पत्याउँछ तर चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।+ १६  बुद्धिमान्‌ मानिस होसियार हुन्छ र खराबीदेखि परै बस्छ तर मूर्ख मानिसले सोचविचार नगरी कदम चाल्छ* र आफूमा बढ्‌तै भरोसा राख्छ। १७  झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ+ तर सोच्ने क्षमता चलाउने मानिस घृणाको पात्र हुन्छ। १८  सुधो* मानिसले मूर्खता मात्र देखाउँछ तर चतुर मानिसले ज्ञानको मुकुट* पाउँछ।+ १९  खराब मानिसले असल मानिससामु शिर झुकाउनुपर्नेछ अनि दुष्ट मानिसले धर्मी मानिसको ढोकासामु शिर निहुराउनेछ। २०  गरिब मानिसलाई उसको छिमेकीले पनि हेप्छ+ तर धनी मानिसका थुप्रै साथी हुन्छन्‌।+ २१  आफ्नो छिमेकीलाई घृणा गर्ने मानिसले पाप गर्छ तर जसले दीनदुःखीलाई दया गर्छ, ऊ सुखी हुन्छ।+ २२  जसले षड्‌यन्त्र रच्छ, के उसको पतन हुँदैन र? तर जसले अरूको भलाइ गर्छ, उसले माया* पाउँछ र भरोसा जित्छ।+ २३  मेहनतको फल मीठो हुन्छ तर कुरा मात्र गर्ने मानिस कङ्‌गाल हुन्छ।+ २४  बुद्धिमान्‌ मानिसको मुकुट उसको सम्पत्ति हो तर मूर्ख मानिसले मूर्ख कामबाहेक केही गर्दैन।+ २५  साँचो साक्षीले जीवन बचाउँछ तर छली मानिसले कुरैपिच्छे* झूट बोल्छ। २६  यहोवाको डर राख्ने मानिसले उहाँमाथि भरोसा राख्छ+ अनि त्यस्तो मानिसका छोराछोरीको लागि पनि यो शरण हुनेछ।+ २७  यहोवाको डर जीवनको मूल हो; यसले मानिसलाई मृत्युको पासोबाट बचाउँछ। २८  प्रजा धेरै हुनु राजाको गौरव हो+ तर प्रजा छैन भने राजा हुनुको कुनै अर्थ हुँदैन। २९  समझदार मानिस हतपती रिसाउँदैन+ तर मूर्खले आफ्नो रिस देखाइहाल्छ।+ ३०  शान्त हृदयले शरीर स्वस्थ बनाउँछ तर डाहले हड्डी गलाउँछ।+ ३१  दीनदुःखीलाई थिचोमिचो गर्ने मानिसले सृष्टिकर्ताको अपमान गर्छ+ तर गरिबलाई दया गर्नेले उहाँको महिमा गर्छ।+ ३२  दुष्ट मानिसको आफ्नै खराब कामले गर्दा उसको पतन हुन्छ तर धर्मी मानिसको निर्दोष चालले* गर्दा उसले शरण पाउँछ।+ ३३  समझदार मानिसको हृदय बुद्धिले भरिएको हुन्छ तैपनि ऊ चुपचाप रहन्छ+ तर मूर्ख मानिस आफूसित बुद्धि नभए पनि बुद्धिमान्‌ भई टोपल्छ। ३४  धार्मिकताले देशको गौरव बढाउँछ+ तर पापले मानिसहरूको बदनाम गर्छ। ३५  समझदार* सेवकसित राजा खुसी हुन्छन्‌+ तर लाजमर्दो काम गर्ने सेवकसित राजा क्रोधित हुन्छन्‌।+

फुटनोटहरू

शा., “सासैपिच्छे।”
वा “गिल्ला गर्ने।”
वा सम्भवतः “मूर्खले आफ्नो मूर्खताद्वारा अरूलाई झुक्क्याउँछ।”
वा “सुधार्नुको।”
वा “अनुभवहीन।”
वा “मूर्ख मानिस रिसाहा हुन्छ।”
वा “अनुभवहीन।”
वा “ताज।”
वा “अटल प्रेम।”
शा., “सासैपिच्छे।”
वा “निष्ठाले।”
वा “अन्तर्दृष्टि भएको।”