हितोपदेश १२:१-२८

  • बेसमझ मानिसले सुधारलाई मन पराउँदैन ()

  • “सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ” (१८)

  • शान्ति कायम गराउँदा आनन्द मिल्छ (२०)

  • झूट बोल्ने मानिसलाई यहोवा घृणा गर्नुहुन्छ (२२)

  • चिन्ताले मन भारी बनाउँछ (२५)

१२  अनुशासन मन पराउने मानिसले ज्ञान मन पराउँछ+ तर बेसमझ मानिसले सुधारलाई मन पराउँदैन।+  २  असल मानिससित यहोवा खुसी हुनुहुन्छ तर धूर्त योजना बनाउने मानिसलाई उहाँ दोषी ठहऱ्‍याउनुहुन्छ।+  ३  दुष्ट काम गर्ने मानिस कहिल्यै टिक्दैन+ अनि धर्मी मानिस कहिल्यै उखेलिँदैन।  ४  गुणवती पत्नी आफ्नो पतिको मुकुट हो+ तर छाडा पत्नीले आफ्नो पतिको हड्डी गलाउँछे।+  ५  धर्मी मानिसको विचार निश्‍छल हुन्छ तर दुष्टको सल्लाह छलले भरिएको हुन्छ।  ६  दुष्टको बोली ज्यान लिने पासोजस्तै हो+ तर सोझो मानिसको बोलीले जीवन बचाउँछ।+  ७  दुष्टहरूको विनाश हुँदा तिनीहरूको नामोनिसान मेटिन्छ तर धर्मी मानिसको घरको फलिफाप हुनेछ।+  ८  बुद्धिले भरिएका कुरा गर्ने मानिसको प्रशंसा गरिन्छ+ तर टेढो विचार भएको मानिसको गिल्ला गरिन्छ।+  ९  एक टुक्रा रोटी नभए पनि फुर्ती लगाउने मानिसभन्दा एक जना मात्र नोकर राख्न सक्ने साधारण मानिस असल हो।+ १०  धर्मी मानिसले आफूले पालेको जनावरको हेरविचार गर्छ+ तर दुष्ट मानिसको दयालु काम पनि कठोर हुन्छ। ११  आफ्नो जमिन खनजोत गर्ने मानिसले टन्‍न खान पाउँछ+ तर व्यर्थका कुराको पछि लाग्ने मानिस मूर्ख* हो। १२  दुष्टले खराब मानिसले लुटेको सामानको लोभ गर्छ तर धर्मी मानिस बलियो जरा भएको रूखजस्तै हो, जसले फल फलाउँछ। १३  दुष्ट मानिस आफ्नै छली बोलीको पासोमा पर्छ+ तर धर्मी मानिस सङ्‌कटबाट बच्छ। १४  मानिसको असल बोलीले उसको भलो गर्छ,+ उसको हातको कामले उसलाई इनाम दिन्छ। १५  मूर्खलाई आफ्नै बाटो सही लाग्छ+ तर बुद्धिमान्‌ मानिसले अरूको सल्लाह सुन्छ।+ १६  समझदार मानिसले आफ्नो अपमान हुँदासमेत त्यसको वास्ता गर्दैन* तर मूर्खले तुरुन्तै* रिस देखाउँछ।+ १७  विश्‍वासयोग्य साक्षीले सीधा* कुरा गर्छ तर झूटो साक्षीले बाङ्‌गो कुरा गर्छ। १८  सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ तर बुद्धिमान्‌ मानिसको बोलीले निको पार्छ।+ १९  सत्य बोल्ने मानिस सधैँभरि रहन्छ+ तर झूट बोल्ने जिब्रो एकछिन पनि टिक्दैन।+ २०  षड्‌यन्त्र रच्ने मानिसको हृदयमा कपट हुन्छ तर शान्ति कायम गराउने* मानिस आनन्दित हुन्छ।+ २१  धर्मी मानिसले कुनै हानि बेहोर्नुपर्दैन+ तर दुष्टमाथि विपत्तिको ओइरो लाग्छ।+ २२  झूट बोल्ने मानिसलाई यहोवा घृणा गर्नुहुन्छ+ तर वफादार मानिसदेखि उहाँ प्रसन्‍न हुनुहुन्छ। २३  चतुर मानिसले आफ्नो ज्ञान प्रकट गर्दैन तर मूर्ख मानिसले आफ्नो बोलीबाट मूर्खता प्रकट गरिहाल्छ।+ २४  मेहनती हातले शासन गर्छ+ तर अल्छी हातले मानिसलाई अरूको दास बनाउँछ।+ २५  चिन्ताले मन भारी* बनाउँछ+ तर मीठो बोलीले मन हल्का बनाउँछ।+ २६  धर्मी मानिसले आफ्नो खर्कलाई राम्ररी नियाल्छ। तर दुष्टको चालले त्यसलाई बराल्छ। २७  अल्छी मानिस आफ्नो सिकार पक्रन समेत खोज्दैन+ तर मानिसको लगनशीलता नै उसको अनमोल धन हो। २८  धार्मिकताको बाटोले जीवनतर्फ पुऱ्‍याउँछ,+ त्यस बाटोमा हिँड्‌नेले मृत्यु भोग्नेछैन।

फुटनोटहरू

वा “सुझबुझ नभएको।”
शा., “त्यसलाई छोप्छ।”
वा “त्यही दिन।”
शा., “धर्मी।”
शा., “शान्तिको सल्लाह दिने।”
वा “निराश।”